सञ्जय
प्राध्यापक बौद्धिक प्राणी हो । प्राध्यापक राजनीतिक प्राणी पनि हो । कुनै पनि प्राध्यापक राजनीतिबाट अलग हुनसक्दैन । प्राध्यापक राजनीतिबाट टाढा पनि रहन सक्दैन । उनले बुझ्ने र नबुझ्ने, जानकार हुने र नहुने मात्रै हुन् । प्राध्यापक बुद्धिजीवी पनि हुन् । देशभक्त र असल प्राध्यापक, बुद्धिजीवीले देशको निर्माण र रक्षा गर्न, देशलाई आफ्नै खुट्टामा उभ्याउन विचार र बुद्धि दिन्छन् । उनीहरू देश र जनताको सेवाको लागि निरन्तर पढ्छन्, अनुसन्धान गर्छन्, विश्लेषण गर्छन् र लेख्छन् । उनीहरू कुनै शक्तिको अगाडि झुक्दैनन् । उनीहरू ठीक ठाउँमा, ठीक समयमा त्यस्तो काम गर्न चुक्दैनन्† आफ्नो स्वार्थको लागि नैतिकता बेच्दैनन् । उनीहरू सबैको अगाडि निडर भएर सत्य कुरा बोल्दै हिँड्छन् । उनीहरू भ्रष्ट नेता, विदेशीको अगाडि झुकेर पूजा गर्दैनन् । उनीहरू आफ्नो रगत पसिनामा, नेपाली माटोमा गर्व गर्छन् । उनीहरू त्यागी, नैतिकवान्, इमानदार, कर्तव्यनिष्ठ र देशभक्त हुन्छन्† असल हुन्छन् । माणिकलाल श्रेष्ठ, यदुनाथ खनाल, गोविन्दप्रसाद लोहनीलगायतका प्राध्यापक र बुद्धिजीवीहरू यसका उदाहरण हुन् । आज देशमा यस्ता प्राध्यापक, बुद्धिजीवीहरूको खडेरी छ ।
आज देशलाई देशभक्त, असल प्राध्यापक र बुद्धिजीवी चाहिएको छ । जो हामीले हिजोको केही त्यस्ता व्यक्तित्वहरूको नाम उदाहरणको रूपमा माथि उल्लेख गरिसकेका छौँ । देशलाई आफ्नो व्यक्तिगत स्वार्थ पूरा गर्न जसरी पनि पैसा कमाउने बुद्धिजीवी, प्राध्यापक चाहिएको होइन । विदेशीको माना खाएर देशघात गर्ने प्राध्यापक, बुद्धिजीवी चाहिएको होइन । दुई देशको दोब्बर तलब सुविधा खाने प्राध्यापक, बुद्धिजीवी पनि झन चाहिएको होइन । सरकारले देशको अहित हुने काम गर्न लाग्दा, देशघात हुने काम गर्न लाग्दा खबरदारी गर्ने, सही विचार, सुझाव सल्लाह समयमा ठीक व्यक्तिलाई दिने प्राध्यापक बुद्धिजीवी देशलाई चाहिएको छ । देशलाई आफ्नो पद र सुविधा नपाइएला, खोसिएला भनेर डराउने पिपलपात्ते प्राध्यापक, बुद्धिजीवी चाहिएको होइन । विदेशीले सीमा मिच्न लाग्दा, मिच्दा, देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्दा, भ्रष्टाचार गर्दा बहुसङ्ख्यक गरिब जनतामाथि कसैले अन्याय गर्दा, अत्याचार गर्दा, देशको माटो रक्षा गर्ने, लड्ने देशभक्त नेपाली जनतालाई विदेशीले कुटपिट र आक्रमण गर्दा निडर भएर विरोध गर्ने बोल्ने, लेख्ने, विद्यार्थीलाई पढ्ने, लड्न तयार गर्ने प्राध्यापक, देशभक्त, असल बुद्धिजीवी आज देशलाई जरुरी छ ।
युवा वर्ग देश निर्माणको शक्ति हो । विद्यार्थीहरू देश विकासका मेरुदण्ड हुन् । उनीहरू देशको विकास गर्ने, रक्षा गर्ने रक्षक पनि हुन् । तर दुःखको कुरा हाम्रा लाखौँ, युवा विद्यार्थीहरू विदेश पलायन भइरहेका छन् । पचासौँ अर्ब रूपैयाँ बिदेसिएका छन् । यो देशको लागि दुःखद छ । आफू जन्मे, हुर्केको देशको माटोको सेवा गर्नुपर्ने, देशको ऊर्जा, शक्ति विदेश पलायन भएको छ । बाहिर जान प्राध्यापक र बुद्धिजीवीले उक्साउन, बाध्य पार्ने काम गरेका छन् । त्यस्तो बुद्धि, विचार, सोच लिएर आउने नेता, प्राध्यापक, बुद्धिजीवीहरू देशद्रोही हुन् । देशभक्त, असल प्राध्यापक, बुद्धिजीवीले त्यसलाई रोक्ने प्रयास गर्छन् । तिनीहरू सरकार, शासक नेताहरूलाई सुझाव, सल्लाह र खबरदारी गर्छन् । त्यस्तो काममा उनीहरूले कहिले मञ्च, सभामा त कहिले छलफल, गोष्ठी, अन्तरक्रिया, बहस सम्मेलनमा बोल्छन् । त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा पढाउने करिब एक हजार जति प्राध्यापकहरू छन् । आफ्नो कर्तव्य, जिम्मेवारी निःस्वार्थरूपले निभाउने प्राध्यापकहरू औँलामा गन्न सकिन्छ भनेर एक सचेत प्राध्यापकले भनेका छन् ।
आज देशलाई आफू पनि सुसंस्कृत, सदाचारी, असल, देशभक्त प्राध्यापक हुने, विद्यार्थीलाई पनि त्यसरी उत्तरदायी भएर पढाउने, सिकाउने बुद्धिजीवीको जरुरी छ । युवा विद्यार्थीहरूलाई अनुशासित, आफ्नो देशको माटो चिनाउने, विश्वको परिवर्तित घटनाको अध्ययन, विश्लेषण गरी त्यसको शिक्षा, ज्ञान, अनुभव देशको रक्षा र निर्माणमा लगाउने प्राध्यापक, बुद्धिजीवीहरू, युवा, विद्यार्थी आवश्यक छ । उनीहरूले त्यस्ता देशभक्त, अनुशासित, असल कर्णधारहरू तयार गर्नुपर्छ । जुन मित्रराष्ट्र चीनले देशलाई आफ्नो खुट्टामा उभ्याउन पाँच दशक अगाडि नै गरिसकेको छ । आज चीनले विश्वलाई नेतृत्व गर्दै छ । त्यसलाई असफल पार्ने काममा अमेरिका लाग्दै छ । यसमा चीन सचेत छ । चिनियाँ सरकारले विश्वका जनतासँग न्यानो माया र सम्बन्ध बढाइरहेको छ । त्यसैले नेपालका प्राध्यापक, बुद्धिजीवीहरूले चीनबाट सिक्नु जरुरी छ । आफू पनि सही, स्वच्छ राजनीतितर्फ लाग्न, अगाडि बढ्न र विद्यार्थीलाई पनि त्यही रूपमा प्रेरणा दिनु आवश्यक छ ।
केही देशप्रति र जिम्मेवार प्राध्यापकहरू भन्ने गर्छन् – हामीले धेरै पढ्यौँ । २–३ वटामा डिग्री, एमफिल, पीएचडीको प्रमाणपत्र लियौँ, प्राप्त ग¥यौँ । विदेशबाट पनि पढेर प्राप्त ग¥यौँ तर त्यसले हाम्रो दिमागमा औपनिवेशिकताको मानसिकता थोपर्दै छ । हामीलाई आफ्नो परिवार, माटो, भाषा, इतिहास, संस्कृति, सभ्यता र राजनीतिबाट झन्झन् टाढा धकेल्दै छ । आफूलाई हामी अवमूल्यन, अस्तित्वविहीन बनाउँदै छौँ । देशमा केही छैन, अवसर छैन भन्दै हामी विदेश पलायन हुँदै छौँ । विदेशीको सेवामा सस्तो ज्यामी बन्न जाँदै छौँ । हामी अङ्ग्रेजी खरर बोल्छौँ, लेख्छौँ । देश र विदेशको दोब्बर तलब सुविधा खाने प्राध्यापक, बुद्धिजीवी बन्दै छौँ । यसलाई देशको विकास भन्दै छौँ । तर, यो देशको विकास होइन बरु विनाश हो ।
केही बुद्धिजीवीहरू भन्छन् – हामीले धेरै किताब पढ्यौँ, पढ्दै छौँ । तर, त्यो पढाइले मेरो परिवार, मेरो समाज, गाउँ, टोल, सहर, माटो, मौलिकता, भाषा, कला, संस्कृति, भूगोल, कृषि, उद्योग, रोजगारी, व्यापार, व्यवसाय कुनैलाई काम लाग्दैन भने त्यो पढ्नु व्यर्थ छ । चाहे देशमा पढून् चाहे विदेशमा पढून् । विदेशमा विदेशीले विदेशी मानसिकता, विचार, सोच, लोभ थोपर्ने हुँदा विदेशमा पढ्ने नाममा गएका विद्यार्थी, प्राध्यापकलगायतका नागरिकहरू देशमा फर्किने सम्भावना कम छ । उनीहरूको आँखाले आफ्नो देश देख्दैन । उनीहरू देश, समाज, संस्कृति, माटो, हावापानी, इतिहास, राजनीति, जनता चिन्दैनन् ।
प्राध्यापक र बुद्धिजीवी राजनीतिक र सामाजिक प्राणी हुन् । उनीहरू कोही पनि राजनीति र समाजबाट अलग्ग हुनसक्दैनन् । कुन प्राध्यापक र बुद्धिजीवीले गाउँ तथा समाजसँग भिजेर काम गरिरहेका छन्† कुन बुद्धिजीवीले जनता, किसान, मजदुरसँग हातेमालो गरेर देशको लागि काम गरिरहेका छन्† कुन प्राध्यापक र बुद्धिजीवीले धनी र शक्तिशाली देशले गरिब र कमजोर देशमाथि गरेको थिचोमिचो, धम्की, आक्रमणको विरोधमा बालेका छन्† कुन प्राध्यापक र बुद्धिजीवीले आफ्नो पद, पैसा, सुविधा, परिवारको लागि मात्र काम गरिरहेका छन्, त्यो जनताले हेरिरहेका छन्, परीक्षा लिइरहेका छन् । किनभने, जनताको आँखा दूरबिन सरह हुन्छ । केही प्राध्यापक र शिक्षकहरू राजनीति र देशसँग मतलब छैन भन्छन् । उनीहरू बिदा मनाउने नाममा घुम्न जान्छन्, पिकनिक गर्छन्, जुवातास खेल्छन्, चुरोट, रक्सी, वियर खान्छन् र लट्ठ पर्छन् । त्यस्ता प्राध्यापक र शिक्षक जसले कुनै दल, नेता, भ्रष्ट अपराधी छ भन्ने कुरा पनि थाहा छ । दलका नेता, मन्त्री र सांसदहरू शतप्रतिशत भ्रष्टाचारी, बेइमान, अनैतिक छन् भन्ने कुरा पनि थाहा छ । तर, पनि केही पद पाउला, सुविधा पाउला भनेर केही पाउने आशामा पछाडि पुच्छर हल्लाउँदै लुरुलुरु हिँड्छन् ।
तर, देश र जनताप्रति सचेत, त्यागी, निडर, असल प्राध्यापकले कुन दल, कुन नेता, कुन जनप्रतिनिधि कस्तो छ, के गरिरहेको छ, उनको रणनीति के हो ? देश र विश्वमा भइरहेको घटनाक्रम, परिवर्तनलाई पढ्ने, बुझ्ने, चिन्ने प्रयास गर्छन् । देश र विदेशको राजनीति, कूटनीति, अर्थनीति, संस्कृति, इतिहास आदिबारे अध्ययन गर्ने र देशको हितमा मञ्चको कार्यक्रममा बोल्छन् । देशको नाम राख्ने काम गर्छन् । यदि प्राध्यापक, शिक्षक, बुद्धिजीवी, देशभक्त निडर, असल भइदिएको भए काङ्ग्रेस, एमाले, माओवादीले देशघाती, एमसीसी, एपीपी, नागरिकता विधेयक, महाकालीलगायतका देशघाती सन्धि, सम्झौता गर्नसक्ने थिएन । उनीहरूले यी शासक दलका नेताहरूलाई खबरदारी गर्थे । तर, त्यसलाई रोक्ने कुनै प्रभावकारी कदम अगाडि बढाएको देखिएन । त्यसो त आजका अधिकांश शासकहरू, मन्त्री, सांसदहरू, हिजो पञ्चायतको विरुद्धमा लडेर आएका, जनतालाई दिनरात सचेत पारी आन्दोलन, सङ्घर्ष गर्दै आएका देशभक्त शिक्षक प्राध्यापक नै थिए । तर, दुःखको कुरा आज तिनीहरू ३५ वर्षदेखि सत्तामा छन् । उनीहरूले विचार फेरे, सिद्धान्त फेरे, आचरण र व्यवहार फेरे । उनीहरूले विदेशीको नुनको सोझो गरे । विदेशीको हुकुम, आदेश, धम्कीको अगाडि झुके । जसको प्रभाव आज देशको राजनीतिमा देखिन थालेको छ । त्यसैले देशलाई जोगाउन चीनले जस्तै आफ्नै खुट्टामा उभ्याउने देशभक्त, असल बुद्धिजीवीहरूको आज देशमा खाँचो छ ।