सुनिल प्रजापति, बोडे
परिचय
मानवको बाह्य आचरणलाई नियन्त्रण गर्न बनाइएको नियमहरूको समूहलाई कानुन भनिन्छ । कानुन कुनै पनि देशको सार्वभौमसत्ताले बनाउँछ । जसलाई जनताले अख्तियारी प्रदान गरेको हुन्छ । देशको सार्वभौमसत्ताले बनाएको कानुन सबैले पालना गर्नुपर्छ, नगरेमा सजायको भागीदार हुनुपर्छ । कानुन त्यही हो जे गर भन्छ त्यो गर्ने, जे निषेध गरेको छ त्यो नगर्ने, मूलतः यो नागरिकको व्यवहार आचरण नियन्त्रण गर्ने साधन हो । कानुनले सरकारको शक्ति सीमित गर्ने काम गर्छ । कानुनले नै अधिकार तथा कर्तव्यको सिर्जना गरेको हुन्छ । कानुनअनुसार चल्ने शासन नै विधिको शासन हो । कानुनले सरकार तथा नागरिकको अधिकार र दायित्वको सीमा निर्धारण गरेको हुन्छ । त्यही सीमाभित्र बसी आ–आफ्नो कार्य गर्नुपर्छ ।
सिद्धान्त कुनै पनि विषयप्रति विचारको व्यवस्थित प्रणाली हो । विश्वमा कानुनसम्बन्धी सामान्यतः प्रचलित मूल्य मान्यतालाई सिद्धान्तको रूपमा सबैले आ–आफनो कानुनी प्रणालीले अङ्गीकार गर्दै आएको छ । कानुनी सिद्धान्तले कुनै पनि कानुनी प्रणालीलाई मागदर्शन गर्ने काम गर्र्छ । उदारवादी सिद्धान्तले खुकुलो कानुनको व्यवस्था गर्दछ भने अनुदारवादी सिद्धान्तले कठोर कानुनको पालनामा जोड दिन्छ ।
नेपालको कानुनी व्यवस्थाले सामान्य कानुनी सिद्धान्तको रूपमा देवानी संहितामा उल्लेख गरेको छ । मुलुकी देवानी संहिता २०७४ को भाग १, परिच्छेद २ मा देवानी कानुनका सामान्य सिद्धान्तको बारेमा व्यवस्था गरी सर्वप्रथम लिखितरूपमै कानुनी सिद्धान्त उल्लेख गरेको छ । यी सिद्धान्तको पालना देशको न्यायपालिकाले मुद्दामामिलाको रोहमा मुद्दाको कारबाही, सुनुवाइ र किनारा गर्दा र नागरिकले आफनो हक अधिकार प्रयोग गर्दा जिम्मेवारीपूर्वक दायित्व बहन गर्दा अक्षरशः पालना गर्नुपर्छ ।
कानुनको अज्ञानता क्षम्य नहुने
सबै कानुन व्यवस्थाको सर्वमान्य सिद्धान्त हो, कानुनको अज्ञानता क्षम्य नहुने । कसैले कानुनद्वारा वर्जित, निषेधित तथा अपराध घोषणा गरिएको कार्य गर्छ र मलाई थाहा थिएन गर्न मिल्छ, मिल्दैन भन्ने थाहा छैन भन्दैमा निजले सफाइ गरेको गैरकानुनी कामकारबाहीबाट छुट्कारा पाउँदैन । काुननबारे नजानेको, नबुझेको र कानुनलाई अनदेखा गरेको वा चाहे त्यो जानी जानी होस् या नियतपूर्ण हो । कसैले अपराध गरेर छुटकारा नपाओस् भनी न्यायपालिकाले कानुन सबैले जानेको अनुमान गर्दछ । जानी नजानी गरेको कानुनको उल्लङ्घन दायित्व निजले व्यहोर्नुपर्छ ।
सार्वजनिक हितविपरीत हुने गरी काम गर्न नपाउने
कसैले पनि समाज, समुदाय, व्यापक जनसमुदायको सरोकारको हित विपरीत हुने गरी कुनै काम कारबाही गर्न पाउँदैन । कसैले सार्वजनिक रूपमा प्रयोग हुने बाटो, कुवा, धारा, बत्ती, स्थल प्रयोगमा अवरोध गर्ने काम गर्न हुँदैन । कसैले सार्वजनिक स्थल, सडक, पाटीपौवा, मन्दिर, धार्मिक, सामाजिक, साँस्कृतिक सरोकार भएको विषयमा हस्तक्षेप, अतिक्रमण गर्ने कार्य गर्नु हुँदैन । यसले कुनै व्यक्तिको मात्र नभई समग्र समाजलाई नै असर हुने भएकोले गम्भीर प्रकृतिको निषेधित कार्य वा सार्वजनिक अपराध हो । यस्तो कार्यले अन्तत्वगत्वा देशको सामाजिक व्यवस्थामा असर गर्ने हुनाले हरेक देशले यस्तो कार्यलाई निषेध गरेको हुन्छ ।
कानुनविपरीतको काम अमान्य हुने
कानुनको अज्ञानताबाट गरिएको कार्यलाई हरेक कानुनी प्रणालीले मान्यता दिएको अवस्थामा ऐन कानुनविपरीतको कामलाई मान्यता दिने कुरै भएन । त्यसैले कानुनले गर भनेको काम बाहेक अन्य काम गरेमा त्यो स्वतः अमान्य बदर हुन्छ । कहिलेकाहीँ कानुन नहुँदा कुनै कार्य गर्न कानुनले प्रस्ट गर या नगर भन्ने अवस्थामा सो कानुनी व्याख्याको विषय हो तर कानुनको नै विपरीत हुने गरी कार्य गर्न पाउँदैन । त्यो गैरकानुनी हो, अवैध र सजायको भागीदार हुने निषेधित कार्य हो ।
गल्ती गर्नेले क्षति व्यहोर्नुपर्ने
देवानी कानुनको मूल मर्म पीडितलाई पीडकबाट हुन गएको क्षतिपूर्ति व्यहोर्न लगाउनु नै हो । कुनै पनि व्यक्तिले कसैविरुद्ध कार्य गरी हानि, नोक्सानी गरी धनजनको क्षति गरेमा सो अनुपातमा क्षतिपूर्ति भराउनुपर्छ । त्यसैले गल्ती गर्ने पीडकले सोबापतको क्षति व्यहोरी न्यायको परिपूर्ति गर्नुपर्छ । न्यायको अनुभूति दिलाउनुपर्छ । प्रत्येक व्यक्तिले आफूले गरेको गलत कार्यको परिणाम आफैले बहन गर्नुपर्छ । क्षतिपूर्तिको निर्धारण प्रचलित कानुनमा व्यवस्था गरेबमोजिम हुन्छ ।
अरूलाई दुःख दिने गरी काम गर्न नहुने
मनुष्यलाई आफ्नो प्राणपछि माया लाग्ने चिज हो आफ्नो इज्जत, प्रतिष्ठा र धनसम्पत्ति । यी कुरामा कसैले प्रहार गरेमा मानिसलाई बडो दुःख हुन्छ । यी कुरा मानिसको सुख र दुःख दुवैको कारण हो । त्यसर्थ, कसैले पनि अन्य व्यक्तिलाई दुःख दिने, हैरानी हुने वा निजको इज्जत, प्रतिष्ठा वा सम्पत्तिमा क्षति पुग्ने गरी कुनै काम गर्न वा गर्न लगाउनु हुँदैन । कसैको इज्जतमा ठेस पु¥याउन निजको गोपनियता भङ्ग गर्ने, पारिवारिक तथा वैवाहिक सम्बन्धमा हिलो छ्याप्ने कार्य, कसैकोे प्रतिष्ठामा आँच पु¥याउन, गलत आरोप लगाउन, अफवाह फैलाउन, व्यक्तिगत सम्पत्तिमा खिचोला, अतिक्रमण, कब्जा गर्ने कार्य गर्न कानुनतः निषेधित गरिएको छ ।
गल्तीको फाइदा लिन नपाउने
गलत कार्य गर्नु कुनै पनि व्यक्तिको निम्ति कानुनतः घाटा नोक्सानीकै काम हो । गलत कार्यबाट सधैँ क्षति व्यहोर्नुपर्ने मात्र नभई कहिलेकाहँी गल्तीबाट फाइदा पनि हुन्छ । जस्तैः बाबु छोराबिचको घर झगडामा छोराको कारण बाबुको मृत्यु भएकोमा बाबुको मृत्युपछि सम्पूर्ण जायजातको मालिक हुन्छ । यस्तोमा छोरा जो गल्ती गर्ने हो उसैको लागि फाइदा हुन गयो । त्यसकारण, कानुनले नै गल्तीको फाइदा लिन नपाउने व्यवस्था गरेको छ ।
हितविपरीत काम अमान्य हुने
कुनै नाबालकको संरक्षकत्व लिने नातेदार तथा माथवरी लिने व्यक्ति वा संस्थाले आफ्नो अधीनमा वा सहजै प्रभावमा रहने वा प्रभाव पर्न सक्ने आफ्नो अधीनको घरेलु सहायक, कर्मचारीको वा व्यक्तिको हितविपरीत कुनै पनि काम कारबाही गर्नुहुँदैन । त्यस्ता व्यक्तिहरूलाई आफनो इज्जत आमद, क्षमता र प्रचलित कानुनबमोजिम हित हुने भलो हुने काम गर्नुपर्छ । संरक्षकत्व तथा माथवरी लिनेले निजको हक लाग्ने चल अचल सम्पत्तिबाट बेअंशी बनाउने कार्य गर्नु हुँदैन । निजहरूको पालनपोषण, शिक्षादीक्षा स्वास्थ्य आदिमा सर्वाेत्तम हित हुने गरी कार्य गर्नुपर्छ अन्यथा विपरीतको कार्य अवैध हुन्छ, त्यस्तो कार्य बदरभागी हुन्छ ।
हरेक व्यक्तिको व्यक्तित्व फरक हुन्छ । अरुभन्दा विशेष हुन्छ । हरेक व्यक्ति जन्मको आधारमा जात, वर्ण, लिङ्ग, भाषा, समुदाय, क्षेत्र, आदिमा भिन्न हुन्छ । शारीरिक र मानसिक क्षमता कसैको तेज कसैको सुुस्त हुनसक्छ । जनसङ्ख्याको आधारमा अल्पसङ्ख्यक हुनसक्छ । भिन्नभिन्न जनजातिको हुनसक्छ जे जस्तो भए तापनि प्रत्येक व्यक्तिले अन्य व्यक्तित्वलाई स्वीकार गर्नुपर्छ र उचित समानका साथ प्रस्तुत हुनुपर्छ ।
असल छिमेकीपन कायम गर्नुपर्ने
छिमेकी ज्युँदाका जन्ती, मर्दाका मलामी, ऐँचो पैँचो व्यवहारको व्यक्ति, नेपाली समाजमा छिमेकीको महत्व र गरिमा बढी नै छ । घरको साँध सिमानामा झगडा गर्नुपर्ने व्यक्ति अनि सामाजिक व्यवहारमा मिठो पनि बोल्नुपर्ने व्यक्ति । प्रत्येक व्यक्तिले आफू रहे बसेको ठाउँको समुदाय या छिमेकीलाई हानि नोक्सानी नहुने गरी असल छिमेकीपन कायम गर्नुपर्छ । साथी बदल्न सकिन्छ छिमेकी होइन, छिमेकी बदल्न घरै बदल्नुपर्छ । रातीराती होहल्ला गर्ने ठुलो साउन्डमा स्पिकर बजाउने छिमेकीको निन्द्रा हराम गर्ने नियतले दुःख दिने कार्य गर्नु हुन्न, यस्तै घर टहरा निर्माण गर्दा कुनै कारणले क्षति भए सोको भर्पाई गर्नुपर्छ ।
देवानी दायित्वबाट छुटकारा नपाउने
फौजदारी कानुनमा अपराधीको मृत्युसँगै अपराधको पनि मृत्यु हुन्छ अर्थात् फौजदारी कसुरबाट उन्मुक्ति पाउँछ तर देवानी दायित्वमा दायित्वकर्ताको मृत्यु भए पनि सोको पुस्तान्तरण भई निजको हकवालामा जान्छ । कसैले कसैसँग कर्जा र सापटी लिएकोमा निजको मृत्यु भएपश्चात् सोको दायित्व निजको अंश हकवालामा सर्छ । हकवालाले मैले कर्जा लिएको छैन वा मेरो हकको सम्पत्ति भन्न पाउँदैन । मृतकको सम्पत्तिमा हकवालको हक लागे जस्तै मृतकको दायित्व पनि व्यहोर्नुपर्छ । अतः कुनै व्यक्तिउपर फौजदारी कसुरमा मात्र कारबाही चलाएको वा नचलाएको आधारमा त्यस्तो व्यक्तिले कानुनबमोजिमको देवानी दायित्वबाट छुटकारा पाउने छैन ।
कानुनविपरीतका प्रथा वा परम्परालाई मान्यता नदिइने
नेपाली समाज परम्परागत समाजबाट आधुनिकतातर्फ उन्मुख समाज हो । नेपालमा थुप्रै प्रकारका परम्पराहरू छन् । छाउपडी प्रथा, बलि प्रथा, बोक्सीबोक्सा प्रथा, जाति प्रथा, बालविवाह, अनमेलविवाह, बहुविवाहको चलन, बधुँवा मजदुरी नेपालमा अझै कायमै छन् । देउकी प्रथा, सती प्रथा नेपालमा उहिले चलनमा थियो । यी र यस्ता प्रथा या परम्पराहरूमध्ये समाजलाई हानि हुने, विभेद र दमन गर्ने, उच्च नीचको भावना फैलाउने प्रथाको कानुनले निषेध गरेको छ । जस्तैः बोक्सी प्रथा, जातीय भेदभाव, बालविवाह, छाउपडी आदी प्रथा कानुनी रूपमा बर्जित भए पनि कति सामाजिक तथा सांस्कृतिक रूपमा भित्रभित्रै यदाकदा जीवितै छ । त्यसैले कानुनविपरीतको सामाजिक कुसंस्कार, सामाजिक परम्परालाई न्यायको रोहमा मान्यता दिइएको छैन ।
निष्कर्ष
यसरी विश्वमा प्रचलित कानुनी सिद्धान्तलाई नेपालको कानुनले क्रमशः आत्मसात गर्दै अघि बढेको छ । नेपालको कानुन प्रणालीले नेपाली माटो अनुकूल कानुनी सिद्धान्तको अनुसरण गर्नुपर्छ । यी नै कानुनी सिद्धान्तका आधारमा बनेका लिपिबद्ध कानुनको व्यवहारतः अक्षरशः पालना गर्दै जानु नै नेपाली कानुन प्रणालीप्रति नागरिकको जिम्मेवारी हो । कानुनी सिद्धान्तको औचित्य ऐन, कानुनका पुस्तकमा लेख्नुमा भन्दा बढी यसलाई व्यवहारमा उतार्नुमा छ, यसलाई सार्थक बनाउन सरकार तथा नागरिक दुवैको साथ उत्तिकै महत्वपूर्ण छ ।