दोन्या अबु सित्ता
म खान युनिस सहरको पश्चिममा रहेको नासेर अस्पतालनजिकै बस्छु । हरेक दिनजसो अस्पतालबाट लाउडस्पिकरमार्फत रक्तदानका लागि गरिने हतारो र व्याकुल अपिल सुनिरहेकी हुन्छु । यो अवस्था एक वर्षभन्दा बढी समयदेखि चलिरहेको छ । गाजाका थोरै मात्र सञ्चालनमा रहेका स्वास्थ्य संस्थामध्ये एक यो अस्पताल इजरायली हवाई आक्रमणका पीडितले नियमित रूपमा भरिभराउ हुने गरेको छ । मेको अन्त्यदेखि त झन् राहत वितरणस्थलमा इजरायली सेनाले गोली हान्न थालेपछि धेरैजसो घाइते यही अस्पतालमा ल्याइने गरिएका छन् ।
मैले पहिले पनि रक्तदान गरिसकेकी थिएँ र फेरि पनि दान गर्नु मेरो कर्तव्य हो भन्ने लागेर म गत महिना एकाबिहानै नासेर अस्पताल पुगेँ । जब मेरो हातबाट रगत निकालिँदै थियो, मलाई एक्कासि बेस्सरी रिंगटा लाग्यो र म बेहोस हुन्छुजस्तो भयो । रक्तदान अभियानमा संलग्न मेरी साथी नर्स हानान तुरुन्तै मसँग आइन् र मस्तिष्कमा रगतको प्रवाह बढोस् र मलाई केही राहत मिलोस् भनेर मेरो खुट्टामाथि उठाइदिइन् । मेरो रगतको परीक्षण गरेर १० मिनेटपछि फर्किएर नर्सले मलाई गम्भीर रक्तअल्पता
(एनिमिया) र कुपोषण रहेको बताइन् ।
मेरो रगतमा दान गर्न आवश्यक न्यूनतम पोषक तत्वसमेत थिएनन् । हानानले मेरो अवस्था अपवाद नभएको बताइन् । इजरायली नाकाबन्दी र मासु, दुध, अन्डा, फलफूलजस्ता पौष्टिक खाद्य पदार्थको अभावका कारण अस्पतालमा रगत दान गर्न आउने अधिकांश मानिसमा रक्तअल्पता र कुपोषण देखिएको छ । अस्पतालमा दान गरिएका झन्डै दुईतिहाइ रक्त युनिटमा हेमोग्लोबिन र फलामको मात्रा अत्यन्त कम हुने भएकोले ती रगत रक्तसञ्चारका लागि प्रयोग गर्न मिल्ने अवस्थामा छैनन् ।
गाजामा दान दिइएका झन्डै दुईतिहाइ रगतमा हेमोग्लोबिन र फलामको मात्रामा कमी हुँदा ती रगत दानयोग्य हुँदैनन् ।
जुनको सुरुवाततिर प्रयोगशाला तथा रगत बैङ्ककी निर्देशक डा. सोफिया जआराबले सञ्चारमाध्यमलाई गाजामा दान गरिएको रगतको गम्भीर अभाव ‘सङ्कटकालीन अवस्था’ मा पुगेको बताएकी थिइन् । गाजालाई दैनिक चार सय युनिट रगत चाहिन्छ । ‘वेस्ट बेङ्कबाट रगत ल्याउन प्रयास गरिए तापनि इजरायली अतिक्रमणकारीले गाजामा प्रवेश रोकिदिए’, उनले बताएकी थिइन् ।
रक्तदान गर्न असफल भएपछि म निराश भएर फर्किएँ । मलाई भोकमरीले असर गरिरहेको थियो । मेरो तौल घटेको छ, म थकान, टाउको दुखाइ, जोर्नी दुखाइ र रिंगटाबाट ग्रस्त छु । लेख्न वा पढ्न पनि विश्राम आवश्यक हुन्छ । वास्तवमा स्वास्थ्य अवस्था कति गम्भीर भइसकेको रहेछ भन्ने थाहा पाएर म गहिरो आघातमा परेकी थिएँ । पिठो अत्यन्त महँगो भएकोले महिनौँदेखि हामीले केवल पास्ता र चामल खाँदै आएका छौँ । हामी दिनको एक छाक मात्र खान्छौँ, कहिलेकाहीँ आधापेट खाएर साना दाजुभाइबहिनीलाई खुवाउँछौँ । उनीहरू कुपोषणका चिन्ताजनक लक्षण देखाउँदै भोकले खाना मागिरहन्छन् । इजरायलले २ मार्चमा पूर्ण नाकाबन्दी लगाएदेखि हामीले मासु, अन्डा वा दूधजस्ता वस्तु देखेका छैनौँ, उसो त त्यसअघिसम्म पनि यी खाद्य पदार्थ दुर्लभ नै हुन्थे ।
गाजा स्वास्थ्य अधिकारीका अनुसार इजरायली नरसंहारकारी युद्ध सुरु भएयता कम्तीमा ६६ बालबालिकाको मृत्यु भोकमरीका कारण भएको छ । युनिसेफका अनुसार मे महिनामा मात्रै पाँच हजारभन्दा बढी बालबालिकालाई तीव्र कुपोषणको उपचारका लागि गाजाका स्वास्थ्य संस्थामा भर्ना गरिएको थियो । यी बालबालिकामध्ये केही चमत्कारी ढङ्गले बाँच्न सफल भए पनि उनीहरूले स्वस्थ रूपमा हुर्किने, आफ्नो सम्पूर्ण सम्भावना विकास गर्ने र स्थिर एवं सुरक्षित जीवन बाँच्ने अवसर पाउनेछैनन् । तर, मेरो शरीरमा भोकमरीले पारेको असरभन्दा पनि म घाइतेलाई सहयोग गर्न असफल भएँ भन्ने पीडाले थिचिएको थिएँ । म युद्धमा घाइते भएर अस्पतालमा जीवन र मृत्युको सङ्घर्ष गरिरहेका मानिसलाई सहयोग गर्न चाहन्थेँ किनभने म एक मानव हुँ । अन्ततः अर्को व्यक्तिको पीडामा हात बढाउनु नै सबैभन्दा मौलिक मानवीय प्रेरणामध्ये एक हो । सहानुभूति र ऐक्यबद्धता नै हाम्रो मानवताको परिभाषा हो ।
जब तपाईं कसैको जीवन बचाउन चाहनुहुन्छ, तर रोक्न बाध्य पारिन्छ तब निराशाको एक नयाँ क्षितिज खुल्छ । जब तपाईं आफ्नै थोरै स्रोत (यहाँ त आफ्नै शरीरको हिस्सा) बाट सहयोग गर्न चाहनुहुन्छ, तर त्यसबाट पनि वञ्चित हुनुहुन्छ भनेर थाहा पाउँदाको पीडा आत्माको गहिरो घाउ बन्न पुग्छ । २१ महिनायता हामीलाई अन्तर्राष्ट्रिय कानुनमा सुनिश्चित गरिएका हाम्रा सबै मानव अधिकारबाट वञ्चित गरिएको छ । हामीलाई पानी र खाना खाने अधिकार, स्वास्थ्य सेवा र वासस्थानको अधिकार, शिक्षाको अधिकार, स्वतन्त्र आवागमन र शरणको अधिकार र जीवन बाँच्ने अधिकारबाट समेत वञ्चित गरिएको छ । अब हामी यस्तो अवस्थामा पुगिसकेका छौँ जहाँ अरूको जीवन बचाउन चाहने आकाङ्क्षा अर्थात् मानव ऐक्यबद्धता देखाउने अधिकार नै हामीबाट खोसिएको छ ।
यो सबै संयोगले नभई योजनाबद्ध रूपमा भइरहेको छ । यो नरसंहारले केवल ज्यान लिँदैन, मानवीयता र सहानुभूतिमा पनि प्रहार गर्छ । राहत संस्था र सार्वजनिक भान्सामा आक्रमण, खाद्यान्न लुटपाटका लागि गरिएका उक्साहट सबै ऐक्यबद्धताविरुद्धका हमला हुन् । वास्तवमा, यही ऐक्यबद्धता ७५ वर्षदेखि उत्पीडन सहँदै आएका प्यालेस्टिनी जनताको बलियो आधार हो । हाम्रो सामूहिक सम्बन्धमा चिरा परिरहेका हुनसक्छन्, तर हामी ती चिरा पुर्न जान्दछौँ । गाजामा हामी सबै एउटै ठुलो परिवार हौँ र हामीलाई एक–अर्कालाई मलम लगाउने, सहारा दिने उपाय थाहा छ । प्यालेस्टिनी जनताको मानवता सधैँ विजयी रहिआएको छ ।
(लेखक, अनुवादक एवं अङ्ग्रेजी भाषाकी शिक्षक हुनुहुन्छ ।)
– ‘अल जजिरा’ बाट