स्कट कामिल
यो साता भियतनाम र त्यहाँका जनताविरुद्ध अमेरिकाले युद्ध हारेको ५० औँ वार्षिकोत्सव मनाइँदै छ । अमेरिकीहरू त्यसलाई भियतनाम युद्ध भन्छन् । खासमा त्यसलाई अमेरिकी युद्ध भन्नुपर्ने थियो ।
मेरो मात्र होइन, मेरो पुस्ता र सारा भियतनामीको जीवनमा यो युद्धले ठुलो छाप पा¥यो ।
म सन् १९५० र १९६० को दशकमा हुर्केको हुँ । शीतयुद्धको बेला थियो । कम्युनिस्टविरोधी हौवामा हामी घाँटीघाँटी डुबेका थियौँ । साँच्चै भन्ने हो भने मलाई कम्युनिस्टको अर्थ थाहा थिएन । यत्ति थाहा थियो – तिनीहरू दुष्ट हुन्छन् र हामी तिनीहरूबाट डराउनुपर्छ । कम्युनिस्टहरू मेरो देशमा घुस्नुभन्दा अगाडि नै तिनलाई मार्नु गलत होइन भन्ने सोचिन्थ्यो ।
हामीलाई हामी विश्वकै सर्वश्रेष्ठ देशमा बस्छौँ भन्ने सिकाइयो । पुरुष हुनाले मैले स्वदेशी सेनामा सेवा गर्नुपर्छ भनेर सानैबाट हाम्रो दिमागमा भरियो । हाइस्कूल पढेपछि सेनामा भर्ती हुनुपर्छ भन्ने मलाई थाहा थियो ।
त्यही बेला सरकारले नयाँ भर्ती खुलायो । भर्ती गर्ने गल्लावालहरू हाम्रो स्कूलमा पनि आए । तिनका कुरा सुन्न ठुलो कक्षाका दाइहरू जिम्नासियम हलमा गए ।
तिनीहरूले हामीमध्ये धेरैलाई छिट्टै सेनामा भर्ती गर्ने र हाइस्कूल सकिनेबित्तिकै भियतनाम पठाउने कुरा गरे । अहिले नै ‘विलम्ब भर्ती कार्यक्रम’ को फारम भरे हामीले अझ बढी सहुलियत पाउने जानकारी पनि दिए ।
बढी सहुलियत सुन्नेबित्तिकै म खुसी भएँ । त्यसैले मैले अमेरिकी सेनाको मरिन कोर (युएसएमसी) को फारम भरेँ । हाइस्कूल पास भएको तीन दिनपछि मरिनको तालिम लिन मलाई पारिस टापुको सिकारु शिविर लगियो ।
तालिम एकदम कडा थियो । जिन्दगीमा मैले त्यस्तो कठोर अनुभव कहिल्यै गरेको थिइनँ । तालिमको उद्देश्य नै हामीभित्रको नागरिकभावलाई उखेलेर लाहुरे भावना घुसाउनु थियो । फेरि कडा तालिम नलिई युद्धको कहर कसरी थेग्ने ?
हर रात हामी देउता पुकाथ्र्योँ – अर्को दिन बित्यो प्रभू । हर दिन बिदा, हर दिन मेला । युद्धलाई बन्दना, युद्धलाई प्रार्थना । मरिन कोरलाई आशिष दिनुस् प्रभु, प्रशिक्षकलाई आशीर्वाद दिनुस् । युद्धलाई बन्दना, युद्धलाई प्रार्थना ।’
त्यो सिकारु तालिमपछि पैदल सेनाको तालिम लिन म नर्थ क्यारोलिना राज्यमा पर्ने क्याम्प जिगर गएँ । त्यसपछि म क्याम्प लेजुएन गएँ । त्यहाँ मैले ‘(भियत)नाम’ जान स्वयंसेवकको काम गरेँ । तालिमको क्रममा हामीलाई मरिनको मूल उद्देश्य सिकाइयो । मरिनको उद्देश्य ‘अमेरिकी हुकुमको प्रतिकार गर्ने शत्रुको मनोबल धुजाधुजा पार्नु हो’ भनियो ।
जति निर्मम भएर तिनलाई नष्ट गरिन्छ त्यति चर्को तिनले मूल्य चुकाएको हुन्छ । भाग्ने ठाउँ दिनुहुन्न । – यही भनिन्थ्यो ।
त्यसपछि म क्यालिफोर्निया राज्यको क्याम्प पेन्डल्टन गएँ । त्यहाँ मैले गुरिल्ला युद्धकला, पर्वतारोहण, विभिन्न अस्त्रशस्त्र, बमबारुद, भाग्ने र छल्ने कला, प्राथमिक उपचार, चालबाजी र कठोर शारीरिक तालिम लिएँ । त्यस्तै तालिम लिन हामी जापानको ओकिनावा गयौँ ।
यो तालिमको बेला हामीलाई भियतनामीहरूलाई मान्छेको रूपमा नहेर्न तयार गरियो । तिनलाई चिम्से, सिलौटो–मुन्टे, तेर्सा–आँखे र कम्मिज (कम्युनिस्ट) भन्ने चलन थियो । त्यो बेला मलाई यो जातिवादी बोली हो भन्ने थाहा थिएन ।
युद्धको तयारी नै त्यस्तो हुन्छ । तपार्इँ आफ्ना शत्रुलाई समानुभूतिका आँखाले हेर्न चाहनुहुन्न । तिनलाई भेट्दा तुरुन्तै मार हान्नुपर्ने हुन्छ । समानुभूति राखे त्यसो गर्न सकिन्न ।
चाखलाग्दो कुरा के भने हामीलाई भियतनामी भाषा र संस्कृतिको तालिम नै दिइएन ।
सन् १९६६ मार्च २४ को दिन म भियतनाम पुगेँ । मरिन कोरका लडाकुहरू अघिल्लो वर्ष सेप्टेम्बरमै त्यहाँ पुगेका थिए । भियतकङहरूलाई दनादन मारेर ६ महिनामै घर फर्किन्छौँ – यही थियो मेरो दिमागमा ।
मेरो नयाँ युनिटको नाम अल्फा नर्थ थियो । युनिटमा नयाँ सिपाही हुनाले मलाई पहरेदारको काम दिइयो । सन् १९६६ अप्रिल १८ को रात म पहरेदारी गर्दै थिएँ । अचानक भियतकङहरूले आक्रमण गरे । हामीतिर ८९ सैनिकमध्ये ५ जना मारिए भने २८ जना घाइते भए । तिनले बिछ्याएको बमले हाम्रो अखडा ध्वस्त भयो । तिनीहरूमध्ये ४० जना मरे ।
मरेका मरिन लडाकुहरूलाई लुगाले ढाकिएको थियो । मैले पालैपालो लुगा उठाउँदै तिनको अनुहार हेर्दै गएँ । विलियम टेरी माइनको लास देखेर मलाई भाउन्न भयो । युनिटमा मैले बनाएको पहिलो साथी थियो ऊ । मजस्तै ऊ पनि फ्लोरिडा राज्यको थियो ।
त्यो दिन मेरो सोच फेरियो । म र मेरा साथीहरूलाई मार्नु नै यो ठाउँका मान्छेको काम रहेछ भन्ने अनुभूति भयो । मान्छे एकचोटि मरेपछि म¥यो–म¥यो । नयाँ मौका कसैले पाउन्न । कसैका लागि कोही रोकिन्न ।
अब मैले भियतनामीहरूलाई घृणा गर्न थालेँ । तिनीहरूसँग बदला लिने सोच आयो । तिनकाप्रति कुनै सहानुभूति नराख्ने भएँ । मैले तिनीहरू सबैलाई घृणा गरेँ । भेटेजति सबैलाई, धेरैभन्दा धेरैलाई मार्ने भएँ । त्यहाँका आइमाई मेरा नजरमा कम्युनिस्ट जन्माउने कारखाना बने । तिनका केटाकेटी मेरा छोराछोरीका लागि खतरा बने । तिनीहरू सबै घिनलाग्दा मुसा ठहरिए । हामीले सबैलाई सखाप पार्ने भयौँ ।
हामी ‘टाओर’ (जिम्मेवारी क्षेत्र) मा क्रियाशील भयौँ ।
एउटा बटालियनमा चार कम्पनी हुन्छन् । हाम्रोमा अल्फा, ब्राभो, चार्ली र डेल्टा थिए । म चार्ली कम्पनीमा फर्वर्ड अब्जर्भर थिएँ । हामी सी–१–१ मा तैनाथ थियौँ । हाम्रो पहिचान थियो – चार्ली कम्पनी, पहिलो बटालियन, पहिलो मरिन । पहिलोको पनि पहिलो थियौँ हामी ।
हाम्रो ‘टाओर’ मा कम्पनी इलाका र बटालियन मुख्यालयहरू थिए । कम्पनी इलाका थिए – हर्सशू, मड फ्ल्याट्स (दाइ लक), आइल्यान्ड र स्यान्ड ड्युन्स । प्रत्येक महिना हामी पालैपालो यी कम्पनीहरूमा घुमिरहन्थ्यौँ । बिचबिचमा हामी बटालियन मुख्यालयमा जान्थ्यौँ ।
हाम्रो आधिकारिक रणनीति तीन कुरामा आधारित थिए :
१. जसले बढी ‘लास गन्यो’ त्यो उति सफल हुन्थ्यो । एक अमेरिकी बराबर १० जना भियतनामीलाई मारे हामीले जितिन्छ भनेर सिकाइन्थ्यो । हामी जित्न चाहन्थ्यौँ । त्यही भएर सकेसम्म धेरैलाई मा¥यौँ । हामीले कसैलाई मा¥यौँ भनेँ ‘आज चिम्से खेर गयो’ भन्थ्यौँ । हामीमध्ये कोही मारियो भने ‘हाम्रो केटो खेर गयो’ भन्थ्यौँ । त्यो ‘खेर गयो’ भन्ने शब्दको अर्थ गहिरो रहेछ । पछि मात्र थाहा भयो ।
२. हामी ‘फ्रि फायर जोन’ मा गयौँ । त्यहाँ हामीलाई जसलाई भेट्यो त्यसलाई मार्ने छुट थियो ।
३. कारबाही गर्ने हाम्रो तरिकालाई ‘खोज र मार’ भनिन्थ्यो ।
सन् १९६७ फेब्रुअरी १८ मा ‘अपरेसन स्टोन’ चलिरहेको थियो । त्यही बेला म पहिलोपल्ट घाइते भएँ । मड फ्ल्यान्ट्समा बिछ्याएको एउटा धराप (बाउन्सिङ बेट्टी) मा परियो । बमको छिर्का लाग्यो । तर, ज्यान भने गएन ।
अगस्ट १५ को दिन मैले डग डिकर्सनलाई गुमाएँ । न्युजर्सी घर भएको अग्लो, दुब्लो र कालो मरिन डग एकदम असल थियो । त्यसैले चाँडै हामी घनिष्ट साथी बनेका थियौँ । हामी सँगै आइल्यान्ड कम्पनीमा गयौँ । डग केही दिनअघि घाइते भएर आराम गरिरहेको थियो ।
२० जनाको टोलीमा हामी एउटा टापुमा गस्ती गयौँ । त्यहाँ हामीमध्ये ९ जना मारिए र ८ जना घाइते भए । हेलिकप्टरहरू त्यहाँ अवतरण गर्न गाह्रो थियो । त्यसैले तिनीहरूले स्ट्रेचरहरू झारे र बोकेरै मान्छे बाहिर निकाल्न भने । हामीसँग पुग्दो सङ्ख्यामा मान्छे थिएनन् । त्यसैले तिनीहरूले हामीलाई सघाउन केही मान्छे झारे । डगले हामीलाई सहायता चाहिएको छ भनेर सुन्यो । आराम गरिरहेको भए पनि उसले सहयोगी हात बढायो र हामीलाई सघायो । हामीलाई सघाउँदा–सघाउँदै ऊ मारियो पनि । त्यो दिन मलाई खपिनसक्नु पीडा भयो ।
बटालियनमा एक दिन म खाना खान मेस हलमा गइरहेको थिएँ । पछाडिबाट कसैले बोलायो, “ए स्कटी ।” म सार्जेन्ट कामिल थिएँ । कसैले पनि स्कटी भन्दैनथ्यो । पछिल्तिर हेरेँ । जोन रिचर्ड बेरिओस रहेछ । मेरो विद्यार्थीकालको साथी । हामीले अङ्कमाल ग¥यौँ । उसलाई देखेर अचम्म परेँ । ऊ पनि मरिनमा भर्ती भएको थाहा थिएन ।
जोन मभन्दा कान्छो थियो । एकदम असल थियो । मभन्दा राम्रो अङ्क ल्याइन्थ्यो । कहिल्यै स्कूल छोड्दैनथ्यो । कसैसँग झगडा गर्दैनथ्यो ।
मैले उसका आमाबालाई चिट्ठी लेखेँ । उसको हेरविचार गर्नेछु, चिन्ता नलिनु भनी लेखेँ ।
अगस्त २६ को दिन निसानेबाजले जोनलाई गोली हान्यो । नोभेम्बर २७ मा उसको सास गयो । मन छियाछिया भयो । आफू बाँच्दाको खिन्नता जुनीभरिलाई भयो ।
मेरो कार्यावधि सकियो । तैपनि, मैले त्यसलाई बढाउन भनेँ । सङ्ख्यामा थोरै भए पनि मर्दले कहिले पनि साथीलाई लडाइँमा एक्लो छोड्दैन । सानोमा यही सिकाइएको थियो मलाई । त्यसैले मैले साथीहरूलाई एक्लै छोड्न चाहिनँ ।
सन् १९६७ अक्टोबर १२ को दिन मलाई दोस्रोपल्ट चोट लाग्यो । ग्रिनेडको छर्राले लाग्यो तर ज्यान भने गएन ।
नोभेम्बरमा घर फर्किनुपर्ने थियो । तर, फेरि पनि साथीहरूलाई लडाइँको मैदानमा छोडेर जाँदै छु भन्ने लाग्यो । मैले माथिल्लो सार्जेन्टसँग समय बढाइदिन भनेँ । सार्जेन्टले भने, “सार्जेन्ट कामिल, धेरै काम गरिसक्यौ, अब घर जानैपर्छ ।” भियतनाम छोड्दा म खुसी पनि भएँ । धेरै लडिसकेको थिएँ । थाहा थियो । तैपनि स्वीकार्ने हिम्मतै भएन ।
भियतनामपछि कोरमा बिताउनलाई मसँग जम्मा दुई वर्ष बाँकी थियो । म युरोप र क्यारिबियन देशहरूमा गएँ । आणविक, जैविक र रासायनिक युद्धकलाका प्रशिक्षण केन्द्रमा गएँ । सामान ओसारपसार केन्द्रमा गएँ । विद्रोह नियन्त्रण स्कूलमा गएँ ।
सन् १९६९ को जुलाईमा म सेनाबाट निस्केँ । सेप्टेम्बरमा कलेजमा भर्ना भएँ । सन् १९७० को डिसेम्बरमा मैले कानुन विषयमा एमए डिग्री लिएँ । त्यसपछि फ्लोरिडा विश्वविद्यालय गएँ । त्यहाँ सन् १९७१ जनवरीदेखि कक्षा लिन थालेँ ।
जनवरीमा (युद्धविरोधी अभियन्ता) जेन फोन्डा फ्लोरिडा विश्वविद्यालयमा आइन् र एउटा जोडदार भाषण दिइन् । म पनि उनलाई हेर्न गएँ किनभने उनी निकै चर्चित र आकर्षक व्यक्तित्व थिइन् । उनले हामी प्रजातान्त्रिक मुलुकमा बस्छौँ र सत्यसम्म जनताले पहुँच पाए मात्र प्रजातन्त्रले काम गरेको ठहरिन्छ भनिन् । सरकारले भियतनाम युद्धको साँचो प्रकृतिबारे जनतालाई ढाँटिरहेको उनले बताइन् । उनले जनतालाई सत्यतथ्य जानकारी गराउनु भियतनाम युद्ध लडेर आएका देशभक्त भेटरानहरू (पूर्वलडाकु) को कर्तव्य हो भनिन् ।
मैले सोचेँ, “मलाई प्रजातन्त्रमा विश्वास छ । (भियत)नाममा जे भइरहेको छ त्यसबारे तिनीहरू झूट बोल्दै छन् भन्ने पनि थाहा छ । (भियत)नाममा जनताले तिरेको करबाट तिनकै नाउँमा जे गरिँदै छ, त्यसबारे थाहा पाउनु जनताको हक पनि हो ।” त्यसैले म अगाडि गएँ र उनीहरूलाई मेरो नाम, ओहोदा, सेवाको विभाग र फोन नम्बर दिएँ ।
केही दिनपछि मलाई माइकल टि ओलिभरले फोन गरे । मलाई डेट्रोइटबाट ‘हिउँदे सैनिक छानबिन’ मा बोलाइएको थियो । त्यहाँ भियतनाममा भएका युद्ध अपराधबारे बयान लिन पूर्व सैनिकलाई बोलाइन्थ्यो ।
मलाई बोलाउँदा मेरो भियतनाम अनुभवबारे उनीहरूलाई अत्तोपत्तो थिएन ।
‘हिउँदे सैनिक’ मा बोल्दै जाँदा मलाई युद्धको कुरूपता महसुस भयो ।
त्यसबेलासम्म म युद्धविरोधी आन्दोलनलाई घृणाले हेर्थेँ । भियतनाममै छँदा मैले जलसेनाले छाप्ने ‘समुद्री बाघ’ पत्रिकामा एउटा खबर पढेको थिएँ । त्यसमा (प्रसिद्ध गायिका) जाओन बायज र उनका साथीहरूले कन्सर्ट आयोजना गरेर रगत जम्मा गर्दै क्यानडाको बाटो उत्तर भियतनाम पठाइरहेको लेखिएको थियो । अमेरिकी रगत चढाएका ‘कम्मिज’ को हातबाट मारिन सक्छु भन्ने सोचले मात्र पनि म आगो भएको थिएँ ।
कलेज पढ्न थालेपछि पनि मैले मरिन कोरको गर्मीमा लगाउने सर्ट लगाइरहेँ । म आन्दोलनकारीहरूलाई जिस्काउँथे र तिनीहरूसँग लड्न तम्सिन्थेँ ।
‘हिउँदे सैनिक छानबिन’ को अन्त्यमा माइक ओलिभरले सम्पूर्ण पूर्वलडाकुहरूको भेला बोलाए । भेलामा उनले भने, “लौ यसलाई अब के गर्ने त ?” हामीले भियतनाम भेटरानहरूको एउटा देशव्यापी युद्धविरोधी सङ्गठन बनाउने निर्णय ग¥यौँ । हामीले अमेरिकालाई २८ क्षेत्रमा बाँड्यौँ । म फ्लोरिडा, अलाबामा र जर्जियाको क्षेत्रीय संयोजक बनेँ ।
‘युद्धविरुद्ध भियतनाम भेटरानहरू’ को लक्ष्यको खेस्रा गर्न हामीले धेरै मिहिनेत ग¥यौँ । आज पनि त्यो दस्ताबेज सन् १९७१ मा जत्तिकै मूल्यवान र सान्दर्भिक छ ।
‘प्लेबोय’ पत्रिकाले हाम्रो सङ्गठनबारे बिनापैसा एक पेज विज्ञापन छाप्यो । त्यसपछि हाम्रो सदस्य सङ्ख्या रातारात बढ्यो ।
मैले युद्धविरोधी जुलुस निकाल्न थालेँ । हामी आफ्नो विचार प्रचार गर्न कक्षा पनि चलाउँथ्यौँ । एकाएक सरकारले मलाई पक्राउ ग¥यो । त्यसको ६ महिनाभित्र म पटकपटक पक्राउ परिरहेँ । अन्त्यमा मलाई मृत्युदण्डसहित १२० वर्षको कैद सजाय सुनाइयो । खासमा त्यो हामीलाई घुँडा टेकाउने र हाम्रा युद्धविरोधी गतिविधि बन्द गराउने सरकारी दाउ थियो ।
पूर्वलडाकुहरूलाई अँठ्याउने त्यो चालले काम गरेन । उल्टो सरकारको करकापले हामी अझ बलियो भयौँ । युद्धको विरोध गर्दागर्दै पनि लडाइँ चालु रह्यो । यस्तो कुराले विरोध जारी राख्ने जोशजाँगर आउँदैन । तर, लगातार पक्राउ परिरहँदा जोशजाँगर त्यहीँबाट आयो । मैले सोचेँ – तिनीहरू हाम्रो मुख थुन्न चाहन्छन्, यसको अर्थ हामी सही बाटोमा हिँडिरहेका छौँ ।
सन् १९७५ मा युद्ध टुङ्गियो । युद्धमा ५८,२२० अमेरिकी मरे र ३,०४,००० घाइते भए । भियतनामी आँकडाअनुसार ३० लाख भियतनामी मरे ।
सरकारी गुप्तचरहरूले मेरो ढाडमा गोली हाने । युद्ध टुङ्गिएपछि मेरो जीवन कम विवादित बन्न थाल्यो । (सरकारका गुप्तचर प्रमुख जे एड्गर हुभरले म ‘तटस्थ बन्नाले’ अमेरिकाको राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न भएको स्मरणपत्र बुझाएका रहेछन् ।) गोली लागे पनि म बाँचेँ र अझ पनि जुझारु देखिन्छु ।
अमेरिकी संविधानको रक्षा गरिरहेको विश्वासले म भियतनाममा दुईपल्ट घाइते भएँ । त्यसपछि ‘संवैधानिक हक अधिकार पालन’ गर्दै म घर फर्केँ । यसको पुरस्कारमा म पुनः रगतपच्छे भएँ ।
सन् १९९० मा मैले भियतनाम भ्रमण गर्ने मौका पाएँ । पहिले लडाइँ गरेका ठाउँहरू घुमेँ । म दाइ लक पुगेँ । त्यही म पहिलोपल्ट घाइते भएको थिएँ । दाइ लकमा अपरेसन स्टोनमा मारिएका २९२ जनाको नाममा एउटा स्मारक छ ।
ती २९२ मानिसलाई मार्नेहरूमध्ये म पनि एक थिएँ भन्ने कुरा त्यहाँका जनतालाई थाहा थियो । तैपनि उनीहरूले मलाई घृणा वा शत्रुता भावले हेरेनन् । कुनै नकारात्मक कुरा भनेनन् । मसँग पुरानो साथीजस्तै व्यवहार गरियो । भियतनामी संस्कृति हाम्रोभन्दा एकदम फरक छ । प्रत्येक चिहानमा तीन अगरबत्ती बालेर घुँडा र हात टेकाई झुकेर मैले पूरा एक दिन बिताएँ । त्यसपछि म एक भियतनामीसँग पूल खेल्नतिर लागेँ । कुनै बेला तिनीहरूको त्यो गाउँ ‘फ्रि फायर जोन’ थियो ।
म भन्छु – भियतनामका धानखेतमा मैले द्वन्द्व–समाधानको सीप सिकेँ । तिनीहरूलाई भुलाउन मैले कडा मिहिनेत गरेँ । आजको मेरो व्यक्तित्व त्यही जगमा बनेको हो । म जस्तो व्यक्ति बनेको छु, यो मलाई मन पर्छ । तर, आफ्ना जहानपरिवार, घरखेत र जीवनवृत्तिलाई म जस्ता विदेशी आक्रान्तहरूबाट जोगाउन खोजिरहेका मान्छेलाई मारेर मेरो आत्मविश्वास बढेको हो भनी सम्झिल्याउँदा आज पनि नमिठो लाग्छ ।
(लेखक ‘युद्धविरुद्ध भियतनाम भेटरानहरू’ का सदस्य हुन् । उनले भियतनाममा अमेरिकाले गरेका युद्ध अपराधबारे सन् १९७१ मा राखिएको ‘हिउँदे सैनिक’ सुनुवाइमा बयान दिएका थिए । भियतनाम युद्धपछि उनी शान्ति आन्दोलनमा सक्रिय भए । अहिले उनी फ्लोरिडामा बस्छन् ।)
स्रोत : कोभर्ट एक्सन । सम्यक