(पश्चिमी सञ्चारमाध्यमहरूमा तिब्बतसम्बन्धी विषयलाई निकै गलत ढङ्गले प्रचार हुँदै आएको छ । ‘चीनले स्वतन्त्र तिब्बतमाथि कब्जा जमाएको’, ‘चिनियाँ जनमुक्ति सेनाले तिब्बतीहरूमाथि दुव्र्यवहार गरेको’, ‘तिब्बती जनताका नेता दलाइ लामालाई पदच्युत गरेको’ जस्ता समाचार उनीहरू प्रचार गर्छन् । के साँच्चै ‘स्वतन्त्र’ तिब्बतमाथि चीनले कब्जा जमाएको हो ? तिब्बती स्वर्गलाई जनमुक्ति सेनाले नर्क बनाएको हो ? जनताको शासनविरुद्ध असफल विद्रोह गरेर दलाइ लामा भागेका हुन् कि उनलाई पदच्युत गरिएको हो ? आदि प्रश्नका विस्तृत उत्तर प्रसिद्ध अमेरिकी महिला पत्रकार अन्ना लुइस स्ट्रङको पुस्तक
‘When Serfs Stood Up in Tibet’’ मा पाउन सकिन्छ । यो पुस्तक सन् १९६० मा प्रकाशित भएको हो ।)
यातायातको सवाल उठाउनैपर्ने महत्वपूर्ण प्रश्न हो । तिब्बतको विकासमा यातायातको अभावले बाधा हालेको छ । चीनका अरु प्रान्तहरू भएर आउने लामो बोकाहामात्र बाटो थियो । सन् ६४१ मा मात्रै राजकुमारी वेन चेङले रेशम कीरा र हस्तकलाका सामान लामो बोकाहा बाटोबाट ल्याएकी थिइन् । अहिले ट्रकको बाटो खुलेको छ ।
यी छोटो अनुसन्धानबाट, विश्वको शिखरमा स्वर्गको निर्माण गर्ने योजना सफल हुने आशाका किरणहरू देखिन्थे । भोकमरीलाई छिट्टै हटाउने, बिनाअतिरिक्त मूल्यमा उत्पादन बढाएर पर्याप्त अन्नको आवश्यकता पूरा गरिने, छिट्टै नै तरकारी वृद्धि गरिने, माछा, मासु, घ्यू र दूध वृद्धि गरिने निश्चित छ । यदि जोखाङ मठले घ्यू बत्तीको सट्टा तेल वा विद्युत् बत्ती बालेमा वार्षिक प्रतिव्यक्ति एकतिहाइ पाउण्ड घ्यू पूर्ति गर्न सकिन्छ । यदि २,००० भन्दा बढी मठहरूले घ्यू बत्ती बाल्न छोडेमा पर्याप्त मात्रामा घ्यूको रासन उपलब्ध हुनेछ ।
लत्ताकपडा र घरघडेरीको बन्दोबस्त तथा विकास रेल बाटोबिना नै गर्न सकिन्छ । राज्यको ऋण सहयोग लिएर हस्तकला सहकारीहरूले ऊन र छालालाई लुगा तथा धागाका वस्तुहरू उत्पादनका लागि प्रयोग गर्न सकिन्छ । परम्परागत विधिबाट तयार गरिने इँटा तथा छानाको झिङ्गटीलाई नयाँ आधुनिक तरिकाबाट तयारी गर्न सकिन्छ । यातायातको विकासबाट खाद्यान्न, लत्ताकपडा र बासस्थानमा वृद्धि गर्न सकिनेछ ।
दीर्घकालीन समृद्धि हासिल गर्न प्रथमतः पशुपालन त्यसपछि मात्रै खनिज पदार्थको उत्खननमा जोड दिनुपर्छ । तिब्बतको विकास चरणहरूको व्यवस्थापन तथा पशुहरूको प्रजनन तथा भौगर्भिक अनुसन्धानमा भर पर्छ । यसबाहेक यातायात र विशेषगरी रेल सडकमा पनि भर पर्छ । तिब्बतीहरू धार्मिक दृष्टिले उत्खनन गर्न रुचाउँदैनन्, तिनीहरू यसलाई ‘माटोलाई अवरोध गर्नु’ ठान्छन् । यस्ता धारणाहरूले अन्य विकासलाई पनि अवरोध पु¥याउँछ, पाँच वर्षभित्रमा यस्ता विवादहरू हट्नेछन् ।
तिब्बतीहरूको विचार परिवर्तन भइरहेको छ । ‘स्वर्ग’, खाना, लुगा तथा बासस्थान र भौतिक वस्तुभन्दा पनि ठुलो कुरा हो । तिब्बतीहरूले अन्ततः स्वतन्त्रताको अनुभूति गरे । ल्हासा विमान स्थलबाट पहिलो बाटोमा भेटेका झुत्रो गोठालादेखि हामीले यहाँ उत्साहपूर्ण चेतना आएको अनुभव गर्यो । नाचगानहरूमा तथा रत्न बगैँचाको वनभोजको स्वागतमा गाउँलेहरूको स्वागत सत्कारमा, ‘अभियोग बैठक’ मा तिनीहरूको चेतना एकपटक फेरि हामीले अनुभव गर्यौँ ।
धेरैजसो हानहरू तिब्बतीहरूसँगै काम गरिरहेका थिए । व्यवस्थापक चाङले भनेझैँ तिनीहरू अहिले स्वतन्त्र भएका छन्, दासत्वका सिक्रीहरूबाट छुट्टिएर सबै प्रकारका क्षमताको विकास गर्दै थिए । तिनीहरू साँच्चिकै असाधारण मानिस हुन् ।
के स्पष्ट भइसकेको छ भने तिब्बती जनता बढ्नेछन् र फुल्नेछन्, तिनीहरूको जनसङ्ख्या घट्ने क्रम समाप्त भयो, तिनीहरू विश्वकै शिखरका मालिक भएका छन् र त्यसमा मालिकत्व बढ्नेछ । तिनीहरूले पुरानो अन्धविश्वास र आधुनिक जीवनको लक्ष्य बिचमा आफ्नो बाटो भेट्टाउनेछन् । तिनीहरू नाटक र नाचगानमा दक्ष छन् र आफ्नै किसिमले तर्क दिन पनि खप्पिस छन् ।
तिनीहरूको भूमिले कहिल्यै सजिलो÷सुलभ जिन्दगी दिँदैन, पृथ्वीको उच्च हिमाल र कडा माटोमा उदार विजय पाउने काममा लगनशील हुनैपर्छ । तिनीहरू आफ्नो स्वतन्त्रतामाथि निर्भिक तथा लज्जित छैनन् र साथीको रूपमा आउने जोकोहीलाई साथीकै व्यवहार गर्छन् ।
हामी तिब्बत विमानस्थलबाट सेप्टेम्बर ९ मा हिँड्यौँ । त्यसबेला टाकुनमा बाली काट्ने काम सकिसकेको थियो, लोका र ल्हासामा बाली काट्न भर्खरै सुरु भइरहेको थियो । हामीले बाली भित्याउने चाडभरिमा किसान चेतनाको अवधि तथा पहिलो भूमि वितरणमा गाउँ, सहर तथा मठहरूमा प्रजातान्त्रिक सुधार देख्यौँ ।
अक्टोबरको पहिलो हप्ता हजारभन्दा बढी प्राविधिज्ञ, भूगर्भशास्त्री, अर्थशास्त्री, इन्जिनियर, डाक्टर र नर्सहरू ल्हासामा पुगे । नयाँ किसान सङ्घ त्यसका लागि तयार थियो । पेचिङ बैठकमा प्रस्तुत सफलता प्रतिवेदनअनुसार ३,६०,००० भूदासहरू र २०,००० दासहरूलाई मुक्त गरिसकेको र जग्गा प्राप्त गरी आफ्नै बाली प्रतिएकड १४.५ बुसेल, पहिलेको भन्दा बढी अन्न भित्याइसकेको थियो । तिनीहरूले आधारभूत स्तरमा सरकारको शक्ति आफ्नो हातमा लिएको अर्थात् नगर स्थानीय जनताको हातमा पुग्यो । यसले ‘हरेक दिन नयाँ ज्ञानहरू वृद्धि गर्ने इच्छा जगाएको छ ।
अक्टोबरसम्ममा उत्तरबाट सुरु भएको बाली भित्याउने काम उचाइसम्म पुग्नेछ । खेतमा बाली काट्दै किसानहरू गीत गाइरहेको समाचार आयो । तिनीहरूले आपसी सहयोग समिति बनाए र एक अर्कालाई खेत जोत्न पशुहरू आदानप्रदान गर्थे । अन्न भित्याइसकेपछि अर्को बाली लगाउन वा बीउ छर्न तिनीहरूले एकैपल्ट खनजोत सुरु गरे । पहिलोपल्ट तिनीहरूले बीउहरू छाने तथा मल सङ्कलन गरे । तिब्बती किसानहरूको लागि परीक्षणात्मक कृषि फार्मले पुस्तक निकाल्यो र धेरै वर्षको परीक्षणबाट उत्पादन गरेको ३०६९ प्रकारका अन्नका बीउहरूसँगै ती खेतीसम्बन्धी पुस्तक पनि किसानहरूलाई दिए ।
“विद्रोहीहरूले ध्वस्त पारेको वा युद्धमा भत्केका भवनहरूको मर्मत कार्य सकियो ।” नोभेम्बर ३० मा ल्हासाबाट आएको समाचार पढेँ । “पोतालाको पश्चिममा नयाँ – खैरा घरहरू लहरै निर्माण भयो । ल्हासाबाट निर्माण सामग्रीहरू विशेषगरी इँटा र चुन ल्हासा बाहिर तिब्बतका अन्य भागहरूमा गयो । नोभेम्बरकै अर्को समाचारअनुसार ल्हासाको प्राचीन ‘विनाशको जिल्ला’, सर्वसाधारण रातमा जान डराउने ठाउँ अहिले ‘सुख र खुसीको जिल्ला’ भएको छ, वेश्यावृत्ति तथा झैझगडा हटेको छ, सडकहरू सफा भएका छन् ।”
नोभेम्बरको अन्तबाट १९५५ देखि भण्डारमा थन्काएको दुई हजार वटा नयाँ कृषि औजारहरू आएको छ । केन्द्रीय सरकारले साढे १० लाख युआन मूल्य पर्ने ती सामग्रीहरू तिब्बती जनतालाई उपहारस्वरूप दिएको थियो । कासाग र खान्दानीको हातमा रहेको सो भन्डार अब कासागहरू पतन भएपछि ती सामग्रीहरू किसानहरूले प्रयोग गर्न पाएका छन् । डिसेम्बरको मध्यतिर ‘नयाँ हलोहरू लोकामा प्रयोग भयो’, ‘लोका र ल्हासाका धेरैजसो खेत दुई–दुईपल्ट जोतियो’ भन्ने समाचारहरू पढ्न पायौँ ।
जनवरी २० को दिन जनताका प्रतिनिधिहरूको पहिलो ल्हासा नगरपालिका सभा प्रारम्भ भयो र सोही दिन नयाँ सहर प्रशासन सञ्चालन भयो । तिब्बतको इतिहासमा पहिलोपल्ट तल्लोस्तरको जनताको सङ्गठनबाट चुनिएका सय जनाभन्दा बढी प्रतिनिधिहरूले त्यस सभामा भाग लिए । त्यसमा किसान, गोठाला, व्यापारी, लामा र ‘उपलो जातका देशभक्तहरू’ संलग्न थिए । तिनीहरूले वृहत्तर ल्हासाको १७०,००० जनता जसमा सात वटा प्रदेश र ६ वटा सहरी वडाहरूको प्रतिनिधित्व गर्थे ।
‘विगतको नौ महिनाको परिवर्तनले बितेको शताब्दीहरूलाई छायामा पार्यो’ – नयाँ नगर प्रमुख सुइको डोङ्गचु सेरिन (त्कगष्पय म्यलनअजग–त्कभचभल) ले उद्घाटन भाषणमा भने । तिब्बतमा दासप्रथाको अन्त गर्ने प्रजातान्त्रिक सुधार आधारभूत रूपमा ल्हासामा पूरा भएको बताउँदै उनले भएका परिवर्तनहरूको सङ्क्षिप्त विवरण दिए । “गरिबीमा टाँसिएको पुरानो ल्हासा आशाहरूले भरिएको जिवन्त ल्हासामा फेरिएको छ,” उनले भाषणको अन्त गरे ।
महान चाड मोन्लाम (Monlam) मा तिब्बतीहरू तीन हप्तासम्म तिब्बती नयाँ वर्षको खुसीयाली मनाउँथे । पहिलेका वर्षहरूमा यस चाडलाई विद्रोह आयोजना गर्न प्रयोग गरिन्थ्यो, भक्तजनहरू तिब्बतभरिबाट रत्न बगैँचामा दलाई लामाको दर्शन गर्न आउँथे र हानहरूविरुद्ध प्रदर्शन गर्थे । १९६० मा मोन्लाम चाड राम्ररी सुरु भयो । जोखाङ (Jokhang) का प्रार्थना गर्नेहरूले धेरै सङ्ख्यामा घ्यूको बत्तीहरू बाले तथा रेशमका नयाँ झण्डा पटाकाहरू फरफराए । तीन ठुला मठहरूमा जीवित वुद्धहरूको सहयोगमा पञ्चेन एर्डेनीले कार्यक्रम सञ्चालन गरे । “बितेको वर्षमा तिब्बतमा भुँइचालो रूपी परिवर्तनहरू भए । पहिलेका भूदासहरू आफ्नो भविष्यको मालिक भएका छन्,” तिनले समारोहमा सम्बोधन गरे ।
फेब्रुअरीको अन्तसम्मको तथ्याङ्कले देखाएअनुसार ६,१०,००० ग्रामीण जनसङ्ख्यालाई जग्गा विवरण गरियो । त्यो जनसङ्ख्या सुधार गरिएकोमा ५७ वटा प्रदेशको ७७ प्रतिशत थियो । तिब्बतका ७८ प्रदेशहरूमा बाँकी २१ वटा प्रदेशहरू धेरैजसो घाँसे चरणहरूमा अर्को वर्ष वितरण गरिनेछ । ल्हासा, लोका, चाम्दो, सिगात्से र लुहुन्से (Luntse) वा पहिलोका टाकुन (Takun) गरी पाँच क्षेत्रहरूमा १०८० वटाभन्दा बढी किसान सङ्गठनहरू गठन भए र सरकारी अधिकारीहरूमा सहरी स्तरबाट चुनेर आए । १९५९ को बाली दासप्रथा कायम रहँदा छरेको थियो र काट्दा दासहरूले स्वतन्त्रता पाइसकेका थिए । त्यो बाली २०–३० प्रतिशत बढी थियो । निश्चित नै १९६० को बाली झन् उच्च हुने भयो । अहिले मोहीको हातमा जग्गा पाएको र स्वतन्त्र रूपले बीउ छर्न पाए तथा सबैतिर उत्कृष्ट बालीको विकास गर्न कार्यक्रमहरू भए ।
झन्डाहरू फहराउँदै, बाजा गाजा बजाउँदै पहिलो वसन्त ऋतुमा आफ्ना खेतहरूमा बीउ छर्नको लागि मुक्त भएका भूदासहरूले १९६० अप्रिलमा आपसी सहयोग समिति गठन गरे । जग्गा, घरपालुवा पशुहरू, ज्यावलहरू अन्ततः ती मुक्त भएका भूदासहरूकै भयो र बाली पनि तिनीहरूकै हुनेछ ।
पोताला दरबारको छानामा सूर्यको किरण नभुल्कँदै ल्हासाको पश्चिमी उप–नगरमा पूर्वी हावा आपसी सहयोग समिति (The East wind Mutual Aid Team) मा पोताला दरबारको गठन भयो । बीउ छर्ने काम राष्ट्रिय रित पु¥याएर गरियो । खेतको किनारमा झण्डाहरू गाडियो । तीन वटा गोरुहरूको सिङलाई रातो अविरले रङ्गाइयो र सेता दोसल्ला ओढाइयो र समिति नेता गेसाङ फाल्ड्रन (Gesang Faldron) ले एक एक कप जौको रक्सी टत्याए ।
समिति नेताले खेतमा गएर माटो फोरे । प्राचीन काठको लठीको सट्टामा तीन वटा नयाँ फलामे हलोको प्रयोग गरेर माटो फोरियो । त्यस फलामे हलोले एक घण्टामै चालीस जना मानिसले काठको हथौडाले दिनभरिमा फोर्नेभन्दा बढी काम गर्यो । तीनवटी आइमाईले पछाडि गहुँको बीउहरू छरे, मल र पानी दिए । त्यसको पछाडि १० जना अरु मानिसले बीउ छरिसकेको खेतलाई स–साना टुक्रामा बाँडेर सिँचाइको लागि तयार गरे । ‘पूर्वी हावा आपसी सहायता समिति’ ले परीक्षणात्मक कृषिको उच्च परिणाम जतिकै प्रतिएकड ६६ बुसेल अन्न उत्पादन गर्ने लक्ष्य राखेको छ ।
तसर्थ, ल्हासाका भूतपूर्व भूदासहरूले दोस्रो वर्षमा स्वर्गको निर्माण कार्यलाई अघि बढाउँदै गए ।
स्रोत : तिब्बतका भू–दासहरू उठ्दा