चित्तरञ्जन नेपाली
नेपालको इतिहासमा जनरल भीमसेन थापालाई साम्राज्यवादविरोधी नेताको रूपमा बलियो गरी उभ्याउने श्रेय चित्तरञ्जन नेपाली (उर्फ नारायणप्रसाद राजभण्डारी) को पुस्तक ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ लाई जान्छ । उनले भीमसेन थापालाई स्वाभिमानी एवम् देशभक्त नेपाली शासक साबित गरेका छन् । उक्त पुस्तकलाई नेपाली इतिहासकै प्रमाणिक ग्रन्थ मानिँदै आएको छ । (आलोचकहरूले समेत पुस्तकमा प्रस्तुत प्रमाणहरूको वैज्ञानिक खण्डन गर्न सकेका छैनन् । कतिपय आलोचकले कोरा पूर्वाग्रह अघि सारेका छन् भने कतिले साम्राज्यवादलाई नचिढाउने दृष्टिकोण राख्दै आएका छन् ।)
बाबुबाजे नेपालको परराष्ट्र नीति हेर्ने मुन्सीखानाका पुस्तैनी जागिरे हुनाले चित्तरञ्जन नेपालीसँग ऐतिहासिक सामग्रीको राम्रो सङ्कलन भएको मानिन्छ र यसैकारण इतिहास लेखनमा उनको पैठ थियो । गत असोज २९ गते नेपालीको ९३ वर्षको उमेरमा निधन भयो । उनी २००७ सालको क्रान्तिका सक्रिय कार्यकर्ता थिए । गोपालप्रसाद रिमाल, विजय मल्ल आदि उनका समकालीन थिए । पेसाले उनी प्रशासक थिए । उनले परराष्ट्र मन्त्रालयमा काम गरेका थिए । लेखनीका हिसाबले उनी नेपाल र नेपाली दुवै भाषामा कलम चलाउने साहित्यकार, अनुवादक र सिद्धहस्त इतिहासकार हुन् ।
‘जङ्गबहादुरको कथा’
जनरल भीमसेन थापाभन्दा नितान्त फरक थिए जहानियाँ राणातन्त्रका सूत्रधार जङ्गबहादुर राणा । नेपाललाई साम्राज्यवादीहरूको सेवामा चढाउने शासकका रूपमा चिनिएका जङ्गबहादुरको महिमामा नेपालमा धेरै ‘इतिहास’ लेखिएको छ । २००७ सालको क्रान्तिपछि पनि नेपालमा राणाहरूको प्रभाव कायम नै रह्यो । एवंरितले नेपाली इतिहास लेखनमा यसको छाप पाइन्छ । कतिसम्म भने ‘भीमसेन थापा र रणबहादुर शाहपक्षीय’ इतिहासकार मानिने चित्तरञ्जन नेपालीको पुस्तक ‘जङ्गबहादुरको कथा’ पुस्तकको प्रकाशकीयमा ‘जङ्गगीता’ का लेखक कमलमणी दीक्षितले जङ्गबहादुरको तारिफमा ‘औलिया’ वा अवतारीसम्म भन्न भ्याएका छन् । ‘कहानी’ र ‘रूपरेखा’ मा सीमित नेपाली इतिहास लेखनलाई वैज्ञानिक धरातलमा टेकाउने इतिहासकार नेपालीको ऐतिहासिक पुस्तकलाई दीक्षितले ‘..कथा’ नाम दिएका छन् !
‘जङ्गबहादुरको कथा’ चित्तरञ्जन नेपालीले ८० वर्ष उमेर नाघिसकेपछि वि.सं. २०७० मा कमलमणी दीक्षितले प्रकाशित गरिदिएको पुस्तक हो । पुस्तकमा जङ्गबहादुरसँग सम्बन्धित विविध विषयमा ८ वटा लेख सङ्कलित छन् । कतिपय लेख दीक्षितको ‘नेपाली’ त्रैमासिक पत्रिकामा प्रकाशित भइसकेका थिए । तसर्थ, यो पुस्तक ‘जनरल भीमसेन थापा र तत्कालीन नेपाल’ जस्तो सग्लो पुस्तक होइन । यसमा जङ्गबहादुरको सिलसिलाबद्ध जीवनवृत्तान्त छैन । बरु उनीसँग सम्बन्धित केही पक्षको मात्र चर्चा छ । यस हिसाबले यो पुस्तक जङ्गबहादुरको समग्र मूल्याङ्कन होइन ।
‘जङ्गबहादुरको कथा’ मा लेखक नेपालीले जङ्गबहादुरलाई लिएर देशीविदेशी विज्ञ र अन्वेषकहरूका ठम्याइलाई मिहीन ढङ्गले केलाएका छन् । साथै उनले आफ्नै गम्भीर निष्कर्षहरू पनि अघि सारेका छन् । यसबाहेक पुस्तकमा जङ्गबहादुरलाई उनकै समयमा लगेर उनको व्यक्तित्व र परिवेशको यथास्थान चर्चा गरिएको छ । लेखकले जङ्गबहादुरको उदयलाई ‘आवश्यकीय अनावश्यक व्यक्तित्वको उदय’ भनी आफ्नो निष्कर्ष दिएका छन् ।
‘ब्रिटिस मिनिस्ट्री’
पहिलो अध्याय ‘ब्रिटिस मिनिस्ट्री’ भीमसेन थापाको अवसानपछि सुरु हुन्छ । वि.सं. १८९४ मा भीमसेन थापाको मुख्तियारी षड्यन्त्रपूर्वक खोसियो । ३१ वर्ष अकण्टक शासन चलाएका भीमसेन थापाले सोही वर्ष आत्महत्या गरेका थिए । त्यसपछिको स्थितिबारे चित्तरञ्जन लेख्छन्, “नेपालको प्रशासन दरिलोरूपमा सञ्चालन हुन सकेन र दरिलो एवं प्रभावशाली प्रशासनको अभावमा अधिराज्यमा सर्वत्र अशान्ति, अव्यवस्था, लुट र भ्रष्टाचारका बिगबिगीहरू देखिन थाले । यसको साथै त्यस बखत राजपरिवारका सदस्यहरूदेखिन् लिएर उच्चस्तरीय भारदारहरूसमेत विभिन्न समूहहरूमा विभाजित हुन गएकोले दिगो तथा प्रभावशाली सरकार गठन हुन सकेन । फलतः सरकारहरू छिटोछिटो परिवर्तन हुन थाले । यसबाट पनि देशको परिस्थिति अशान्त र अव्यवस्थित हुनमा सहयोग पुग्न गएको थियो भन्न सकिन्छ ।”
विदेशी हस्तक्षेपकारीहरूले नेपाली इतिहासका अस्थिर मोडहरूमा सदा नाजायज फाइदा लिइआएका छन् भने कतिपय बेला यस्तो फाइदा उठाउनकै लागि अस्थिरता मच्चाउने गरेका छन् । ‘ब्रिटिस मिनिस्ट्री’ नेपाली इतिहासको एक यस्तै प्रकरण थियो ।
वि.सं. १८९५ कार्तिकमा चौतरिया पुष्कर शाह र काजी रणजङ्ग पाँडेको संयुक्त सरकार बन्यो । यही सरकारको कार्यकालमा १८९६ भदौमा नेपालको तर्फबाट बेलायत सरकारलाई एउटा अहदनामा पत्र पठाइएको थियो । त्यसमा ‘बेलायतको कम्पनी सरकारसँग सल्लाह नगरी गङ्गापारिका रजौटाहरूसँग चिठीपत्र नगर्ने’ लेखियो । तत्कालीन बेलायती रेजिडेन्ट ब्रायन हडसन नेपालले यो कुरा पालन गर्नेमा सशङ्कित थिए । नभन्दै राजाले संयुक्त सरकार भङ्ग गरी काजी रणजङ्ग पाँडे एक्लैलाई मुख्तियारी दिए । यस सरकारकै पालामा भारतका केही रजवाडासँग अङ्ग्रेजहरूको अनुमतिबेगर पत्राचार भयो । यो देखेर आक्रोशित भएको भारतस्थित अङ्ग्रेज गभर्नर जनरलले नेपाललाई दबाबपूर्ण पत्र पठाएपछि नेपालका लागि तत्कालीन बेलायती रेजिडेन्ट हडसनको दबाब उग्र भयो । यसकारण, राजाले १८९७ कार्तिकमा चौतरिया फत्तेजङ्ग शाहलाई मुख्तियार बनाए । फत्तेजङ्ग शाहको यही सरकारलाई विरोधी भारादारहरूले ‘ब्रिटिस मिनिस्ट्री’ भन्थे । फत्तेजङ्गको मन्त्रिमण्डलले पुस ९ गते ७३ भारदारहरूको सही छाप गराएर ‘ब्रिटिस कम्पनी सरकारसितको दोस्तीमा खलल पुग्ने कुनै काम कुरा गराइनेछैन’ भनी पत्र पठायो । त्यसबेला कम्पनी सरकार अफगानिस्तान र बर्मामा युद्धरत थियो । फत्तेजङ्गको मन्त्रिमण्डलले बेलायती सेनालाई सघाउन नेपाली सेना पठाउन तयार रहेको बेहोरा पनि लेखिपठायो ।
नेपाल कमजोर रहेको यही बेला नेपालस्थित बेलायती रेजिडेन्टले प्रशासनिक र अदालती कारबाहीहरूमा हस्तक्षेप गर्ने गरेका थिए । त्यसबेला राजा राजेन्द्र र उनकी रानी पनि बेलायती रेजिडेन्टसँग सरसल्लाह गर्थे । यसप्रकार लेखक नेपालीले नेपालमा बाह्य हस्तक्षेपको एक ऐतिहासिक घटनालाई पहिलो अध्यायमा उजागर गरेका छन् । नेपालको राजनीतिक र प्रशासनिक मामिलामा बेलायती रेजिडेन्टको हस्तक्षेपबारे भारतमा बस्दै आएका माथवरसिंह थापाले राजालाई १८९७ माघ १३ गते लेखेको अर्जी पत्रबाट स्पष्ट हुन्छ । पत्रमा लेखिएको थियो, “यहाँ मुन्सी मुख्तियारी मुखजमानी सुनिन्छ । कम्पनीका तर्फबाट नेपालका देवानी मुख्तियारी खारेज गरेको, कम्पनीका तर्फबाट देवानी मुख्तियारी भयो, चिसापानीको राहदानी पनि अङ्ग्रेजलाई दिएको (सुनिन्छ)† अदालतमा पनि उनका चोपदार (?) बसेर इन्साफ गर्छन्, उसका दुई पैसाका मान्छेले हाम्रा गुरु फरेहर (?) भई भारदारको इज्जत केही राख्दैनन्, जति मधेसी हिन्दुस्तानी थिए सबै हडसनको नाउँमा दुहाई दिन्छन्, फिरङ्गीसित लडुँला भनी सिपाही ढाक्रेले नभनून् भन्ने उर्दी फि¥यो, राजारानी रातभरि फिरङ्गीसित बसी एकान्त गर्छन्, फिरङ्गीले भनेको कुरा मान्छन्, जो फिरङ्गी मधेसबाट जान्छ उसलाई ज्याफत रूपैँया (खाना खर्च) पनि दिन लागेका छन्, फिरङ्गीलाई जहाँ जान्छौ डुल भन्ने लालमोहर पनि भयो भन्ने खबर सुनिन्छ ।” (भाषामा सम्पादन गरिएको छ ।)
‘शाही बद्री नर्सिङ ?’
यस अध्यायमा लेखकले राजा राजेन्द्रकी कान्छी रानी राज्यलक्ष्मीदेवीका प्रियपात्र र शक्तिशाली मन्त्री जर्नेल गगनसिंहको हत्या कसले गरेको थियो भनी केलाएका छन् ।
वि.सं. १९०३ असोज ९ राति १० बजे आफ्नै घरमा पूजा गरिरहेको अवस्थामा गगनसिंहको हत्या भयो । उनको हत्या हुँदा मुख्तियार फत्तेजङ्ग शाह थिए । मन्त्रिमण्डलमा मुख्तियार र अभिमानसिंह राजा राजेन्द्र पक्षधर मानिन्थे भने गगनसिंह र जङ्गबहादुर रानी राज्यलक्ष्मी पक्षधर मानिन्थे । रानी वैध युवराज सुरेन्द्रलाई बाटोबाट हटाएर आफ्ना छोरा रणेन्द्रविक्रम शाहलाई युवराज बनाउन चाहन्थिन् । गगनसिंहले आफ्नो यो मनोरथ पूरा गरिदिने उनको विश्वास थियो । तर, गगनसिंहकै निधन भएपछि उनी घाइते बघिनीजस्तै भइन् । हत्यारा पत्ता लगाउन रातारात देशका प्रमुख भारदारहरूलाई हनुमानढोका दरबार परिसरको कोतमा डाकियो । उनको छटपटीलाई कुटिलतापूर्वक प्रयोग गरेर कोतपर्वमार्फत जङ्गबहादुर र उनका भाइहरूले नेपालमा राणा शासनको जग हाले । प्रमुख भारदार मारिए ।
घटनालगत्तै पक्राउ परेका व्यक्तिहरूमा लाल झा नामक एक चतुर ब्राह्मण पनि थिए । जङ्गबहादुरले उनलाई चलाखीपूर्वक भगाएर शत्रुहरूको मित्र बन्न भारत पठाएको हुनसक्ने लेखकको मत छ । लाल झाले गोली दागेर गगनसिंहको हत्या गरेको भनी हल्ला चले पनि लाल झालाई गगनसिंहको हत्यामा अर्कै किसिमले प्रयोग गरिएको हुनसक्ने लेखकले औँल्याएका छन् । कोतमा जम्मा भएका भारदारमध्ये महारानीले अभिमानसिंह रानालाई वीरकेशर पाँडेलाई गिरफ्तार गर्ने आदेश दिइन् । वास्तविक हत्याबाट रानीको ध्यान मोड्ने गरी पहिले नै रानीको कान फुक्न वा ‘कर्णप्रदूषण’ गर्न लाल झाको प्रयोग भएको लेखकले दाबी गरेका छन् ।
जङ्गबहादुरका समकालीन एक अधिकारी रामभक्तको बयानबाट गगनसिंहको हत्या जङ्गबहादुरले आफ्ना साहिँला भाइ बद्रीनर्सिङमार्फत गराएको पछि मात्र प्रमाणित भयो । (चन्द्रशमशेरको पालामा पुराना घटना देखेजानेका व्यक्तिहरूको बयान सङ्कलन गर्ने क्रममा रामभक्त पण्डितले पनि विवरण टिपाएका थिए ।) तर, जङ्गबहादुरले गगनसिंहको हत्या गरेको कहिल्यै स्वीकारेनन् । उनले आफ्नै मामा माथवरसिंह थापाको हत्या गरेको स्वीकारेका थिए । राजा र रानीको आदेशमा आफूले त्यसो गरेको उनले पटकपटक भनेका थिए । राजा आफैँले पनि माथवरसिंहको हत्या गराएको खुलारूपमा बोल्ने गरेका थिए । माथवरसिंहबाट आफ्नो मनोरथ पूरा नहुने देखेपछि महारानी राज्यलक्ष्मी त्यो हत्या गराउन तयार भएकी थिइन् ।
कोतपर्वको प्रसङ्गमा जङ्गबहादुरले महारानीको आदेशमा आफूले गरेको भनेर सधैँ आफ्नो बचाउ गरिरहे । तर, गगनसिंहको हत्याबारे उनले कहिल्यै मुख खोलेनन् । बरु सम्भावित हत्यारा भनिएका लाल झा र बद्रीनर्सिङलाई उनले सदा संरक्षण दिइरहे ।
तत्कालीन राजा राजेन्द्र र महारानी राज्यलक्ष्मीदेवी कोतपर्व र भण्डारखालपर्वपछि काशी गएर उतै बस्न थालेका थिए । गगनसिंहका छोरा वजिरसिंह पाल्पामा थिए । बुबाको हत्या भएको थाहा पाएपछि उनी त्यतैबाट भारत भागे । कोतपर्व अघि गगनसिंह र जङ्गबहादुर एकै गुटका शक्तिशाली जर्नेल थिए । यीमध्ये जङ्गबहादुर असाध्यै चतुर र महत्वाकाङ्क्षी थिए । त्यसैले उनी रानी र गगनसिंहप्रति कहिल्यै बफादार रहेनन् बरु आफ्नो मनोरथ पूरा गर्न तिनलाई प्रयोगमात्र गर्नुपर्नेमा उनी सदा सतर्क थिए । इतिहासकार लुडविग स्टिलरको यो विश्लेषणमा लेखक नेपाली फरक मत राख्दैनन् । (कोतपर्वबारे फादर स्टिलरको ‘काठमाडौँका पत्रहरू :कोतपर्व’ नामक पुस्तक नै प्रकाशित छ ।)
लाल झा गगनसिंहका हत्यारा हुन् भन्नेमा राजा कहिल्यै विश्वस्त भएनन् । रानी पनि त्यो कुरा मान्न तयार थिइनन् । उल्टै गगनसिंहको हत्यामा राजा वा जङ्गबहादुर नै दोषी छन् भन्ने उनको मत थियो । कोतपर्वको पछाडि राजाको हात भएको प्रमाण अहिलेसम्म देखिन्न । जस्तो माथवरसिंहको हत्या आफूले गराएको भनी राजाले यसअघि खुलारूपमा स्वीकार गरेका थिए । गगनसिंहको हत्यामा त्यसो देखिएन ।
भारत निर्वासित गगनसिंहका छोरालाई पत्र लेखेर जङ्गबहादुरले सहानुभूति जनाए । पत्रमा उनले आफू र गगनसिंहबिच घनिष्टता रहेको लेखेका थिए । तर, गगनसिंहजस्तो शक्तिशाली व्यक्तिलाई राजनीतिको मञ्चबाट हटाएमा आफू सत्तामा आउन सजिलो पर्ने विषयमा जङ्गबहादुरलाई कुनै शङ्का थिएन । बरु यस विषयमा उनले धेरै पहिलेदेखि नै कूटयुद्ध थालिसकेको फादर स्टिलरको अनुमानलाई लेखक नेपालीले सदर गरेका छन् ।
गगनसिंहको हत्या जङ्गबहादुरले नै गराएका थिए । गगनसिंहको छोरालाई पठाएको पत्रमा उनले ‘गगनसिंह र आफूबिच कहिल्यै एकअर्काको जिउधनमाथि नलाग्ने धर्मपत्र गरेको’ उल्लेख गरेका थिए । आफूले नै गगनसिंहको हत्या गराएको भनी कबुल गरेको खण्डमा दुनियाँको नजरमा आफू ‘धर्मपत्रमा नअड्ने पातकी र विश्वासघाती’ ठहरिने डर हुनाले जङ्गबहादुरले यो कुरा लुकाइरहे ।
यसरी दोस्रो अध्यायमा लेखकले गगनसिंहको हत्या, महारानी राज्यलक्ष्मीको उन्माद र त्यस हत्यामा जङ्गबहादुरको संलग्नता उजागर गरेका छन् ।
राजेन्द्रको राज्यच्युत
यो अध्याय पुस्तकको सबैभन्दा लामो, क्रमबद्ध र रोचक खण्ड हो । कोतपर्व, भण्डारखालपर्व र अलौपर्वसम्म घटना समेटिएको यो अध्याय लेख्न लेखकले ३६ वटा स्रोत सामग्री तथा ऐतिहासिक दस्तावेजहरूको प्रयोग गरेका छन् । तत्कालीन राजा राजेन्द्र राज्यच्युत भएसँगै जङ्गबहादुर स्थापित भए । तसर्थ, यो अध्याय जङ्गबहादुर र प्रकारान्तरले नेपालमा राणातन्त्रको उदयको वृत्तान्त हो ।
कोतपर्वको कारण खोतल्दै लेखक लेख्छन्, “कोतपर्वको तात्कालिक कारण जनरल गगनसिंहको हत्या भए तापनि त्यस बखत त्यस्तो भयानक परिस्थिति सृजना हुनुमा देशमा विद्यमान तत्कालीन विभिन्न समूहरूमा विभाजित शक्ति केन्द्रहरू एवं तत्तत् शक्ति केन्द्रहरूका पक्षधर भातरदारहरूको षड्यन्त्रपूर्ण क्रियाकलापहरूको परिणामस्वरूप उत्पन्न असाधारण राजनैतिक वातावरण पनि कम जिम्मेवार थिएन । विभिन्न देशी तथा विदेशी शक्ति केन्द्रहरूको षड्यन्त्रपूर्ण कारबाहीको परिणामस्वरूप संवत् १८९४ सालमा विगत ३१ वर्षदेखि अक्षुण्ण रही आएको मुख्तियार भीमसेन थापाको सुदृढ प्रशासनको अवस्था भएपछि विभिन्न कारणवश देशको राजनैतिक एवं प्रशासनिक अवस्था अत्यन्त शिथिल भई देशमा सर्वत्र अशान्ति, अव्यवस्था, लुट र भ्रष्टाचारका बिगबिगीहरू छाउन थाले ।”
भीमसेन थापाको अवसानपछिका ९ वर्षमा नेपालमा एकल र संयुक्त गरी ६ वटा सरकार गठन भए । यी सरकारहरू १–२ वर्षभन्दा बढी टिकेनन् । यीमध्ये चौथो सरकार भारतस्थित कम्पनी सरकारको दबाबका कारण गठन भएको हुनाले विरोधीहरूले चौतरिया फत्तेजङ्ग शाहको त्यस सरकारलाई ‘ब्रिटिस मिनिस्ट्री’ भने । यो सरकार ९ महिनामा भङ्ग भयो र भीमसेन थापाका भतिज माथवरसिंह थापाको सरकार बन्यो । उनीलाई मुख्तियार बनाए आफ्नो मनोरथ पूरा हुने सोचेर कान्छी महारानी राज्यलक्ष्मी खुसी थिइन् । तर, माथवरसिंहले वैध युवराजको विपक्षमा केही नगर्ने देखेर उनलाई किनार लगाउने षड्यन्त्र बन्यो । राजा राजेन्द्र र रानी राज्यलक्ष्मीले दरबारमै डाकेर माथवरसिंहका साक्खै भान्जा जङ्गबहादुरलाई मामाको हत्या गर्न भने । यसरी वि.सं. १९०२ वैशाख ११ गते बेलुका दरबारभित्रै माथवरसिंहको हत्या भयो र उनको सरकार गठन भएको २ वर्ष ११ महिनामा ढल्यो । त्यसपछि बनेको चौतरिया फत्तेजङ्ग शाहको सरकार कोतपर्व हुँदा झन्डै १ वर्ष सत्तामा थियो ।
श्रोतः कथाकार चित्तरञ्जन नेपालीद्वारा लिखित ‘जङ्गबहादुरको कथा’बाट
बाँकी अर्को भागमा