पाकिस्तानको माथिल्लो इन्डस क्षेत्रका चट्टान अभिलेखको संरक्षणमा चीन र पाकिस्तानका पुरातत्वविद्हरूको सहकार्यपछि युगौँदेखि असंरक्षित अवस्थामा रहेका सम्पदाको संरक्षण कार्यको थालनी भएको छ । उत्तरी पाकिस्तानको माथिल्लो इन्डस क्षेत्रका बौद्ध चट्टान अभिलेख र चट्टान चित्र पाकिस्तान र स्थानीय जनताको मात्र ऐतिहासिक र सांस्कृतिक सम्पदा नभई सिङ्गो मानव सभ्यताकै सांस्कृतिक सम्पदा हुन् ।
५ हजार ईसापूर्वदेखि एक हजार ईस्वी संवत्को बिचमा विभिन्न मितिमा सो व्यापार मार्ग भएर यात्रा गर्ने यात्री, व्यापारी, तीर्थयात्री र प्राचीनकालीन बासिन्दाहरूले छोडेका ती सम्पदालाई चिनियाँ पुरातत्वविद्हरूले चीनको पुरातात्विक अध्ययनको लागि महत्वपूर्ण भएको भन्दै संरक्षणको निम्ति पहल थालेका हुन् ।
ती अभिलेखले प्राचीनकालमा ती क्षेत्रमा फैलिएका सभ्यताका बासिन्दा र उनीहरूको आस्थाबारे महत्वपूर्ण ऐतिहासिक सूचना दिने पुरातात्विक अध्ययनमा संलग्न विज्ञहरूको भनाइ छ ।
तिब्बतको उत्तरी गंगरेनपोचे हिमाल मूल स्रोत भएको इन्डस नदी हिमालय र काराकोरम पहाड हुँदै कास्मिरबाट पाकिस्तानका विभिन्न क्षेत्रमा बग्दै अन्ततः हिन्द महासागरमा मिल्छ ।
लामो समयदेखि यो नदीको छेउछाउ विकास भएको मार्ग दक्षिण एसियाली उपमहाद्वीप, पश्चिम एसिया, मध्य एसिया र चीनको तिब्बत जोड्ने सेतु बन्दै आएको छ । यो नदी छेउछाउ विकास भएका उपत्यकाहरू प्राचीन घुमन्ते मानिसहरूको बसाइँसराइको बाटो मात्र भएको थिएन, बरू भिक्षु र व्यापारीहरूको सांस्कृतिक र आर्थिक सम्बन्धको आधार पनि बनेको थियो ।
पुरातात्विक अध्येताहरूका अनुसार सो क्षेत्रमा हाल दुई थरी अभिलेखहरू फेला परेका छन्, प्राक् ऐतिहासिक चट्टान अभिलेख र ऐतिहासिक चट्टान अभिलेख । प्राक् ऐतिहासिक अभिलेखहरू मुख्यतः शिकार र वस्तुपालनसँग सम्बन्धित छन् भने ऐतिहासिक अभिलेखहरूमा मन्दिर, बौद्धकालीन वास्तु आदिका विविध अभिलेख फेला परेका छन् । सो क्षेत्रमा फेला परेको अभिलेख संसारकै सबभन्दा ठुलो परिमाणको बौद्धकालीन अभिलेख मानिएको छ ।
एक सय किलोमिटरभन्दा लामो प्राचीनकालीन सभ्यताको सो क्षेत्रमा ५० हजारभन्दा बढी चट्टान चित्र र ५ हजारभन्दा बढी अभिलेख फेला परेका छन् । पाकिस्तानको पुरातात्विक अध्ययनका पिता मानिएका प्राध्यापक डेनी र जर्मनका अध्येताहरूले सन् १९८० को दशकमा गरेको अध्ययनको क्रममा ती सम्पदा फेला परेका हुन् । हुन्जा, जिलजिट, स्वाट, काबुल र इन्डस नदी वरपरका पाकिस्तानको उत्तरी पहाडी क्षेत्रमा ठुलो सङ्ख्यामा चट्टान चित्र र अभिलेख असंरक्षित अवस्थामा थिए । ती अभिलेखहरूमा खरोस्ती, ब्रह्मी, सूत्र र चिनियाँ लिपिको समेत प्रयोग भएको पाइएको छ । हाल चीन पाकिस्तान मैत्री राजमार्ग नामले चिनिएको माथिल्लो इन्डसको बाटोमा रहेका सम्पदाबारे सन् १९९० मा प्राध्यापकले पहिलो पटक चिनियाँ विज्ञहरूलाई आफ्नो खोजबारे बताएका थिए । चीनको सिन्ह्वा समाचार संस्थाका संवाददाता लि सिक्वांगले तर्खिला एसियाली सभ्यता प्रतिष्ठानका निर्देशक प्राध्यापक डेनीको खोजबारे खबर सार्वजनिक गरेका थिए । तर, लामो समय ती सम्पदाको संरक्षणबारे कतैबाट पनि कुनै पहल भएको थिएन ।
हाल पाकिस्तान र चीन सरकारको सहमतिअनुसार चीनको छुनछिंग शिक्षा विश्वविद्यालय, सियान चियाथोंग विश्वविद्यालय, लानचौ विश्वविद्यालय, पाकिस्तान उच्च शिक्षा आयोग क्षेत्र प्राधिकरण, भागलपुर विश्वविद्यालय, पञ्जाब पुरातात्विक विभागलगायतको समन्वय र सहकार्यमा सो क्षेत्रको अनुसन्धान, संरक्षण र जनचेतामूलक कार्यको थालनी भएको हो । विशेषतः चीनको छुनछिंगका विभिन्न एकाइले सो परियोजनामा सक्रिय सहभागिता जनाइरहेको छ । उनीहरूले त्यहाँको पुरातात्विक कार्यमा प्राविधिक र अन्य आवश्यक सहायता गरिरहेका छन् ।
विशेषतः माथिल्लो इन्डसका पुरातात्विक महत्वका गुफाहरूको संरक्षणमा लक्षित गरी छुंगछिंग विश्वविद्यालयले सन् २०२३ को अगस्टमा मन्दिरका व्यवस्थापक, अध्येता र संरक्षणकर्मीहरूको सम्मेलन गरेको थियो । सो सम्मेलनमा चीन र पाकिस्तानबाहेक अफगानिस्तान, पाकिस्तान, इरान, नेपाल, नर्वे र बेलायतको सहभागिता थियो ।
हाल प्रस्ताविक डियामिर बासा जलाशय निर्माण कार्य अघि बढे सो क्षेत्रका ७० पुरातात्विक क्षेत्रका कम्तीमा पाँचहजार ७२७ वटा चट्टान अभिलेख र चित्र डुबानमा पर्ने भएकोले पनि सो क्षेत्रको पुरातात्विक संरक्षणको लागि पहल थालिएको हो ।
आर्थिक पूर्वाधार निर्माणमा सहकार्य गर्दै आएका चीन र पाकिस्तानले हाल सभ्यता र ऐतिहासिक सम्पदा संरक्षणको क्षेत्रमा सहकार्य थालेको छ । चीनका पुरातत्वविज्ञहरूले सो क्षेत्रको संरक्षणमा आफ्नो चिनियाँअनुभवको प्रयोग गर्नुका साथै आफ्नो अनुभवलाई अझ समृद्ध बनाउने विज्ञहरूको भनाइ छ ।
चीनले हाल बेल्ट एन्ड रोड परियोजनाअन्तर्गत प्राचीन रेशम मार्गमा पर्ने विभिन्न देशका पुरातात्विक महत्वका सम्पदाको संरक्षणमा विशेष अग्रसरता देखाउँदै आएको छ ।