काल्पनिक समाजवादका महान् संस्थापकमध्ये एक हुनुहुन्थ्यो फ्राङ्क्किस चाल्समेरी फ्युरिये । ७ अप्रिल १७७२ को दिन उहाँ फ्रान्सको फ्रान्से–कोम्टे भन्ने ठाउँमा जन्मनुभएको थियो । उहाँको बुबा कपडा बेच्ने एक व्यापारी हुनुहुन्थ्यो । उहाँले स्थानीय कलेजमा अध्ययन गर्नुभयो । अध्ययनपछि उहाँ फ्रान्स, जर्मनी र हलैन्डको भ्रमणमा जानुभयो ।
फ्रान्सेली क्रान्तिको बेलामा क्रान्तिकारीहरूले लियोन सहर कब्जा गरेका थिए । त्यस लडाइँमा फ्युरियेको केही सम्पत्ति नोक्सान भयो । जीविकाको निम्ति फ्युरिये सेनामा भर्ती हुनुभयो । स्वास्थ्यको कारणले २ वर्षपछि उहाँले सेना छोड्नुभयो ।
सेनाबाट बिदा भएपछि उहाँले एक व्यापारी महाजनकहाँ काम गर्नुभयो । केही वर्षपछि उहाँले आफ्नै अलग्ग व्यापार सुरु गर्नुभयो । व्यापारबाटै उहाँ आफ्नो हातमुख जोड्नुहुन्थ्यो र फुर्सतको बाँकी समय समाजको सङ्गठनको अध्ययन र चिन्तनमा लगाउनुहुन्थ्यो ।
सन् १८०३ मा उहाँले युरोपेली राजनीतिबारे एक लेख छपाउनुभयो । उहाँको त्यो लेख चर्चाको विषय बन्यो । भनिन्छ, नेपोलियनले त्यस लेख र लेखकबारे जाँचबुझ गर्न लगाएका थिए ।
जीवनको सुरुमै व्यापारमा लागेर उहाँले व्यावहारिक जीवनका नयाँ नयाँ कुरा अनुभव गर्नुभयो । व्यक्तिलाई प्रधानता दिने र प्रतियोगिताको सिद्धान्त सा¥है नमिल्दो र अनैतिक कुरा हो भनेर उहाँलाई थाहा पाउनुभयो । त्यसको ठाउँमा सहयोग र संयुक्त सिद्धान्त लागु गरेर मानवीय गुणलाई पूर्ण र समानरूपले विकास गर्न दिनुपर्छ भन्ने विचार उहाँले अगाडि सार्नुभयो ।
सन् १८०८ मा उहाँले आफ्नो विचारलाई पूर्ण व्याख्या गरेर पहिलो रचना प्रकाशित गर्नुभयो । रचना दुई भागमा थियो । त्यस रचनामा उहाँले मानिसलाई स्वतन्त्ररूपले विकास गर्न दिनुपर्छ र नियन्त्रण अप्राकृतिक कुरा हो भनेर देखाउनुभयो । तर, लेखको भाषा अलि अस्पष्ट थियो ।
समाजमा मेलमिलाप र समानता ल्याउन समाजलाई फेरि नयाँ ढङ्गले सङ्गठित गर्नुपर्छ । त्यसको निर्माणको निम्ति भइरहेका असङ्ख्य सामाजिक बन्धन र दबाबहरूबाट समाजलाई मुक्त गर्नुपर्छ र मानवीय इच्छाको पूर्ण विकास गर्न दिनुपर्छ । समाजमा अहिले आर्थिक शक्ति खेर गइरहेछ । त्यसलाई सदुपयोग गर्न सहकारी अथवा संयुक्त उद्योगको आवश्यकता छ । यसरी उहाँले घरको बन्दोबस्तदेखि लिएर सम्पूर्ण समाजलाई नै नयाँ ढङ्गले बनाउने विचार प्रस्तुत गर्नुभयो ।
आफ्नो रचनामा उहाँले व्यापारीहरूको बेइमानी र बढी नाफा खाने तरिकालाई उादङ्गयाई दिनुभयो । पुँजीवादी व्यवस्थालाई व्यापारिक हानथाप, योजनाहीन स्वभाव भएको र उत्पादनको भद्रगोल व्यवस्था भन्ने नाउँ दिनुभयो किनभने मजदुरहरूले बढी उत्पादन गर्दा झन् बेकारी, भोक र गरिबीको मार सहनुपर्ने हुन्छ । पुँजीवादी व्यवस्थामा समाजका सदस्यहरूको स्वार्थ आपसमा बाझिएको वा उल्टो हुन्छ ।
फ्युरिये समाजको बाझिएको कुरा यसरी देखाउनुहुन्छ, “डाक्टरहरू बढी रोग फैलेको हेर्न चाहन्छन् र वकिलहरू घर–घरमा मुद्दा भएको मन पराउँछन् । डकर्मी र सिकर्मीजस्ता कालिगडहरू आगो लागेर ४ भागको १ भाग सहरै खरानी भएको सपना देख्छन् र ऐना बनाउनेहरू असिना आएर सबै झ्यालका ऐनाहरू फुटेको सपना देख्छन् ।”
यसकारण, उहाँको विचारमा यस पुँजीवादी समाजलाई फेरि नयाँ ढङ्गले निर्माण गर्नुपर्छ । त्यसको निम्ति समाजका सदस्यहरूलाई अलग–अलग ढङ्गले नयाँ किसिमका घरहरू बनाएर बसोबास गराउनुपर्छ । नयाँ बस्तीमा नयाँ ढङ्गले बसोबास गर्ने त्यस समूह या समाजलाई उहाँले ‘फाक्लेन्स’ नाउँ दिनुभयो । त्यस समाजको बस्ती र घरहरूको नक्सासमेत उहाँले बनाउनुभएको थियो । त्यो नयाँ बस्ती तीनकुने हुन्थ्यो, जसलाई लडाइँको बेलामा मोर्चाको रूपमा विकास गर्न सकिन्थ्यो । त्यो नयाँ बस्ती गाउँ र सहरभन्दा भिन्नै हुन्थ्यो । त्यस व्यवस्थाले सहर र गाउँको भेद हट्दथ्यो । एक बस्ती वा इलाकामा १६०० सदस्यहरू रहने छन् । तिनीहरू एउटै समूह वा घरमा रहनेछन् । उहाँले एक आदर्श समाजको कल्पना गर्नुभयो । त्यस समाजका सदस्यहरू विभिन्न दलहरूमा विभाजित भएका हुन्छन् र तिनीहरू खेती गर्छन् । तिनीहरू आ–आफ्ना चाखअनुसार काम गर्छन् । एउटै काम गरिरहँदा वाक्क वा दिक्क लागेर मन मर्छ । त्यसकारण, समाजका सदस्यले कुनै एक खास पेसामा लाग्नु पर्दैन र हेरफेर गरी काम गर्न पाउँछन्† एक दलले अर्को दलको काम खुसी भएर गर्नसक्छन् । मानवीय स्वभावलाई सही सिद्धान्तमा ढालेमा पुँजीवादी समाजमा तल्लो सम्झिइने काम पनि त्यस समाजमा इज्जत भएको काम सम्झिइने छ । बानी बसालेर लगेको खण्डमा केटाकेटीमा पनि फोहरमैला सोहर्ने वा तल्लो तहको काम गर्ने एउटा स्वाभाविक प्रवृत्तिको विकास हुन थाल्दछ । त्यस समाजमा बस्ने मानिसहरूले शारीरिक र मानसिक दुबै काम गर्नेछन् । तर, त्यस समाजमा व्यक्तिगत सम्पत्तिलाई उन्मूलन (खारेज) गर्नुपर्दैन भन्ने उहाँको विचार थियो । हरेक परिवारको अलग–अलग कोठा हुन्छ, पारिवारिक जीवन राम्रो हुन्छ । त्यहाँ धनी र गरिब सदस्यहरू हुन्छन् ।
‘फाक्लेन्स’ मा पुँजीवादी सम्बन्धका तत्वहरू रहनेछन् । नाफा त्यसका सदस्यहरूमा बाँडिने छ । आम्दानीको भागबन्डा श्रम, पुँजी र बुद्धिमा विभाजित गरिने छ । मजदुरहरूले १२ भागको ५ भाग, पुँजीपतिहरूले १२ भागको ४ भाग पाउनेछन् र बुद्धिको काम गर्नेले १२ भागको ३ भाग पाउनेछन् । यो फ्युरियेको आदर्श समाजको वितरण व्यवस्था हो ।
फ्युरियेका मीठा मीठा कल्पना र विचारहरू
सन् १८१२ मा उहाँकी आमा खस्नुभयो । आमाको सम्पत्तिबाट उहाँले केही पैसा पाउनुभयो । त्यसपछि उहाँ लियोन छोडेर बेली भन्ने ठाउँमा बस्न जानुभयो । त्यहाँ आफ्नो दोस्रो रचना तयार गर्न लाग्नुभयो । १८२२ मा उहाँको त्यो कृति पेरिसबाट प्रकाशित भयो । उहाँको योजना कार्यान्वित गर्न या व्यवहारमा लागु गर्न पेरिसका केही धनीहरूबाट सहयोग पाउने आशा गर्नुभयो । तर, उहाँको त्यो आशा सफल भएन । त्यसकारण, उहाँ लियोन फर्कनुभयो ।
सन् १८२६ मा उहाँ फेरि पेरिस जानुभयो र आफ्नो भएभरको पैसा किताब प्रकाशनमा लगाउनुभयो । पैसा नभएर उहाँ अब एक अमेरिकी संस्थामा कारिन्दा भएर काम गर्नुभयो । १८२९ र १८३० मा उहाँका नयाँ कृतिहरू पनि प्रकाशमा आए । ती रचनाहरूमा उहाँको विचार प्रस्ट झल्किन्थ्यो ।
सन् १८३१ मा उहाँले सेन्ट साइमन र अर्का एक बेलायती काल्पनिक समाजवादी रोवर्ट ओवेनको आलोचनामा लेखहरू प्रकाशित गर्नुभयो । त्यस आलोचनाले गर्दा अरूको ध्यान उहाँको रचनामा पुग्यो । त्यतिबेला उहाँका केही समर्थकहरू पनि भेला भए । उहाँका समर्थकहरूमध्ये भिक्टोर कन्सिडरेन्ट मुख्य थिए । भिक्टोर कन्सिडरेन्टले १८३४ मा ‘समाजको भाग्य’ भन्ने रचना प्रकाशित गरे । फ्युरियेको विचारलाई राम्ररी बुझ्न त्यो धेरै काम लाग्ने र आवश्यक किताब थियो । फ्युरियेले आफ्नो विचारलाई प्रचार गर्न १८३२ मा एक समाचार पत्र निकाल्नुभयो । समाचार पत्र सफलतापूर्वक चलेन । त्यसकारण, त्यसलाई साप्ताहिकरूपमा निकाल्नुभयो । त्यो पनि सफल नभएपछि त्यसलाई मासिक पत्रको रूपमा निकाल्न थाल्नुभयो ।
फ्युरियेले पुँजीवादी समाजका असमानता र खराबीहरूलाई छ्यास्नुभयो, नयाँ उदाउने समाजको उज्यालो पक्षतिर औँल्याउनुभयो । उहाँको विचारमा त्यस नयाँ समाजमा मानिस १४४ वर्ष बाँच्नेछन् । नयाँ–नयाँ पशुको विकास हुनेछ । ती पशुहरू ‘ह्वेल माछा मार्ने’, ‘बाघ मार्ने’ र ‘गोही मार्ने’ क्षमताका हुनेछन् । समुद्र र महासागरका पानी नुनिलो नभई सर्वत जस्तै मिठो हुनेछ । मानिसले आफूले बनाएका अथवा कृत्रिम चन्द्रमाहरू आकाशमा छाड्ने छन् । ती चन्द्रमाहरूले रात पनि उज्यालो पार्नेछन् । यसप्रकार मानिसले ४ वटा चन्द्रमा आकाशमा छाडेर रात र दिन दुबैलाई उज्यालो पारिराख्ने छन् । लाखौँलाख मानिसहरू सहाराको मरुभूमिमा जानेछन् र ती मरुभूमिहरू फलफूलका रमाइला बाग–बगैँचाहरूमा फेरिने छन् ।
चाल्स फ्युरियेले आफ्नो ‘फाक्लेन्स’ योजनालाई लागु गर्न धनीहरूले मद्दत गर्नेछन् भन्ने आशा गर्नुभएको थियो । त्यस आशालाई लिएर उहाँ धनीहरूको दैलो–दैलोमा मद्दतको भिक्षा माग्न जानुभयो । ठुला–बडाहरूको ढोका घच्घच्याउन जानुभयो । यहाँसम्म कि सम्राट नेपोलियन र अरू ठुलठुला बैङ्कपतिहरू कहाँ पनि सहयोगको आशाले दर्शन भेटको निम्ति प्रतिक्षालयहरूमा पर्खनुभयो । ठाउँ–ठाउँ र बेला मौकामा ठुला–बडाको आगमन र भेटघाटको निम्ति उहाँ कुर्नुभयो । यस्तै उहाँले अनेक दौडधुप गर्नुभयो । तर, सम्पत्तिवालहरूले उहाँलाई कहिल्यै मद्दत गरेनन् । तर, उहाँं निराश हुनुभएन ।
सन् १८३४ मा उहाँको मासिक पत्र चल्न सकेन । १८३६ मा ‘फाक्लेन्स’ फेरि प्रकाशित गर्न सफल हुनुभयो । आफनो जीवनमै उहाँले ‘फाक्लेन्स’ समाजलाई व्यावहारिकरूपले चालु भएको हेर्न चाहनुहुन्थ्यो । त्यसकारण, उहाँका एक समर्थक वाउलेट ड्यु लादीले दामुलेट भन्ने जङ्गलको नजिकै एक चक्ला जग्गा किनेर त्यस समाजलाई कार्यरूप दिन खोन्ुभयो, वाउलेट ड्यु लादी सेने–इट–ओसेकाका प्रतिनिधि हुनुहुन्थ्यो । उहाँले त्यहाँ एक बस्ती बसालेर एक ‘समाजवादी’ समुदाय गठन गर्नुभयो । तर, पुँजीको कमीले त्यो समाजवादी समाज खत्तम भयो । तर, उहाँ निराश हुनुभएन । मर्ने बेलासम्म उहाँले त्यस समाज स्थापना गर्ने विचार र आशा त्याग्नुभएन ।
उहाँको आशाको उल्टो धनीहरूले उहाँको नयाँ समाज बनाउने योजनालाई कहिल्यै मद्दत गरेनन् । १८३७ मई महिनामा उहाँले राम्रो भविष्यको कल्पना गर्दागर्दै सदाको निम्ति आँखा चिम्लनुभयो ।
फ्युरियेको व्यक्तित्व
आज फ्युरिये हाम्रो अगाडि हुनुहुन्न । तर, उहाँका मिठा–मिठा कल्पना र विचारमाथि छानबिन र प्रयोग हुँदै छ । ‘समाजवाद’ र ‘साम्यवाद’ भन्ने रचनाहरूमा उहाँका विचारका आधार र सारहरू पाइन्छन् । उहाँं सा¥है एकान्तप्रिय र भावुक प्रकृतिका हुनुहुन्थ्यो । राम्रो सिद्धान्तले समाजलाई छिट्टै बदल्न सकिन्छ भन्ने उहाँको विचार थियो । तैपनि, एक्लो व्यक्तिगत प्रयासभन्दा सामूहिक र संयुक्त प्रयत्नहरू बढी प्रभावकारी हुन्छ भन्ने कुरा उहाँ मान्नुहुन्थ्यो ।
नयाँ समाज बनाउने उहाँको इच्छा धेरै उँचो थियो । उहाँको कल्पना धेरै बलियो थियो । तर, उहाँको व्यावहारिक पक्ष सा¥है फितलो साबित भयो ।
फ्युरियेको बारेमा एङ्गेल्सले राम्रो विवेचना गर्नुभयो र हामीलाई उहाँको व्यक्तित्वको दर्शन गराउनुभयो । १८०८ मा फ्युरियेको पहिलो पुस्तक निस्क्यो । तर, उहाँको सिद्धान्तले १७९९ मा नै आकार लिइसकेको थियो ।
“फ्युरियेका रचनाहरूमा हामी त्यसबेलाको समाजको आलोचना पाउँछौँ । जो सा¥है फ्रान्सेली ढङ्गको र व्यङ्ग्यपूर्ण छ । तर, त्यो काम पूर्णताले भरिएको थिएन । फ्युरियेले क्रान्तिभन्दा पहिले पुँजीपतिवर्गको आफ्ना उत्साही भविष्य वक्ताहरूको चाखलाग्दा चिप्ला कुराहरूलाई क्रान्तिपछिका तिनीहरूकै शब्दहरूसँग दाँजिदिनुभयो । उहाँले पुँजीवादी संसारको भौतिक र नैतिक पतनशीलतालाई नहिच्किच्याइकन नङ्गयाइदिनुभयो ।”
उहाँले त्यस वास्तविकताको अगाडि विवेकको राज हुने समाज जन्मनेछ, सबै मानिसहरू सुखी हुनेछन्, असीम मानवीय पूर्णताको विकास हुनेछ भनेर भविष्यवाणी गर्ने पुराना दार्शनिकहरूका झिलिमिली बयान र आफ्नै समयका पुँजीवादी आदर्शवादीहरूको गुलाफी र मिठा मिठा कुराहरूलाई उभ्याइदिनुभयो । सबभन्दा राम्रा राम्रा कुराहरूमा कसरी सबभन्दा दयालाग्दो वास्तविकता भएको हुन्छ भनेर उहाँले देखाइदिनुभयो । आफ्नो तीखो व्यङ्गबाट उहाँले त्यस काम नलाग्ने शब्दजाललाई धुजाधुजा पारिदिनुभयो ।
फ्युरिये एक आलोचक मात्रै हुनुहुन्नथ्यो । नहडबडाइकन शान्त रहने उहाँको स्वभावले उहाँलाई एक व्यङ्ग्यकार बनाइदियो । साँच्चै भनुँ भने संसारका सबभन्दा महान् व्यङ्ग्यकार बनाइदियो । जतिको सशक्त र आकर्षक ढङ्गले क्रान्तिको हारपछि फैलिएको साटफेर र जालसाजीलाई उहाँले चित्रण गर्नुभयो । त्यत्तिकै तीखो र चाखलाग्दो भाषामा फ्रान्सेली व्यापारमा फैलिएको पसले स्वभावको तस्बिर पनि खिचेर राखिदिनुभयो । त्यो त त्यसबेला फ्रान्सेली व्यापारको एक गुण भइसकेको थियो । उहाँले पुँजीवादी समाजमा आइमाईको स्थान र लोग्ने र स्वास्नीको सम्बन्धमा अझ बडो राम्रोसँग आलोचना गर्नुभएको थियो । स्वास्नीमानिसको स्वतन्त्रता नै कुनै समाजको स्वतन्त्रताको वास्तविक नापो हो भनेर सबभन्दा पहिले घोषणा गर्ने उहाँ नै हुनुहुन्थ्यो ।
समाजको इतिहाससम्बन्धी धारणामा फ्युरिये सबभन्दा महान् हुनुहुन्छ । आजसम्मको इतिहासलाई उहाँले जङ्गली अवस्था, असभ्य अवस्था, पितृसत्तात्मक अवस्था र सभ्यताको अवस्था गरेर युगको विकासलाई चार खुड्किलोमा छुट्याइदिनुभयो । सभ्य भनाउँदो यो अन्तिम समाज आजको पुँजीवादी समाज हो, जो सो¥हौँ शताब्दीमा एक सामाजिक व्यवस्थाको रूपमा विकास भयो । उहाँले यस कुरालाई प्रमाणित गरिदिनुभयो कि –
“सभ्य अवस्थाका हरेक खराबीहरू असभ्यताको सरल रूपबाट विकास भएर जेलिएको, अस्पष्ट, शङ्कास्पद र छलपूर्ण भएको हो ।
सभ्यता आपसमा जेलिएको हुन्छ । ‘एक गन्हाउने घेरा’ मा घुमिरहन्छ । अनेक भित्री तानातानमा फसेको हुन्छ । तर, त्यसलाई फछ्याउन भने सकिँदैन । झन् ऊ आफूले इच्छा गरेको भन्दा उल्टो ठाउँमा पुग्छ । उहाँ एक उदाहरण दिनुहुन्छ, “सभ्यताकै मुनि ठुलो प्रचुरताबाटै गरिबी जन्मेको हुन्छ ।”
फ्युरियेले द्वन्द्वात्मक प्रणालीलाई उहाँको समकालीन जर्मन दार्शनिक हेगेलले जस्तै बडो राम्रोसँग प्रयोग गर्नुभयो । यसकारण, एङ्गेल्सले उहाँलाई काल्पनिक समाजवादको एक महान् संस्थापक मान्नुभयो ।
फ्युरियेले पुँजीवादको पतनशील नैतिकता, झूट, शुभलाभको स्वभाव, आइमाईको नराम्रो अवस्था र पुँजीवादको नसुल्झिने अन्तरविरोधलाई प्रस्टयाइदिनुभयो । इतिहासको क्रमबद्ध विकास र सभ्यताको झिलिमिलिमा लुकेको फोहरमैलालाई उदाङ्ग्याइदिनुभयो । समाजको उत्थान र पतनलाई जाँच्ने वा हेर्ने तरिका अगाडि सारिदिनुभयो ।
फ्युरियेको मृत्यु भएको १६७ वर्ष भयो । तर, उहाँका कति कल्पना र विचारहरू आज हामी केही रूपमा साकार भएको देख्दै छौँ । मानिसले बनाएको चारवटा चन्द्रमाले रात पनि उज्यालो हुने कल्पना गर्नुभएको थियो । हामी देख्छौँ, आज आकाशमा सयौँ हजारौँ भू–उपग्रहहरू विभिन्न उद्देश्यको निम्ति घुमिरहेका छन् । ती उपग्रहहरूलाई भू–चन्द्र पनि भन्ने गरिन्छ । अब त भू–उपग्रहले उज्यालोमात्रै दिने होइन कि गीत पनि सुनाउने भइरहेको छ । जनवादी गणतन्त्र चीनले छोडेको भू–उपग्रहमा ‘पूर्व रातो छ’ भन्ने गीत बजाउने गर्छ । अँ हो, चन्द्रमाले जस्तै उज्यालो दिने ठुलठुला चन्द्रमा हेर्न भने बाँकी नै छ ।
उहाँले भन्नुभएको थियो, समुद्रको पानी मिठो हुनेछ । तर, आज समुद्रको पानीलाई नुनिलो नबनाउने यन्त्र पनि बनिसकेको छ । मरुभूमिमा नहरको विकास हुँदै छ । बाग–बगैँचा बन्ने क्रम सुरु भइसकेको छ । उहाँले नयाँ किसिमका घर, बस्ती र सहर र गाउँभन्दा भिन्नै खालका बसोबासको कल्पना गर्नुभएको थियो । तर, आज समाजवादी देशहरूमा उहाँको विचारभन्दा अलि भिन्नै ढङ्गले नयाँ नयाँ घर र बस्ती बनिरहेका छन् । कहीँ ‘कम्युन’ बनिरहेका छन् त कहीँ १६०० भन्दा बढी मानिस अटाउने भवनहरू बनिरहेका छन् । साँच्चै चीनको ‘कम्युन पुरानो सहर पनि होइन र पुरानो गाउँ पनि होइन । चीन आज शारीरिक र मानसिक श्रमको भेदलाई हटाएर साम्यवादी समाजमा भित्रिनको निम्ति समाजवादी समाजलाई निर्माण गर्दै छ । स्वास्नीमानिसको स्वतन्त्रता र समानताबारे उहाँंको विचार न्यायोचित छ । तर, समाजलाई जाँच्ने कसी त्यो मात्र होइन । स्वास्नीमानिसले स्वतन्त्रता पाएर पनि आर्थिक स्वतन्त्रता र शोषणमुक्त नभएको समाज आदर्श समाज रहने छैन ।
तल्लो श्रमलाई बच्चैदेखि बानी गराउने उहाँको विचार केही हदसम्म ठीक छ । चीनमा आज बच्चैदेखि श्रमलाई प्रेम गर्न सिकाइन्छ र शिक्षालाई उत्पादन श्रमसँग मिलाउने नीति लिएको छ । तर, उहाँको आदर्श समाजमा वर्ग, व्यक्तिगत सम्पत्ति र शोषण रहने कुरो आज मेल खान सकेन ।
फ्युरियेका यस्ता केही कुरालाई छोडेर पुँजीवादको आलोचना र समाजलाई हेर्ने या अध्ययन गर्ने ढङ्ग स्वीकार गर्नुपर्छ । मानव जातिलाई सेवा हुने उनका केही कल्पनाहरू कहीँ हेरफेरका साथ देख्दै छौँ । तर, समाजको आर्थिक आधारलाई केन्द्र मानेर हेर्ने कुरोमा त्यत्ति विकास उहाँले गर्नसक्नुभएन । त्यसलाई माक्र्स र एङ्गेल्सले मात्रै गर्नुभयो । तैपनि, उहाँका रचनात्मक कुराहरूबाट सिक्छौँ र उहाँका कमीहरूलाई हेर्ने आँखाको विकास गर्दै जानुपर्छ ।
(‘काल्पनिक समाजवादीहरू र अराजकतावादीहरू’ पुस्तकबाट)