सन् १८८१ को सेप्टेम्बर २५ तारिखमा चीनको चेकियाङ प्रान्तको शाउनोशिङ शहरको एक खानदानी परिवारमा लु सुन को जन्म भएको थियो । बालककालमा लु सुनको नाउँ चाउ सूचेन थियो ।
चाउ सूचेनको बाजे मञ्चु दरबारको एक अफिसर थिए । चाउ सूचेन १३ वर्षको छँदा उनका बाजे जेलमा परेका थिए । उनका बुबा पनि दीर्घरोगले थला परे । खानदानी इज्जतअनुसारको उपचार गर्दागर्दै ४ वर्षपछि बुवाको मृत्यु भयो । त्यसपछि बालक चाउ सूचेनले गरिबी थाहा पाउन थाले ।
चाउ सूचेनकी आमा उनलाई सा¥है माया गर्थिन् । छोरालाई राम्रोसँग पढाएर ठूलो मान्छे बनाउन चाहन्थिन् । त्यसैले तिनले जस्तोसुकै दुःखकष्ट सहेर पनि छोराको पढाइ बिग्रन दिइनन् । त्यस्तै चाउ सूचेनले पनि पढाइमा आफ्नो प्रतिभा चम्काए ।
बाबुको मृत्यु अनभिज्ञ, मूर्ख वैद्यहरूबाट भएको भन्ने उनी सम्झन्थे । त्यसैले उनले रोगीहरूको उपचार गर्न निपुण वैद्य, डाक्टरको आवश्यकता महसुस गरे । उनी एक खप्पिस डाक्टर बनी रोगीहरूको उपचार गर्न चाहन्थे । बुबाको मृत्युपछि उनको परिवार पनि गरिब भयो । त्यसपछि उनले गरिब परिवारको दुःखकष्ट बुझ्न थाले र समाजमा भइरहेको अन्याय, अत्याचार र अन्धकारलाई देख्न थाले ।
उनी मिहिनेत गरी पढ्थे । त्यसैले उनले स्नातकोपाधि पनि राम्रैसँग उत्तीर्ण गरे । स्नातकोपाधि उत्तीर्ण गरिसकेपछि उनले जापानमा गएर डाक्टरी पढ्ने विचार गरे । डाक्टर बनेर आफ्नो बुबाजस्तै राम्रो औषधी गर्न नपाएर जीवन गुमाउनुपर्ने रोगीहरूको सेवा गर्ने विचार थियो उनको । उनी जापान सरकारबाट प्राप्त छात्रवृत्ति पाउनका लागि जाँचमा सम्मिलित भए । उनी आफ्नो प्रतिभाले जाँचमा सफल भए ।
न् १९०२ मा चाउ सूचेन टोकियो पुगे । कोबुन कलेजमा भर्ना पनि भए । त्यस कलेजमा उनले राम्रोसँग पढे । डाक्टर बन्ने उद्देश्य लिएका चाउ सूचेनले १९०४ मा डाक्टरी पढ्ने मौका पाएका थिए । उनी सन् १९०४ मा कोबुन कलेजबाट सेनडाई मेडिकल कलेजमा भर्ना भएका थिए ।
त्यसबेला चीनमा मञ्चु सरकार थियो । मञ्चु सरकारले गरिब जनतालाई सा¥है दुःख दिएको थियो । चीन त्यसबेला सामन्ती र अर्धउपनिवेश देश थियो । देशमा शोषण, अन्याय, अत्याचार र दमनको राज थियो । जनता चेतित थिएनन् । देश पनि निर्बलियो थियो । त्यसैले देशलाई बलियो बनाउन र जनतालाई चेतना दिन चेतित जनता त्यस अन्धकारमय मञ्चु सरकारको विरोध गर्दथे । हड्ताल, जुलुस र सुधार कार्यक्रम लिएर चिनियाँ जनता आफ्नो उकुसमुकुसलाई व्यक्त गर्दथे ।
विदेशमा गई पढिरहेका युवा विद्यार्थीहरू पनि देशलाई बचाउन मञ्चु सरकारको विरोधमा लागेका थिए । त्यस्तै जापानमा पढिरहेका विद्यार्थीहरू जो मञ्चु सरकारको विरोधमा लागिरहेका थिए, उनीहरूसँग चाउ सूचेन पनि मिल्न गए ।
चाउ सूचेन सा¥है मिहिनेत गरी पढ्थे । उनले थुप्रै साहित्यकारहरूका कृतिहरू पढे । बाइरन, शेली, पुस्किन, हेपनी, पेटाफो किमिविज, लेरमेन्टाफ आदि साहित्यकारहरूबाट उनी खुबै प्रभावित भए । त्यसबेला मञ्चु सरकारको विरोधमा चीनमा भइरहेको काम–कारबाही उनलाई नून नपुगेको तरकारीजस्तै लागेको थियो । त्यसै बखत उनले रुस र जापान युद्धको एउटा सिनेमा हेरे । त्यस सिनेमामा एउटा चिनियाँ युवकलाई जासुसको आरोप लगाएर पाता फर्काई बाँधिराखेको दृश्य थियो । अरू चिनियाँहरू तमासे भई हेरिरहेका थिए । त्यो दृश्य हेरिसकेपछि उनी डाक्टर बनी रोगीलाई निको पार्नुभन्दा मानिसको मनोवृत्तिलाई औषधी गर्नुपर्ने उनले महसुस गरे, रोगीलाई उपचार गर्नुभन्दा मानिसको चेतनालाई उठाउनुपर्ने आवश्यकता देखे । त्यसैले उनी साहित्यिक क्षेत्रमा उत्रिए । मानिसको मनोवृत्तिलाई औषधी गर्ने र संस्कारलाई उच्च पार्ने सशक्त माध्यम नै साहित्य हो ।
जनता शिक्षित र चेतित नभईकन देशमा परिवर्तन वा क्रान्ति हुँदैन । जनतालाई शिक्षा दिएर चेतित पार्नु ज्यादै आवश्यक छ । त्यसैले शिक्षा फैलाउन र जनतालाई चेतनशील बनाउन उनी साहित्यको फाँटमा उत्रिएका थिए । उनले प्रसिद्ध साहित्यकारहरूको रचना अनुवाद गर्न थाले । आफ्नै मौलिक रचनाहरू पनि लेख्न थाले । जापानमै बसेर उनले ‘नयाँ जुनी’ नामको पत्रिका निकाल्न खोजे । तर, पैसाको अभावले त्यसलाई निकाल्न सकेनन् ।
सन् १९०९ मा चाउ सूचेन जापानबाट चीन फर्किए । त्यसबेला सन् १९११ को क्रान्तिको लागि भित्रभित्रै तयारीहरू भइरहेका थिए । सन् १९११ मा डा. सनयात सेनको नेतृत्वमा चीनमा क्रान्ति भयो । त्यसबेला चाउ सूचेन माध्यमिक विद्यालयमा पढाउँथे । उनी क्रान्तिमा भाग लिन विद्यार्थीहरूलाई ठुलो प्रेरणा दिन्थे ।
सन् १९११ को क्रान्तिले मञ्चु सरकार ढल्यो । त्यस क्रान्तिको नेतृत्व पुँजीवादी विचारधाराका मानिसहरूले गरेका थिए । त्यसैले चिनियाँ जनताले आशा गरेको फल देख्न पाएनन् । त्यस क्रान्तिमा मजदुर किसानको प्रतिनिधित्व थिएन । त्यसैले सरकार फेरिए पनि जनताको दुःख कष्ट फेरिएन ।
सन् १९१७ को रुसी अक्टोवर क्रान्तिले चिनियाँ जनताको आँखा खुल्यो । जनबलको महत्व बुझे । चाउ सूचेन जनतासँग मैदानमा उत्रिए । ‘लु सुन’ भन्ने गुप्त नाउँले लेखहरू छपाए । सन् १९१८ मा लु सुन नाउँबाट ‘एक बहुलाको डायरी’ कथा ‘न्यू यूथ’ पत्रिकामा छपाए । त्यस पत्रिकाको सम्पादक मण्डलमा लि ता–चाउ (१९२७ मा मारिएका) पनि थिए । ‘न्यू यूथ’ पत्रिकाले सांस्कृतिक क्रान्ति र जनवादको लागि मङ्गलाचरण गाउन सुरु गरेको थियो ।
सन् १९११ को क्रान्तिबाट शिक्षा लिएर लु सुनले कलम चलाए । लु सुनका लेखहरूले जनचेतना जगाउन ठुलो भूमिका खेल्यो । त्यसैले उनी चीनमा आधुनिक साहित्यका पिता मानिन्छन् ।
लु सुन क्रान्तिकारी लेखक थिए । तर, उनी कलममात्र समाउने क्रान्तिकारी थिएनन् । उनी आन्दोलनहरूमा पनि भाग लिन्थे । सन् १९२६ को मार्च महिनामा तुवान ची जुइमा भएको विद्यार्थी हत्याकाण्डको विरोध प्रदर्शनमा लु सुनले सक्रिय भएर भाग लिएका थिए । उनी लि ता–चाउझैं जनतालाई चेतना दिने पथप्रदर्शक थिइ । उनले १९२१ मा ‘आह क्यूको साँचो कथा’ छपाएर मुकुण्डोधारी क्रान्तिकारीहरूसित होसियार रहन आह्वान गरे । सन् १९२७ को सुरुमा लु सुन क्वाङ चाओ (क्यान्टन) गए । १९२७ मा स्वेच्छाचारी च्याङ काई शेकले जनताप्रति विश्वासघात गरेर कम्युनिस्टहरू र क्रान्तिकारी जनताको निर्मम हत्या गरेको थियो, कयौँ क्रान्तिकारीहरूलाई जेलमा थुन्यो । त्यो देखी लु सुन सा¥है रिसाए । उनले गिरफ्तार गरिएका कम्युनिस्टहरू र क्रान्तिकारीहरूलाई भगाउने प्रयास गरे । त्यसपछि उनी क्यान्टनबाट शाङघाई गए ।
सन् १९२८ मा उनले शाङघाइबाट ‘पेन–लिउ’ (भेउ) नामको पत्रिका निकाले । शाङघाइमा उनी रिभोलुशनरी म्यूचुयल एन्ड सोसाइटीको सदस्य बने । सन् १९३० मा स्वतन्त्र चीन लीग स्थापना गरे र त्यसमा उनले पछिसम्म पनि काम गर्दैरहे । उनले माक्र्सवाद–लेनिनवादको गहिरो अध्ययन गरे र एक महान् कम्युनिस्ट बने । तर, प्रतिक्रियावादी साहित्यकारहरू उनलाई कम्युनिस्ट मान्न इन्कार गर्छन् । प्रतिक्रियावादी साहित्यकारहरूले उनीमाथि हमला गरे । तर, उनले ती सबै प्रतिक्रियावादीहरूसित दृढ भई सङ्घर्ष चलाए । त्यसैले उनी भन्थे, “रिसले खुम्चिएको निधार लिएर मतिर तेस्र्याइएका हजाराँ औंलाहरूको घृणापूर्वक सामना गर्दछु तर गोरुझैं नम्र हुँदै आफ्नो टाउको निहु¥याएर केटाकेटी (जनता) को सेवा गर्छु ।” त्यसैबेला लु सुनले पानीमा डुबेको बहुला कुकुरलाई खुब पिट्ने सिद्धान्त पेश गरेका थिए ।
सन् १९२७ मा कोमिन्ताङ सरकारले घेरा हाल्ने र निर्मूल पार्ने अभियान लिएर जनतामाथि क्रुर दमन गरेर सेतो आतङ्क मच्चाएको थियो । लु सुनले त्यस प्रतिक्रियावादी नीतिको चिरफार र विरोध गरी १३० भन्दा बढी उपनामहरू राखी लेखहरू छपाए । २०० भन्दा बढी निबन्ध छपाएर त्यस जनविरोधी तथा राष्ट्रविरोधी नीतिको विरोध गरेका थिए । त्यसैले अध्यक्ष माओले उनलाई ‘चीनको सांस्कृतिक क्रान्तिका प्रमुख कमान्डर हुनुहुन्थ्यो, उनी महान् विद्वानमात्र थिएन, एक महान् विचारक र क्रान्तिकारी पनि थिए भन्नुभएको थियो ।
लु सुनले थुप्रै कथा, निबन्ध, कहानी र कविता लेखे । उनले कथा सङ्ग्रहको तीन ठेली, निबन्ध, गद्य कविताको सो¥ह ठेली, ‘किनार–बाल लेख’ भनी एकसठ्ठीवटा लेखको ठेली र चिए चिए–तिङ निबन्ध तीन ठेली मौलिक पुस्तकहरू लेखे । त्यस्तै थुप्रै अरू अनुदित पुस्तकहरू छन् । १९३१ मा उनले प्रतिक्रियावादी शासकहरूको विरुद्ध ‘अन्धकारमय चीनमा कलाको वर्तमान अवस्था’ शीर्षकको लेख लेखे । त्यसलाई चीनको कुनै पनि पत्रपत्रिकाले छाप्ने साहस गरेन । त्यसैले उनले त्यसलाई अङ्ग्रेजीमा अनुवाद गरी विदेशी पत्रिकामा छाप्न पठाए ।
सन् १९३०–३९ का वर्षहरूमा कोमिन्ताङ प्रतिक्रियावादीहरूले चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वमा रहेका ग्रामीण आधार क्षेत्रहरूलाई सशस्त्र घेराबन्दी र दमन गर्ने नीति अघिसारी जापानी साम्राज्यवादले सारा चीन कब्जा गर्ने युद्धको तयारी गर्दै थियो । देशबाट जापानी साम्राज्यवाद धपाउन र कोमिन्ताङ प्रतिक्रियावादीहरूबाट मुक्त गर्न १९३४ मा कम्युनिस्ट पार्टीको नेतृत्वमा विश्वविख्यात ‘लामो हिँडाइ’ सुरु भयो । १९३५ मा लु सुन शाङघाईमा थिए । त्यसबेला लामो हिँडाइमा गएका लालसेना उत्तरी शेन्शी पुगेको खबर लु सुनले पाए । त्यसबेला उनले अध्यक्ष माओ त्सेतुङलाई एक बधाई सन्देश पठाए । त्यसमा उनले लेखे, ‘चीनको र मानव–जातिको आशा तपाईँमा केन्द्रित छ ।’
जीवनको अन्तिम घडीमा लु सुन शाङघाईमा थिए । बिरामी अवस्थामा पनि उनले लेख्ने काम रोकेनन् । उनलाई साथीहरूले आराम लिन सल्लाह दिन्थे । ती साथीहरूलाई उनी जवाफ दिन्थे, “म निस्क्रिय भएर धेरै वर्ष बाँच्नुभन्दा सक्रिय भएर थोरै वर्ष बाँच्न चाहन्छु ।” त्यसबेला उनी ‘श्वी माओ युङलाई जवाफ र जापानी आक्रमण विरोधी संयुक्त मोर्चाको प्रश्न’ शीर्षकको लेख लेख्दै थिए । त्यो नै उनको अन्तिम लेख थियो ।
यसरी ठुलो परिश्रम गर्दागर्दै सन् १९३६ अक्टोवर १९ मा उनी चिरनिद्रामा सुते । त्यसबेला उनी मात्र ५६ वर्षका थिए ।
मेरो गुरु लु सुन
(लु सुनकी पत्नी शु क्वाङफिङद्वारा उनको स्मृतिमा रचेको एक कविता)
मन हाम्रो विरहले व्याकुल छ,
तिम्रो मृत्युमाथि हामी के भनौँ !
तिमीले मलाई एकपल्ट भन्यौ–
‘हुँ म एक गाई समान,
खान्छु घाँस, दिन्छु दूध र रगत ।’
जानेनौ तिमीले कहिल्यै आराम र मनोरञ्जन
काममाथि हुन्थ्यो सधैँ ध्यान तिम्रो
मृत्युको अघिल्लो दिनसम्म लेख्यौ ।
अब हामी सबै मिली आशा गरेर
डटिरहौँला तिम्रै पदचिन्हमाथि ।
(‘ग्व फय्’ वर्ष १, अङ्क २, २०३७)
स्रोतः पञ्चायत वर्ष ३, अङ्क १२, २०४२