सहरोन्मुख गाउँको नाम हो कान्छीबजार । यो ठाउँको नाम कान्छीबजार कसरी रहन गयो होला, खोजको विषय छँदैछ ! हुन त म यो बजारमा पहिलोपटक २०४७ सालतिर पुगेको थिएँ । त्यतिबेला आजको जस्तो कान्छीबजार थिएन । मंगलापुर, सेमराबजार, कान्छीबजार हुँदै मक्रहरको भाटा गाउँ पुगेको थिएँ । कान्छीबजार, रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं.१० मा पर्छ । यो पुरानो बजार हो ।
अव्यवस्थित बसोबासीको घनत्व रहेको उक्त ठाउँमा थारु, नेवार र मगरको जनसंख्या धेरै छ । अन्य जातिको समेत बसोबास भेटिन्छ । कान्छीबजारको वरिपरि सग्रहवा, मैनहवा, जमुवानी, बेवरा गाउँहरु छन् । गाउँमा कृषिमार्फत् जीवनयापन गर्नेको संख्या उल्लेख्य पाउन सकिन्छ । हुन त पशुपालकहरु पनि छन् ।

हाम्रो टोलीमा (शिक्षाका जानकार होमबहादुर गलामी, लुम्बिनी प्रदेश, मुख्यमन्त्रीका ग्रामीण विकास विज्ञ युवराज घिमिरे, पत्रकाकर स्वस्तिक श्रेष्ठ, पशुपालक धनबहादुर बुढाथोकी र म ) साउन महिनाको १९ गते,सोमवार विहान ११ वजे बुटवलबाट हिड्ने भनेतापनि साउने पानीले उछारपाटो दिएन । कान्छीबजार नजिकै रहेको उद्यमी टोल पुग्दा दिउँसोको एक बज्नै आँटेको थियो । हामीलाई सो टोलमा पुराउन प्रेरित गर्ने पत्रकार स्वस्तिक श्रेष्ठ नै थिए । उनले गत हप्ता त्यहाँ पुगेर स्थानीय किसानहरुका उन्नति र प्रगतिका कथा लेखेका थिए । त्यसैलाई पछ्याउँदै हामी त्यहाँ हान्निएका थियौं ।
फेरि पनि निष्ठुरीको ..................।
चिनेका पुराना साथी घनसिंह पुनमगर भेटिए सोही ठाउँमा । उनीसँगै करिव तीस वर्षदेखि चिनचान र हिमचिम भएपनि पछिल्ला पाँच वर्षदेखि भेटघाट र बोलचाल हुन सकेको थिएन । उनको ससुराली मेरै गाउँ, पाल्पाको नुवाकोटमा रहेको छ । दुईछोरा र दुईछोरीका बाबा बनिसकेका रहेछन् घनसिंह । उनी गीतसंगीतमा खुबै रमाउने मान्छे हुन् । २०६० तिर उनले मेरो आधुनिक गीतमा संगीत र नारायण थापाको स्वर भरेर बुटवलको ओैद्योगिक प्रदर्शनीमा गाउँदा प्रथम भएको हिजोजस्तै लाग्छ । पाँच हजार नगद रुप्पे नारायण थापाले चरप्पै बुझेका थिए । ‘फेरि पनि निष्ठुरीको किन याद आउँछ ...?’ बोलको त्यो गीत, पछि बेग एल्बममा समाहित भएको उनै घनसिहंले सुनाएका थिए ।

यतिबेला घनसिंह र डा. दामोदर भुसालले धानमा हाँसखेती गरेका रहेछन् । डा. भुसालका अनुसार समय सुहाउँदो धान र हाँसबाट मनग्य आम्दानी गर्न सकिने रहेछ । धानमा हाँसपालन गर्दा माटो खुकुलो हुने जसका कारण धानमा पानी र मल सजिलै जराहरुमा पुग्ने, कीराहरु समेत हाँसले खाईदिने भएकाले धानखेती सप्रिएको उल्लेख गरे । |
उनकै घरमा चियापानी, फलफूल खाँदै गाउँमा रहेका एक सय पाँच घरमध्ये १७ घरमा गरिएको हाँसपालन, करेसाबारीका र मौरीपालनको बारेमा घनिभूत छलफल गरियो । धानखेतमा माछा र हाँसपालन सम्भव र उत्कृष्ट रहेको प्रत्यक्ष आँखाले देख्ने अवसर मिल्यो । भविष्यमा मौरीपालनलाई अघि बढाउने योजना रहेको समेत मालुम भयो । पढ्दै कमाउँदै कार्यक्रमको नौलो अभ्यास रहेको छलफलका क्रममा थाहा पाइयो । घरका छोराछोरीलाई पकेट मनीका लागि न्यूनतम १५ वटा हाँस पाल्न दिने र त्यसलाई स्याहारसुसार र हेरचाह तिनै छोराछोरीले गर्ने बानीको विकास गर्न यस्तो योजना ल्याइएको डा. दामोदर भुसालले बताए । सानैदेखि उद्यमशील बनाउन सकिएमा उनीहरुले पछि आफैले ठूलो स्केलमा हाँसपालनलाई उद्यमका रुपमा सुरु गरेर विदेश जाने प्रचलनलाई रोक्न सम्भव हुने जानकारी पाइयो ।
धानखेतीभित्र हाँसपालनले फाइदा...................
घर वरिपरि करेसाबारी निर्माण गर्दा वातावरण हरियाली, आफूलाई चाहिने तरकारीको आपूर्ति हुने, सुन्दरता थपिने र गाउँकै पहिचान नौलो हुने भएको हुँदा यस्तो योजनालाई कार्यान्वयनमा ढालिएको सुनाए । पक्की घरअघि पक्की बाटो । घरको वरिपरि करेसाबारीकै कारण घनसिंहले वर्षामासबाहेक तरकारी किनेर नखाएको पनि चार वर्ष भएछ । उनका साहिँला भाइ रामबहादुर पुनले गतवर्ष धानखेतमा माछापालन गरेर १० हजार रुपैयाँ कमाएका रहेछन् । यतिबेला घनसिंह र डा. दामोदर भुसालले धानमा हाँसखेती गरेका रहेछन् । डा. भुसालका अनुसार समय सुहाउँदो धान र हाँसबाट मनग्य आम्दानी गर्न सकिने रहेछ । धानमा हाँसपालन गर्दा माटो खुकुलो हुने जसका कारण धानमा पानी र मल सजिलै जराहरुमा पुग्ने, कीराहरु समेत हाँसले खाईदिने भएकाले धानखेती सप्रिएको उल्लेख गरे ।

हाँसको ह्चाचिङ्ग, दानापानी,अण्डा र सिङ्गो हाँसबाट थुप्रै आम्दानी गर्न सकिने उनै डा.ले बताए । स्वास्थ्यवर्द्वक मासुका रुपमा हाँसलाई लिन सकिन्छ । छोईलामात्र होईन,हाँसको तरकारी (डक करी) बनाएर खाँदा स्वादै जिभ्रोमा झुण्डिने गर्छ । बुटवलमा हाँसको मासु पाइने गरी फ्रेस हाउस खोल्न सकेमा यसका पारखीहरुलाई अति नै हितकर हुने थियो । हाँसपालक किसानहरुलाई बजार मिल्ने थियो ।
हाँसपालन गरिएको क्षेत्रको अवलोकन गरियो । सामान्यतया २५ वटा हाँसपाल्दा तीन महिनामा आठ हजार रुपैयाँको दाना खर्चिनु पर्दोरहेछ । ती २५ वटा हाँस बेच्दा २५ हजार रुपैयाँ पर्ने रहेछ । यो कुरा ह्वाइट पेकिड जातको हाँस पाल्दाखेरिको हो । ‘घरको अगाडि फूलवारी, सबै घर पछाडि करेसाबारी र हरेक घरमा मौरीघार ।’ उद्यमी टोलको नारा हो । यही नारालाई साकार बनाउँदै समृद्धिको सपना बोकेको गाउँ हो,उद्यमी टोल ।

निःशुल्क बेलौती चाख्यौं................।
डा.भुसालले इन्नोभेसन कृषि फर्म सञ्चालन गरेका छन् । आफै स्वरोजगारी भएका छन् । धानखेतीभित्र कसरी हाँसपालन सम्भव छ भनेर दुनियाँलाई सिकाएका छन् । खण्डखण्डका हाँस पालेका छन् । अण्डा बेचेका छन् । चल्ला बेचेका छन् । सहरोन्मुख गाउँ,कान्छीबजार नजिकै रहेको उद्यमी टोलका मानिसहरुलाई उ्रद्यमी बनाउन पहल गरेका छन् । उत्प्रेरित गरेका छन् ।
हामीले उनको फर्मभित्र फलेका बेलौती निःशुल्क चाख्यौं । अहा ! कति मीठो । नूनसँग डोबेर खाँदा त । माछापोखरी हेर्यौं । धान रोप्ने आधुनिक मेसीन भने प्लाष्टिकले ढाकिएको रहेछ । तरपनि धानखेतीभित्र हाँसहरु पौडीरहेका,दौडिरहेका भेट्यौं । सिमसिम पानी परिरहेकै थियो । हामीले सबै साथीहरुलाई हात हल्लाएर बिदा भयौं ।

उद्यमी टोलमा होमस्टे चलाउने रहर रहेछ । गाउँको उत्पादन मुख्यमन्त्रीलाई देखाउने सपना बोकेका रहेछन् । आफ्नो सहरोन्मुख गाउँलाई समृद्धिसँग जोड्ने इच्छा चाँडै पूरा गर्ने अठोट बोकेका उनीहरुको चाहना छिट्टै पूरा हुन सकोस् । समय मिलाएर मुख्यमन्त्रीलाई गाउँमै ल्याउन प्रयास गर्ने युवराज घिमिरेले वचन दिए ।
गुगल नक्सा हेर्दै फर्किदा........।
सेमरा बजारमा रहेको प्रगतिशील महिला विकास बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष सीता उपाध्याय र व्यवस्थापक जमुना गिरीसँग भलाकुसारी गरी क्षणभर बस्यौं । अनि हतारमा नमस्ते गरेर बुटवलतिर हुँइकियौं । उनीहरुको चिया पनि पिउन समेत ढिला भयो । केही समय तराईको बाटोमा अलमल परेपछि गुगल नक्साको निर्देशन अनुसार शिवपुर, मणिग्राम हुँदै जोगीकुटीमा रहेको लट्टे बाको मःम पसलमा झोल मःमले पेट सेकियो । चिसो मौसममा तातो महसुस भयो । त्यतिनै बेला मेरो खल्तीबाट एउटा बाघ फुत्त हाम फाल्यो ।
मभने जोगीकुटीमै बसें । साथीहरु बुटवलतिर लागे । पानी परेकै थियो । साउने सोमवारलाई कृषिसँगै जोड्ने अवसर प्राप्त भयो । सबै खुसी भयौं । छोटो र मीठो यात्राले नौलो र ताजा अनुभव बटुल्न सहयोग मिल्यो ।