रमेश कुँवर
माया १६ वर्षकी थिइन् । उनी सामाजिक सञ्जालमा निकै सक्रिय हुने गर्थिन् । फेसबुकमा नयाँ–नयाँ साथी बनाउने, दिनभरि च्याट गर्ने, सेल्फी खिच्ने र टिकटकमा ट्रेन्डिङ भिडियो बनाएर हाल्न रमाउँथिन् । बिहान उठ्नेबित्तिकै मोबाइल हेर्ने र राति अबेरसम्म मोबाइलमै झुम्मिन्ने उनको बानी भइसकेको थियो । घरमा आमाबुबा पनि मोबाइलमै झुम्मिएका हुन्थे । हजुरबुबाले ‘धेरै मोबाइल नचला’ भनेर बारम्बार सम्झाउँथे तर मायाले मानिनन् । उनलाई यो नयाँ जमानाको स्टाइलजस्तै लाग्थ्यो । पढाइ चौपट पारिसकेकी थिइन् । बिस्तारै पढाइप्रति पनि रुचि घट्न थाल्यो । कक्षामा फेल हुन थालिन् । १८ वर्षको उमेरमा एकदिन भागेर विवाह गरिन् ।
अरुण एक होनहार विद्यार्थी थिए । उनी पढाइमा निकै अब्बल थिए । कक्षा ८ सम्म सधैँ प्रथम हुन्थे । एकदिन उनको बुबाले नयाँ एन्ड्रोइड मोबाइल किनिदिए । घरमा वाईफाई जोडिदिए । उनले मोबाइलमा अनलाइन गेम खेल्न सुरु गरे । सुरुमा उनलाई रमाइलो लाग्न थाल्यो । बिस्तारै गेमको संसारमा हराउने दिनचर्या बन्यो । रातभर गेम खेल्ने र बिहान अबेर उठ्ने दैनिकी बन्यो । साथीभाइ र पढाइबाट टाढा हुँदै गए । जतिखेर पनि कोठाभित्र मोबाइल चलाइरहेका हुन्थे । एकदिन परीक्षाको नतिजा आयो । उनी फेल भए ।
प्रविधिको युगमा डिजिटल टेक्नोलोजीले मानव जीवनलाई सहज बनाएको छ । विशेषगरी युवायुवतीहरूले स्मार्ट फोन, सामाजिक सञ्जाल, अनलाइन गेम तथा भिडियो स्ट्रिमिङ लगायतका क्षेत्रमा अत्यधिक समय खर्च गरिरहेका छन् । अहिलेको जेन जी र जेन अल्फा पुस्ता त टेक स्याभी छ; स्मार्टफोनसँगै हुर्किन्छ; डिजिटल विश्वमा आबद्धता र स्वीकार्यता खोजिरहेको हुन्छ ।
सामान्य अर्थमा, डिजिटल एडिक्सन भन्नाले इन्टरनेट, सामाजिक सञ्जाल, अनलाइन गेम वा मोबाइल फोनलगायत डिजिटल उपकरणको लत लाग्ने गरी अत्यधिक प्रयोग गर्नुलाई बुझाउँछ । इन्टरनेट एडिक्सन, गेमिङ एडिक्सन, सोसियल मिडिया एडिक्सन, प्रोब्लमेटिक स्मार्टफोन प्रयोग लगायतका शब्दावली डिजिटल कुलतको क्षेत्रमा चर्चित छन् ।
सामाजिक सञ्जालको प्रभावले डिजिटल एडिक्सनलाई बढावा दिएको देखिन्छ । फेसबुक, टिकटक, इन्स्टाग्राम र ट्विटरजस्ता प्लेटफर्महरूले युवायुवतीलाई लगातार इन्टरनेटमा सक्रिय रहन प्रेरित गर्छ । लाइक्स, कमेन्ट र सेयरको मोहले उनीहरूलाई बारम्बार फोन जाँच्न बाध्य बनाउँछ । टेक उद्योगको नाफा कमाउने सूत्र भनेकै ध्यानाकर्षण गर्नु हो । स्क्रिन टाइम अधिकतम बनाउनका लागि लत लगाउने गरी फ्रेमिङ गरिएका हुन्छन् । फ्री फायर, प्लेयर अननोन ब्याटल ग्राउन्ड (पबजी) लगायतका मल्टिप्लेयर गेमहरू अत्यधिक लत लाग्ने खालका हुन्छन् । यी गेमहरूमा उपलब्ध विभिन्न लेभल पार गर्नका लागि खेलाडीहरूले लामो समयसम्म खेलिरहनुपर्ने हुन्छ । गेम खेल्दा शरीरलाई आनन्द आएजस्तो लाग्छ । आनन्द आउँदा डोपामिन नामक न्युरोट्रान्समिटर निस्किन्छ ।
खेल जित्दा, नयाँ लेबलमा पुग्दा र कुनै लक्ष्य पूरा हुँदा यो हार्मोनको मात्रा अत्यधिक बढ्छ । यसले गर्दा समय गएको थाहा नै हुँदैन । विशेषगरी कोभिड–१९ को महामारीपश्चात् डिजिटल विश्वले आकार लियो । डिजिटल मार्केटिङ, अनलाइन कक्षाहरू, अध्ययन सामग्री र सामानको प्रचारप्रसारमा डिजिटल प्रविधिको हस्तक्षेप बढ्यो । युट्युब, नेटफ्लिक्स, ओटीटीजस्ता अनलाइन स्ट्रिमिङ प्लेटफर्महरू मनोरञ्जनात्मक गतिविधिका लागि सहायक बने ।
यस्ता प्रविधिहरूमा लामो समयसम्म खर्च गर्दा विभिन्न खालका शारीरिक, मानसिक तथा सामाजिक स्वास्थ्यमा समस्याहरू उत्पन्न हुने गर्छन् । राति अबेरसम्म स्क्रिन हेर्ने बानीले निद्रालाई प्रभाव पार्छ । लगातार स्क्रिन हेरिरहँदा आँखा सुख्खा हुने, जलन हुने, टाउको दुख्ने तथा टाढा देख्न गा¥हो हुनसक्छ । मेडिकल भाषामा यसलाई कम्प्युटर भिजन सिन्ड्रोम पनि भनिन्छ । सन् २०१५ तिर गरिएको एक अध्ययन (मेटाएनालाइसिस) ले करिब २६ प्रतिशत किशोरकिशोरीहरू इन्टरनेट एडिक्सनले प्रभावित रहेको तथ्य सार्वजनिक गरेको थियो । विश्व स्वास्थ्य सङ्गठनले भिडियो गेमको कुलतलाई मानसिक डीसअर्डरको संज्ञा दिएको छ । सन् २०२१ मा एजिज एट अलले गरेको अध्ययनअनुसार इन्टरनेट गेमिङ डीसअर्डर र इन्टरनेट एडिक्सनले दृष्टिमा समस्या, श्रवण क्षमतामा ¥हास, मोटोपनाको जोखिम वृद्धि र मांसपेसीमा दुखाइलगायतका समस्या गराउने तथ्य सार्वजनिक गरेको छ । अन्तर्राष्ट्रिय स्तरमा ख्यातिप्राप्त ‘पबमेड’ लगायतका जर्नलमा प्रकाशित लेखअनुसार डिजिटल एडिक्सनले प्रि–स्कूलका बच्चाहरूमा कमजोर सामाजिक सीप तथा सामाजिक सम्बन्ध, एग्रेसिभ व्यवहार र डिप्रेसन तथा एन्जाइटीको सम्भावना प्रबल हुन्छ । सन् २०२० मा फार्चाक एट एलले डिजिटल कुलतले ध्यान केन्द्रितता, स्मरण क्षमता र समस्या समाधान सीपमा नकारात्मक प्रभाव पार्ने कुरा उल्लेख गरेका छन् ।
लामो समयसम्म फोन, ल्यापटप वा ट्याब प्रयोग गरेमा यसले शारीरिक गतिविधि घटाउँछ । गलत आसनमा लामो समय बस्दा ढाड दुख्ने, मांसपेशी कमजोर हुने र मोटोपना बढ्नेजस्ता समस्या आउन सक्छ । सामाजिक अन्तरक्रियामा समय दिन नसक्दा एक्लोपन हुन्छ । अन्य व्यक्तिहरूसँगको सम्बन्ध कमजोर हुँदै जान्छ । बिस्तारै डिप्रेसनको सिकार हुन सक्ने सम्भावना प्रबल हुन्छ । जङ्क ज्ञानको अत्यधिक सेवनले अनावश्यक चिन्ता र तनाव सिर्जना हुन्छ । अध्ययन तथा ध्यान केन्द्रित गर्नुपर्ने कार्यमा कठिनता महसुस हुन्छ ।
बदलिँदो परिवेशमा यो क्षेत्रमा विभिन्न अध्ययन भइरहेका छन् । जानिफकारहरूले केही व्यावहारिक उपायहरू सुझाएका छन् । सानै उमेरदेखि डिजिटल शिक्षासँगै डिजिटल अनुशासन सिकाउनुपर्छ । घरमा अभिभावकहरू ‘रोल मोडेल’ बन्नुपर्छ । मोबाइल वा इन्टरनेट प्रयोग गर्ने समय निर्धारण गरी मात्र प्रयोग गर्नुपर्छ । स्क्रिन टाइम ट्रयाक गर्ने एप्स प्रयोग गर्न सकिन्छ । हप्तामा कम्तीमा एक दिन वा केही घण्टा डिजिटल उपकरण प्रयोग नगर्ने सङ्कल्प लिन सकिन्छ । डिजिटल डिटोक्स, डिजिटल डाइटिङ्ग वा नो फोन डेजस्ता विधिहरू अपनाउनुपर्छ । सुत्ने कोठा, अध्ययन कक्ष वा खानाको बेला मोबाइल प्रयोग नगर्ने घरेलु नियम बनाई नो फोन जोन बनाउन सकिन्छ । स्मार्ट फोनलाई डम्ब फोन पनि बनाउन सकिन्छ । अति आवश्यक एप्सहरू मात्रै राखेर वा फोमो (फियर अफ मिसिङ्ग आउट) कम गर्न कुनै एउटा मात्रै सामाजिक सञ्जालको प्रयोग गरेर यस्ता कुलतबाट बच्न सकिन्छ । सामाजिक सञ्जालमा अनावश्यक पोस्ट र कमेन्ट गर्ने बानी हटाउनुपर्छ । पोस्ट र कमेन्ट गरेमा त्यसको प्रतिक्रिया के आयो भनेर मष्तिस्कले हेर्न खोज्छ । अहिलेको पुस्तालाई तुरुन्तै प्रतिक्रिया चाहिन्छ । खेलकुद, योग र जिमजस्ता गतिविधिहरूमा संलग्न भई मोबाइल प्रयोगको समय घटाउनुपर्छ । डिजिटल उपकरणको साटो पुस्तक पढ्ने बानीले ज्ञान बढाउन तथा मानसिक स्वास्थ्य सुधार गर्न सहयोग गर्छ । परिवार तथा साथीहरूसँग समय बिताई वास्तविक जीवनका सम्बन्धहरू बलियो बनाउने प्रयास गर्नुपर्छ । आँखा सुरक्षाको लागि ब्लु लाइट फिल्टरको प्रयोग गर्नुपर्छ । प्रत्येक २० मिनेटको प्रयोगमा २० सेकेन्ड ब्रेक लिने र २० फिट टाढाको वस्तु हेर्ने गरी २०–२०–२० नियम पनि अपनाउन सकिन्छ ।
अन्त्यमा, डिजिटल प्रविधि आजको युगको अपरिहार्य आवश्यकता हो । यसले शिक्षा, स्वास्थ्य, व्यापार, सञ्चार र अनुसन्धानजस्ता क्षेत्रमा क्रान्तिकारी परिवर्तन ल्याएको छ । इन्टरनेटमार्फत विश्व्यापी जानकारीको पहुँच सहज भएको छ भने डिजिटल प्लेटफर्महरूले अध्ययन, रोजगारी र नवप्रवर्तनका नयाँ अवसरहरू सिर्जना गरेका छन् । विशेषगरी युवाहरूको लागि शिक्षा, रोजगारी, उद्यमशीलता र सिर्जनशीलताको लागि अवसरको खानी प्रदान गरेको छ । प्रविधिको सदुपयोगले जीवन समृद्ध बनाउँछ । तर, गलत/अत्यधिक प्रयोगले जीवन भडखालोमा पु¥याउन सक्छ । समयको दुरुपयोग, मानसिक तनाव, एक्लोपन र सामाजिक दूरी डिजिटल कुलतका खतरनाक परिणामहरू हुन् । तसर्थ, प्रविधिलाई केवल मनोरञ्जन वा लतको साधन नबनाऔँ ¤ स्मरण रहोस्, हामी प्रविधिका मालिक हौँ, दास होइन !
(कुँवर वरिष्ठ जनस्वास्थ्य अधिकृत हुन् ।)