कुरा यत्तिकैमा टुङ्गिन्न । स्वामीजीले वेदमा खोजतलास गरेर गुरुत्व बल पनि निकाल्नुभएको छ । यजुर्वेदको ३३ औँ अध्यायको ४३ औँ मन्त्रको अर्थ पहिल्याउँदै उहाँ आफ्नो किताब ‘ऋग्वेदादि भाष्य भूमिका’ को ‘आकर्षणानुकर्षण विषयः’ अध्यायमा एक मन्त्रको अर्थ लगाउँदै उहाँ लेख्नुहुन्छ –
मन्त्र : आ कृष्णेन रज।सा वत्र्तमानो निवेशय।न्नमृतं मत्र्यंच ।
हिरण्यये।न सविता रथेना देवो या।ति भुव।नानि पश्य।न् ।।५।।
– य.अ. ३३ । मं. ४३ ।।
भाष्य : यस मन्त्रमा पनि आकर्षणविद्या छ । सविता भन्नाले परमात्मा, वायु र सूर्य लोक हुन् । सविता सबै लोकसँग आकर्षण, धारण गुणले सँगै बस्छन् ।
सुरुमा आचार्य उवटले यस मन्त्रको अर्थ कसरी लगाउनुभएको छ भनी हेरौँ । उहाँ लेख्नुहुन्छ :
“अन्धकारमय बाटोमा घुम्दै सविता देव आफ्नो सुनको रथमा सवार भई लोकलाई हेर्दै जान्छन् । सविता देव मनुष्यहरूलाई निवेश गर्दै (काममा लगाउँदै) अघि बढ्छन् ।” (४३)
यहाँ सूर्य देव उडेर आकाशमा गुज्रिने वर्णन गरिएको छ । आकर्षण विद्याबारे यहाँ केही पनि उल्लेख छैन । खासमा यस मन्त्रबाट विज्ञान निकाल्ने धुनमा स्वामीजीले ‘आ कृष्णेन’ शब्दको अर्थ ‘आकर्षण’ लगाउनुभएको छ । जबकि यहाँ यसको अर्थ अन्धकार हो ।
स्वामीजीले आफ्नो समयमा भएका वैज्ञानिक खोजहरूलाई पनि वेदका मन्त्रमा फिट गर्ने जमर्को गर्नुभएको थियो । त्यो बेला मोबाइल, इन्टरनेटजस्ता चीज त थिएनन् । सञ्चार साधनको नाममा टेलिग्राम मात्र थियो । स्वामीजीले त्यसैलाई वेदको मन्त्रबाट निकाल्नुभयो । आफ्नो पुस्तक ‘ऋग्वेदादिभाष्त्ूमिका’ को ‘ताराविद्यामूलं’ अध्यायमा उहाँले ऋग्वेदको प्रथम मण्डलको ११९ औँ श्लोकको दशम मन्त्रबाट स्वामीजीले तार विद्या निकालेर देखाउनुभयो । यो मन्त्रको अर्थ उहाँ यसरी लगाउनुहुन्छ –
मन्त्र : युवं पेदवे । पुरुवार।मश्विना स्पृधां श्वेतं त।रुतारे। दुवस्यथः ।
शर्यै।रभिद्युं पृत।नासु दुष्टरे । चर्कृत्यमिन्द्र।मिव चर्षणीसह।म् ।।१।।
– ऋ.अष्ट. १ । अ. ८ । व. २१ । मं. १० ।।
भाष्य : यो मन्त्रबाट तारविद्याको मूल थाहा पाइन्छ । धर्तीबाट उत्पन्न हुने धातु तथा काठ आदिका यन्त्र तथा विद्युत् वा बिजुली दुवैको प्रयोगबाट तारविद्या सिद्ध हुन्छ ।
अब हामी आचार्य सायणको भाष्य पनि हेरौँ । त्यहाँ पनि तारविद्याबारे केही उल्लेख छ कि भनेर जाँचौँ । सायण भाष्यमा माथिको मन्त्रको अर्थ यसरी लगाइएको छ :
“हे अश्विनी कुमारहरू, तिमीहरूले पेदुलाई अनेक जनगणले थाल्ने युद्धमा शत्रुमाथि विजयी हुने, उज्याला, सबै काममा बारम्बार लगाउन सकिने र इन्द्रले जस्तै शत्रु नास्ने सेता घोडा दिएका थियौ ।” (१०)
फेरि पनि पहिलेजस्तै यहाँ कुनै तारविद्याको चर्चा छैन । वास्तवमा अध्ययन र खोजबिनका क्रममा यो टिप्पणीकारले स्वामीजीको शैली पहिल्याएको छ । स्वामीजीले यी खोज कसरी गर्नुहुन्थ्यो ? यसको एउटा सूत्र छ । खासमा जुन विज्ञान निकाल्नुपर्ने हो त्यससँग सम्बन्धित एउटा शब्द भए पुग्थ्यो स्वामीजीलाई । कुनै मन्त्रमा त्यस्तो शब्द नभेटे उहाँ जोडबल लगाएरै ती शब्द बनाउनुहुन्थ्यो । जस्तो उहाँले ‘आ कृष्णेन’ शब्दलाई जोडेर आकर्षण र पछि यसैलाई गुरुत्व आकर्षणको रूपमा प्रस्तुत गर्नुभयो । खासमा माथिको मन्त्रमा जोडजाड गर्नुपर्ने केही छैन । यसमा ‘तरुतारे’ भनी स्पष्ट किटान गरिएको छ र यसैबाट स्वामीजीले ‘तार’ शब्द निकाल्नुभएको छ । ‘तार’ शब्दबाटै उहाँले तारविद्या जन्माउनुभएको छ । आजभोलि केही मानिसहरू तर्क गर्छन् – स्वामीजीको समयमा इन्डियामा टेलिग्राम अथवा ‘तार’ को चलन आइसकेको थिएन । त्यो अवस्थामा उहाँलाई यसको जानकारी हुने भएन । यति हुँदाहुँदै पनि उहाँले तारविद्याको कुरा गर्नुभयो भने यसको अर्थ हुन्छ वेदमा वास्तवमै तारविद्या छ ।
यो तर्कलाई पनि प्रमाणको प्रकाशमा जाँचौँ । इन्टरनेटमा गएर खोज्यौँ भने इन्डियामा टेलिग्राम सेवा सन् १८५० मा सुरु भएको थियो । सन् १८५४ मा कलकत्ताबाट आगरासम्म टेलिफोनको लाइन चालु भइसकेको थियो । सन् १८५७ मा यो लाइनलाई अझ विस्तार गरेर लाहौर र पेशावर पु¥याइएको थियो । सन् १८६५ मा त भारतको टेलिफोन लाइन बेलायतसम्मै जोडिएको थियो । जबकि स्वामी दयानन्दले ‘ऋग्वेदादि भाष्य भूमिका’ यसको आठ वर्षपछि सन् १८७३ मा लेख्न सुरु गर्नुभएको थियो । त्यसबेलासम्म टेलिफोन सेवा भारतमा राम्रैसँग चलनचल्तीमा आइसकेको थियो ।
पण्डित लेखरामले स्वामी दयानन्दको जीवनी लेख्नुभएको छ । त्यस जीवनीमा उहाँले टेलिग्रामको प्रयोगबारे उल्लेख गर्नुभएको छ । जीवनीमा उहाँ लेख्नुहुन्छ :
“४ फेब्रुअरी, सन् १८६५ को साइत निस्कियो । त्यो शुभ दिनमा कथा आरम्भ गरियो । यो शुभ साइतमा सबै देशदेशान्तरमा तारबाट योग्य पण्डितहरूलाई सूचना दिइयो ।”
यसको अर्थ त्यसबेला टेलिफोन इन्डियामा आइसकेको त थियो नै, साथमा सर्वसाधारणले समेत त्यसको प्रयोग गर्थे ।
यसबाहेक स्वामीजीले वेदबाट अरू धेरै विज्ञान पनि निकाल्नुभएको छ । ती सबैबारे चर्चा गर्न थाले यो चर्चा झन् लम्बिनेछ । किनभने धर्मशास्त्रमा विज्ञान छ भन्ने दाबी खालि वेदलाई देखाएर मात्र गरिन्न । बरु अन्य धेरै थरी धर्मग्रन्थ, परम्परा र कर्मकाण्डलाई पनि प्रमाणको रूपमा अघि सारिन्छ । त्यसबारे पछि चर्चा गरौँला ।
अन्त्यमा यत्ति भनौँ, हाम्रो उद्देश्य कसैलाई गिराउनु वा तुच्छ देखाउनु होइन । कसैको भावनामा चोट पु¥याउनु होइन । हाम्रो उद्देश्य यत्ति हो, सर्वसाधारणले सही जानकारी पाउनुपर्छ । वेदमा विज्ञान छ भन्ने नाममा जुन किर्ते वा गोलमाल गरिएको छ, त्यसबारे सोझासिधा मान्छेले थाहा पाउनुपर्छ । किनभने, वेद भारतीय संस्कृतिको एउटा साझा प्राचीन धरोहर हो । त्यसमा कसैले खेलाँची गर्नुहुँदैन । वेदजस्ता छन्, तिनलाई त्यस्तै रहन दिनुपर्छ । तिनमा लेखिएका धेरै कुरा विज्ञानको कसीमा खरो उत्रिन्नन्, सही देखिँदैनन् । सही नदेखिनु गलत पनि होइन । त्यो समय नै त्यस्तो थियो । पुर्खाले रचेका ती दस्ताबेज लामो समय जोगिएर यहाँसम्म आइपुगेका छन् । त्यसैले तिनमा जेजति कुरा छन्, तिनलाई हेरेर हामी पुर्खाको बारेमा, उनीहरूको बुझाइ र ज्ञानको बारेमा, उनीहरूको संस्कृतिको बारेमा धेरैथोक थाहा पाउन सक्छौँ । हाम्रो धर्म कति अगाडि बढेको थियो भनी सारा संसारसामु ध्वाँस जमाउन यी वेदलाई तोडमोड गर्नु एकदम लगत छ । संसारका सबै प्राचीन संस्कृति त्यसबेला उस्तै थिए । त्यसलाई लिएर हीन भावनाको सिकार हुनुपर्ने कुनै कारण छैन । जहाँसम्म ज्ञानको क्षेत्रमा योगदानको कुरा हो भारतको योगदान पनि कम छैन । प्राचीन भारतमा पनि धेरै ज्ञानी मान्छे जन्मेका थिए । उनीहरूले दर्शन, विज्ञान र गणितको क्षेत्रमा, ज्ञानका सबैजसो क्षेत्रमा आफ्नो योगदान दिएका थिए । यसलाई सारा संसारले पनि स्वीकार गरेको छ ।
आफ्ना धर्मग्रन्थहरूलाई वैज्ञानिक सिद्ध गर्ने ढिपी खासमा राष्ट्रको मायाले भन्दा पनि धर्मको मायाले गरिँदै छ । ‘मेरो धर्म सबैभन्दा महान् छ, मेरो धर्म सबैभन्दा वैज्ञानिक छ, मेरो धर्ममा अवैज्ञानिक चीज हुनै सक्दैन’ भनी ढिपी कस्नुजत्तिको अवैज्ञानिक अरू केही हुन सक्दैन । यही ढिपीका कारण आ–आफ्ना धर्मग्रन्थबाट विज्ञान निकाल्ने लहर चलेको हो । स्वामी दयानन्दले यही गर्नुभएको हो ।
स्वामीजीले वेदबाट विज्ञान निकाल्ने प्रयास गर्नुभएकै हो । यसमा दुईमत हुन सक्दैन । तर, सो भन्दैमा उहाँले गरेका सारा समाजसेवाका कामलाई नकार्नु पनि गलत हुन्छ । उहाँको पालामा भारतीय समाज अन्धविश्वासमा डुबेको थियो । यस्तो बेला अन्धविश्वासबाट निकाल्न उहाँले चलाएको अभियानको तारिफ गर्नुपर्छ । कुनै व्यक्तिको मूल्याङ्कन उसलाई उसकै समय र परिस्थितिमा राखेर गर्नुपर्छ । आफूलाई सही लागेको काम स्वामीजीले गर्नुभयो । यसलाई पूर्णतः गलत मान्नु पनि अति हुन जानेछ । तर, आजका मितिमा पनि कसैले उहाँले भनेकै कुरालाई आँखा चिम्लेर विश्वास गर्छ र उहाँका गल्तीको पक्षमा बहस गर्न उत्रिन खोज्छ भने यसलाई त गलत नै भन्नुपर्छ ।
(अनुवाद : सुरेश)
समाप्त