यो चुनाव स्थानीय होइन, संसदीय हो । संसदीय चुनावमा जितेका व्यक्तिको जिम्मेवारी विकास निर्माणभन्दा नीति निर्माणमा केन्द्रित हुन्छ भन्नेमा सचेत छु ।
१) एउटा अक्सिजनको लागि घर–घरमा कति समस्या हुन्छ भन्ने कुरा भोग्नेलाई मात्रै थाहा हुन्छ । के त्यस्तो अक्सिजन सित्तैमा दिएको परिणाम हो यो ? कोरोनाको समयमा अक्सिजनको अभावमा देशैभरिका आपत् परेको बेलामा अक्सिजन सित्तैमा दिएको कसरी बिर्सन सक्यौँ हामीले ?
२) घरघरमा नर्स पठाई प्राथमिक उपचार, निःशुल्क ड्रेसिङको सुविधा के गलत थियो ? ‘आमा सञ्चै हुनुहुन्छ ?’ भन्दै ढोकासम्म आएर नाडी परीक्षण गर्न आउने ती हातहरू कसरी बिस्र्याैँ हामीले ? घर–घरमा आएर ‘तपाईँको घाउ कस्तो छ ?’ भनेर ड्रेसिङ गर्न आएको कसरी भुल्न सक्यौँ हामीले ?
३) सस्तोमा शिक्षा प्राप्त गरिरहेको कसरी बिस्र्याैँ हामीले ? ‘गुणस्तरीय शिक्षा सस्तोमा त दियो तर अवसर दिएन’ भनेर गुनासो गर्न हामी लालायित छौँ । तर, यसो भन्नुभन्दा सस्तोमा गुणस्तरीय शिक्षा दिएकोमा धन्यवाद दिँदै अवसरको सिर्जना हामी बनाउँछौँ भन्न सक्नु पौरख हो कि ?
४) ख्वप हस्पिटलमा सुविधा दिएको परिणाम हो यो ? (अस्पतालका व्यावहारिक कमजोरी अवश्य होला, नन् मेडिकल पर्सनलाई पब्लिक रिलेसनसम्बन्धी तालिम दिनुपर्ने होला । तर, आफ्नो बुबाको उपचारको क्रममा २ वर्षसम्म उपत्यकाको सबैजसो हस्पिटल चहार्दा आफ्नो क्षमताअनुसार ख्वप हस्पिटल उत्कृष्ट छ भनेर भनिनँ भने मलाई अवश्य पाप लाग्छ । अन्य अस्पतालमा ओपीडी बिहान १० पछि मात्रै सुरू हुन्छ । ओपीडी देखाएर काममा जानसक्ने अवस्था अन्य अस्पतालमा छ र ?)
५) कला संस्कृति जगेर्ना गरेको तथा सांस्कृतिक सम्पदाहरू संरक्षण गरेकोको फल हो कि यो ? भूकम्पले बिगारेका हाम्रा पुर्खाका धरोहरहरू अरू राष्ट्रसामु हात नफैलाई ठाडो बनाउन सकेका कुरा हामीले कसरी चाँडै भुल्यौँ ? के हाम्रा पुर्खा तथा पुस्तालाई दिने उत्तर छ हामीसँग ? अन्य स्थानीय पालिकाको कामसँग तुलना गर्ने कि ¤ के आफ्नै खुट्टामा उभिएर पुर्खाको सम्पत्ति जोगाउनु अपराध हो ?
६) संसद्मा देश र जनताको पक्षमा निडर भएर एक जिउँदै सांसदको भूमिका निर्वाह गरेको परिणाम पो हो कि ?
७) ख्वप विश्वविद्यालय स्थापना गरेर १५ लाखमा डक्टर बनाउने अवधारणा नै अपराध पो बन्न पुग्यो कि ? भक्तपुरलाई ज्ञानविज्ञानको केन्द्र बनाउने योजनामा हाम्रो चित्त बुझेन कि ?
८) भ्रष्टाचारका विभिन्न काण्डहरूको विरोध गरेको हामीलाई चित्त बुझेन कि ? वा भनौँ भ्रष्टाचार गरेर भए पनि यहाँ डलर झर्ने वातावरण नबन्नुमा चित्त नबुझाइ पो हो कि ?
९) केही समय अगाडिसम्म देशकै फोहर भक्तपुरलाई नेपालकै नमुना नगर बनाएर हाम्रो शिर ठाडो बनाई फोहरबाट मोहर बनाइनुमा हाम्रो चित्त बुझेन कि ?
१०) एक पुस्ता अगाडिसम्म एकदमै कमजोर अवस्थाका हामी यहाँका किसानहरूलाई उन्नतिको बाटो कोर्नु नै अपराध पो भयो कि ? पद र अवसरको लोभ छोडेर आफ्ना आमाबुबाको अनुहारलाई आफ्नो मन र मुटुमा राखेर एक पटक मनन गरौँ ? विगतको भक्तपुरबाट वर्तमान भक्तपुर बनाउन उहाँहरूले गर्नुभएको योगदानलाई अपमान होइन, सम्मान गरौँ । हामी हेपिएका ज्यापुबाट सम्मानित किसान बनाइयो, भूमिहीनबाट भूमिपति बनाइयो, समयअनुसार शिक्षाको अवसर दिएर शिक्षित र सभ्य नागरिक बनाइए, के यसभन्दा माथि उठ्न सक्दैनौँ ? गुणको बदला अवगुण तिर्नुजस्तो महापाप त के होला खै ? परिवर्तनको नाममा टुप्पोबाट धान रोप्ने त होइन होला नि । भोलि हामी पनि पाको उमेरको अवश्य बन्नेछौँ । (उम्रन्न बोट कसैले बीउ छरेर नगए । हुँदैन बिहान दुई–चार तारा झरेर नगए ।)
हुन त नगरपालिकाका केही कर्मचारीहरू, जनप्रतिनिधिहरूको मानवीय कमजोरी पनि नहोलान् भन्न सकिन्न, जनजाति भएकोले चिप्लो घसेर बोल्न पनि आएन होला, तर यसरी कृतघ्नता प्रकट गर्नुपर्ने कारण त मैले देखिनँ ।
आफ्नो कामलाई सहज बनाउन एआईको सहयोग लिने जमानाका हामी, कतै एआई तथा फेसबुकबाट ‘डाइरेक्टेड’ त भएनौँ ? हरेक कुरामा नेगेटिभ मात्रै आइरहेको समयमा के राम्रा कुराहरू हाम्रो मनले देखेनन् ?
महान् वैज्ञानिक स्टिफन हकिङले एआईको प्रयोगमा सावधानी अपनाउन निकै सचेत तुल्याएका थिए । कतै हामी पनि आफ्नो धरातललाई बिर्सेर फेसबुकको लागि साधन त बन्न पुगेनौँ ? के हामी अब फेसबुक÷एआईले जति देखायो त्यतिमात्र देख्न सक्ने, जति बुझायो त्यतिमात्रै बुझ्न सक्ने र जे अह्रायो त्यतिमात्रै गर्न सक्ने अवस्थामा पुगेका हौँ त ? हामी अरूको लहलहैमा लागेर आफैले सही–गलत छुट्याउन नसक्ने भएका हौ त ? नत्र असल काम गरिरहेको प्रत्यक्ष देख्दादेख्दै सफेद गफलाई नै सही मान्ने काम हामीबाट कसरी हुनपुग्यो ? कि हामी सधैँ अरूबाट नै शासित हुनुपर्ने मनोभावना विकास भएको हो ? आफ्नै खुट्टामा बञ्चरो हानेर कसको जितमा खुसीयाली मनाउँदै छौँ हामी ? अनि को हारेको खिसिटिउरी गर्दै छौँ ?
(कि महाभारतमा वर्णन गरिएअनुसार त्यसबेलाको बाँकी घटनाको लागि दैवबाटै पूर्वनिर्धारित योजनाको एक अंश मात्रै हो यो ?)
यी कुराहरू मेरो मनमा उब्जेका भावनाहरू मात्रै हुन्, अन्तिम सत्य नहुन सक्छ । तर, सत्यको नजिक छ भन्नेमा म विश्वस्त छु । साथै हामी विवेकशील प्राणी भएकोले कमसेकम अब त विवेक पुग्ने छ भन्नेमा पनि आशावादी छु ।