(‘भक्तपुरमा गोर्खाली हमला’ नामको यो पुस्तक वि.सं. १८२६ मा भएको हमलाबारे गरुडनारायण गोँगलद्वारा हस्तलिखित वर्णनको आधारमा देवीचन्द्र श्रेष्ठले लेखेका हुन् । इतिहासका केही व्याख्या र वर्णनहरूमा थप काम गर्न वा फरक ढङ्गले सोच्न मद्दत गर्ने उद्देश्यले यो पुस्तक जगदम्बा प्रकाशनले २०७६ साउनमा प्रकाशित गरेको हो । यस पुस्तकबाट इतिहासकारहरूको निम्ति थप अनुसन्धान गर्न, सही विश्लेषण गर्न र इतिहासका विद्यार्थीहरूको ऊर्जा मिल्ने ध्येयले प्रकाशित गरिएको हो – सं.)
संस्मरणको ऐतिहासिक विशेषता
प्रस्तुत संस्मरण पृथ्वीनारायण शाहद्वारा कान्तिपुर दखलको परिणाम त्यहाँका राजा जयप्रकाश मल्ल भक्तपुरमा आएर राजनीतिक शरण लिएको घटनादेखि प्रारम्भ गरी भक्तपुरका राजा रणजित मल्लले काशीवासको अनुमति पाएर सं १८२६ फागुन लाग्दोसम्म नेपालमा बसेर काशी प्रस्थान गर्दासम्मको आफ्नै आँखाले देखे भोगेका अनुभूत घटनाक्रम लिपिबद्ध गरिएको छ । त्यसो गर्दा लेखक गरूडनारायणको लेखाइमा प्रचलित वंशावलीका कथनसित बाझिएका र त्यहाँ नखुलेका कुराहरू मनग्य छन् ।
पृथ्वीनारायण शाहले कान्तिपुर, ललितपुर तथा भक्तपुर दखल गरेका मितिहरू नेपालको इतिहासमा अत्यन्त महत्वका छन् । यी तीनवटै मितिहरू गरूडनारायणले लगभग ठीक ठीकैसँग दिएका छन् । कान्तिपुर प्रवेश गरेको दिन ने. सं. ८८८ भाद्र शुक्ल चतुर्दशीको (अनन्त चतुर्दशी) रातमा हुनाले चतुर्दशी उप्रान्त पूर्णेको दिन भनेर संस्मरणको सुरुमै लेखिएको छ । यस दिनको प्रचलित सौरमान भने सं १८२५ असोज १३ गते पर्न आउँछ ।
अब भक्तपुरमा पृथ्वीनारायण शाहले हमला गरेको मिति ने.सं. ८९० कार्तिक शुक्ल एकादशीको दिन हो । त्यही मिति यहाँ गरूडनारायण गोँगलले पनि दिएका छन् । तर भक्तपुरमा तीन दिनसम्म सङ्घर्ष भएर अन्तमा भक्तपुरे राजा रणजित मल्लले विवश भई आत्मसमर्पण गर्नपुरेको दिन सरासर गन्दा कार्तिक शुक्ल त्रयोदशी पर्दछ । त्यसै दिन जयप्रकाश मल्ललाई गोली लागेर घाइते भएपछि नै उक्त आत्मसमर्पण गर्ने काम भएको कुरा यहाँ संस्मरणमा अलि खुलाएर दिइएको छ । परन्तु, त्यसदिन त्रयोदशी टुट भएर चतुर्दशी लागेको कुरा ज्योतिष गणनाबाट सिद्ध भएको छ । तसर्थ, भक्तपुरमाथि हमला भई दखल भएको दिन संशोधन मण्डलद्वारा गणना गरिएको छ । तद्नुसार भक्तपुर पतनको दिन ने.सं. ८९० कार्तिक शुक्ल चतुर्दशी, आइतबार (सं १८२६ मार्ग १ गते) परेको छ । संस्मरणकार गरूडनारायणले यहाँनिर आफ्नै सामान्य हरहिसाब मात्र गरेको पाइन्छ ।
गोर्खालीहरूले ललितपुर दखल गरेको दिन यहाँ गरूडनारायणले दिएका छैनन् । तर, ललितपुरका राजा तेजनरसिंह मल्लले भक्तपुरमा शरण पर्न आएको दिन भने ‘भाद्र वदि १३’ भनेर लेखेका छन् । यसमा महिना बिरिएको देखिन्छ । शुद्ध चाहिँ आश्विन वदि १३ हुनुपर्ने हो किनभने ललितपुरमा गोर्खाली सेना प्रवेश गरेको दिन भाषा वंशावलीमा यही साल (ने.सं. ८८८) आश्विन वदि ११ रोज ५ दिइएको छ । त्यसदिनको पञ्चाङ्ग गन्ती पनि आश्विन कृष्ण एकादशी बिहीबार (तद्नुसार सं १८२५ आश्विन २४ गते) पर्न आउँछ । तसर्थ, कान्तिपुर दखल भएको ११ औँ दिनमा ललितपुर पनि पृथ्वीनारायण शाहको हात परेको हो । त्यहाँ पनि कुनै सङ्घर्ष परेको थिएन । ललितपुरका ६ प्रधानहरूको सहमतिले नै त्यहाँ गोर्खाली सेनाले प्रवेश गरेको देखिन्छ । त्यसको पर्सिपल्ट त्यहाँका राजा तेजनरसिंह मल्ल पनि भक्तपुरमा शरण पर्न आएको कुरा यहाँ गरूडनारायणले लेखेका छन् ।
भाषावंशावलीमा पृथ्वीनारायण शाहले कान्तिपुर दखल गरेपछि राजा जयप्रकाश मल्ल भागेर ललितपुर गएको र ललितपुरमा पनि गोर्खालीहरूको प्रवेश भएपछि त्यहाँका राजा तेजनरिसंह मल्लसहित जयप्रकाश मल्ल भक्तपुरमा गएर शरण लिएको कुरा लेखिएको छ तर, गरूडनारायण गोँगलको संस्मरणले त्यसो भन्दैन ।
गोर्खालीहरूले कान्तिपुर दखल गरेपछि राजा जयप्रकाश मल्ल ललितपुर पुगेर भोलिपल्टै भक्तपुरको शरणमा गएको कुरा यहाँ परेको छ । ललितपुरमा गोर्खाको प्रवेश भएपछि मात्र अन्तिम राजा तेजनरसिंह मल्ल पनि भक्तपुरमा नै शरणार्थी हुन पुगे । ललितपुरमा सत्ता वृत्तका प्रधानहरूको चर्तिकला राम्ररी बुझेका जयप्रकाश मल्ल त्यहाँ धेरै दिन बसिरहनु स्वाभाविक हुँदैन । त्यसैले गरूडनारायणको लेखाइ नै यथार्थपरक लाग्छ, अनि बढी विश्वासिलो पनि ।
भक्तपुरमा गोर्खालीको हमलाको खास वर्णन
नेपालको राजा घोषित हुन अब पृथ्वीनारायण शाहले भक्तपुर दखल नगरी हुँदैन तर कान्तिपुर, ललितपुरमा जसरी सजिलोसित भक्तपुरमा पृथ्वीनारायण शाहले दखल गर्न सक्तैनन्, सकेनन् । यसको लागि एक वर्षभन्दा बढी समय पर्खेर, त्यस्तै पूरा तयारीका साथ यो हमला गरेको कुरा स्वसिद्ध छ ।
भक्तपुर नगर एउटा सुदृढ गढको रूपमा रहेको कुरा त प्रसिद्ध नै छ । त्यसभित्रको राजकीय दरबार त्यतिखेर अर्को भित्री गढ स्वरूप निर्मित हुनाले ३ दिनको निमित्त युद्धस्थल बनेको थियो । तर, हमलाको सुरुमा भने त्यहाँका केही पक्षले गोर्खाली फौजलाई पूर्वी ढोकाबाट नगर प्रवेश गर्न सहज पारिदिएको आभास पाइन्छ । यसबारे गरूडनारायणको कथन यस प्रकारको छ, “नेपाली सं ८९० कार्तिक सुदि ११ रोज ७ को रात्री घरि ९।१० मा सहर भादगाउँको पूर्वपट्टिको मूल ढोकाबाट लस्कर प्रवेश भइ, १०।१२ घरमा आगो लगाई पश्चिमपट्टिको इटाछेँ ढोकाबाट श्री ५ महाराजा (श्री) पृथ्वीनारायण शाह, श्री सूर प्रताप काजी साहेव प्रवेश गर्नु भै द्वादशीको दिन बिहानै कम्पनी कम्पनी छाना छानामा चढी बन्दुकले हानी हानी आई । दरबारको छाना पुगेपछि हिटिचोकको उत्तरपट्टिको चार तल्लामाथिको छानाबाट हानी ।”
उपर्युक्त वर्णनमा भक्तपुर हमला भएको दिन ने.सं. ८९० कार्तिक शुक्ल एकादशी भनेर ठीकसँग सम्झिएको छ । तर, बारको हकमा लेखकलाई भ्रम परेको बुझिन्छ । यहाँ उनले शनिबार भनेर दिएका छन् । तर, सो एकादशीको दिन शुक्रबार परेको गणनाबाट सिद्ध हुन्छ । यसमा राति ९–१० घडी बितेपछिको घटना हुनाले लेखकलाई झन्डै २० वर्षपछि सम्झेर लेख्ता यसरी अलिक भ्रम पर्न जानु स्वाभाविक मान्नुपर्नेछ । परन्तु, यहाँ महत्वपूर्ण कुरा त भक्तपुर नगरको पूर्वपट्टि रहेको मूलढोकाबाटै गोर्खालीहरू छिर्न सकेकाले विशेष चर्चायोग्य हुन्छ । यसरी स्थानीय एक पक्षको मद्दतले राति नै मूल ढोकैबाट गोर्खाली फौजको नगर प्रवेश भयो । यस हमलामा स्वयं पृथ्वीनारायण शाह उपस्थित रही उनका कान्छा भाइ सुरप्रताप शाह पनि साथमा आएर युद्ध सञ्चालन गरेका थिए । उनीहरू नगरको पश्चिमपट्टि इटाछेँ ढोकाबाट प्रवेश गर्न खोज्दा यसका लागि पहिले मूलढोकाबाट पसेका गोर्खाली फौजले नै गएर पश्चिम ढोकातिर दस–बा¥ह घरमा आगो लगाएर हाहाकार मच्चिने गरी सो पश्चिम ढोका खुलाए ।
यसरी पूर्व र पश्चिमका ढोकाहरूबाट गोर्खाली फौजको नगर प्रवेश भएपछि आखिर दरबार क्षेत्र नै युद्धस्थलमा परिणत भयो । भक्तपुर दरबार पनि चारैतिर पर्खालले घेरिएर सीमित द्वारहरू मात्र रहेका छुट्टो खण्ड हुनाले सैनिक कारबाही गर्न अझ कठिन पथ्र्याे । तर, हिटिचोकको उत्तरपट्टि दरबार बाहिरको अग्ला घरबाट दरबारभित्रका चोकहरू छर्लङ्ग देखिने हुनाले गोर्खाली सिपाहीहरू त्यस्ता अग्ला घरका छानामा चढ्दै दरबारका चोकभित्र बन्दुकले गोली चलाउन सजिलो भयो ।
गोर्खाली फौजको गोली लागेर दरबारका अनेकौँ चोक चोकमा मानिसहरू मर्न थाले । त्यसको विवरण गरूडनारायण गोँगलले यसरी दिएका छन् :
हिटिचोक दरबारको उत्तर बाहिरपट्टिको चारतलामाथि छानाबाट हानी गोली लागी म¥याको –
मूल चोकमा ११
बेको चोकमा ३
जलधुं चोकमा २
तौचपलीमा १
दुधल चोकमा १
लक्ष्मीराजको पूर्वपट्टि सानु कौसीमा ३
टुं चोकमा ३
हिटिचोकमा ३
महादेउ चोकमा १
तालसी चोकमा यति उति थाहा छैन । धेरै मरे ।
चौकोटको चोक र मटानमा पनि यतिउति थाहा छैन ।
हिटी लिविको चोकमा ढोकासँगको कोटमा श्री इन्द्रायणीको ढोकामा पनि यतिउति थाहा छैन । धेरै मरे ।
पछि त गोर्खाली फौज नै दरबारभित्रको चोकका छाना छानामा पुगेर त्यहाँबाट तलतिर चोक, चोटाकोठा, कौसीहरूमा देखापर्ने मानिसहरूलाई गोली हान्ने काम पनि थालियो । त्यसको बयान गरूडनारायण गोँगलले यसरी गरेका छन्, “चिकंअट चोकको चोटामा ठुलो निसान नगरा राष्याको सत्तलको छानाबाट बन्दुकले हानी म¥याको जयप्रकाशको सिपाही सर्दारसिं नगरकोटीको अछु भन्याको १ काठमाडौँको कोठा मोचा नेवा १ ––– चोटामा गरूड नारान र निजको बाबु भाजु देव गोँगल बाबुछोराको मुख्यांजी म¥यो । दरबारको मुख लामापाटीमा काठमाडौँको विरिषि भन्याको वौल्हाजस्तो वामन १ घुँडामा गोली लागी म¥याको – १”
“दरबारको अगाडि श्रीकृष्ण पाठक १ कामेश्वर प्रधान १ गोली लागी म¥यो ।”
“धन जुजुको वहालको कौसीमा हेर्न जा भनी बूढा राजाले पठाउँदा कौसीमा गोली लागी म¥याको गरूडनारायणको काका मनि गोँगोल – १”
जयप्रकाश मल्लका साथ केही नगरकोटी सिपाहीहरू भक्तपुर गएका थिए । तिनको तैनाथ सर्दारसिं माथि हुनाले उनैले भक्तपुर दरबारभित्र गोर्खाली सैनिकहरूसित केहीबेर भिड्न खोजेको कुरा भाषा वंशावलीमा पाइन्छ । त्यसको पुष्टि गरूडनारायणले यहाँ दिएको विवरणमा सर्दारसिं नगरकोटी गोली लागेर मारिएको घटनाले हुन्छ । उनका साथ जयप्रकाशकै कोठामोचा १ जना पनि झ्यालबाट आएको गोलीको शिकार भएको कुरा यहाँ टिपिएको छ । यो घटना त गरूडनारायण र उनको बाबु भाजुदेवकै अगाडि घटेकाले संस्मरणमा विशेष स्थान पाएको होला । यसैगरी, कान्तिपुरपट्टि विरिखिं भन्ने झा बाहुन पनि गोर्खाली गोलीकै निशाना बने ।
गोर्खा पक्षको गोली लागेर मर्नेमा लेखककै काका मनि गोँगल पनि परेकाले उनका लेखा अझ स्मरणीय बनेको छ । यिनी राजा रणजित मल्लको आदेशले माहिला राजकुमार धनजुजुको कौसीमा गएर गोर्खालीहरूको गतिविधि बुझ्न लाग्दा त्यहीँ नै विपक्षका गोलीको निशाना बने । यिनको बाहाल दरबार बाहिर पर्ने हुँदा यस्तो काममा सुरक्षित ठानिएको होला । यिनको बाहाल पनि सात बाहालभित्रै पर्दछ ।
माथि चर्चित श्रीकृष्ण पाठक र कामेश्वर प्रधानहरूको प्रसङ्ग भने बुझ्न सकिएको छैन ।
यतिञ्जेलसम्म नेपालका तीनै राजाहरू भक्तपुर दरबारको मूल चोकमा नै रहेका र गोर्खालीहरू भने यसको बाहिरी घरको छानामा बसेकाले गर्दा आफूहरू होचो ठाउँमा असुरक्षित ठानेर रणजित मल्लका धनजुजु आदि छोराहरूले अग्लो ठाउँ चौकोट दरबारमा गएर बस्ने सल्लाह दिए । सोहीअनुसार भण्डारखालको बाटो गरी लिस्नु चढेर चौकोटमा दाखिल भए पहिले रणजित मल्ल र उनका सभासद्हरू ।
त्यसपछि जयप्रकाश मल्ल पनि सोही लिस्नुबाट माथि चढ्न लाग्दा छानाबाट गोर्खालीहरूले निशाना लगाई हानेको गोली दाहिने पैतालामै लागेर उनी भ¥याङबाटै तलतिर लडे । जयप्रकाश मल्ल यसरी घटनास्थलमै घाइते भएकाले यस युद्धको लागि निर्णायकतातर्फ उन्मुख गर्न सघाउ अवश्य पु¥यायो । यसबारेमा गरूडनारायण गोँगलको संस्मरणले बोल्छ, “उहाँपछि श्री जयप्रकाश राजाले पाव उठाई लिसनामा टेक्न नपाई छानाबाट बन्दुकले हान्दा दाहिना पाइलाका तल गोली लागी ताहीँछेउ उत्तानै प¥या र उहाँ पछि लिसनै छेउ देपामी दरबारमा पालोसँग सुतन्याहरू सुत्याको पालीमा भित्र लैजाई बिछ्याउनालाई सुताई राज गर्नुभयो । यस दिन त्रयोदशी ।”
यसरी जयप्रकाश मल्ल भक्तपुर दरबारको चौकोट खण्डमा पुग्न पाएनन् तापनि ललितपुरका राजा तेजनरसिंह मल्ललगायत रणजित मल्लका छोराहरू, काजी प्रधानहरू र छरिदार हेमनारायण समेत ५१ जना चौकोटमा दाखिल भए तर त्यहाँ पनि उनीहरू सुरक्षित रहने अवस्था देखिएन । दरबारभित्रकै चोकको छाना छानाबाट गोर्खाली सेनाले बन्दुक हान्ने भएपछि चौकोटमा पनि टिक्न गा¥हो देखेर छरिदार हेमनारायणले राजा रणजित मल्ल छेउ आएर अब त आत्मसमर्पण गर्नैपर्ने अवस्थाको पटक–पटक जाहेरी दिएपछि राजाले आफ्नो पगरी आफैले फुकालेर चौकोटको सानो झ्यालबाट तल झुन्ड्याइदिए । यो देखेर युद्ध सञ्चालन गरिराखेका काजी शूरप्रताप शाहले युद्ध बन्द गर्ने आदेश दिए ।
प्रस्तुत गोर्खाली हमलाको क्रममा दरबारको चौकोटतर्फ मुख्य–मुख्य मानिसहरू एकत्रित हुन लागेको थाहा पाएपछि त्यता जाने बाटामा पनि गोर्खाली अवरोध बिस्तार भएको छनक पाइन्छ । यसको सङ्केत गरूडनारायणले पनि दिएकै छन्, “भंडारखालबाट चौकोटमा जान्या बाटोको छिँडीमा तलबारले हानी म¥याको ३ मध्ये अफाल्न जाँदा ज्युँदै रही आज सं. ९०९ संम वांची रहेको क्वाछे टोलको धंजु १”
यति भएर पनि भक्तपुरको पक्षबाट गोर्खाली हमलाको प्रतिकार भएको खास वर्णन प्रस्तुत संस्मरणमा देखापर्दैन । तथापि, युद्ध बन्द गर्ने शूरप्रताप शाहको आदेशपश्चात् पनि भक्तपुरकै भोटे सैनिकहरूले केही प्रतिकारको छनक देखाएको गरूडनारायणले चर्चा गरेका छन् । यसरी, “चौकोट हिटिलिविको कोटमा कोठा चोटाबाट भींट झिङ्गटीले झ्यालबाट भोट्या प्रजाहरूले कार्तिक शुदि १४ रोजसम्म हान्दा त्यो कोट घर सबै आगो लाइदियो । कति म¥यो ? थाहा छैन ।”
उपर्युक्त शैली हेर्दा त्यहाँ राजाले आत्मसमर्पण गरिसकेपछि पनि प्रतिकार जारी रहेको छनक पाइन्छ । यसबाट गोर्खाली आक्रमण शैली पनि थप आतङ्कमय हुन गएजस्तो बुझिन्छ । यस युद्धपछि शूरप्रताप शाहदेखि पृथ्वीनारायण शाह रूष्ट रहेको चर्चा पाइन्छ तर त्यसको खुलस्त विश्लेषण इतिहासमा भएको पाइँदैन । त्यसको निम्ति पूर्वापर आधारभूत घटनाक्रमबाट भिन्नै अध्ययन गर्न सकिन्छ ।
युद्धको परिणाम
शूरप्रताप शाहले युद्ध बन्द गर्ने आदेश दिएपछि गोर्खालीहरू विजेताले गर्ने बन्दोबस्तमा जुटेका छन् । नेपालका ती नै राजाहरू रणजित मल्ल, जयप्रकाश मल्ल र तेजनरसिंह मल्ल गोर्खालीको बन्दी अर्थात् कैदीका रूपमा राखिए । तिनमा ललितपुरका राजा तेजनरसिंह मल्लको लागि अन्तिम अवस्था कस्तो रह्यो त्यो कुरा गरूडनारायण गोँगलको संस्मरणमा खुल्दैन । जयप्रकाश मल्ल र रणजित मल्लहरूको अवस्था राम्ररी चित्रण गरिएका छन् ।
रातैमा हिटिचोकमा लगेर रणजित मल्ललाई उत्तरपट्टिको दलानमा र जयप्रकाश मल्ललाई पश्चिमपट्टिको दलानमा राखियो । जयप्रकाशको लागि गोर्खाली पहरामा सुबेदार अति बल विष्ट खटिए । उनको सुसार गर्नलाई भने उनकै कोठा मोचा महन्त सिंह, कृष्णसिंह छ्याकट, भजुवा बाहुन र भादगाउँले वैद्य चुकुधी राखिदिए ।
जयप्रकाश मल्ल गोर्खाली हमलामा घाइते भएर धेरै दिन सिकिस्त रहन पनि पाएनन् । ने.सं. ८९० कार्तिक शुक्ल चतुर्दशीको दिन (मार्ग १ गते) भक्तपुरको पतन भएपछि जयप्रकाश मल्लको व्यथा चर्किन थाल्यो । उनी मार्ग वदि प्रतिपदाको दिन पशुपति आर्यघाटमा पु¥याइए । भोलिपल्ट द्वितीयाको दिन उनको देहान्त भयो । भित्रेनी एउटी सती गइन् ।
अब, भक्तपुरतर्फ
राजा रणजित मल्ल र उनका राजपरिवार तथा त्यहाँका काजी प्रधानहरूको अवस्था कस्तो रह्यो, गरूडनारायण गोँगलको संस्मरणका आधारमा केही चित्रण गरौँ । राजा रणजित मल्लप्रति पृथ्वीनारायण शाहले केही उदार व्यवहार गरेको अवश्य देखाएका छन् । उनको सेवामा साबिकजस्तै गरूडनारायण गोँगललाई सुरुदेखि कायम राखिदिए । गोर्खाली पहरामा भने प्रभुमल ठाकुर खटिए तर बुढा राजासँग उच्चस्तरीय राजनीतिक सम्पर्कका लागि गोर्खाली सर्दार केहरसिंह बस्नेत खटिएका थिए ।
रणजित मल्लका त्यतिखेर ३ रानीहरू भएका देखिन्छन् । ती सब नजरबन्दमा राखिएका थिए । बूढा राजाको सेवाका लागि सब रानीहरू साथमा राख्ने अनुमति दिएर पृथ्वीनारायण शाहले सोही कुरा सर्दार केहरसिंमार्फत सोध्न पठाए । तर, बुढा राजाले कुनै रानी साथमा राख्ने खास इच्छा नगरे पनि पृथ्वीनारायण शाहकै जोडमा कान्छी रानीलाई मात्र ल्याइदिने अनुमति रणजित मल्लले दिएको कुराले अन्तिम अवस्थामा उनको मानसिकता व्यक्त हुन्छ, तर यहाँ कान्छी रानीको नाम भने खुलेको पाइँदैन ।
त्यतिखेर, रणजित मल्ललाई चाहिँदो दैनिक जीवनका सरसामानहरू सबैथोक पृथ्वीनारायण शाहकै तर्फबाट पु¥याइयो । उनको पहिलेका सुख सुविधाहरूमा कुनै कमी हुन दिइएन । त्यतिमात्र होइन, पृथ्वीनारायण शाहकी बडामहारानी र छोरी जेठी मैयाहरूले समेत खानेकुरा पठाउन थाले । यस्ता घनिष्ठ व्यवहारद्वारा पृथ्वीनारायण शाहले रणजित मल्लसित मित बाबाको मर्यादा कायम राख्न खोजेको सिद्ध गर्छ ।
अर्कोतिर भक्तपुरमा उनको कठोर राजनीतिक व्यवहारतर्फ पनि गरूडनारायण गोँगलको संस्मरणले हामीलाई केही हदसम्म परिचय दिन्छ । बूढा राजाले आत्मसमर्पण गरेपछि त्यसको औपचारिक विधि पु¥याउन उनको तर्फबाट राजकुमार धनजुजु, डाटिम्ह जुजु (अच्युत सिंह) र प्रधानहरूमा काजी जसराज भंडेल र जगन्नाथ सिंह आदि गएर नगरको पश्चिम खौमाटोल स्थित बाटुले देवलमा काजी शूरप्रताप शाहलाई भेट्न गएका थिए । तिनमा काजी जसराज भंडेल र जगन्नाथ सिंहलाई त्यहीँ पक्रेर राखे, अनि जसराज भंडेल काजीलाई हनुमन्त सिंह प्रधानसगै (जयप्रकाश मल्लका साथ आएको उनको कोठा मोचा) गोर्खालीहरूले सङ्गीनले रोपी मारेका थिए । जगन्नाथ सिंहलाई पसिखेलमा लगेर मारे । यो पसिखेल भन्ने पसिख्यः भक्तपुरको प्रसिद्ध योसिख्यः जाने बाटामा पर्छ । यसरी भक्तपुरमा आफूले दखल गरिसकेपछि काजी प्रधानहरूलाई पक्रेर मारेको यस घटनाले पृथ्वीनारायण शाहको कार्यशैली बुझ्न इतिहासकारहरूलाई मद्दत नै गर्छ ।