#रामरतन चौधारी
कोरियाको सङ्क्षिप्त परिचय
एसियाको उत्तर–पूर्वमा रहेको कोरिया प्रायद्वीप २ लाख २२ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसको उत्तर–पूर्वमा रुस, उत्तरमा चीन, पूर्व–पश्चिम र दक्षिणमा समुद्रले घेरिएको छ । उत्तरमा चीनसँग सीमा जोडिएको यालु नदी र टुमेन नदी छन् । एसियाको उत्तरपूर्वमा रहेको कोरिया प्रायद्वीप २ लाख २३ हजार १७२ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ । यसमध्ये प्रजग कोरिया १,२०,५३८ वर्ग किलोमिटरमा फैलिएको छ ।
कोरियामा राजवंश
२३०० वर्ष पहिले (३०० ईपू) कोरियामा पहिलो सामन्ती राज्य ‘कोगुरो’ (Koguryo) वंशको स्थापना भएको थियो । कोेगुरो वंशले १९६६ वर्ष पहिले आजको ‘प्योङयाङ’ निर्माण गरेर राजधानी बनाएका थिए । त्यसपछि पैकजे (Packje), सिल्ला (Silla) र काया (Silla) नामका सामन्ती राज्य पनि स्थापना भए ।
सन् ९१८ मा गोरियो वंशले (Goryeo Dynasty 918-1392) एकीकृत सामन्ती राज्य स्थापना गरी करिब ४७४ वर्ष कोरियामा शासन गरेको थियो । त्यही ‘गोरियो’ शासकको नामबाट ‘कोरिया’ रहन गएको हो । सन् १३९२ पछि कोरियामा चोसियन वंश (Joseon dynasty 1392–1910) को शासन स्थापित भयो । त्यसले करिब ५०० वर्ष शासन ग¥यो । त्यतिबेला देशको नाम ‘चोसोन’ राखियो । तर, विदेशमा ‘कोरिया’ प्रचार भइसकेको हुँदा ‘चोसोन’ राखे पनि देशको नाम ‘कोरिया’ नै रहन पुग्यो ।
कोरियामा जापानको हस्तक्षेप
सन् १९०५ नोभेम्बर १७ मा जापान र कोरियाबिच ‘युल्सा सन्धि’ (Eulsa Treaty) भयो । जसलाई जापान र कोरियाबिच भएको संरक्षित सन्धि (Protectorate Treaty) पनि भनिन्छ । जुन सन्धिले कोरियालाई आफ्नो कूटनीतिक सार्वभौमसत्ताबाट वञ्चित गरी जापानद्वारा संरक्षित राज्य बनायो ।
सन् १९०७ जुलाई २४ मा जापान र कोरियाबिच अर्को एउटा सन्धि भयो । उक्त सन्धिमा उल्लिखित प्रावधानअनुसार कोरियाको आन्तरिक र वैदेशिक मामिला जापानको हातमा पुग्यो ।
सन् १९१० अगस्त २२ मा जापान र कोरियाबिच Annexation Treaty (विलय सन्धि) भयो । जसले कोरियालाई पूर्णरूपमा जापानकोे एउटा अङ्ग बनायो । शासकहरू जापानसँग झुके पनि कोरियाली जनता जापानी उपनिवेशविरुद्ध निरन्तर उभिएका थिए । जापानी सेनाले गरेको थिचोमिचोविरुद्ध कोरियाली जनता जापानविरुद्ध सडकमा उत्रिएका थिए । कोरियाली जनताको प्रदर्शन तथा सभामा जापानी उपनिवेशबाट स्वतन्त्रताको नारा पनि गुञ्जियो । सन् १९१९ मार्च १ को जापानको उपनिवेशविरोधी जुलुसमा जापानी सेनाले कोरियाली जनतामाथि गोली चलायो । जापानविरोधी यस आन्दोलनमा ७५०० कोरियालीको ज्यान गुम्यो भने १६ हजारभन्दा बढी कोरियाली घाइते भए । यस घटनापछि कोरियाको ठूलो जनसङ्ख्या चीनतर्फ लाग्न बाध्य भयो । पछि चीनबाटै जापानविरोधी सशस्त्र आन्दोलन सुरु भयो ।
सन् १९३१ मा जापानले कोरियामाथि अझ धेरै दमन ग¥यो । कोरियाको भाषा, संस्कृति, इतिहास, परम्परा सबै मेटाउने प्रयास ग¥यो । जापानले कोरियाली भाषामाथि नै प्रतिबन्ध लगायो भने सबै कोरियालीले जापानी भाषा बोल्नुपर्ने बाध्यकारी नियम बनायो । कोरियालीहरूलाई जापानीहरूको ‘सिन्तो मन्दिर’ मा पूजा गर्न अनिवार्य गरियो । जापानीहरूले करिब २ लाख ऐतिहासिक कोरियाली दस्ताबेजमा आगो लगाए ।
सन् १९३८ पछि जापान दोस्रो विश्वयुद्धमा सहभागी भएदेखि कोरियाबाट लगिएका मानिसलाई खराबभन्दा खराब काममा लगाइयो भने कोरियाली महिलाहरूलाई यौनदासी (Comfort women) बनाइयो । दोस्रो विश्वयुद्धमा अमेरिकाको परमाणु बमबाट जापानको हिरोसिमा, नागासाकीमा मारिएकामध्ये २५ प्रतिशत मानिस कोरियाली थिए ।
कोरियाका महान् नेता किम इल सङ
कोरियाका महान् नेता किम इल सङ सन् १९१२ मा प्योङयाङमा जन्मिनुभएको थियो । उहाँको पुरानो नाम ‘किम सोङ जु’ थियो । किम परिवार ठूलो साम्राज्यवादविरोधी क्रान्ति थियो । सन् १८६६ मा किम इल सङका हजुरबुबा एक्लैले अमेरिकी युद्धपोत डुबाइदिएका थिए । किमका बुबा क्रान्तिकारी किसान हुनुहुन्थ्यो । वास्तवमा उहाँ किसानभन्दा पनि बढी शिक्षक हुनुहुन्थ्यो । किमकी आमा पनि महिलाको हकहितको निम्ति लड्ने सङ्घर्षशील महिला हुनुहुन्थ्यो । उहाँले किमलाई भन्नुहुन्थ्यो, “छोरा तिमी चाँडै नै ठूलो भएर दुश्मनसँग बदला लिनुपर्छ । तिमी बहादुर योद्धा भएर यो देश फिर्ता लिनुपर्छ ।”
किम इल सङ् १४ वर्षको हुँदा बुबाको मृत्यु भयो । अन्तिम समयमा उहाँका बुबाले पनि भन्नुभएको थियो, “छोरा तिमी यो देश र जनताका हौ । उनीहरू सबैलाई तिमीले जसरी पनि बचाउनू ।”
किम इल सङ जापानी सेनालाई सानैदेखि हैरान पार्नुहुन्थ्यो । उहाँमा लडाकु भावना सानैदेखि थियो । उहाँले विद्यालयमा जापानी भाषा सिक्न अस्वीकार गर्नुभयो । १३ वर्षको उमेरमै उहाँले चिनियाँ भाषा सिक्नुभयो । माक्र्सवाद, लेनिनवादमा पनि उहाँको निकै रुचि थियो । १३ वर्षको उमेरमै किम घर छाडेर मन्चुरियामा रहेका क्रान्तिकारीहरूलाई सहयोग गर्न पुग्नुभएको थियो ।
बुबाको मृत्युपछि किम मन्चुरियामा पढ्न भर्ना हुनुभयो । तर, पढाइ बिचमै छोडेर उहाँ जापानविरोधी सङ्घर्षमा लाग्नुभयो । १४ वर्षको उमेरमै उहाँले ‘साम्राज्यवाद मुर्दावाद’ भन्ने सङ्गठन निर्माण गर्नुभयो । जसको उद्देश्य जापानी साम्राज्यवादलाई समाप्त पार्नु, कोरियालाई स्वतन्त्र बनाउनु, समाजवादी र कम्युनिस्ट कोरियाको निर्माण गर्नु, सबै साम्राज्यवादीको विनाश र साम्यवादको स्थापना गर्नु थियो ।
सन् १९२५ मा किम इल सङले कोरिया राष्ट्रिय मुक्तिको निम्ति जनतालाई सङ्गठित पार्न थाल्नुभयो भने सन् १९३२ मा जापानविरोधी सशस्त्र युद्ध सुरु गर्नुभयो । किम इल सङ एकपल्ट जापानी सेनाको एम्बुसमा पर्नुभएको थियो । तर, किम जोङ सुकले बहादुरीपूर्वक जापानी सेनामाथि गोली चलाउँदै किमलाई बचाउनुभयो । किम जोङ सुकको बहादुरी र क्रान्तिकारी भावना देखेर किम इल सङ अत्यन्त प्रभावित हुनुभयो । पछि उहाँहरूको सम्बन्ध वैवाहिक सम्बन्धमा परिणत भयो । किम जोङ सुक एक बहादुर, क्रान्तिकारी, देशभक्त महिला हुनुहुन्थ्यो ।
सन् १९४५ अगस्त २५ मा जापानको आत्मसमर्पणपछि दोस्रो विश्वयुद्ध टुङ्गियो भने जापानी साम्राज्यवादको कब्जाबाट कोरिया पनि मुक्त भयो । महान् नेता किम इल सङको नेतृत्वमा कोरियाली जनताको सङ्घर्षले अन्ततः कोरिया जापानी उपनिवेशबाट मुक्त भयो ।
कोरियाको विभाजन
जापानको उपनिवेशबाट कोरिया मुक्त त भयो तर अमेरिकी साम्राज्यवादले फेरि जापानमाथि गिद्धेदृष्टि लगायो । किम इल सङको नेतृत्वमा पुरै कोरियामा उदाउँदै गरेको कम्युनिस्ट विचारदेखि अमेरिका अत्तालिन थाल्यो । कम्युनिस्ट व्यवस्थालाई रोक्न अमेरिकाले कोरियालाई नै विभाजन गर्ने कुचेष्टा ग¥यो । अमेरिकी अधिकारी डीन रस्क (Dean Rusk) र चाल्र्स बोन्स्टिल (Charlse Bonsteel) ले सन् १९४५ सेप्टेम्बर ८ मा पूर्व–पश्चिम ३८ औँ समानान्तर रेखा कोरेर कोरियालाई दुई भागमा विभाजन गरे ।
सन् १९४८ मा उत्तर र दक्षिणका राजनैतिक पार्टीका प्रतिनिधिहरूको एक सम्मेलन भयो । त्यही वर्षको जून महिनामा राष्ट्रिय पुनःएकीकरण र स्वतन्त्रताको निम्ति प्रजग कोरियाको स्थापना भयो । तत्पश्चात् सम्पन्न महानिर्वाचनबाट सर्वोच्च जनपरिषद स्थापना गरी ९ सेप्टेम्बर १९४८ मा प्रजग कोरियाको सरकार गठन भयो र किम इल सङ प्रधानमन्त्री तथा राज्यप्रमुख हुनुभयो ।
सोही वर्ष अमेरिकाले कोरियाली जनताले सम्पन्न गरेको महानिर्वाचनलाई अस्वीकार गर्दै दक्षिण कोरियामा भिन्नै निर्वाचन गराएर अगस्त १५ मा ‘कोरियाली गणतान्त्रिक सरकार’ नामक कठपुतली सैनिक सरकार गठन ग¥यो । अमेरिकामा पढेका पुँजीवादका समर्थक, साम्यवादका कट्टर विरोधी तथा अमेरिकाको कठपुतली सिङ्गमान रि (Syngman Rhee) दक्षिण कोरियाका राष्ट्रपति बने ।
कोरिया युद्ध
कोरिया विभाजन गरेर पनि अमेरिका चुप बसेन । अमेरिकाले प्रजग कोरियालाई समाप्त पार्ने षड्यन्त्र गर्न थाल्यो । उसले दक्षिण कोरियाको आफ्नो कठपुतली सरकारलाई उक्साएर प्रजग कोरियामाथि आक्रमण गर्न लगायो । अमेरिकाको कारण कोरिया प्रायद्वीपमा सन् १९५० जून महिनादेखि गृहयुद्ध सुरु भयो । उत्तर कोरिया प्रत्याक्रमणमा उत्रन बाध्य भयो । किम इल सङ नेतृत्वको प्रजग कोरियाली सेनाले करिब ९५ प्रतिशत कोरियाली भूमिमा रातो झन्डा फहराउन सफल भएको थियो । विभाजित कोरिया एकीकरणको सङ्घारमै थियो । तर, अमेरिकी राष्ट्रपति टु«म्यानले संयुक्त राष्ट्र सङ्घ मातहत सेना बनाई दक्षिण कोरियाको अस्तित्व बचाउने प्रस्ताव गरे । त्यसपछि अमेरिकी जेनरल डग्लस म्याकार्थु (Douglas MacArthur) कोे कमान्डमा संयुक्त राष्ट्र सङ्घको सेना बन्यो । जसमा अमेरिका, बेलायत, क्यानडा, टर्की, अस्ट्रेलिया, फिलिपिन्स, न्युजील्यान्ड, थाइल्यान्ड, इथियोपिया, ग्रीस, फ्रान्स, कोलम्बिया, बेल्जियम, दक्षिण अफ्रिका, नेदरल्यान्ड, लक्जम्बर्गलगायत १६ देशहरू सहभागी थिए ।
सन् १९५० मा राष्ट्र सङ्घीय सेनाले कोरिया पुगेर कोरियाली जनतामाथि अत्याचार गर्न थाल्यो । अमेरिकी नेतृत्वको संरा सङ्घको सेनाले चीनको सीमा यालु नदी वरपर पनि हर्कत गर्न थाल्यो । अमेरिकी सेना चीनको सीमा नजिक आएर उत्तेजना फैलाउन थालेपछि माओ त्सेतुङले यालुबाट तुरुन्तै आफ्नो सेना हटाउन अमेरिकालाई चेतावनी दिनुभयो । तर, अमेरिकी नेतृत्वको संरा सङ्घको सेनाले टेरेन । त्यसपछि चीनले २ लाख ५० हजार चिनिया सेनालाई प्रजग कोरियाको सहयोगको निम्ति लडाइँ मोर्चामा खटायो । जसमा स्वयम् माओ त्सेतुङका छोरा पनि सहभागी थिए । चिनिया सेनाको उपस्थिति र किम इल सङ नेतृत्वको कोरियाली सेनाको साहसले कोरियाली भूमिमा युद्धको गति बदलियो । अब प्रजग कोरियाको सेना जीत हासिल गर्दै अघि बढ्यो । राष्ट्र सङ्घीय सेना ठुलो क्षतिसहित उत्तर कोरियाबाट बाहिरिन बाध्य भयो । राष्ट्र सङ्घीय सेनाको नमिठो हारबाट तिरमिराएको डग्लस म्याकार्थुले जापानको हिरोसिमा, नागासाकीमा जस्तै चीनमाथि पनि अणुबम प्रयोग गर्नुपर्ने प्रस्ताव गरेका थिए । तर, अमेरिकाले यो कदम चाल्ने आँट गर्न सकेन ।
विभिन्न देशको अनुरोधमा चीन र प्रजग कोरिया वार्ताको माध्यमबाट युद्ध रोक्न राजी भए । चीनले कोरियाबाट सम्पूर्ण विदेशी सेना फिर्ता हुनुपर्ने, फर्मोसा द्वीपबाट अमेरिकी सेना फिर्ता हुनुपर्ने, चीनको कम्युनिस्ट सरकारलाई मान्यता दिई संयुक्त राष्ट्र सङ्घले चीनलाई सदस्यता दिनुपर्ने प्रस्ताव राख्यो । तर, अमेरिकाले अझै भाँजो हाल्ने प्रयास गरेपछि युद्ध जारी नै रह्यो । अन्ततः किम इल सङ नेतृत्वको प्रजग कोरियाली जनताका अदम्य साहससामु अमेरिकी नेतृत्वको राष्ट्र सङ्घीय सेना झुक्न बाध्य भयो । सन् १९५३ जुलाई २७ मा संयुक्त राष्ट्र सङ्घ, चीन र प्रजग कोरियाबिच युद्धविराममा हस्ताक्षर भयो ।
कोरियाली युद्धमा झन्डै ३० लाख नागरिक मारिएको आँकलन गरिएको छ भने करिब ४० लाख घाइते भएको अनुमान छ । यस युद्धमा अमेरिकाले ६ लाख ३५ हजार टन बम कोरियाली भूमिमा खसाल्यो । अमेरिकाले इतिहासमै सबभन्दा बढी बम कोरियाली भूमिमा खसालेको थियो । त्यतिबेला प्रजग कोरियाको करिब ८५ प्रतिशत भवन तथा भौतिक संरचनाहरू ध्वस्त भएका थिए ।
युद्धपछि
अमेरिकी साम्राज्यवादले ध्वस्त पारेको प्रजग कोरियाको भौतिक संरचना किम इल सङको नेतृत्वमा उठेको कोरियाली जनताले छोटो समयमै पुनःनिर्माण गरे । हाल २ करोड ६२ लाख ४५ हजार १३६ जनसङ्ख्या रहेको प्रजग कोरियालाई संसारकै सबभन्दा खुसी जनताको देश मानिन्छ । प्रजग कोरिया संसारमै प्रदूषण कम रहेको सफा देश हो । यहाँका चौडा र सफा सडकहरू अमेरिका, युरोपका भन्दा राम्रा छन् । यहाँ व्यक्तिगतभन्दा ट्रलिबस, रेल, बसलगायत सार्वजनिक सवारी साधनको उपयोग धेरै हुन्छ ।
क्रान्तिपछि ठुल्ठुला अत्याधुनिक भवन र संरचनासहितको नयाँ आधुनिक सहर स्थापना भए । सन् १९७५ सम्ममा उत्तर कोरियालीको जीवनस्तर दक्षिण कोरियाको भन्दा उच्च रह्यो । प्रजग कोरियाको साक्षरता दर सतप्रतिशत रहेको मानिन्छ । यहाँ नर्सरीदेखि विश्वविद्यालयसम्मको शिक्षा पूर्णरूपले निःशुल्क छ । यहाँ बालबालिकाहरूलाई पढाइलेखाइका साथै आफूभन्दा ठुलालाई सम्मान गर्न पनि सिकाइन्छ ।
प्रजग कोरियाका नागरिकहरूमाथि सरकारले कुनै प्रकारको कर (Tax) लगाउँदैन । सरकारले सबै कोरियाली नागरिकलाई आवासको बन्दोबस्त गरेको छ । प्रजग कोरियाको सरकारले सबै कोरियाली जनतालाई बस्नको निम्ति घर उपलब्ध गराउँछ । कोही जनता घरबिहीन हुनु पर्दैन ।
प्रजग कोरियाको सेनालाई संसारको एक शक्तिशाली सेनाको रूपमा मानिन्छ । १२ लाख ८० हजारभन्दा बढी सेना, मिसाइल, टैङ्क, हवाई युद्ध विमान, परमाणुबमसमेत रहेको शक्ति सम्पन्न देश हो प्रजग कोरिया । विज्ञान र प्रविधिको क्षेत्रमा पनि प्रजग कोरिया निकै अगाडि छ । प्रजग कोरियामा Red Star नामक आफ्नै कम्प्युटर Operate System छ ।
प्रजग कोरियामा अपराधको दर (Crime Rate) अत्यन्तै न्यून छ । कोरियाली जनता रात्रिको समयमा पनि बाहिर मज्जाले घुम्न सक्छन् । सरकारले सम्पूर्ण नागरिकको जिम्मेवारी लिन्छ । विदेशी छाडा संस्कृतिको प्रभाव कोरियाली जनतामा देखिँदैन । सरकारले कोरियाको मौलिक संस्कृतिको संरक्षण गरेको छ । कोरियामा अन्य भाषाभन्दा कोरियन भाषालाई प्राथमिकता दिइन्छ । प्रजग कोरियाली जनता आध्यात्मिक शक्तिमाथि विश्वास गर्दैनन् । धर्म, जातिलगायत कुनै प्रकारको भेदभाव प्रजग कोरियामा छैन । यसकारण, प्रजग कोरियामा साम्प्रदायिक दङ्गा भएको छैन ।
प्रजग कोरिया ६२ प्रतिशत जङ्गल रहेको प्राकृतिक सुन्दरताले भरिपूर्ण देश हो । प्रजग कोरियामा ४. ५ विलियन प्राकृतिक संशाधन रहेको मानिन्छ । तर, प्राकृतिक स्रोत, साधनको अनावश्यक दोहन प्रजग कोरियामा हुँदैन । प्रकृतिको संरक्षणमा प्रजग कोरिया गम्भीर छ ।
संसारको सबभन्दा ठुलो स्टेडियम Rungrado May Day प्रजग कोरियामै छ । जसमा १ लाख ५० हजार मानिस बस्न सक्ने क्षमता रहेको छ । यो रङ्गशाला प्योङयाङस्थित Taedong नदीको छेउ Rungra Island भन्ने ठाउँमा बनेको र अन्तर्राष्ट्रिय श्रमिक दिवस (1 May, 1989) को दिन उद्घाटन गरिएकोले यसको नाम Rungrado May Day भएको हो । यो रङ्गशाला प्रजग कोरियाको राष्ट्रिय फूल Magnolia को स्वरूपमा बनाइएको छ । यसरी प्रजग कोरिया दिनप्रतिदिन उन्नतिको शिखर चढ्दै छ । प्रजग कोरिया आफ्नै खुट्टामा उभिएको साम्राज्यवादविरोधी देश हो । यो देशबाट नेपालका शासकहरूले पनि शिक्षा लिनु जरुरी छ ।