
पछिल्लो केही दिनदेखि नेपाली सामाजिक सञ्जालदेखि समाचारमाध्यममा एलन मस्कको नयाँ राजनीतिक अभियानको चर्चा चलिरहेको छ । ‘अमेरिका पार्टी’ भनेर इलन मस्कले घोषणा गरेपछि धेरैको आँखा त्यतातिर गएको छ । कतिपयले यसलाई अमेरिकी राजनीतिमा ठुलो परिवर्तनको सङ्केत मानेका छन् भने कतिपयले क्रान्तिकारी कदम भन्न थालेका छन् । तर, राजनीतिप्रति थोरैमात्र पनि रुची भएका सचेत नागरिकहरूलाई यो अभियान साँचो परिवर्तन होइन, बरु पुँजीवादी सत्ता संरचनाको अर्को मुखौटो हो भन्नेमा शङ्का रहँदैन । यस्ता पार्टीहरू केबल पुँजीवादी खेलका ‘नयाँ खेलाडी’ हुन् । साँचो परिवर्तन पार्टीको नाम वा व्यक्तिको लोकप्रियतामा होइन, वर्गीय सङ्घर्ष, उत्पादनका साधनहरूको जनसत्तामा हस्तान्तरण र आम जनताको अधिकारको वास्तविक प्रतिनिधित्वमा हुन्छ ।
अमेरिकामा तीन दशकदेखि लोकतन्त्रको नाममा दुई पार्टीको शासन छ । डेमोक्रयाट र रिपब्लिकन पार्टीहरूले अमेरिकी जनताको आवाज थुनेर उच्चवर्गको आर्थिक र राजनीतिक स्वार्थ पूरा गर्दै आएका छन् । यस अवस्थामा एलन मस्कजस्तो अरबपति व्यवसायीले नयाँ पार्टी खोल्ने कुरा देखेर केहीले आशा राख्न सक्छन्, तर सचेतवर्गले यो कुरालाई सतर्कताका साथ हेर्नु आवश्यक छ ।
एलन मस्क को हुन् ? उनी संसारकै धनी व्यक्ति, ठुलो टेक्नोलोजी कम्पनीका मालिक, सत्ताका साथ सम्बन्ध राख्ने, कर कटौतीको पक्षमा बोल्ने अनि मजदुर सङ्गठनको विरोध गर्ने व्यक्ति हुन् । यस्ता व्यक्तिले ‘जनताको पक्षमा नयाँ पार्टी’ गठन गर्ने घोषणा गर्दा ‘के साँच्चै यो जनताको लागि हो’ भनेर शङ्का लाग्छ ? कि पुँजीवादी शक्ति अझ सुदृढ बनाउने अर्को चालमात्र ?
एलन मस्कजस्तो व्यक्ति राजनीतिकरूपमा सफल भए पनि उनले समाजको हरेक वर्गको वास्तविक पीडा बुझ्ने छैनन् । उनको पार्टीले प्रायः ठुला लगानीकर्ता र उच्चवर्गका हितहरूमा मात्र ध्याने दिनेछ । गरिब किसान, मजदुर, महिला, अल्पसङ्ख्यक, बेरोजगार र तल्लोवर्गका मानिसहरूको समस्या यी पार्टीहरूले कहिल्यै प्राथमिकता दिने छैनन् ।
मस्क भन्छन्, “प्रजातन्त्र एकपक्षीय बन्दै गएको छ, त्यसमा सन्तुलन ल्याउनुपर्छ ।” कुरा सुन्दा त ठीक लाग्छ । तर, यथार्थमा हामीले बुझ्नुपर्छ – यी सबै शब्दहरू शक्ति र प्रभाव बढाउने सन्देशमात्र हुन् । जनताको पीडा, बेरोजगारी, न्यून तलब, स्वास्थ्य र शिक्षाजस्ता मुद्दाहरू त उनले कतै उठाएका छैनन् ।
साधारण नागरिकहरूका लागि यस्तो प्रयास पुँजीवादकै एउटा अर्को भिन्न संस्करण हो । नाम नयाँ, तर दिशा उही पुरानै । जनताले देखेका छन्, पहिले रिपब्लिकन आए, पुँजीपतिहरूको रक्षा गरे । फेरि डेमोक्र्याट आए, सुधारका भाषण गरे, तर व्यवहारमा उही । अब मस्क आउँदै छन्, ‘तपाईँको स्वतन्त्रता फिर्ता ल्याउन’ भन्दै । तर, त्यो स्वतन्त्रता कसको लागि ? आम मजदुरका लागि ? शिक्षक, नर्स, किसानका लागि ? कि उही ठुला उद्योगी, बैङ्क र धनाढ्यवर्गका लागि ?
एलन मस्कको पार्टीले अमेरिकी राजनीतिमा केही हलचल ल्याउन सक्छ, तर त्यो हलचलले पुँजीवादको मूलधारलाई कमजोर गर्ने नभई झनै बलियो पार्नेछ ।
इतिहासले के भन्छ ?
विगतमा अमेरिकी राजनीतिमा तेस्रो पार्टीको स्थापनाका प्रयासहरू नभएका होइनन् । थियोडोर रूजवेल्टको ‘प्रोग्रेसिभ पार्टी’, रोस पेरोटको ‘रिफर्म पार्टी’ र पछिल्लो समय ‘लिबर्टेरियन’ वा ‘ग्रीन पार्टी’ ले प्रयास गरेका थिए । तिनीहरू केही समय चर्चामा रहे तर दिगो परिवर्तन ल्याउन सकेनन् । कारण के थियो ? अमेरिकी निर्वाचन प्रणाली नै दुई पार्टीको लागि डिजाइन गरिएको छ । पहिलो–पछाडि (First–past–the–post) प्रणाली, इलेक्टोरल मत, राज्यस्तरको मतदाता पहुँच नियमले गर्दा नयाँ पार्टीको उदयको सम्भावना न्यून हुन्छ । त्यसैले, तेस्रो पार्टी सफल हुने सम्भावना अत्यन्त कम हुन्छ ।
एलन मस्क यो प्रणाली बदल्न होइन, त्यसभित्रै खेल्न चाहन्छन् । उनले कुनै सुधारवादी, क्रान्तिकारी परिवर्तनको एजेन्डा बोकेका छैनन् । उनी “जनता रिसाएका छन्, त्यसैले विकल्प चाहिन्छ” भन्ने भावनालाई प्रयोग गर्दै छन्, तर त्यो विकल्प फेरि पुँजीवादी स्वार्थकै प्रतिनिधि हुनेछ ।
के तेस्रो पार्टीले केही फाइदा दिन सक्छ त ?
हो, कहिलेकाहीँ नयाँ पार्टी आउँदा पुराना पार्टीहरू थोरै सचेत हुन्छन् । केही मुद्दाहरू उठ्छन् । तर, जबसम्म त्यो पार्टी जनताको आन्दोलनको उपज होइन, वर्गसङ्घर्षमा आधारित होइन, तबसम्म त्यो परिवर्तनको वाहक बन्दैन । मस्कको पार्टी न त आन्दोलनको उपज हो, न त त्यसले वर्गीय प्रश्न उठाएको छ । त्यसैले त्यसबाट ठोस फाइदा आउने अपेक्षा गर्नु भ्रममात्रै हो ।
समानतामूलक समाज चाहनेहरूका लागि अहिलेको अवस्थामा एलन मस्कको ‘अमेरिका पार्टी’ न नयाँ आशा हो, न नयाँ सपना । यो केबल नयाँ खोलमा पुरानै शक्ति संरचनाको निरन्तरता हो । यसमा लाग्ने, आशा राख्ने, समर्थन गर्नेहरूले गहिरो आत्मचिन्तन गर्नुपर्छ ।
पुँजीवादको भिन्न–भिन्न रूपलाई होइन, पुँजीवादको जरा उखेलेर फाल्नुपर्ने हो । त्यसका लागि सशक्त श्रमिक आन्दोलन, सचेत जनजागरण, सामूहिक शक्ति र विकल्पको निर्माण आवश्यक छ । त्यो विकल्प मस्कको पार्टी होइन, त्यो विकल्प हुनसक्छ – सामाजिक न्यायमा आधारित, जनताको हितमा केन्द्रित, सहभागितामूलक र पुँजी नियन्त्रणको अन्त्य गर्ने शक्तिशाली श्रमिक पार्टी ।
अहिले मस्कले जुन भावनात्मक कुरा बोलिरहेका छन् – ‘Freedom’, ‘Choice’, ‘Accountability’ – त्यो सबै भाषिक खेलमात्रै हो । ती शब्दहरूभित्र न्याय, समानता, गरिबीको अन्त्य, वर्गीय विभाजनको खारेज, जातीय, लैङ्गिक, क्षेत्रीय समानताको आवाज छैन । त्यसैले त्यो शोषितपीडितवर्गको आन्दोलनसँग मेल खाँदैन ।
एक सामान्य नागरिक, जसले दैनिक श्रम गरेर आफ्नो पेट पाल्छ, अस्पतालमा उपचारको पैसा नहुँदा छटपटी गर्छ, छोराछोरीलाई राम्रो शिक्षा दिन सक्दैन, उसले एलन मस्कको पार्टीसँग आफ्नो भविष्य जोड्न सक्दैनन् । किनभने, सबैलाई थाहा छ, त्यो पार्टी पनि जनताको आवाजलाई सुन्ने नभई, उनीहरूलाई प्रयोगमात्र गर्नेछ ।
त्यसैले, सबै सचेत नागरिकहरूले साँचो परिवर्तन कुनै धनी मानिसले खोल्ने पार्टीबाट हुँदैन भन्ने कुरा बुझ्नुपर्छ । साँचो परिवर्तन त चेतनाबाट, आन्दोलनबाट आउँछ । तसर्थ, सबैभन्दा महत्वपूर्ण कुरा जनताको वर्गीय चेतना जगाउनु हो । नयाँ पार्टी वा नयाँ नेताभन्दा महत्वपूर्ण कुरा जनताको सामूहिक सङ्घर्ष र जनताले आफ्नो शक्ति बुझ्नु हो । जबसम्म पुँजीवादी संरचनालाई चुनौती दिँदैनन्, तबसम्म कुनै पनि पार्टीले जनताको जीवनमा मूलभूत परिवर्तन ल्याउन सक्दैन ।