नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) का सङ्कलित अन्तर्वार्ता ‘समय र सन्दर्भ –२’ को अध्ययन गोष्ठी शुक्रबार सम्पन्न भयो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिको आयोजना भएको उक्त कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव एवं सङ्घीय सांसद प्रेम सुवालले नेमकिपा देश र जनताको निःस्वार्थरूपमा सेवा गर्न अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले स्थापना गर्नुभएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपालमा राष्ट्रपति र प्रधानमन्त्री भएकाहरू भैँसी र बाखा्र चराएर हुर्केको दाबी गरेकाहरू छन् । तर, सरकारहरूले नेपाली जनतालाई २७ खर्ब रूपैयाँ ऋण बोकाए । अहिले ऋण तिर्न ऋण लिनुपर्ने अवस्था छ ।”
“दूर सञ्चारसम्बन्धी विदेशी कम्पनी एनसेलले अर्बौँ रूपैयाँ पुँजीगत कर छली गरेको सार्वजनिक भएको हो । तर, केही दिनअघि प्रधानमन्त्रीले एनसेललाई सबैभन्दा बढी कर तिरेको कम्पनी भनी बधाईपत्र हस्तान्तरण गरे”, सांसद सुवालले भन्नुभयो ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता पुष्पलाल श्रेष्ठले नेपाली काङ्ग्रेसलाई विदेशी पुँजीको सेवा गर्ने पार्टी बताउनुभएको चर्चा गर्दै सांसद सुवालले सरकारहरूले कोसी, गण्डक, टनकपुर, महाकाली, अरूण, माथिल्लो कर्णाली, मुगु कर्णाली, तिला –१, तिला–२, पश्चिम सेती, सेती, फुकोट कर्णाली, चिसापानी कर्णालीलगायत जलविद्युत् परियोजनाहरू भारतीय पुँजीलाई दिएको बताउनुभयो ।
नेका नेतृत्वको सरकारले नदीनाला भारतको साझा भएको सम्झौता गरी देशघात गरेको छ, सांसद सुवालले भन्नुभयो ।
नेमकिपाले देशघाती सन्धि–सम्झौता, भ्रष्टाचार र अनियमितताको सडक र संसद्मा विरोध गर्दै आएको उहाँले बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टी भक्तपुर जिल्ला समितिका अध्यक्ष एवं वाग्मती प्रदेश सांसद सुरेन्द्रराज गोसाईले पुस्तक अध्ययनको आवश्यकता र महत्वबारे चर्चा गर्दै पुस्तक पढ्नुभन्दा पहिले पुस्तकका लेखकबारे जानकार हुनु जरूरी छ भन्नुभयो ।
उहाँले अध्यक्ष रोहित र हरिबहादुर श्रेष्ठका कथा÷रचनाहरू सबैले पढ्नु जरूरी भएको बताउनुभयो ।
एउटै पुस्तक या साहित्य दोहो¥याएर पढ्नुपर्ने विचार राख्दै उहाँले भन्नुभयो, “पुस्तक दोहो¥याएर पढ्नु भनेको वास्तवमा पुस्तकलाई माया गर्नु
हो ।” उहाँले जोड दिनुभयो, “पुस्तक सिकाइको लागि पढ्नुपर्छ, सिध्याइको लागि होइन ।”
विसं २०७६ देखि २०८१ सम्मका अन्तर्वार्ताहरू सङ्ग्रहित उक्त पुस्तक पत्रकार समाज नेपालले फागुनमा प्रकाशन गरेको हो ।
“पुस्तक ‘समय र सन्दर्भ – २’ मा अध्यक्ष रोहितले हुर्काउनुभएको राजनीति र राजनीतिक विचार सङ्ग्रहित छ । नेपाली राजनीतिक वृत्तका बेथितिविरूद्धको आक्रोश छ । कम्युनिस्ट आन्दोलनलाई बदनाम गर्न, निस्तेज बनाउन उद्यत नक्कली कम्युनिस्टहरूको पर्दाफास छ । पुस्तकले राष्ट्रिय–अन्तर्राष्ट्रिय राजनीति, कूटनीतिलाई हेर्ने दृष्टिकोण प्रदान गर्छ । पाँच दसकदेखि नेमकिपाले निरन्तर अगाडि बढाएको साम्राज्यवादविरोधी सङ्घर्षको प्रतिध्वनि छ । अमानवीय युद्ध र आर्थिक आतङ्कहरूको विरोध छ । देशलाई आत्मनिर्भर र आर्थिक रूपमा सबल बनाउने सूत्र छ । समयसँगै विचलित नभएको, अझ बलियो भएको नेमकिपाको विचार पुस्तकमा छ”, कार्यक्रममा अध्ययन पत्र प्रस्तुतकर्ताहरूले व्यक्त गर्नुभएको हो ।
नेपाल क्रान्तिकारी महिला सङ्घ भक्तपुर जिल्ला समितिका अध्यक्ष सृजना सैंजूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा गङ वैद्य, मञ्जु लाखा, अनिता जधारी, मिरा दुगुजु, सुशिला लवजु, तारा न्यौपाने, अनिता देशेमरू, रविना घेमोसु, सविना अवालले पुस्तकबारे आ–आफ्नो अध्ययन सार राख्नुभएको थियो ।