प्याट्रिस इमेरी लुमुम्बा (Patrice Emery Lumumba) २ जुलाई, १९२५ मा कङ्गोको कसाई (Kasai) प्रान्तको ओनालुआ (Onalua) गाउँमा जन्मेका थिए । उनका बुबा–आमा बाटाटेला (Batatela) जातका थिए । उनका बुबा लुमुम्बालाई क्याथोलिक धर्मका विद्यालयका शिक्षक बनाउन चाहन्थे र काटेको–कोम्बे (Kateko-Kombe) सहरका एक सानो क्याथोलिक धार्मिक पाठशालामा पठाए ।
प्याट्रिस लुमुम्बाले पढाइमा राम्रो परिणाम ल्याए । त्यस सहरमा उपचार सहायकको तालिमहरू प्रोटेस्टेन्ट धार्मिक सङ्गठनहरूको एक विद्यालय थियो । तिनीहरूको ध्यान उनमा पर्यो । तिनीहरूले उनलाई प्रोटेस्टेन्ट विद्यालयमा उपचार विज्ञान पढ्न उत्साहित गरे । त्यसबेला उनी भर्खर १३ वर्षका थिए ।
२ वर्षपछि विद्यालय स्नातकको प्रमाणपत्र नलिँदै उनले त्यस विद्यालय छोडे । प्रोटेस्टेन्ट पादरीहरू साह्रै जिज्ञासु शिष्य पाएर दङ्ग थिए । प्याट्रिस लुमुम्बा पढ्न सजिलो मान्थे र विद्यालयको पढात्न्दा बढी जान्न चाहन्थे । उनले त्यहीँ भोल्टाएर (Voltaire), रुसो (Roussseau), भिक्टोर हयुगो (Victor Hugo) र मोलायर (Moliere) जस्ता दार्शनिक र नाम चलेका लेखकहरूका रचनाहरू सा¥है उत्साहपूर्वक अध्ययन गरे । उनको ज्ञानको तृष्णा कम उमेरमै जागेको हुनाले उनी किताबको सागरमा डुबुल्की मार्न थाले । उनी यस्ता प्रश्नहरूको उत्तर चाहन्थे जुन कुरा एक अफ्रिकी विद्यार्थीसँग उनका गुरुहरू छलफल गर्न चाहन्नथे । पादरीहरू वा शिक्षकहरूसँग उनको सम्बन्ध चिसिँदै गयो र उनले विद्यालय छोडे ।
अब उनी १५ वर्षका किशोर थिए । दुब्लो, पातलो र अग्ला प्याट्रिस लुमुम्बा झुकेर हिँड्ने एक विनम्र देखिन्थे । उनी कटाङ्गा प्रान्तको उत्तरतिरको किन्डु (Kindu) भन्ने सहरमा पुगे । त्यो इलाकामा टिन र अन्य खानीको ठुलो भण्डार थियो । खनिज उद्योगहरू द्रुततररूपले बढ्दै गएको थियो र किन्डु त्यसको केन्द्र थियो । यसकारण, धेरै बेरोजगार मानिसहरू त्यहाँ बसाइँ सर्दै थिए । सहरको कारखाना र कार्यालयहरूको ढोकैमा ‘यहाँ कुनै सहयोग हुन्न’ भन्ने खालका लेखोटहरू झुन्ड्याइएको हुन्थ्यो । उनीसँग एक चुनाम दाम पनि थिएन र खानीमा काम पाउनु अत्यन्त गाह्रो थियो ।
युरोप दोस्रो विश्वयुद्धको सङ्घारतिर लम्कँदै थियो । साम्राज्यवादी देशहरू वा युद्धपिपासु गुटका देशहरू ठुलो मात्रामा युद्धका कच्चा सामग्रीहरू जम्मा पार्दै थिए । लुमुम्बाले त्यहाँ पुस्तकहरू पढ्ने र स्व–अध्ययन गर्न चाहन्थे तर उनले खानीका दासजस्तै काम गर्ने कामदार जनतासँग सङ्गत गरे । त्यहाँ ‘शिक्षितहरूको गोष्ठी’ भन्ने एक सङ्गठन बन्यो, उनी पनि त्यसका एक नेता भए ।
लुमुम्बा विवाह बन्धनमा
उनले समाजशास्त्र अध्ययन गरे तथा संसारमा भइरहेका गतिविधिहरूलाई पनि पढ्दै गए तथा लेख्ने काम पनि थाले । उनी अन्य युवाहरूजस्तै भावुक थिए र कविता कोर्न थाले तर कवितामा उनी सफल भएनन् । त्यसपछि उनी पत्रकारितामा लागे तथा लिओपो लुडभिली (Leopo Ludville) का समाचारपत्रहरूमा लेख र समाचारहरू लेख्न थाले । विस्तारै क्याथोलिकहरूका समाचारपत्रहरूको ध्यान पत्रकार लुमुम्बामा गयो, उनले कङ्गोली जनताका जीवनको उन्नति र सुधारका मागहरू गर्न थाले । सन् १९४० तिर उनले लेखेका थिए, ‘गोराहरू आफ्ना हब्सी नोकरहरूभन्दा आफ्ना कुकुरहरूलाई बढी राम्रो व्यवहार किन गर्छन् ?’
प्याट्रिस लुमुम्बाका लेखहरू प्रगतिशील जगतमा सा¥है उत्साहपूर्वक स्वीकारिन्थ्यो र ती वर्षहरूमा कङ्गोमा औपनिवेशिक शासनको विरोधमा हाकाहाकी आलोचना गर्नेहरूमध्ये उनी एकजना पनि थिए ।
किन्डुमा केही वर्ष बसेपछि आफ्नो अध्ययनलाई अगाडि बढाउने अवसर पाउन र आफ्नो कार्य क्षेत्रलाई फराकिलो पार्न उनी अझ ठुलो सहरतिर जान चाहन्थे । संयोगले राजधानी लिओपोल्डभिलीमा उनले हुलाक कार्यालयमा नोकरी पाए । सन् १९६६ पछि लिओपोल्डभिलीको नाम किन्शासा (Kinshasa) राखियो । नोकरीपछि उनले आफ्नो अध्ययन गर्दाका साथी पाउलिन ओपाङ्गा (Pauline Opanga) सँग विवाह गरे । त्यसबेला उनी २२/२३ वर्षका युवा थिए ।
लियोपोल्डभिलीको हुलाक कार्यालयको तालिमपछि उनी पूर्वी प्रान्त वा त्यसबेलाको माथिल्लो कङ्गो (Upper Congo) को राजधानी स्टेन्लीभिली (Stanleyville) मा खटाइए । स्टेन्लीभिलीको नजिकको याङ्गगाम्बी (Yangambi) को हुलाक शाखा कार्यालयको उनी पहिला हाकिम भए । त्यसपछि महानगरकै हुलाक कार्यालयमा सरुवा भए ।
स्टेन्लीभिलीमै कङ्गोको स्वतन्त्रता र स्वाधीनताको सङ्घर्षबारे उनको दृष्टिकोणले पूर्ण आकार प्राप्त गर्यो । छिट्टै उनी त्यस महानगरको प्रगतिशील नेताको रूपमा चिनिए र जनताको आदर प्राप्त गरे । उनी स्टेन्लीभिलीमा बेल्जियम कङ्गोका स्थानीय जनताको संस्था (Association of Native Personnel of the Belgium Congo–ANPBC) को अध्यक्ष र ‘शिक्षितहरूको गोष्ठी’ (Circle of the Educated) का पनि अध्यक्ष भए । उनको विचार मिल्ने साथीहरू उनको घरमा भेला भए र तिनीहरू नै मिलेर पछि राजनैतिक दलको एक सानो समिति बनाए । अन्य उपनिवेशहरूमा जस्तै कङ्गोका बुद्धिजीवीहरूले पनि आधुनिक उपनिवेशवाद नाङ्गो दासता हो र उपनिवेशवादी ‘सभ्यता’ पनि पातलो पर्दाले ढाकेको पाखण्डमात्रै हो भन्नेबारे बुझ्न थाले । यसबारे लुमुम्बा पनि प्रस्ट थिए । उपनिवेशका जनताको जीवन अत्यन्त कष्टकर र सहनै नसक्ने खालको थियो, हेलाहोचो र यातना एवं विदेशीहरूबाट जनताको क्रूर शोषणको कारण प्रगतिशील जनतालाई आक्रोशित पारे तथा कङ्गोलाई औपनिवेशिक सिक्रीबाट मुक्त गर्ने आफ्ना अधिकारहरूको निम्ति सङ्घर्ष गर्न देश नै जुरुक्क उठ्ने स्थिति देखापर्यो ।
दोस्रो विश्व युद्धपछि कङ्गोमा धेरै ठुलठुला हडतालहरू भए । सन् १९४५ मा माताडी (Matadi) मा बन्दरगाहका मजदुरहरूले पहिलो ठुलो हडताल आयोजना गरे, त्यसले मजदुर सङ्घहरू बनाउन सघाउ पु¥यायो । सन् १९४९–५० मा खानी मजदुरहरूले उपनिवेशवादविरोधी नाराहरू अगाडि सारे । सन् १९५२ मा लियोपोल्डभिलीमा मजदुरहरू र कार्यालयका कर्मचारीहरूले ठुलठुला हडतालहरू गरे । स्वतन्त्रता आन्दोलन देशभर फैलिँदै गयो र औपनिवेशिक शासनको जग हल्लियो ।
अफ्रिकी जनतामा स्वतन्त्रता र स्वाधीनताको व्यापक आन्दोलनले शक्ति प्राप्त कङ्गोली समाजको अगाडि बढेको समुदायमा राजनैतिक चेतना द्रुततर गतिमा विकास गर्दै गयो । २० औँ शताब्दीको मध्य अर्थात् १९५० को अवधि र अफ्रिकामा औपनिवेशिक शासनको पतनको अवधि बन्यो । सभ्यता सिकाउने पश्चिमी देशहरूकै कारण अफ्रिकी जनतालाई पूरै विस्फोटक स्थितिमा पु¥यायो ।
दशकौँसम्म उपनिवेशवादीहरूले कङ्गोको बारेमा ‘फस्टाउँदो उपनिवेश’ (Flourishing Colony), ‘आदिवासीहरू’ र बेल्जिमेली ‘जानकारहरू’ र अन्य उद्योगपतिहरू र खेतीवालहरू मिलेर बसेको अफ्रिकाको पितृसत्तात्मक कुनाजस्ता कथाहरू बनाएका थिए । बेल्जिमेली मालिकहरूले प्रतिवर्ष त्यहाँ ५ लाख फ्रान्सेली रूपैयाँ पाउँथे भने कङ्गोली मजदुरहरूले वर्षको धेरै पाए १५,००० फ्रैङ्ककसम्म पाउँथे । त्यसैलाई उपनिवेशवादीहरू ‘उच्च तलबमान’ भन्थे । वास्तवमा त्यहाँ दासता थियो ।
उपनिवेशवादीहरूले त्यस देशबाट गरेको प्राकृतिक सम्पदाको शोषणको हिसाबकिताब कहिले गर्दैनन् । तर, विदेशी एकाधिकारीहरूले कङ्गोलाई आफ्नै निजी प्रदेश सम्झन्थे र अत्यन्त ठुलो नाफाको स्रोतको रूपमा लिन्थे । यसबारे उपनिवेशवादीहरू प्रचार गर्दैनथे । ५ वटा एकाधिकारवादी समूहले कङ्गोको सम्पत्ति आपसमा भागबन्डा गर्थे र ९० प्रतिशत लगानीमा नियन्त्रण गरेका थिए । बेल्जियमको पुँजीले सबभन्दा ठुलो भाग खान्थ्यो र बेलायत एवं संरा अमेरिकाजस्ता अन्य साम्राज्यवादी देशहरू त्यस लुट र डकैतीको भाग खान सक्रिय थिए ।
‘मौन साम्राज्य’
सन् १९४७ मा ओपी गिल्बर्ट (O.P. Gilbert) को ‘मौन साम्राज्य’ (The Empire of Silence) शीर्षकको पुस्तक ब्रुसेल्समा छापियो । त्यो पुस्तक कङ्गोमा प्रतिबन्धित थियो तर प्रगतिशील कङ्गोली जनता त्यो पुस्तक लुकीलुकी पढ्थे । त्यसमा कङ्गोको औपनिवेशिक अत्याचारको जिउँदो र क्रूर तस्बिर बयान गरिएको थियो । ‘एक वा अर्को उपाय’ बाट लेखकले ‘खानीहरू, कारखानाहरू, खेतीहरू, यातायात र व्यापारिक संस्थाहरू’, ‘जेनरल समाज’ (Society General) र अन्य केही गुठीहरू (Trusts) को नियन्त्रणमा रहेको उदाङ्ग्याएका थिए । तिनीहरूकै इसारामा र आह्वानमा हजारौँ गोरा इन्जिनियरहरू, निरीक्षकहरू (Foremen) तथा दसौँ हजार हब्सी मजदुरहरू काम गर्थे । तिनीहरूसँग दक्ष प्रहरी सेवा थियो र सचेत प्रचारयन्त्र थियो । तिनीहरूले हरेक ठाउँमा पैसा ख्वाएको हुन्थ्यो र जहाँ तहाँ मालिकको रूपमा काम गर्थे । तिनीहरूले हरेक कुराको लेनदेन गर्थे, खास गरेर मानव श्रमबारे लेनदेन गर्थे ।
लुमुम्बाले ‘मौन साम्राज्य’ मा उल्लेख गरिएका सम्पत्तिका सबै तथ्य तथ्याङ्कहरूको अध्ययन गरे तथा कङ्गोको वर्णन गरिएको स्थितिको गम्भीर अध्ययन गरे । उनले उपनिवेशका जनतामाथि गरिने अन्याय, अत्याचार र बर्बरताबारे जानकारी राखे । साथै केही करोडपति र अरबपतिहरूको कल्पनै गर्न नसकिने ऐøयासी जीवनको निम्ति लाखौँलाख कङ्गोली जनतालाई दासजस्तै श्रम गराइन्थ्यो । एक जना नेताको भावना र जनताका लडाकुको हैसियतले उनी औपनिवेशिक बन्दोबस्तको विरोधमा हाकाहाकी अगाडि बढे तथा आफ्ना जनतालाई आफ्नो अधिकारको निम्ति सक्रियतापूर्वक सङ्घर्ष गर्न आह्वान गरे ।
उपनिवेशवादी अधिकारीहरूले अशान्त जनतामा उनको बढ्दै गएको प्रभावलाई थाहा पाएर सन् १९५६ मा उनको विरोधमा भ्रष्टाचारको झूटा मुद्दा लगाएर उनलाई १८ महिनाको जेल सजाय दिए । स्टेन्लीभिलीका जनताले उनीप्रति पूर्णरूपले समर्थन र ऐक्यबद्धताको अभियान चलाए ।
उनको रिहाइपछि जून १९५७ मा उनी लिओपोल्डभिलीमा गए, त्यहाँ उनलाई ठुलो बियर (Beer) कम्पनी र चिसो पेयपदार्थका कम्पनीहरूले कामको निम्ति आह्वान गरे । त्यस कामले उनलाई राजधानीको बाहिरफेराका नगर, गाउँ र बस्तीहरूका जनतासँग भेटघाट गर्न, तिनीहरूको भावनालाई बुझ्न र वास्तविक स्थितिबारे अवगत हुन गा¥हो अनुभव गरायो । उनको स्वाभाविक वक्तृत्वकला र व्यापक जानकारीले छिट्टै उनी राजधानी लियोपोल्डभिली र चारैतिर एक लोकप्रिय नेताको रूपमा स्थापित भए ।
एक नेताको रूपमा
एक नेताको रूपमा राजधानीको राजनैतिक जीवनमा लुमुम्बा सक्रिय हुँदै गए, उनी बाटेलेता महासङ्घ (Bateleta Federation) का अध्यक्ष भए तथा उदार दल (Liberal Party) का बैठकहरूमा भाग लिँदै गए । उनी राजनैतिकरूपले कङ्गोमा औपनिवेशिक दासतालाई उन्मूलन गर्न चाहन्थे र तत्काल स्वाधीनता चाहन्थे । पहिलेका गतिविधिहरूबाट सन्तुष्ट नभई कङ्गो कङ्गोली जनताको हो, उपनिवेशवादीहरूको होइन भन्ने दृढ धारणा राख्थे ।
एक नयाँ राजनैतिक दलको स्थापना गर्न उनी लागिपरे । जातजाति र भाषाभाषीहरूको साम्प्रदायिक दल नभई ‘सारा कङ्गोली जनताको पार्टी’ स्थापना गर्नुपर्नेबारे उनी प्रस्ट थिए । कङ्गोको निम्ति त्यो विचार अत्यन्त मौलिक र ‘नयाँ क्रान्तिकारी’ सिद्धान्त थियो ।
त्यसबेला अर्थात् सन् १९५० मा कङ्गोमा कासाभोबो (Kasavobo) को बाकोन्गो (Bakongo) वन्य जातिको आधारमा आबोको दल (Aboko Party) भन्ने एक जातीय सङ्गठन स्थापना भएको थियो । उपनिवेशी प्रशासन कङ्गोली जनतामा जातीय गुटहरूमा काटमार गराई विभाजन गर्दै थियो र कासाभोबोले त्यसैलाई सहयोग पु¥याउँदै थियो । कङ्गोली जनताको स्वतन्त्रता र स्वाधीन हुने इच्छा र आकाङ्क्षाको विरोधमा बेल्जिमेली उपनिवेशवाद त्यहाँका जनतालाई ज्यूज्यान लगाएर ‘भेद गर र राज गर’ को नीति लागू गर्दै थियो ।
लुमुम्बाले स्वाधीनताको सङ्घर्षमा ‘सारा’ जनतालाई जातजाति र भाषाभाषीको भेदभाव एवं पूर्वाग्रह नराखी एक हुन आह्वान गर्दा कङ्गोली जनतामा उनले ठुलो लोकप्रियता र प्रतिष्ठा हासिल गरे । उनको प्रभाव अब अफ्रिकाभित्र मात्रै होइन त्यसको सीमा बाहिर पनि फैलियो । बेलायती ‘विदेशी प्रतिवेदन’ (Foreign Report) ले लुमुम्बाबारे लेख्यो, ‘मेहनती, शारीरिक रूपले उत्साही र एक आकर्षक व्यक्तित्वका धनी लुमुम्बा कङ्गोलाई एकात्मक राज्यको रूपमा सँगै राख्न सक्ने आवश्यक आकाङ्क्षा र गुण भएका एकमात्र कङ्गोली राजनीतिज्ञ हुन् । उनीमात्र साँचो राष्ट्रवादी, जातीय साम्प्रदायिकताविरोधी र क्षेत्रीय साम्प्रदायिकताविरोधी कङ्गोली नेता हुन्, यो नै उनको शक्ति हो ।’
कङ्गोमा नयाँ परिस्थिति
सन् १९५८ मा कङ्गोको इतिहासमा धेरै ठुलो महत्व राख्ने राजनैतिक घटनाहरू घटे । प्याट्रिस लुमुम्बाले त्यसै वर्षको शरद ऋतुमा उत्तर कङ्गोको स्टेन्लीभीलीमा आफ्नै नेतृत्वमा ‘कङ्गो राष्ट्रिय आन्दोलन’ (Congo National Movement-CNM) भन्ने राजनैतिक दलको स्थापना गरे । १० अक्टोबर १९५८ को दिन संवैधानिक महाधिवेशन (Constituent Congress) भयो । त्यस बैठकले कङ्गो राष्ट्रिय आन्दोलन प्रादेशिक अहङ्कारवाद (Regional Egocentrism) र वन्य जातीय सङ्कीर्णतावाद (Tribal Demarcation) को विरोध गर्यो र आत्मनिर्णय (Self Determination) को निम्ति जनतालाई तयार गर्न राजनैतिक शिक्षा दिने कार्यक्रमको घोषणा गर्यो । कार्यक्रमले विनासर्त स्वाधीनता र कङ्गोली जनतालाई मौलिक प्रजातान्त्रिक स्वतन्त्रता वा अधिकारहरूको माग गर्यो । स्वाधीनताको विजयपछि एकात्मक केन्द्रिकृत राज्यको स्थापना नै त्यस कार्यक्रमको महत्वपूर्ण विषय थियो ।
लुमुम्बा र कङ्गोको राष्ट्रिय आन्दोलन (CNM) ले कङ्गोमा उपनिवेशवादको विरोधमा निरन्तर सङ्घर्षको मात्र घोषणा गरेको होइन बरु सारा अफ्रिकी जनतासँग भ्रातृत्वपूर्ण ऐक्यबद्धताको पनि आह्वान गर्यो । कङ्गो राष्ट्रिय आन्दोलनले आफ्नो स्थापना सँगसँगै अफ्रिकाको सम्पूर्ण मुक्ति आन्दोलनसँग घनिष्ठ सम्बन्ध राख्यो । सन् १९५८ को डिसेम्बर महिनामा घानाको राजधानी आक्रा (Acra) मा अफ्रिकी जनताको सम्मेलन (African People’s Conference) भयो । त्यसमा प्याट्रिस लुमुम्बा पनि कङ्गोका प्रतिनिधि थिए । उनी त्यस सम्मेलनको स्थायी समिति (Standing Committee) का सदस्य चुनिए ।
आक्राबाट फर्केपछि राजधानी लियोपोल्डभिलीमा नाटकीय घटनाहरू घटे । ४ जनवरी १९५९ को दिन राजधानीमा उक्त सम्मेलनबारे बोल्न एक जनसभाको आयोजना गरिएको थियो । राष्ट्रिय मुक्ति आन्दोलनको आकार देखेर बेल्जिमेली अधिकारीहरू तर्सेर जनसभामाथि रोक लगाए । रोक लगाउँदा लगाउँदै पनि हजारौँ जनता लाम लागेर तोकिएको ठाउँतिर अघि बढ्न थाले । बेल्जिमेली अधिकारीहरूले जनताको बाटो छेक्न प्रहरीलाई गोली हान्न आदेश दिए । लियोपोल्डभिलीका कङ्गोली जनताले उपनिवेशवादीहरूको गोलीको जवाफ देशव्यापी विद्रोह र हडतालले दिए । प्रहरी कार्यालयहरूमा आगो लगाइयो । तीन दिनसम्म भिडन्त भयो । महानगरको व्यापारिक जीवन पूरै बन्द रह्यो । स्वयंस्फूर्त ढङ्गले विकास भएको त्यस आक्रोशले जनतामा स्वाधीनताको माग सर्वसम्मत हुँदै गयो ।
स्रोत : मजदुर–किसान, २०६९ भदौ–असोज