९ जेठ, भक्तपुर
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले ख्वप कलेजको आयोजना र विश्वविद्यालय अनुदान आयोगको सहयोगमा ‘इन्भारोमेन्टल, सोसियल एन्ड गभर्नान्स रिनोभेसन’ विषयक दुईदिने चौथो राष्ट्रिय सम्मेलन बिहीबार एक समारोहबिच उद्घाटन गर्नुभयो ।
कार्यक्रममा अध्यक्ष बिजुक्छेँले नेमकिपाको तर्फबाट देशको राजधानी काठमाडौँबाट बाहिर सार्नुपर्ने प्रस्ताव ३५ वर्ष अगाडि नै राखेकोमा शासक पार्टीहरूले नस्वीकार्दा अहिले राजधानी काठमाडौँ अस्तव्यस्त भएको बताउनुभयो ।
जहाँ अधिकार दिंँदैन त्यहाँ सङ्घर्ष हुने धारणा राख्दै अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाले जस्तै अरू स्थानीय तहले पनि विश्वविद्यालय सञ्चालनको माग गर्ने र परिस्थितिले सबैलाई घच्घच्याउनेछ भन्नुभयो ।
नेपालको आवश्यकता नेपाली विश्वविद्यालयले मात्र पूरा गर्नसक्ने भएकोले भनपाले ख्वप विश्वविद्यालय सञ्चालन गर्न खोजेको धारणा अध्यक्ष बिजुक्छेँले राख्नुभयो ।
उहाँले भन्नुभयो, “देशको नेतृत्वमा बस्नेहरूले विदेशीसँग नभई स्वदेशी विज्ञ, बुद्धिजीवी र विश्वविद्यालयका प्राज्ञहरूसँग सल्लाह लिई काम गर्नुपर्छ । स्वतन्त्रता र स्वाधीनता हासिल गरेका देशहरूले आफ्नै देशका विज्ञहरूसँग राय सुझाव लिई स्वतन्त्ररूपमा प्रगति गरिरहेका उदाहरणबाट हामीले शिक्षा लिनुपर्छ । चीनले स्वतन्त्रता प्राप्त गरेपछि शिक्षालाई पूर्णरूपमा परिवर्तन गरी शिक्षालाई उत्पादन श्रमसँग जोड्यो; चीनले आफ्नै ‘एडम स्मिथ’ तयार ग¥यो ।”
विदेशी विश्वविद्यालयको पाठ्यक्रम नक्कल गरेर देशको हित नहुनेतर्फ सचेत गराउँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “देशको परिस्थिति र माटो सुहाउँदो उत्पादन श्रमसँग जोडिएको विश्वविद्यालयको पाठ्यक्रम हुनुपर्छ र विश्वविद्यालयलाई स्वायत्त बनाउनु जरूरी छ ।”
उहाँले भन्नुभयो, “नेपाली विश्वविद्यालयको शिक्षा गुणस्तरीय नहुँदा, विदेशी विश्वविद्यालयको नक्क्ल गर्दा रोजगारी तथा अध्ययनको नाममा देशको एकतिहाइ जनसङ्ख्या बहुराष्ट्रिय कम्पनीको सस्तो ज्यामी बन्न बाध्य छन् । विदेश पलायन रोक्ने हो भने आईएनजीओ र म्यान पावर कम्पनीहरू बन्द गराउनु जरूरी छ ।”
देशको परिस्थितिलाई समालोचनात्मक ढङ्ले विश्लेषण गर्नु जरूरी रहेको आवश्यकता औँल्याउँदै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “बुद्धिजीवी,
प्राध्यापकहरू राजनीतिक व्यक्ति होइनन् भन्ने गलत धारणाबाट मुक्त हुनु जरूरी छ । कुनै पनि देशको सङ्कटलाई पार लगाउन बुद्धिजीवी, प्राध्यापक र विद्वत् वर्गले महत्वपूर्ण भूमिका खेलेको कुरा संसारका क्रान्तिबाट शिक्षा लिनु जरूरी छ ।”
कार्यक्रमका सभापति एवं ख्वप कलेज सञ्चालक समितिका अध्यक्ष सुनिल प्रजापतिले कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने, २१ औँ शताब्दीका चुनौतीहरू सामना गर्न सक्ने क्षमतावान विद्यार्थी तयार गर्ने उद्देश्यले २०५८ सालमा ख्वप कलेज स्थापना भएको र भक्तपुर नगरपालिकाले ७ वटा कलेज÷विद्यालय सञ्चालन गरी ७७ जिल्लाका सात हजारभन्दा बढी विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिइरहेको छ भन्नुभयो ।
उहाँले भन्नुभयो, “नेपालका विश्वविद्यालयहरू शिक्षा र अनुसन्धानको केन्द्र बन्न सकिरहेको छैन; कलेज र विश्वविद्यालयहरू विद्यार्थीलाई आत्मनिर्भर बनाउने ज्ञानको केन्द्र हुनुपर्नेमा बेरोजगारी प्रमाणपत्र वितरण गर्ने केन्द्रमात्र बनिरहेको छ ।”
प्रमुख प्रजापतिले भन्नुभयो, “अहिले उच्च शिक्षा हासिल गर्न वर्षको १ लाखभन्दा बढी विद्यार्थीहरू बाहिरिने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । नेपालका सयौँ कलेजहरू खाली हुने अवस्थामा पुगेको समाचारहरू आइरहेका छन् । यो शिक्षालाई व्यापारीकरण गर्दाको परिणाम हो ।”
धेरै विद्यार्थी सङ्ख्या भएका विश्वविद्यालयहरूभन्दा कम विद्यार्थी भएका तर देशको निम्ति आवश्यक आत्मनिर्भर जनशक्ति उत्पादन गर्नसक्ने स–साना विश्वविद्यालहरू देशको लागि आवश्यक भएको धारणा राख्दै प्रमुख प्रजापतिले भन्नुभयो, “देशको लागि आवश्यक कोर्स डिजाइन गर्ने, तुरून्त कोर्स संशोधन गर्नसक्ने सक्षम विश्वविद्यालय भए सक्षम जनशक्ति उत्पादन हुन्छ । वास्तवमा ख्वप विश्वविद्यालयको माग त्यसै कारण भएको हो । ख्वप विश्वविद्यालय सञ्चालन अनुमति पाएमा देशमा एउटा विश्वविद्यालयको सङ्ख्यामात्र थपिने छैन† त्यसले नयाँ नयाँ कोर्सहरू डिजाइन गरी आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने विशेषता पनि कायम गर्नेछ ।”
प्रमुख प्रजापतिले भनपाद्वारा सञ्चालित कलेजहरूको तर्फबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्मेलनलाई निरन्तरता दिने कोशिश भइरहने बताउनुभयो ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राजनीतिमा ‘इनोभेसन’ आवश्यक भएको, नेपालको सन्दर्भमा नेपाल मजदुर किसान पार्टीले देशको राजनीतिलाई दिशा निर्देश गरिरहेको र देशमा शैक्षिक क्षेत्रमा कतै रूपान्तरण भएको छ भने त्यो ख्वप कलेजहरूमा मात्र भएको बताउनुभयो । यो वर्ष गमी र वर्षा अत्यधिक हुने प्रक्षेपण गरिएको हुँदा वातावरण परिवर्तन, प्राकृतिक विपतिबाट जोगिन सरोकारवाला निकायले पूर्व तयारी गर्नु जरूरी रहेको उहाँले बताउनुभयो ।
अथाह सम्भावना बोकेको देश नेपालको राजनीतिमा शुद्धीकरण भएमा देश विकास हुन धेरै समय नलाग्ने प्रदेश सदस्य गोसाईले बताउनुभयो ।
सङ्घीयताको मर्मअनुसार काम हुन नसकेको चर्चा गर्दै उहाँले सङ्घीयता विषयबारे बौद्धिक वर्गले चिन्तन गर्नु जरूरी छ भन्नुभयो ।
छिमेकी देश चीनको प्रविधि, अर्थतन्त्र, राजनीति र विकासको मोडेलबाट सिकेर अगाडि बढ्न सके देशमा परिवर्तन सम्भव भएको उहाँले बताउनुभयो ।
भक्तपुर नगरपालिकाका उपप्रमुख एवं कलेज सञ्चालक समितिका उपाध्यक्ष रजनी जोशीले समाजलाई बुद्धिजीवीकरण गर्ने उद्देश्यले भनपा अगाडि बढिरहेको छ भन्नुभयो ।
नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरूले काम गरिरहेको चर्चा गर्दै उपप्रमुख जोशीले प्राचीन सहर भक्तपुरलाई आधुनिक र डिजिटल समाजमा रूपान्तरणका लागि यहाँका कला, संस्कृति, सम्पदा संरक्षणलाई वैज्ञानिकीकरण गर्नु जरूरी छ भन्नुभयो ।
वाग्मती प्रदेश विश्वविद्यालयका डिन डा. गङराम विश्वकर्माले सीपमूलक र नैतिक शिक्षालाई अहिलेका विश्वविद्यालयहरूले कति सम्बोधन गर्न सक्यो छलफल हुनु जरूरी छ भन्नुभयो ।
शिक्षालाई व्यवहारिक र प्रयोगात्मक बनाउनु जरूरी भएको धारणा राख्दै उहाँले देशको दिगो विकासको लागि अनुसन्धानमूलक शिक्षालाई जोड दिनुपर्ने बताउनुभयो ।
विश्वविद्यालय अनुदान आयोगका निर्देशक केदारप्रसाद आचार्यले नेपालको उच्च शिक्षाको समग्र नतिजा ३५ प्रतिशत पनि नपुग्नुले हाम्रो शैक्षिक क्षेत्र कमजोर तथा असफल सिद्ध भएको धारणा राख्नुभयो ।
शिक्षाको गुणस्तरलाई उच्च बनाउन धेरै मेहनत आवश्यक भएको, यसको लागि उच्च शिक्षा र प्रारम्भिकको पाटोबाट प्रयास दिनु जरूरी भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “ विद्यार्थीहरूको उज्ज्वल भविष्य र गुणस्तरीय शिक्षाको जिम्मेवारी सम्बन्धित कलेजले नै लिनुपर्छ; विद्यार्थीलाई विश्वव्यापी प्रतिस्पर्धाका लागि सक्षम बनाउने जिम्मेवारी प्राध्यापकहरूकै हो ।”
कलेजका प्राचार्य प्रकाशकुमार श्रेष्ठले स्वागत गर्नुभएको उक्त कार्यक्रममा सम्मेलन तयारी समितिका संयोजक डा. राजकुमार प्रधानले पनि बोल्नुभएको थियो ।
बिहीबार उद्घाटन सत्रपछिको सम्मेलनमा खुला विश्वविद्यालयका व्यवस्थापन तथा कानुन सङ्कायका डिन प्रा.डा. अहर्ण स्थापितले प्रमुख वक्ताको रूपमा मन्तव्य दिनुभएको थियो । बिहीबारको कार्यक्रममा १२ वटा शैक्षिक संस्थानका प्रतिनिधिहरूले २६ विषयमा प्रस्तुति राख्नुभएको थियो ।
पाँच वटा सेसनमा सञ्चालन भएको बिहीबारको कार्यक्रममा ‘सेसन चियर’को भूमिका प्रा.डा. जितेन्द्र डंगोल, प्रा.डा. सिद्धिवीर कर्माचार्य, प्रा.डा. विनोद पोखरेल, प्रा.डा. सुरेन्द्र मिश्र र डा. किशोर हाकुदुवालले निर्वाह गर्नुभएको थियो ।
उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बिजुक्छेँले कलेजबाट प्रकाशित ‘ख्वप रिभ्यु’ बुलेटिन विमोचन गर्नुभएको थियो । सम्मेलन शुक्रबार पनि चालु रहनेछ ।