
प्राचीन युनानमा स–साना नगर राज्यहरू थिए । त्यहाँ खेतीपाती त्यति राम्रो थिएन । यसकारण, त्यहाँका बासिन्दा व्यापार व्यवसायतर्फ पनि लागेका थिए । सबै युनानीहरू आफूहरूलाई एउटै वंशका मान्थे । भाषा र संस्कृति पनि एकै प्रकारका थिए । यसकारण, उनीहरूबिच आपसी मेलमिलाप कायम रहेको थियो । आपसमा कलह थिएन । सानातिना झैझगडा तथा मनमुटाव आपसी समझदारीबाट सल्टिन्थ्यो । यस्तो वातावरणले युनानी सभ्यतालाई फस्टाउने अवसर मिल्यो ।
प्राचीन युनानका मानिसहरूले संसारबारे सोच्न थाले । पृथ्वीमा प्राणीहरू कसरी उत्पत्ति भए ? बोटबिरुवा कसरी उम्रिए ? आकाशबाट पानी कसरी प¥यो ? बिजुली किन चम्क्यो ? मान्छे किन मर्छन् ? मरेपछि फेरि बाँच्छन् कि मरेको म¥यै हुन्छ, आकाशमा ताराहरू कसरी चम्किए ? जस्ता जिज्ञासा उनिहरूको मनमा पैदा हुन थाल्यो । ती जिज्ञासाहरूको जवाफ खोज्ने क्रममा युनानीहरूले नयाँ नयाँ चिन्तनलाई अगाडि बढाए । युनानका नगरहरू वादविवाद, छलफल, बहसको चौतारीजस्तै बने । विचार र चिन्तनहरूले फक्रिने अवसर पाए । ती चिन्तनहरू नै पश्चिमी दर्शनका खुट्किला सावित भए । परिणामः विश्व जगतबारे महत्वपूर्ण विचार प्रवाह गर्ने अनेक दार्शनिकहरू प्राचीन युनानमा देखा परे ।
हावा, पानी, माटो, आगो कुन महत्वपूर्ण भन्ने विषयमा बहस चल्यो । दार्शनिकहरूले प्रकृतिका एउटा एउटा विषयमा खोज गरेर आफ्नो चिन्तनलाई अगाडि बढाए । घाम, हावा, पानीकै कारण बोटबिरुवा हुर्केको देखेका तथा अनुभव गरेका थेल (Thales) (इ.पू ६२३–५४५) ले पानीलाई महत्वपूर्ण ठाने । उनलाई पश्चिमी जगतमा नयाँ सोच अघि सार्ने पहिलो दार्शनिकको रूपमा मानिन्छ । त्यसपछि अनक्सिमन (Anaximenes) (इ.पू ५८८–५२४) पनि जीवित वस्तुको जीवन चलाउने महत्वपूर्ण तत्वका रूपमा पानी नै रहेको ठम्याइमा पुगे ।
डेमोक्राइटस (Democritus) (इ.पू ४६०–३७०) अणुवादी बनेर देखापरे । माटोभित्र रोपेको सानो बिजबाट बिस्तारै बिरुवा उम्रिएर झाङ्गिएको प्रक्रियालाई उनले गहिरिएर चिन्तन गरे । संसारमा सबै ठूला कुराको बिज एकदमै सानो अथवा सूक्ष्म तत्वमा रहेको मान्दै उनले अणुबाट महान् शक्ति उत्पन्न भएको विश्वास गरे । संसारको हरचिज टुक्र्याउनै नसकिने अत्यन्त साना साना अदृश्य कणहरूबाट बनेको विचार डेमोक्राइटसले राखे ।
ग्रीस साम्राज्यअन्तर्गतको भूमध्यसागरीय टापु समोसामा फेरि अलग्गै प्रतिभा भएका पाइथागोरस (Pythagorus) (इपू ५२४–४९३) जन्मिए । उनले गणितलाई सबै कुराको समाधानको मूल मन्त्र ठाने । इन्द्रियहरूले देख्ने, अनुभव गर्नेभन्दा अरू विषय पनि छन् भन्ने सोच उनले अघि सारे । पाइथागोरसले पृथ्वीको छेउ टुप्पो फेला पार्न नसकिने भएकोले पृथ्वी गोलो छ भन्ने निष्कर्ष निकाले । उनले दर्शनका विभिन्न क्षेत्रमा चिन्तन गरे । उनकै नाममा ‘पाइथागोरस थेरम’ भन्ने रेखा गणितको सूत्र अहिलेसम्म संसारमा चलेको छ ।
अर्का दार्शनिक हेराक्लाइटस (Heraclitus) (इपू ५४०–४८०) ले बगिरहेको पानीको उदाहरण प्रस्तुत गरेर समयको गतिलाई बुझाए । हरेक क्षण पानीमा हुने परिवर्तन झैँ जीवन जगत पनि परिवर्तन भइरहने विचार प्रस्तुत गरे । संसारका सबै कुरा परिवर्तनशील, अनित्य र हरेक क्षण नास हुँदै गइरहेको ठम्याइमा उनी पुगे । आगोको प्रयोग गरेर मानिस सारा जङ्गली जनावरभन्दा शक्तिशाली बनेको बुझेका हेराक्लाइटसले पानीलाई भन्दा आगोलाई शक्तिशाली ठाने ।
एनेक्सोगोरस (Anaxagorus) (इपू. ५००–४२८ एथेन्स) ले चन्द्रमालाई ‘माटोको डल्लो’ र सूर्यलाई ‘जल्दोबल्दो पत्थर’ भने । त्यसबेला युनानमा सूर्यलाई भन्दा चन्द्रमालाई बढी मान्ने चलन थियो । एनेक्सेगोरसको भनाइले युनानमा खैलाबैला मच्चियो । धार्मिक कट्टरतावादी शासनले उनलाई देवनिन्दा गरेको आरोपमा मृत्युदण्डको सजाय सुनायो । आफूलाई मृत्युदण्डको सजाय सुनाएको चाल पाएपछि उनी एसिया माइनरतर्फ भागेर ज्यान जोगाए ।
पश्चिमी दार्शनिकहरूले ईश्वर, संसार, प्राणीबारे चिन्तन गरे । उनीहरूको चिन्तनमा अन्धविश्वासका कुरा पनि आए, विज्ञानको कुरा पनि आए । सुकरात (इपू. ४७०–३९९) सम्म आइपुग्दा युनानी दर्शन अन्धविश्वासतिर ढल्किन खोजेको थियो । सुकरातले ‘तर्क र प्रमाणका आधारमा विश्वास गर्नुपर्छ, लहलहैमा विश्वास गर्नु मूर्खता हो’ भनेर युनानीहरूलाई सम्झाए ।
सुकरातका चेला प्लेटो (इपू. ४२८–३४८) ले प्रकृतिभित्रको अनन्त रहस्यलाई खोतल्नुभन्दा आफू बाँचेको संसारलाई कसरी व्यवस्थित र सुखी बनाउन सकिन्छ भन्नेतर्फ मानिसहरूले सोच्नुपर्ने विचारलाई अगाडि बढाए । उनले आफूलाई निर्धो बनाएर भगवानलाई पुकार्ने विचारको विरोध गरे । शासकहरूले व्यक्तिगत धन सम्पत्ति राख्न नपाउने राजनीतिक विचारलाई पनि उनले महत्व दिए ।
युनानी दार्शनिकहरूले कठोर धार्मिक कट्टरतावादीहरूको समयमा पनि जीवन जगतको चिन्तनमा बौद्धिकतालाई प्रवेश गराए । चिन्तनको क्षेत्रमा बौद्धिकताले प्रवेश पाएपछि गणितको सूत्र बनाउने काम पनि अगाडि बढ्यो । पश्चिमीहरू ‘कुन वस्तु कुन देवताले बनाए’ भन्नेतर्फ लाग्नुको सट्टा ‘कुन वस्तु कसरी बन्यो’ भन्नेतर्फ लागे । उनीहरू त्यसको गुण बुझ्नेतर्फ लागे । यही चासो नै विज्ञान विकासको आधार स्तम्भ बन्यो ।
पश्चिमा चिन्तकहरूले संसारबारे सोच्नुभन्दा पहिले नै पूर्वीय चिन्तकहरूले हावा, पानी, माटो, आगो, आकाशसहितको पञ्चतत्वलाई जीव तथा बोटबिरुवा उत्पत्तिका कारण मानिसकेको विज्ञहरूको मत छ । उनीहरू पञ्चतत्वले नै प्राणीजगतको इहलीला चलेको विश्वास गर्थे । तर, धेरै पूर्वीय दार्शनिकहरू विज्ञानलाई अगाडि बढाउनुभन्दा आत्म तत्वको खोजीमै रुमल्लिए । मनुस्मृतिमा आधारित वर्ण व्यवस्थाले मान्छे मान्छेबिच विभेदको खाडल तयार पा¥यो । समाजको पिँधमा पु¥याइएका श्रमजीवी तथा शिल्प समूहका ठूलो सङ्ख्या जाति व्यवस्थाको जाँतोमा पिसिन पुगे । विज्ञान र आविष्कार ठप्पजस्तै भयो । लामो समयसम्म अन्धविश्वासमा आधारित धार्मिक कट्टरताले दक्षिण एसियाको भूमिमा जरा गाड्यो । यसकारण, पश्चिमको दाँजोमा दक्षिण एसियाली मुलुक अगाडि बढ्न नसकेको हो ।
जाति व्यवस्थाको प्रभाव अहिले पनि दक्षिण एसियाका भारत र नेपालजस्ता मुलुकमा यथावत् छ । शासकहरूले अन्धविश्वासमा आधारित धर्मलाई राजनीतिको हतियार बनाउँदै छन् । सप्ताह, विराट महायज्ञ, भागवत महापुराणलगायत धार्मिक उत्सवहरूको नाममा हुने ¥यालीमा सर्वसाधारण जनता शिरमा कलश बोकेर अझै अन्धविश्वासको मार्गमा हिँड्दै छन् । धर्मको नाममा पाखण्डहरूको व्यापार फस्टाउँदै छ । सरकारी बजेट विज्ञान र प्रविधिको क्षेत्रमा खर्च गर्नुभन्दा ढुङ्गाका मूर्ति रहने मन्दिर निर्माणमा खर्च हुँदै छ । यो क्रम नरोकिएसम्म जनताको जीवन स्तरमा परिवर्तन नआउनेतर्फ क्रान्तिकारीहरू सचेत हुनु जरुरी छ ।