-बलाराम तिमिलसिना
भोट मतदाताहरूले नै हालेका हुन
मतदाताहरू नेपाली नागरिक नै हुन
हालेको भोटमा
बहुमत उनीहरूकै आएको हो
बहुमत मात्र होइन
झण्डै दुई तिहाई नै आएको हो
यसरी हेर्दा
उनीहरूले जनादेश प्राप्त गरेका हुन
यी सबै कुरा सत्य हुन्
तर यी सत्य कुराहरू
नक्कली सत्य कुराहरू हुन ।
तपाईलाई आश्चर्य लाग्यो होला
सत्य पनि कहीं सक्कली र नक्कली हुन्छ भनेर
म पनि तपाईले जसरी नै सोच्थें
सत्य सँधै सक्कली हुन्छ भन्ठान्थें
तर होइन रहेछ
सत्य नक्कली पनि हुने रहेछ
जस्तो कि यस पटक
हाम्रा आँखै अगाडि भयो ।
मत हाल्ने हातहरू त मतदाताका थिए
खोपडी भित्रको भौतिक गिदी पनि उनीहरूकै थियो
तर गिदीभित्र जुन तरङ्ग चल्छ
जुन तरङ्गले हातहरूलाई निर्देशित गर्छ
त्यो तरङ्ग अर्कैको थियो
तरङ्गहरूको बाटो हुँदै
त्यो मान्छेको खोपडीभित्र पसेको थियो
र मान्छेहरूलाई वशीभूत गरेको थियो ।
उनीहरू स्वयमले भन्ने गर्थे -
जहाँ जहाँ मोबाइल पुग्यो
जहाँ जहाँ इन्टरनेट पुग्यो
जहाँ जहाँ समाजलाई
"सामाजिक संजाल"ले चलाउन सफल भयो
त्यहाँ त्यहाँ
घण्टी बजाएकै भरमा उनीहरूले जिते
उनीहरूको जित
स्वयम् उनीहरूको लागि पनि विस्मयकारी थियो
किन कि -
लडाई उनीहरूले जितेका थिएनन्
अरु नै कसैले जितेको थियो
र जिते पछि के गर्ने भन्ने कुरा
स्वयम् उनीहरूलाई थाहा थिएन
त्यो पनि अरु नै कसैलाई थाहा थियो।
यसरी हाम्रै जुनीमा
हाम्रै देशमा
यसै पटक
हाम्रा आँखै अगाडि
जुन कुरा घटित भयो
धेरैलाई लागि रहेको छ
यो अकाट्य सत्य हो
यो परम सत्य हो
तर म भन्छु
यो सत्य त सत्य हो
तर यो नक्कली सत्य हो ।
जति बेला धेरै मानिसहरूले
यो नक्कली सत्य हो भनेर चाल पाउने छन
त्यति बेला निकै ढिलो भैसकेको हुने छ।
नक्कली सत्य
सक्कली झुट भन्दा हजार गुणा घातक हुन्छ ।
मेरा प्यारा पाठक मित्रहरू
तपाईहरूलाई
नक्कली सत्यको स्वाद कस्तो लागिरहेको छ त ?
*****
२०८२ चैत्र २४ गते
तीनपाटन १०, घिमिरे थुम्का
(साभार:बलाराम तिमिलसिनाको फेसबुक वालबाट)