चिन्मय
माक्र्स र बुद्धको जन्मजयन्ती एकै महिनामा पर्छ । नेपाली मिडियामा खासगरी बुद्ध, उनको ‘धम्म’ र ध्यानविधिबारे लेख–रचनाले स्थान पाउँछन् । वैशाख २७ गतेको ‘नयाँ पत्रिका’ मा माक्र्स र धर्मलाई जोडेर एउटा लेख छापियो । शीर्षक छ – धर्म : अफिम कि अमृत ? लेखक हुन् – रामचन्द्र शर्मा ।
शर्माजीका केही सारपूर्ण भनाइ –
१. माक्र्सले नक्कली धर्मलाई अफिम भने, अर्धसत्य कुरा पत्ता लगाए । त्यसैले अधिकांश कम्युनिस्टहरू धर्म र अध्यात्मप्रति पूर्वाग्रही भए । विश्वमा व्याप्त अशान्ति र द्वन्द्व सच्चा धर्म लोप हुँदै जाँदाको दुष्परिणाम हो ।
२. माक्र्सले सफ्टवेयर बनाए तर हार्डडिस्कको बेवास्ता गरे । उनले अतिरिक्त मूल्यको सिद्धान्त प्रतिपादन गरी सामन्ती प्रवृत्तिले मजदुरको शोषण गर्ने बाह्य परिपाटी उजागर गर्दै द्वन्द्वात्मक भौतिकवादको सफ्टवेयर बनाए । तर, शोषण प्रवृत्तिको स्रोत राग, द्वेष र मोह हटाएर शोषण प्रवृत्तिलाई परोपकारीमा रूपान्तरण गरी समतामूलक समाज निर्माण गर्ने धर्म धारण गर्नुपर्ने हार्डडिस्क बनाउन ध्यान दिएनन् । त्यसैले उनले बनाएको सफ्टवेयरले अपेक्षित लक्ष्य भेट्टाउन सकेन, सकेको छैन र सक्दैन पनि ।
३. धर्म अफिम त हुँदै होइन । अमृतभन्दा बढी उपयोगी छ । अमृतको सीमा छ, धेरै सेवन वा सडेको अमृत विष समान हुन्छ । कोरा चर्चा र चिन्तन मात्र गर्नु धर्मको नाउँमा धोका हो । धारणा गरे धर्म हुन्छ । चित्त निर्मल शुद्ध बनाउनु नै धर्म धारण गर्नु हो ।
पहिलो बुँदाबारे चर्चा गरौँ । लेखक उपदेशको शैली यस्तो छ –‘धर्मबारे मलाई थाहा छ र माक्र्सलाई केही थाहा थिएन । माक्र्सलाई थाहा भएको धर्म नक्कली थियो, फगत ‘धर्म हराएको सम्प्रदायहरू’ मा बाँडिएको थियो ।’ यसको अर्थ लेखकले के इसाई वा यहुदी धर्मलाई नक्कली भन्न खोजेका हुन् ? अथवा, के गोयन्काको भाकामा संसारमा भए जतिका धर्म केवल सम्प्रदाय हुन् र ‘चित्त शुद्ध पार्नु’ लाई नै ‘सच्चा धर्म’ भन्न खोजेका हुन् ? प्रस्ट छैन ।
लेखकलाई ‘सच्चा धर्म’ को ज्ञान भइसकेको दाबीलाई पत्याउने हो भने माक्र्सको मृत्युपछि मात्र ‘धर्म जागेको’ मान्नुपर्ने हुन्छ । यही हो भने पहिलो र दोस्रो महायुद्ध नै हुने थिएन । कोरिया, भियतनाम, इराक, लिबिया, सिरिया युद्ध हुनै नपर्ने हो । तर, भयो । यसैबाट उनले ‘सच्चा धर्म’ भनेको जिनिस खासमा संसारमा कहीँकतै छैन भन्ने पुष्टि हुन्छ । हरेक धर्म अर्कालाई नक्कली र आफूलाई सक्कली साबित गर्न तँछाडमछाड गर्दै छन् । मध्यम वर्गीयहरूको बिहानी श्वास–तानातान र ध्यान भनिने केके जातिमा ‘सच्चा धर्म’ भए, हामीलाई थाहा भएन । कामगरी खानेहरूलाई यति धेरै सोच्ने र श्वास–तानातानको आनन्द लिने फुर्सद कसले दिएको छ र ?
लेखकले समस्या समाधानबारे विभिन्न धर्मग्रन्थबाट यति धेरै ‘दिव्य–वचन’ टिप्पनटाप्पन गरेका छन् । माक्र्सले कुन प्रसङ्गमा धर्मलाई अफिम भन्नुभएको थियो भनी बुझ्न अलिकति अध्ययन गर्ने कष्ट गरेको भए के विपश्यना गर्ने समय गुम्थ्यो र ?
माक्र्सले हेगेलको सिद्धान्तको आलोचना गर्दै सन् १८४३–४४ मा लेख्नुभएको लेखमा उल्लेख थियो – धर्म अफिम हो । लेखक शर्माले यसपछिका लाइन पनि पढ्नुपर्ने थियो । माक्र्सको भनाइ यस्तो थियो –“धार्मिक पीडा, वास्तविक पीडाको अभिव्यक्ति हुनुका साथै त्यो पीडाविरुद्ध प्रतिरोध पनि हो । धर्म उत्पीडितजनको सुस्केरा हो, हृदयहीन दुनियाँको हृदय हो, आत्माविहीन परिस्थितिको आत्मा हो । धर्म जनताको अफिम हो ।”
आलोचकहरू आलोचना पनि रीत पु¥याएर गर्दैनन् । माक्र्सको अर्थ स्पष्ट छ – संसार हृदयहीन छ, मानवीय भावना हराइसकेको छ, घनघोर भवसागर छ सर्वत्र । यस्तोमा समाउनलाई गरिबगुरुवाको सबैभन्दा सस्तो सहारा बनेको छ धर्म । सुस्केरा पनि देउताकै नाममा आउँछ । पीडाको अभिव्यक्ति हो धर्म र लुकेको अर्थमा त्यो पीडाको प्रतिरोध वा प्रतिकार पनि हो । अन्यायमा परेको गरिबगुरुवाहरू भन्छन् – ‘ईश्वरले सबै देख्छन्, पापिस्टहरू नर्क जाऊन्’ । यो सत्तोसरापले ‘अफिम’ को काम गर्छ । केहीबेरलाई क्याथार्सिस हुन्छ, पीडा बिर्साउँछ, रंगीन आशामा भुलाउँछ ।
अर्को अनुच्छेदमा माक्र्स लेख्नुहुन्छ – जनताको वास्तविक सुखको लागि झूटो सुखको भान दिने धर्मको उन्मूलन गर्नु आवश्यक छ । जनता आफ्नो दीन दशाको कारण के हो भन्ने विषयमा भ्रममा छन् । त्यो भ्रम परित्याग गर्ने माग खासमा यो दीन दशाबाट उम्किने माग पनि त हो । यसैले धर्मको आलोचना खासमा त्यो दुःखसागरको आलोचना हो जसको वरिपरि धर्मको मनमोहक जलप लागेको छ ।
कुरा प्रस्ट छ – जनता किन दुःखी छन् ? कुनै पापाचारका कारण होइन । मुख्य समस्या शोषणकारी समाजमा छ । पुँजीवाद र साम्राज्यवादमा छ । नेपाली जनता साम्राज्यवाद, विस्तारवाद र तिनका नेपाली दलालका कारण पीडामा छन् । नेपालका प्राकृतिक स्रोतसाधनले किन नेपाली युवालाई रोजगारी दिन सकेनन् ? यिनमा भारतीय पुँजीपतिहरूको आँखा गडेको छ । नेपालको पानी र युरेनियमबाट बिजुली निकालेर किन नेपाली जनताले निःशुल्क बिजुली पाउन सकेनन् ? किनभने, नेपालका पुँजीवादी शासकहरू नेपाललाई आत्मनिर्भर बनाए भारतका पुँजीपतिवर्गको कोपभाजनमा पर्नुपर्ला भनेर तर्सिने गर्छन् । त्यसैले नदी किनारमा जन्मेका नेपाली युवाहरू अरबमा गएर पानी नपाई सुकेर प्याकप्याक्ती मर्नुपर्ने स्थिति छ ।
नेपाली जनताको दुःखको कारण यो हो ।‘विश्वमा व्याप्त अशान्ति र द्वन्द्व सच्चा धर्म लोप हुँदै जानु’ को कारण पनि पुँजीवाद र साम्राज्यवाद नै हो । आज इजरायलले दिनदहाडै लाखौँ बालबालिका र महिलाको बलि चढाइरहेको छ । कसलाई ? यहुदी धर्मलाई । यो नरसंहारलाई आँखा चिम्लेर समर्थन गरिरहेको अमेरिकी राष्ट्रपति राष्ट्रपति डोनाल्ड ट्रम्प कम ‘धार्मिक’ होइनन् । नत्र उनले ह्वाइट हाउसभित्र ‘आस्था कक्ष’ किन सञ्चालन गर्थे ?
लेखक शर्माले जोड दिएर लेखेका छन् – शुद्ध धर्मले सदा स्पष्ट, सुबोध, यथार्थ रूपमा जीवनमा लाभ दिन्छ । जीवनमा प्रत्यक्ष लाभ दिएको छैन भने त्यो धर्म होइन, धोका हो भन्नेमा प्रस्ट हुनुपर्छ । अमेरिकी धर्मले ट्रम्पलाई प्रत्यक्ष लाभ दिएकै छ । दनादन हतियार बिक्री भइरहेको छ र अमेरिकी हतियार उद्योग मालामाल भइरहेका छन् । यो नाफा ‘स्पष्ट, सुबोध र यथार्थ’ छ ।
लेखक शर्मा जनताको पीडाको वास्तविक कारण लुकाउँदै ‘सच्चा धर्म’ को पर्दा हाल्न उद्यत छन् । उनकै शैलीमा आज सुतेका र सुतेझैँ गरेका मानिसहरू गीता, बाइबल, मुन्धुम च्यापेर अरूलाई सराप्नमा मग्न छन् । भारतीय गुप्तचरीमा लिप्त कतिपय भारतीय ‘बाबाहरू’ का ग्रन्थ पढ्न र ‘धारण गर्न’ मा रम्ने पनि धेरै छन् यो देशमा । मिठा कुरा कहाँ हुँदैनन् ? हिटलरकै किताबमा पनि धेरै मिठा वाक्यांश थिए । तर, व्यवहारमा त्यसले लाखौँ मान्छेको चिहान खन्यो । त्यसैले गीता, बाइबलका मिठा वाक्यले धर्मलाई मानवीय बनाउँदैन, बनाउने पनि छैन ।
अब हामीले लेखकले घुसाएका विज्ञान जगतका दुई शब्दतिर जाऔँ – हार्डडिस्क र सफ्टवेयर । आजभोलि विज्ञानका दुईचार शब्द प्रयोग गरेर घोर अन्धविश्वास फैलाउनेहरूको लर्को लागेको छ । नपत्याए भारतको ‘आस्था’ टेलिभिजनमा आउने धर्मगुरुहरूका बकबक सुन्नुहोला ! लेखक शर्माको हार्डडिस्क र सफ्टवेयरमा पनि यसकै छनक पाइन्छ ।
लेखकले माक्र्सबारे पढेका भन्दा पनि आफै गडेका कुरा बढी लेखेका छन् । ‘सामन्ती प्रवृत्तिले मजदुरको शोषण’ भन्ने वाक्यांश पढेपछि यो कुरा प्रस्ट हुन्छ । द्वन्द्वात्मक भौतिकवाद शोषणको विरोध गरेबाट जन्मेको होइन । बरु, यो दर्शनको निर्माणका पछाडि लामो ऐतिहासिक नालीबेली छ । लेखक शर्माले भनेजस्तो सहजै मानव जाति त्यो निष्कर्षमा पुगेको होइन । लेखकको अर्को छिपछिपे दिव्यवाणी सुनौँ – शोषण प्रवृत्तिको स्रोत राग, द्वेष र मोह (हो) । यसलाई परोपकारी प्रवृत्तिमा रूपान्तरण गर्ने धर्म धारण गरौँ । समतामूलक समाज निर्माण गर्ने हार्डडिस्क तयार हुन्छ ।
यति सजिलो फर्मुला माक्र्सले किन बुझ्न सकेनन् हगि ? माक्र्सको पालामा कम्प्युटर नआएर हो कि ? शोषण प्रवृत्तिको स्रोत सम्पत्तिमाथिको निजी स्वामित्व हो । बुद्धबारे लेखकले धेरै गफ फलाकेका छन् । बुद्ध सम्पत्तिमाथि निजी स्वामित्वका विरोधी हुनुहुन्थ्यो । त्यसैले, आत्मतुष्टिलाई मलजल गर्ने निजी सम्पत्तिको प्रावधानलाई आफूले स्थापना गरेको भिक्षुसङ्घबाट टाढै राख्नुभयो । यही कारण, बुद्धले ‘आत्मा’ को अस्तित्वलाई नकार्नुभयो । यही कोणबाट भारतका प्रसिद्ध दार्शनिक देवीप्रसाद चट्टोपाध्यायले बुद्धलाई संसारको पहिलो समाज वैज्ञानिक भन्नुभएको छ । अर्को कुरा,‘सच्चा धर्म’ को बाटोबाट समतामूलक समाजको निर्माण हुन्थ्यो भने बुद्धको ‘हार्डडिस्क’ बाट किन त्यस्तो समाज नजन्मेको होला ?! बुद्ध जन्मेको २ हजार वर्ष भइसक्यो त । ‘सच्चा धर्म’ ले के नाप्यो ? बरु आफ्नो छोडी अर्को धर्मलाई अधर्म भन्ने ‘विवेक’ बाहेक के दियो ? गीता सुनाएर धर्मको नाममा कृष्णले अर्जुनलाई भाइबन्धु मार्न लगाएजस्तै इजरायलले धर्मकै नाममा विधर्मीलाई मार्दै छ । के फरक भयो कृष्ण र नेतन्याहुमा ? खोइ कता छन् वेद, पुराण, गीता र बाइबलका धर्मातीहरू ? प्यालेस्टिनको पक्षमा, नरसंहारको विरोधमा कता छ तिनको आवाज ? कोरा चर्चा र चिन्तन होइन, खोइ ‘क्रियाशीलता’ ? कहाँ छ सच्चा धर्मको अमृतमयी घडा ? धर्मको कुन अमृतले प्यालेस्टिनका निर्दोष बालबच्चालाई जीवन दिन सक्छ ? ती बालबच्चालाई जोगाउन राष्ट्रसङ्घले कस्तो चित्तशुद्धी गर्नुपर्ने हो ?
लेखक शर्माले माक्र्सवादको जवाफमा बुद्धको शिक्षा अघि सारेका छन् । बुद्धको ‘विपश्यना’ बाहेक उनले अरू नदेखेको भान लेख पढ्दा पर्छ । कसैले ‘मन निर्मल’ पार्दैमा केही हुनेछैन । बुद्ध आफैले भर्खर उदाउँदो निजी स्वामित्वले प्राचीन समाजमा मच्चाएको बबन्डरबाट आजित भएर भिक्षुसङ्घको स्थापना गर्नुभएको थियो । बुद्धले गरेकै काम पनि रोबर्ट ओवेन, सेन्ट साइमन र चाल्र्स फ्युरिए जस्ता काल्पनिक समाजवादीहरूले गरेका र गर्न खोजेका थिए । कसैको मन बदलेर समाज परिवर्तन हुन्छ, मान्छेका दुःखपीडा हट्छन् भन्नु श्वैरकल्पना मात्र हो ।
लेखक शर्मा यिनै सद्गुणीहरूको लहरमा आउँथे भने स्तुत्य पनि हुन्थे होला । तर, उनको सक्कली अनुहार यो वाक्यमा प्रकट हुन्छ – त्यसैले (माक्र्स) ले बनाएको सफ्टवेयरले अपेक्षित लक्ष्य भेट्टाउन सकेन, सकेको छैन र सक्दैन पनि ।
माक्र्सको दर्शनले अपेक्षित लक्ष्य भेट्टाउन सकेन । किन ? शर्माजीका जस्ता भ्रमजाली विचारले आम श्रमजीवी जनताको आँखामा पट्टी बाँधिएको छ । अर्कोतिर आधुनिक विज्ञान प्रविधिका कारण श्रमजीवी जनताको आँखामा पट्टी बाँध्न अन्धविश्वासका जालाहरू जताततै फाल्न सहज भएको छ । यसलाई इटालीका दार्शनिक ग्राम्स्कीले वैचारिक पर्दाको रूपमा व्याख्या गरेका छन् । एक श्रमजीवीको रूपमा वर्गसङ्घर्ष गर्नुपर्ने व्यक्तिलाई ‘तँ फलानो जातिको, फलानो लिङ्गको, फलानो धर्मको, फलानो नाकनक्साको’ भनेर अनेक चिरा परेको पहिचानको खाडलमा फसाइएको छ । पुँजीवादको झिलिमिली देखाएर उपभोक्तावादको चङ्गुलमा पारिएको छ ।अनेक कारण छन् ।
माक्र्सलाई ‘मानव कल्याणको खोजीमा सिङ्गो जीवन समर्पित गरेका माक्र्स स्वयम् एक सन्त हुन्’ भनेर लेखक शर्माले प्रशंसाको पुल बाँधेका छन् । खासमा यो प्रशंसा होइन । कुनै बेला बुद्धलाई विष्णुको अवतार भनेर जातप्रथाका जनक बाहुनवादले भारतमा गहिरो जरा गाडेको थियो । त्यही दाउपेचको पुनरावृत्ति हो शर्माजीको प्रशंसा । किनभने, ‘माक्र्स सन्त त हुन्; तर ‘उनले बनाएको दर्शनले केही नाप्न सक्दैन’ भनेर दिव्य भविष्यवाणी गर्नुलाई ‘आशाको हत्या’ बाहेक केही भन्न सकिन्न । यसकारण, रामचन्द्र शर्माको ‘सच्चा धर्म’ को सच्चा अनुहार यहाँनिर उदाङ्गिन्छ । उनले जातक कथामा वर्णित डढेलो निभाउन खोज्ने फुच्चे भँगेराबारे पढेका नहोलान् भन्न सकिन्न । पुँजीवादी र साम्राज्यवादको अन्धराजविरुद्ध एकमात्र आशाको दियो र मार्गदर्शक बनेको माक्र्सवादलाई ‘लोप्पा खुवाउने’ उनको चर्तिकला निर्मल मनको उपज हुनसक्दैन ।
माक्र्सको दर्शनबारे रुढीग्रस्त हल्लामै मग्न रामचन्द्र शर्माले माक्र्सवादको छिपछिपे आलोचना गर्न छोडेर गहिरो अध्ययन गर्न जरुरी छ । माक्र्सवादले चीनको रूपमा सारा संसारलाई साझा सभ्यताको पाठ पढाइरहेको छ । साम्राज्यवादले पृथ्वीको प्रकृतिमा पारेको (माक्र्सले उहिल्यै पूर्वानूमान गरेको) ‘मेटाबोलिक फाटो’ र यसको समाधानबारे आजभोलि राष्ट्रसङ्घका ‘उदार’ वैज्ञानिकहरूसमेत माक्र्सवादी भाषा बोल्दै छन् । जातिवादविरुद्ध ‘मानिसको अन्तर्राष्ट्रिय जाति’ बनाउने सोचका साथ आएको माक्र्सवादको भनाइ धर्मको मामिलामा पनि सही छ । वास्तविक सुख प्राप्त गर्नका लागि बहुसङ्ख्यक जनताले धर्मरूपी भ्रामक अफिमको धुँवा तान्न छोड्नुपर्छ । जनताले आफ्नो पीरव्यथाको एकएक कारण केलाउनुपर्छ र सबैखाले शोषणका जाल चिर्न एकजुट भएर सङ्घर्ष गर्नुपर्छ । अर्को ‘अमृत’ छैन, दोस्रो बाटो छैन ।