
रुषा थापा
२०६५ जेठ १५ गते राजतन्त्रको अन्त्य हुँदै लोकतन्त्र गणतन्त्रको घोषणा भयो । त्यतिबेला गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । गणतन्त्रपछि मुलुकमा तीन जना राष्ट्रपति भइसकेका छन् । प्रथम राष्ट्रपति डा.रामवरण यादव, दोस्रो विद्यादेवी भण्डारी र तेस्रो वा वर्तमान रामचन्द्र पौडेल छन् ।
यता, गणतन्त्रको घोषणासँगै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भए । त्यसपछि क्रमशः माधव नेपाल, झलनाथ खनाल, बाबुराम भट्टराई, खिलराज रेग्मी, सुशील कोइराला, केपी शर्मा ओली, प्रचण्ड, शेरबहादुर देउवा प्रधानमन्त्री बने । हालसम्म हेर्दा ओली चार, प्रचण्ड तीन र देउवा पाँच पटक प्रधानमन्त्री भइसकेका छन् ।
वर्तमान सरकारमा ओली नै प्रधानमन्त्री छन् । मुलुकमा लोकतन्त्र गणतन्त्र आएको १८ वर्ष बितिसक्यो । राजा ज्ञानेन्द्र वीर विक्रम शाह दरबार छोडेर नागार्जुन पसेको पनि यति नै समय भएको छ । यो १८ वर्षमा देशमा केही भएन । पटकपटक प्रधानमन्त्री हुँदा पनि छिमेक भारत र चीनले कब्जा गरेको नेपाली भूभाग कसैले फिर्ता ल्याउन पहल गरेनन् ।
तिब्बत, दार्जेलिङ, सिक्किम, टकनपुर, कोलकत्ता पहिले नेपाली भूभाग रहेको बताइन्छ । तर, अहिले यी भूभाग भारत र चीनको भनि परिचित छ । यतिमात्र होइन भारतले नेपालको लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत भूभागमाथि पनि आँखा गाडेको छ । उसले यी भूभागलाई आफ्नो दाबी गर्दै आएको छ । भारतीय पक्षद्धारा सीमा क्षेत्र मिच्ने क्रम पनि जारी छ ।
जुन उद्देश्यले राजतन्त्र अनत्य गरेर गणतन्त्र ल्याइयो, त्योमध्ये एउटै उद्देश्य हालसम्म पूरा भएको छैन । राजतन्त्र त हट्यो । दुर्भाग्य देश अहिले पनि त्यही अवस्थामा छ । बाटो, विद्यालय केही मात्रामा बनेपनि मुलुकको अर्थतन्त्र ध्वस्त नै भएको छ । अनि गणतन्त्रले मुलुकमा के उपलब्धि भयो त ? यस अवधिमा विदेशी ऋण २७ खर्ब पाँच अर्ब १७ करोड पुगेको छ ।
देशभित्रै पनि सरकार ऋणैऋणमा छ । यता, निर्माण व्यवसायीको ४५ अर्ब, दुग्ध कृषकको सात अर्ब र कोरोना बीमा गराएका अस्पतालको २४ अर्ब भुक्तानी दिन बाँकी छ । सरकारी खर्च दिनहुँ बढ्दो छ तर आम्दानी शून्यझैं छ । सरकारको आम्दानी नहुँदा फेरि जनताले नै भोग्नुपरेको छ । उखु किसानको अनुदान काटिएको छ ।
अन्य क्षेत्रमा समेत दिँदै आएको अनुदान तथा सुविधा, छुट कटौती गर्ने सरकारी तयारी देखिन्छ । अनि खर्च धान्न नसके जनप्रतिनिधि, कर्मचारीको सेवासुविधा कटौती वा अनावश्यक खर्च नियन्त्रण गर्ने कि गरिब जनताले पाइरहेको केही सहुलियत ?
सहकारीमा आम सर्वसाधारणले जम्मा गरेको खर्बौ रकम राजनैतिक दलकै नेता, कार्यकर्ताको मिलेमतोमा पचाइएको छ । सरकारी, सार्वजनिक जग्गा, गुठी, ऐलानी, ताल पोखरी, मठमन्दिरको जग्गा कार्यकर्ताको नाममा लगियो । जनताले यत्रो वर्षदेखि तिरिआएको कर पनि पचाए । विदेशमा रगतपसिना बगाएर नेपाल पठाएको पैसामा पनि यिनै नेताहरुले मोजमस्ती गरिरहेका छन् ।
मुलुकमा तीन तहको सरकार छ । ३८ हजार जनप्रतिनिधि मात्रै छन् । एउटै जनप्रतिनिधिको मासिक तलब ५० हजारदेखि तीन लाख रुपैयाँ छ । करोडौं पर्ने सरकारी गाडी चढ्छन् । सेवासुविधा अलग्गै । त्यस्तै, कर्मचारी पनि लाखौंको संख्यामा छन् । सुरक्षाकर्मीतर्फ लाखौं, निजामतीमा लाखौं, शिक्षकमा लाखौं र ज्याला, करार कर्मचारी पनि लाखौं छन् ।
उनीहरुले पदअनुसार महिनाको ३५ हजारदेखि लाखौं तलब थाप्छन् । दशैंमा पेश्की दिनुपर्छ । बिरामी हुँदा उपचार खर्च । वर्षमा दुईजोर पोशाक किनिदिनुपर्छ । कार्यालय आउजाउका निम्ति लाखौंदेखि करोडौंको सवारीसाधन दिनुपर्छ भने सुरक्षाकर्मीलाई त खानाबस्नको समेत व्यवस्था गरिनुपर्छ । पेन्सन खाने कर्मचारी पनि लाखौंको संख्यामा छन् । सामाजिक सुरक्षा भत्ता खानेहरु देशभर ४२ लाख छन् ।
उनीहरुलाई महिनाको चार हजार रुपैयाँ दिनुपर्छ । पछिल्लो १८ वर्षमा मुलुकमा एउटै उद्योग, कलकारखाना खुलेको छैन । भएकासमेत डुबाएर सरकारले व्यक्तिलाई बेचिसक्यो । लोकतन्त्र गणतन्त्र आएपछि विशेषगरी तीन वटा कुरा फस्टायो । पहिलो घरजग्गा, गाडी र सेयरमा लगानी गर्नेहरु ह्वात्तै बढे । दोस्रो वैदेशिक रोजगारी । तेस्रो सुनको मूल्य अचाक्ली बढ्यो ।
चार दशकअघि एक हजार आना नपर्ने जमिन लोकतन्त्र गणतन्त्रपछि आनाकै ६०–७० लाख पुर्याइयो । बैंकले सय रुपैयाँ निष्काशन गरेको सेयर ३५ सयमा पुर्याइएको छ भने छिमेक भारत र चीनबाट एक लाखमा गाडी ल्याएर लाखौंदेखि करोडौंमा बेचिरहेको अवस्था छ । पहिले विदेश जाने चलन थिएन ।
जतिसुके दुःख भएपनि स्वदेशमै बसेर काम गरिन्थ्यो । तर, अहिले त दिनहुँ लाखौंको संख्यामा युवाहरु विदेश जान्छन् । १८ वर्षदेखि ५२ वर्षसम्मका मानिसहरु रोजगारीको सिलसिलामा विदेश गएका छन् । उनीहरुको श्रमले विदेशीले आफ्नो देश विकास गरिरहेको छ भने हामी हेरेको हेर्यै छौं । पाँच दशकअघि सुन प्रतितोला ८० रुपैयाँ रहेकोमा अहिले दुई लाख पुर्याइएको छ ।
गणतन्त्र आएपछि लुटतन्त्र मौलायो । हरेक क्षेत्रमा दलाली, बिचौलियाको जन्म भयो । गाउँ रित्तियो त शहर भरियो । हुँदाहुँदा अहिले त शहरसमेत रित्तिएको छ । युवाजति सबै विदेशमा छन् । यसरी नै चलिरहे केही समयपछि देशै रित्तिनेछ । ओली, प्रचण्ड, देउवा, नेपाल, भट्टराईलगायत दलका नेताहरुलाई जनता सोध्छन्, ‘यही गर्न देशमा लोकतन्त्र गणतन्त्र ल्याएको हो ?’
सार्वजनिक स्थलमा देशको अवस्थाबारे जनता कुराकानी गरिरहेको भेटिन्छ । ‘देश यस्तो अवस्थामा पुग्यो, तर दल र कर्मचारीले वास्ता गरेनन्’ भनेर धेरै मानिसहरु बोलिरहेका छन् । अनि त्यहाँ कुनै दलको कार्यकर्ता, सरकारी कर्मचारी भएमा उनीहरु चुपचाप बस्छन् । उनीहरुलाई पनि देश लथालिंग अवस्थामा पुगिसक्यो र यसको जिम्मेवार अरु कोही नभई हामी नै हौ भनेर थाहा छ ।
तर, बोल्यो भने जनताले पिट्ने डरमा उनीहरु मौन बस्छन् । जनताको अवस्था दिनप्रति नाजुक बन्दै गएको छ । देश पनि शिथिल अवस्थामा छ । सहकारी डुब्यो । जनताको खर्बौ रकम गुम्यो । सहकारी डुबेपछि बैंक पनि डुब्ने डरमा मानिसहरुले धमाधम डिपोजित निकालेर घरमा राखेका छन् । बजार मन्दीमा छ । लगानी गर्न मानिसहरु डराइसकेका छन् ।
डुबिन्छ भन्ने डरमा उनीहरुले लगानी गर्नै छोडेका छन् । पैसा हुनेहरु हात बाँधेर बसेका छन् त पैसा नभएकासँग हिजो पनि थिएन, आज पनि छैन र भविष्यमा पनि हुने छाँटकाँट देखिँदैन । उनीहरुलाई बिहान–बेलुकाकै छाक टार्न धौधौ छ । अनि लगानी गर्न कहाँबाट पैसा ल्याउनू ? पैसा ल्याएपनि लगानी गर्ने आइडियो चाहियो ? नभए चुलुम्मै भइहालिन्छ ।
लगानी गर्ने आइडिया र पैसा भएकाहरु डुब्ने डरले पछि हटिसके भने आइडिया र पैसा नभएकालाई त चासो हुने कुरै भएन । अनि बजारमा लगानी नभएपछि राजस्व कसरी उठ्छ ? जनता आफैं नाजुक अवस्थामा पुग्दा राज्यलाई कसरी राजस्व तिर्छन् ? फेरि जनताले कर नतिरे सरकारले कसरी खर्च धान्ने ? विदेशी ऋण कसरी तिर्ने ?
देश चारैतिरबाट संकटमा परिसक्यो । तर, अझै पनि सरकारमा बसेकाहरु यस अवस्थाप्रति गम्भीर देखिदैँनन् । जनता पनि नेताहरुको भ्रमणमा परिरहेका छन् । विदेशी ऋण तिर्न नसके मुलुक कालोसूचीमा मात्र होइन, विदेशीले कब्जासमेत गर्न सक्छन् । यद्यपि, जनता यसबारे अन्जान छन् । नेताहरुले यसकै फाइदा उठाएर अझै पनि विकासको नारा लगाइरहेका छन् । अनि देशै नरहे विकास कसरी हुन्छ ? नेताहरुले विकासको नारा लगाएर देश सिध्याइसके ।
माओवादीले देश बनाउने नाममा दश वर्ष जनयुद्ध गरेर १७ हजार नागरिक मार्यो । हजारौं अंगभंग भए त हजारौं बेपत्ता छन् । जनयुद्ध सकियो, देशमा लोकतन्त्र गणतन्त्र आयो तर उपलब्धि चाँहि के भयो त ? प्रचण्डले जनतालाई जवाफ दिनुपर्छ ।
अब जनताले नेताहरुको राजनीति, कुटनीति बुझ्नुपर्छ । उनीहरुको झुठो भाषण र आश्वासन पत्याउने होइन, देश जोगाउन नेताहरुको प्रतिवादमा उत्रिनुपर्ने अवस्था आइसकेको छ । जति छिटो यो कुरा बुझेर जनता सडकमा आउने छन्, त्यति नै देश जोगाउने सम्भावना बलियो छ ।