कान्छाराम
पुस १५ को ‘कान्तिपुर’ दैनिकको विचार स्तम्भ दृष्टिकोण पृष्ठमा लेखक तथा राजनैतिक विश्लेषक विष्णु सापकोटाको ‘नेपाली समाजको बौद्धिक दुव्र्यसन’ शीर्षकको आलेख पढ्ने अवसर मिल्यो । विभिन्न समसामयिक विषयमा आफ्नो कलम चलाउँदै पाठकहरूलाई झक्झक्याउँदै आएका लेखक सापकोटाको यस आलेखमा व्यक्त विचारले समग्रमा वर्तमान नेपाली राजनीतिको चित्रण गरिएको भए पनि कुनै विषयमा भने उनको तर्क वास्तविकताभन्दा टाढा देखिन्छ । अझ पाठकलाई दिग्भ्रमित पार्ने खालको विचारसमेत अभिव्यक्त भएको देखिन्छ ।
लेखक सापकोटाले देशको विकास र समृद्धिका लागि देखाउनुभएको चासो जायज छ; लेखकका अनुसार हल्काफुल्का राजनीतिक टिप्पणी गरेर हिँड्ने राजनीतिक कार्यकर्ताहरूमात्र होइन कि बौद्धिक भनाउँदाहरूसमेतले देशको समृद्धि र विकासको एजेन्डामा नीतिगत र योजनाबद्ध कार्यदिशाका बारेमा दस मिनेट पनि बहस गर्न नसकिने भएकोले तिनीहरूको बौद्धिक कुरा र गफलाई ‘बौद्धिक दुव्र्यसनको’ संज्ञा दिएका छन् । त्यस्तै, सत्तासीन राजनीतिक दलहरूले भ्रष्टाचार घटाउने कुरा गर्ने तर आफैँले भागबन्डाको राजनीति गरेर नै भ्रष्टाचार गर्दै गरेको, भ्रष्टाचारीहरूलाई चोख्याउने काम पार्टीहरू आफैँले गर्दै हिँड्ने तथा कतै काम नपाएर ठेक्कापट्टा हात पार्न, सहकारीमार्फत जनता ठग्न, टोल छिमेकमा बाटोघाटो बनाउने काममा कमिसन हात पार्न पुराना कार्यकर्ताहरू पार्टीमा सदस्यता नवीकरण तथा नयाँहरू प्रवेश गरेको लेखकको विचारलाई सहमत जनाउन सकिएला, तर लेखकको निम्न विचार भ्रमपूर्ण भएकोले सहमत हुन सकिने देखिँदैन –
१. हुनुपर्ने जीवनको लागि देश हो, तर नेपालमा देशको लागि जीवन भएको छ । यो एक छलफलको विषय हो ।
२. देश विकासका नीतिगत कुरा गर्न धेरैथोर बुद्धि चाहिन्छ तर यस्ता कुरा देश, भूराजनीति, व्यवस्थाजस्ता कहाँ सजिला हुन् र ?
३. व्यवस्था, साम्राज्यवाद, क्रान्ति, समाजवाद, पुँजीवादजस्ता शब्दावलीको प्रयोग गर्न कुनै खास विज्ञता चाहिँदैन ।
४. नेपालका माक्र्सवादी र सबै देशका समाजवादीहरूले जती कल्पे पनि उनीहरूको जीवनकालमा पुँजीवादको प्रभुत्व झन् बढ्नेछ, घट्ने छैन ।
(लेखकमा आत्मश्लाघाको अनुभव हुन्छ ।)
बाँच्न योग्य देश जनताले बनाउने हो
लेखकको जिकिर रह्यो – बाँच्न सहज हुन जनताको लागि देश चाहिने हो । जुन ठाउँमा जनतालाई बाँच्न सहज हुँदैन ऊ त्यो ठाउँ छोड्दै हिँड्ने गरेको हुन्छ, मानव इतिहासको विगत दस हजार वर्षले यही देखाएको छ । यसरी जनताको लागि देश हुनुपर्ने, तर नेपालमा देशको लागि जनता हुन गयो । सत्य यही हो, चीनमा पहिले आमाबाबु आफ्ना छोराछोरीसमेत बेच्न बाध्य हुन्थे ।
झट्ट हेर्दा देश जनताका लागि नै हो । तर, जुन देशको कुरा आज हामी गर्दै छौँ त्यो आधुनिक राष्ट्रको निर्माण हुन हजारौँ वर्ष लाग्यो । हो, सभ्यतापूर्व मानिसको घुमन्ते जीवनशैली बाँच्न र अस्तित्वको लागि थियो । आधुनिक राष्ट्र बनिसक्दा पनि त्यहाँका जनताको दैनिक जीवन सहज र सरल कहाँ थियो र ¤ एक देश र अर्कोको देशबिचमा स्रोत साधनको लागि हुने युद्ध, आफ्नै धर्म र जातका लागि हुने लडाइँ, शोषण र विभेदको विरोधमा हुने लडाइँ, वर्ग वर्गबिच हुने द्वन्द्व, एक समूहले अर्को समूहमाथि गर्ने दमनको विरोधमा हुने लडाइँ, शासकले आफ्नै जनतामाथि गर्ने आक्रमणको विरोधमा हुने प्रत्याक्रमणहरूको शृङ्खलाले नै देशहरूको इतिहास बनेको छ । आज जुन देशलाई हामी समृद्धि ठान्छौँ, ती सबै देशहरू विगतमा यी नै अवस्थाबाट गुज्रिएका हुन् । त्यहाँ जनताको बलिदानले नै त्यो देश आजको ठाउँमा उभिन सकेको हो । के अमेरिकी जनताले स्वतन्त्रताको लागि बेलायतको विरोधमा सङ्घर्ष र बलिदान गर्नुपरेन ? फ्रान्सेली जनताले राजा लुईको अत्याचारबाट मुक्ति पाउन बलिदान गर्न परेन ? चीन, भारत र अन्य एसियाका देशहरूदेखि अफ्रिकी तथा ल्याटिन अमेरिकाका देशहरूले उपनिवेशबाट मुक्त हुन सङ्घर्ष र बलिदान गर्न परेन ? नेपालमा राणा शासनबाट मुक्ति पाउन धर्मभक्त र दशरथ चन्दहरूले बलिदान गरेनन् ? प्यालेस्टिनी जनता आफ्नो देशको अस्तित्वको लागि विगत ७६ वर्षदेखि सङ्घर्ष गर्दै छन् तर देश पाएका छैनन् । हो, देशको लागि पहिला जनताले बलिदान गर्छन् अनि त्यो देश जनताको लागि हुन्छ । यहाँ बलिदानको अर्थ रगत बगाउनुमात्र होइन । कतिपय देशका जनताले आफ्नो देश विदेशी पराधीनबाट मुक्ति भइसकेपछि पनि विदेशमा दुःखकष्टका साथ धेरै कुरा सिके र त्यसलाई आफ्नो देशमा प्रयोग गर्दै गए । तर, नेपालका जनताले देशका लागि अझै गर्न बाँकी छ । लेखक सापकोटाले लेख्नुभएअनुसार देश आफैँ बन्ने र अनि त्यो जनताका लागि हुने होइन । जनतालाई बाँच्न सहज हुने देश जनता आफैँले बनाउने हो न कि आफैँ बन्ने हो ।
देश, भूराजनीति र व्यवस्था सहज विषय होइनन्
आफ्नो विचारको क्रममा लेखक सापकोटाले समृद्धि र विकासका नीतिगत कुराहरू देश, भूराजनीति तथा व्यवस्थाजस्ता सजिला विषय होइनन् भनी लेखे । देश, भूराजनीति तथा व्यवस्थालाई लेखकले किन सजिला विषय देखेका हुन् बुझन् गा¥हो छ । चाहे ठुला होस् या साना हरेक देश निर्माणको इतिहास र कथा सजिलो पक्कै देखिँदैन । नभएका देश अस्तित्वमा आएका छन् र नक्सामा कुनै बेला अस्तित्वमा रहेका देश पनि हराएका छन् । देश रहने र हराउने विषय तथा भूराजनीति एक आपसमा अन्तरसम्बन्ध भएका विषयहरू पनि हुन् । युक्रेन र रुसको विगत दुई वर्षदेखिको द्वन्द्व, एसिया प्रशान्त क्षेत्रमा चीन र अमेरिकाबिच देखिएको भिडन्त, सर्विया र कोसोभोको भिडन्त, भारतका छिमेकहरूसँगको विवाद भूराजनीतिसँग जोडिएका विषयहरू हुन् । नेपाल आफैँ किन विकासको बाटोमा लम्कन सकेन भने विषयमा चर्चा चल्दा हामी आन्तरिक व्यवस्था र राजनीतिलाई बाधकको रूपमा औँल्याउँछौँ, केही हदसम्म यो जिम्मेवार नभएको होइन । तर, भूराजनीतिले कसरी अठ्याएको छ भन्नेबारे विचार गर्दैनौँ वा बेवास्ता गछौँ । अरबौँको वैदेशिक ऋणमा विमानस्थल बनाउँछौँ तर छिमेकले जहाज उडाउने अनुमति दिँदैन । एउटा छिमेकले ठुलो आयोजनाको प्रस्ताव गर्छ, अर्को छिमेकले हलो अड्काउँछ ।
भूराजनीति विषयमा लेखकले हाम्रा छिमेकीको बारेमा पनि टिप्पणी गर्नुभएअनुसार दुई छिमेकका सरकारमा जोसुकै आए पनि हामीलाई उनीहरूकै अधीनमा नै राख्ने हो । तर, दुई छिमेकीले हामीलाई आजसम्म गर्दै आएका व्यवहारलाई मूल्याङ्कन गर्दा दुवैलाई एउटै कोटीमा राखेर हेर्न मिल्दैन । एउटा छिमेकले समृद्ध, शान्त र राजनैतिकरूपमा स्थिर नेपालमा आफ्नो हित देख्छ तर अर्कोले नेपाललाई अस्थिरताको भूमरीमा रिङ्याएर राख्नुमा नै आफ्ना स्वार्थ देख्छ । विगत ७० वर्षको नेपालको राजनैतिक इतिहासको घटनाक्रमलाई नियाल्दा यो प्रस्ट हुन्छ । त्यसरी नै विकास निर्माणका ठुलठुला आयोजनाहरूका सम्बन्धमा पनि यही देखिन्छ । त्यसैले सबै देशहरूको छिमेकप्रतिको एउटै नीति हुन्छ भन्नु गलत हुन्छ । कुनै देश विशेषको राष्ट्रिय चरित्रले पनि छिमेकप्रतिको उसको नीतिलाई निर्धारण गरेको हुन्छ ।
साम्राज्यवाद, क्रान्ति, समाजवाद, पुँजीवादजस्ता शब्दावलीको प्रयोग
“व्यवस्था, साम्राज्यवाद, क्रान्ति, समाजवाद, पुँजीवादजस्ता शब्दावलीको प्रयोग गर्न कुनै विशेषज्ञताको आवश्यक पर्दैन,” भनी आफ्नो आलेखमा लेखक सापकोटाले लेखेका छन् । समाचार वा राजनैतिक र आर्थिक लेखहरूमा धेरै उल्लेख हुने शब्दहरूमध्ये यिनीहरू पनि पर्छन् । तर, कतिले यसको निश्चित अर्थ बुझेर लेखे वा नबुझी लेखे यो त अध्ययनकै विषय होला । तर, लेखक सापकोटाले लेखेजस्तै यिनीहरूको अर्थ भने सतही र सामान्यरूपमा बुझ्न सजिलो भने होइन । सुन्दा साम्राज्यवाद र पुँजीवादजस्ता शब्दहरू पश्चिमालाई गाली गर्ने जस्तो सुनिन्छन् । तर, अर्थ राजनीतिसँग सम्बन्धित यी शब्दावलीहरू अर्थ गहिरो र व्यापक पनि छन् । मानव समाजको ऐतिहासिक विकासको गहिरो अध्ययनकै क्रममा माक्र्सले सामन्तवादपछिको चरणलाई पुँजीवादको संज्ञा दिए । यसको चरित्र र स्वरूपको बारेमा विस्तृत सोधपत्रकै रूपमा दास क्यापिलत (पुँजी) नै लेखे । ‘पुँजी’ संसारमा वैचारिकरूपमा उथलपुथल ल्याउने पुस्तक बन्यो । पुँजीवादको विकास र विस्तार हुँदै जाँदा पुँजीवाद अँगाल्ने देशहरूबिच बजार र कच्चा पदार्थको लागि आपसमा प्रतिस्र्पधाको फलस्वरूप युद्धसमेत हुन्छ । यी पुँजीवादी देशहरूबिचको यही प्रतिस्पर्धाले आफूभन्दा कमजोर देशहरूलाई उपनिवेश बनाउँदै ती देशमाथि पहिले आर्थिक शोषण गर्दै पछि राजनीतिक र सांस्कृतिकरूपमा समेत हैकम चलाउँछन् । यस चरणलाई माक्र्सले साम्राज्यवादको संज्ञा दिए । साम्राज्यवादको बारेमा लेनिनले विशद अध्ययन गरेर पुँजीवादको चरम विकसित चरणकै साम्राज्यवाद हुने निष्कर्ष आफ्नो सन् १९१७ मा प्रकाशित पुस्तकमा ‘साम्राज्यवादः पुँजीवादको उच्चतम चरण’ मा गरे ।
पुँजीवादी बन्दोबस्तमा असमानता झन् बढ्ने र वर्गीय विभेद कायम नै हुने हुँदा उत्पादनका साधनलाई सामाजिकीकरण गरेर ती शोषण र असमानतालाई हटाउन स्थापना गर्न सकिने नयाँ अर्थ राजनैतिक व्यवस्था ‘वैज्ञानिक समाजवाद’ को मार्ग चित्र प्रस्तुत गरेका थिए ।
उदारवाद वा समाजवाद ?
लेखक सापकोटाको अर्को जिकिर हो – नेपालका माक्र्सवादी र सबै देशका समाजवादीहरूले जति कल्पे पनि उनीहरूको जीवनकालमा पुँजीवादको प्रभुत्व झन् बढ्ने छ, घट्ने छैन । सन् १९९१ मा सोभियत सङ्घ विघटन र शीतयुद्धको अन्त भएको पृष्ठभूमिमा अमेरिकी विश्वविद्यालय हार्डवर्डका प्रोफेसर स्यामुयल पी. हन्टिङका चेला फुकुयामाले सन् १९९२ मा ‘इतिहासको अन्तको’ थेसिस आफ्नो पुस्तक ‘The end of the history and the last man’ मार्फत प्रस्तुत गरेका थिए । उनको जिकिर थियो – दोस्रो विश्वयुद्धको समाप्तिसँगै संसारमा उदार पुँजीवाद वा कम्युनिस्टहरूको समाजवादमध्ये कुन व्यवस्थाको बोलवाला हुने हो भन्ने खिचातानि र तानातानका बिचमा सोभियत सङ्घको विघटनसँगै यो विवाद र तानातानी पनि समाप्त भएको हो र संसारमा अब एकछत्र रूपमा उदार पुँजीवादले शासन गर्नेछ । तर, संसारका धेरै समाजवादी नेताहरू, चिन्तक तथा विश्लेषकहरूले फुकुयामाको दाबीलाई हतारिएको मानसिकताको उपज ठाने । साँच्चिकै एक दशकभन्दा कम समयको अन्तरालमा फुकुयामाको दाबीमा खिया लागेको देखापर्न थाल्यो । अमेरिकालगायत उदारवादका पक्षधर पश्चिम युरोपका देशका जनतामा आर्थिकरूपले असमानताहरू देखापर्न थाल्यो । बिस्तारै उदार अर्थतन्त्रमा आर्थिक सङ्कट देखिन थाल्यो । परिणामस्वरूप प्रजातन्त्र र उदारवादी व्यवस्थामाथि नै जनता स्वयंले प्रश्न उठाउन थाले । हुँदा हुँदा अमेरिकी जनताले ट्रम्पजस्ता दक्षिणपन्थीलाई राष्ट्रपतिमा जिताए । ब्राजिलमा त्यस्तै दक्षिणपन्थी बोल्सोनारोको उदय भयो । उता संसारको पूर्वी कुनामा आफ्नै विशेषतायुक्त समाजवादी व्यवस्था लागु गर्दै आएको चीन नयाँ आर्थिक शक्तिको रूपमा झुल्किन थाल्यो । उता भ्लादिमिर पुटिनको सत्तारोहणले रुसको पुनः उत्थानको सङ्केत गर्यो ।
समाजवादी व्यवस्था लागु भएका देशहरूमा व्यवस्था उल्टाउन षड्यन्त्र गर्न र अनेक थरी घेराबन्दी गर्न पश्चिमा उदारवादी देशहरू उद्यत हुँदा हुँदै पनि सफल भएनन् । आज सन् २०२४ को मिर्मिरेको विश्व रङ्गमञ्चमा जे देखिँदै छ त्यो लेखक सापकोटाले पनि अनुभूति गरेका होलान् । कुनै देशको व्यवस्था कहिले र कसरी फेरिन्छ भन्ने कुरा त्यहाँको आन्तरिक परिस्थितिबाहेक बाह्य परिस्थितिले पनि निर्धारण गर्ने भएको हुँदा लेखक सापकोटाको ‘पुँजीवादको प्रभुत्व झन् बढ्ने’ भन्ने भविष्यवाणी फुकुयामाको इतिहासको अन्तजस्तै अल्पकालीन नै हुने पक्का छ । एउटा कुरा हामीले बुझ्नैपर्छ – हरेक राजनैतिक दल, नेता तथा कार्यकर्ताहरूले गर्ने सङ्घर्षको परिणाम आफ्नो जीवनकालमै देखिन्छ भन्ने होइन । उनीहरूले त्यसको लागि जग खडा गरेर जाने हो । त्यही जगमा नयाँ व्यवस्थाको महल ठडिने हो । आफ्नो साम्राज्यमा सूर्य नडुब्ने बेलायत आज कुनामा थन्क्यो । हिजोका फ्रान्स र जर्मनी आज फरक स्तरमा छन् । पुरानो वस्तुको ठाउँ नयाँले लिनु स्वाभाविक हो ।
१६ पुस, २०८०