#माइकल ई. टिगार/जोन मागी
दोस्रो न्यायिक कारबाही लण्डनमा भयो । ‘राइखस्टागको आगलागी छानबिनका लागि न्यायिक आयोग’ ले त्यसबारे लहरै सुनुवाइ ग¥यो । त्यो आयोगको उद्देश्य जर्मनीको सो घटनाको छानबिन गरी प्रमाणहरूको अध्ययन गर्नु थियो । जर्मनीमा चलिरहेको मुद्दामा पेस नगरिने प्रमाणहरूसमेत खोजी गरी प्रतिवादी वा आरोपितहरूलाई आरोप मुक्त गर्न र आगलागीमा नाजीहरूकै संलग्नता पुष्टि गर्न आयोगले काम सुरु गरेको थियो । सन् १९३३ सेप्टेम्बर २० मा प्रतिवेदन पेस गर्दै आयोगले संसद् भवन (राइखस्टाग) आगलागीमा टोर्गलर, डिमिट्रोभ, पोपोभ र टानेभको संलग्नता देखिने प्रमाण नभेटिएको र लुब एक्लैले सो काम गर्न नसक्ने र आगलागीमा नाजीहरूकै संलग्नता भएको देखाउने प्रमाणहरू पाइएको निष्कर्ष निकाल्यो । सो आयोग जर्मनीमा चलिरहेको आगलागीसम्बन्धी मुद्दा र त्यसको परिणामको मात्र नभई आगलागीलाई बहाना बनाई राष्ट्रिय समाजवादी (नाजी) हरूले सत्ताकब्जा गर्न खोजेको विरोधमा सुरु भएको अन्तर्राष्ट्रिय विरोध अभियानको एक भाग थियो । ‘जर्मन फासीवाद पीडितहरूको उद्धारार्थ विश्व समिति’ ले गहन छानबिन गर्दै भौतिक प्रमाण र साक्षीहरू जुटाएर आयोगलाई सहयोग गरेको थियो ।
कुर्ट भोन स्लेइचर
तेस्रो न्यायिक कारबाही सन् १९३३ सेप्टेम्बर २१ मा जर्मनीको लिपजिग (Leipzig) सहरमा भयो । सो न्यायिक टोली अक्टोबर १० मा संसद् भवन आगलागीको स्थलगत भ्रमण गर्न बर्लिन पुग्यो र पुनः लिपजिगमै फर्कियो । न्यायाधीश बेन्गर (Buenger) ले डिसेम्बर २३ मा फैसला सुनाए ।
ती छानबिन आयोग र मुद्दामा नाजीहरू र प्रतिवादीहरूले फरक–फरक कथा सुनाए । हिटलर (Hitler), गोयरिङ र गोयबल्स (Goebbels) ले आगलागीको नाजी धारणा यसरी प्रस्तुत गरेका थिए : “आगलागीमा कम्युनिस्टहरूको हात छ र घटनास्थलमा पक्राउ परेका भान लुब कम्युनिस्टहरूका एजेन्ट थिए ।” आगलागीको भोलिपल्ट फेब्रुअरी २८ को दिन देशद्रोहको परिभाषालाई बढाउँदै ‘नाजीहरूले आगलागी गराएको’ भन्नु पनि देशद्रोह हुने उल्लेख गरिएको एक अध्यादेश जारी गरियो । त्यस अध्यादेशको आवश्यकताबारे बोल्दै नाजी अधिकारीहरूले बेनामी ‘कम्युनिस्टहरू’ को संलग्नता गहिरो छानबिनबाट देखिएकोले यस्ता कदम आवश्यक भएको बताए । तर, त्यस्तो कुनै छानबिन नभएको बरु हिटलरले त्यो अध्यादेश जारी गर्ने आदेश दिएको भनी गोयरिङले दोस्रो विश्वयुद्धपछि स्वीकार गरेका थिए ।
फेब्रुअरी २७ घटनाको रात आफ्नो नाम रेडियोमा सुनेपछि अर्नस्ट टोर्गलर आफैँ प्रहरी चौकीमा गएका थिए र त्यहीँ पक्राउ परे । बाँकी तीन बुल्गेरियालीहरूलाई मार्च ९ मा पक्राउ गरिएको थियो ।
ब्रुयनिङ्ग
अब नाजी अधिकारीहरूसामु एउटा समस्या थियो– अभियोग प्रमाणित गर्ने । मुद्दालाई खुला रूप दिनका लागि उनीहरूले सार्वजनिक सुनुवाइ गर्ने निर्णय गरे । सन् १९३३ मार्च ३ को दिन मन्त्रिपरिषद्लाई सम्बोधन गर्दै प्रारम्भिक छानबिन चाँडै सुरु हुने गोयरिङले बताए । छानबिन टोलीका अध्यक्ष डा. ब्राउन (Dr. Braune) थिए ।
“उनी नाजीविरूद्धका मुद्दाहरू हेर्ने गर्छन् र हामी (नाजी) विरूद्ध कडा फैसला सुनाउँछन् । उनले वस्तुगतरूपमा नै छानबिन गरे पनि यस्तो महत्वपूर्ण मुद्दा जिम्मा दिन उनी उपयुक्त व्यक्ति होइनन् । उनले आरोपितहरूमाथि मात्रै ध्यान दिनेछन् …. अझ उनले सांसद टोर्गलरलाई रिहा पनि गर्न सक्छन् ।” – हिटलरले यस्तो विचार पोखेपछि ब्राउनको स्थानमा न्यायाधीश भोग्ट नियुक्त गरिए ।
न्यायाधीश र वकिलहरूको राजनैतिक आस्थाले नाजी पार्टीलाई भविष्यमा अप्ठेरो नपरोस् भनी नाजी बहुमत संसद्ले फेब्रुअरी २८ को अध्यादेशमा उल्लेख गरिएका कुराहरू लागु गर्न सन् १९३३ मार्च २१ मा ‘विशेष अदालत’ गठन ग¥यो । राजनैतिक मुद्दाहरू हेर्ने अदालतहरूलाई विस्थापित गरी सन् १९३४ अप्रिल २४ को दिन संसद्ले ‘जनताको अदालत’ खडा ग¥यो । यो नयाँ न्यायिक व्यवस्थामा सबै न्यायाधीशहरू नाजी पार्टीप्रति आस्थावान हुनुपर्ने र प्रतिवादी वकिलहरूले पनि आफ्नै पक्षविरूद्ध बोलेर सत्ताप्रति इमानदारीता देखाउनुपर्ने नियम थियो । यी कानुनी व्यवस्थाहरूमध्ये राइखस्टाग आगलागी मुद्दाका प्रतिवादीहरूलाई एउटामात्रै व्यवस्था लागु गरियो : जनवरी १ देखि फेब्रुअरी २८ भित्र भएका केही अपराधका लागि मृत्युदण्ड दिन सकिने ऐन पछि पारित गरियो ।
भोग्टले उत्साहपूर्वक आफ्नो काम थाले । कम्युनिस्टहरूको हात रहेको शङ्का गरिएका सबै तोडफोड र आतङ्ककारी घटनाको विवरण माग्दै उनले जर्मनीभरका प्रहरी कार्यालयहरूमा पत्राचार गरे । प्रहरीद्वारा तयार पारिएका साक्षीहरूमा उनले आफ्नो ध्यान लगाए । आगलागीसम्बन्धी अदालती प्रतिवेदनमा भएका विवादास्पद र अपर्याप्त सूचनाहरूमा उनले ध्यान नै दिएनन् ।
गोयरिङ्ग
यता भोग्टले काम सुरु गर्दै गर्दा अरू देशका फासीवाद विरोधीहरूले प्रत्याक्रमणका गतिविधि गर्न थाले । ‘जर्मन फासीवाद पीडितहरूको उद्धारार्थ विश्व समिति’ गठन भयो र यसका शाखाहरू संरा अमेरिका र विभिन्न युरोपेली देशहरूमा धमाधम खुल्न थाले । सो संस्था गठनमा कम्युनिस्ट कार्यकर्ताहरूको ठूलो हात भए पनि संस्थाका सदस्यहरू फरक पृष्ठभूमिबाट आएका प्रभावशाली व्यक्तिहरू थिए । सो समितिले अगस्ट १ को दिन ‘हिटलरको आतङ्कको खैरो किताब र राइखस्टागको आगलागी’ (Brown Book of the Hitler Terror and the Burning of the Reichstag) पुस्तक प्रकाशित ग¥यो । सो ‘खैरो किताब’ धेरै भाषाहरूमा अनुदित भयो र अमेरिकाका ठूला पसलहरूलगायत विश्वभरि दसौँ लाख प्रति बिक्री भयो । अर्थर कोस्टलरका अनुसार सो पुस्तकमा ‘जर्मन यातना गृह (कन्सन्ट्रेसन क्याम्प) को पहिलो विस्तृत विवरण …. यहुदी र अरूहरूमाथि भएको अन्याय, साहित्यमाथिको दमन र आतङ्कका अरू रूपहरू’ व्याख्या गरिएको थियो । सो पुस्तकमा टोर्गलर, डिमिट्रोभ, पोपोभ र टानेभ निर्दोष रहेका र नाजीहरूले नै आगलागी गरेको यथेष्ट प्रमाण दिइएको थियो ।
समितिले छानबिनका लागि गठन गरेको विशेषज्ञहरूको एक विशेष टोलीले जर्मनी र भान डेर लुब बसेको हल्यान्डमा गई प्रमाणहरू जुटाएको थियो । यो छानबिन कार्य सिद्धिएपछि सन् १९३३ सेप्टेम्बरमा छानबिन आयोगले लण्डनमा आफ्नो कारबाही अगाडि बढायो । आयोगका प्रमुख आयुक्त प्रख्यात बेलायती अधिवक्ता तथा लेबर पार्टीका प्रमुख सदस्य डी. एन. प्रिट थिए भने सदस्यहरूमा अमेरिकी अधिवक्ता तथा ‘अमेरिकी नागरिक स्वतन्त्रता सङ्घ’ (ACLU) का संस्थापक अर्थर गारफिल्ड हेज, विख्यात फ्रान्सेली अधिवक्ता फ्रान्सेस्को निट्टी र स्वीडिस् सांसद जर्ज ब्रान्टिड थिए । आयोगको कारबाहीको बारे लामो प्रमाण आयोगले सुन्यो । आयोगमा भएका गन्यमान्य सदस्यहरू र ध्यानपूर्वक चलेको कारबाहीका कारण विश्व सञ्चार जगतमा यसले प्राथमिकता पायो । आयोगको प्रतिवेदन (अवैधरूपमा) जर्मनीमा पनि पुग्यो र आगलागी मुद्दामा यही प्रतिवेदनलाई झूटा साबित गर्न नाजीहरू लागिपरेका थिए । टोर्गलरका वकिल डा. साकले आफ्नो पक्षमाथिको मुद्दामा प्रवेश गर्नुअघि आधाभन्दा बढी समय सो प्रतिवेदनको आलोचना गर्दै बिताए ।
हिटलर
संसद् भवन (राइखस्टाग) मा आगो लगाउने को थिए ?
पहिले हामी प्रमाणहरूलाई एकपटक हेरौँ । त्यसपछि हामी मुद्दाको कारबाहीतिर ध्यान देऔँला ।
आगलागीको रात जर्मन प्रहरीले भान डेर लुबलाई अर्धनग्न अवस्थामा घटनास्थलबाट पक्राउ गरेको थियो । उनले आफ्नो कमिज फुकालेर त्यसलाई संसद् भवनमा आगो लगाउन प्रयोग गरेका थिए ।
सो आगलागीमा भान डेर लुबको भूमिकाको कुरा गर्दा उनको राजनैतिक र सामाजिक विचारका बारे धेरै व्याख्या भएको छ र अझ कतिपय अवस्थामा उनको कथित यौनचरित्रलाई समेत उल्लेख गरिएको छ । यी व्याख्याहरूको आधारमै साह्रै कम प्रमाण भए तापनि भान डेर लुब एक्लै थिए वा उनले कम्युनिस्ट वा नाजीहरूसँग मिलेर आगलागी गरे भनेर लेखकहरू हडबडमा निष्कर्षमा पुगेका छन् । सन् १९३३ मा दक्षिणपन्थी र वामपन्थी दुवैथरी लेखकहरूले यो हडबडीको निष्कर्ष आफ्ना लेखमा दर्शाएका छन् ।
सो घटनामा भान डेर लुबको भूमिकालाई बुझ्ने उचित उपाय विवादमुक्त प्रमाणहरूको अध्ययन गर्नु नै हो । लण्डन र जर्मनीका मुद्दाहरूमा पेस गरिएका यी प्रमाणहरू, पत्रकारहरूका लेख र घटनास्थल पुगेका प्रहरीहरूको मुचुल्का अध्ययनपछि आगलागीका बारे निस्केका दर्जनौँ पुस्तक र लेखहरूमा पाइने फरक–फरक विचारहरूको बारे मनन गर्न सकिन्छ ।
फेब्रुअरी २७ राति ९ः३० बजे प्रहरीले भान डेर लुबलाई पक्राउ गर्दा संसद् भवन दन्दनी बल्दै थियो । तर, मध्यरातसम्म पनि आगो निभाइएन । हिटलर, गोयबल्स र गोयरिङभन्दा अगाडि नै ९ः४५ मा घटनास्थल पुगेका एक बेलायती पत्रकारले एक प्रहरी अधिकृतलाई उद्धृत गर्दै लेखेका छन् : “पाइन्ट मात्र लगाएका एकजना मान्छे पक्राउ परेको छ । उसले आफ्नो कोट र कमिज आगो लगाउन प्रयोग गरेको जस्तो देखिन्छ । भित्र अरू मान्छे पनि होलान्, अहिले उनीहरूकै खोजी हुँदै छ ।”
हिटलर, गोयबल्स र गोयरिङ आउने बित्तिकै विना कुनै प्रमाण उनीहरूले आगलागीको आरोप कम्युनिस्टहरूमाथि लगाए र अपराधीहरूलाई तह लगाउन तत्काल बैठक बसेर निर्णय गर्ने घोषणा गरे ।
वादीतर्फको प्रमाणअनुसार भान डेर लुब संसद् भवनको भुइँतलाको झ्याल फोडेर भित्र पसेका थिए । फ्लोएटर (Floeter) नामका एक साक्षीले साइकल चढेर त्यही बाटो जाँदै गर्दा सिसा फुटेको आवाज सुनेको बताए । एकछिन अडिएर हेर्दा उनले पहिलो तलाको बार्दलीमा एकजनालाई हातमा बलेको सामानसहित देखेको बताए । घटनास्थलमा एक प्रहरी अधिकारी बुबर्टलाई सो कुरा बताएर उनी आफ्नो बाटो लागेका थिए । अर्का साक्षी थालर (Thaler) पनि सिसा फुटेको आवाज सुनेर अडिएका थिए । थालरले पहिला दुईजना व्यक्ति देखेको भनी बयान दिएका थिए ।
यस हिसाबले आगो ९ः०३ वा अलिकपछि सुरु भएको थियो । यो समयमा सिसा फुटेको र एक वा दुईजना व्यक्तिलाई भित्र देखेको कुरामा साक्षीहरू सहमत थिए । यो घटनामा अर्का प्रमुख व्यक्ति संसद् भवनका सुरक्षा निरीक्षक स्कानोभिच हुन् । आगो लागेपछि नजिकैको आफ्नो निवासबाट संसद् भवन पुगेका यिनले ९ः२५ को आसपास भान डेर लुबलाई पक्राउ गरेका थिए । त्यतिबेलासम्म मुख्य भवन आगोको लपेटामा परिसकेको थियो ।
स्कानोभिचले पछि एक नक्सा बनाएर विभिन्न दुई दर्जन स्थानमा आगो लगाइएको र पछि मिलेर एउटा वा दुइटा ठूलो आगलागी भएको देखाए । मुद्दाको अभियोग पत्रमा भवनका फरक तलाहरूका २३ विभिन्न स्थानमा आगो लगाइएको उल्लेख छ । पहिले आगो लगाइएको समय (९ः०३) र पछिको ठूलो आगलागीको समय मिलाउनका लागि वादी पक्ष सो २३ वटा स्थानमा एघारदेखि चौध मिनेटमा आगो लगाइएको भन्ने निष्कर्षमा पुगेको थियो ।
वादी पक्षका छानबिन विशेषज्ञहरूले आगो फैलाउन प्रज्ज्वलनशील पदार्थ पनि प्रयोग भएको स्वीकारे तापनि सो पदार्थ तरल वा ठोस के थियो भन्नेमा भने मतैक्य थिएन । आगलागीपश्चात् खतराको सूचनापछि अधिकारीहरू आउने क्रममा राइखस्टागका बाहिरी ढोकाहरू बन्द अवस्थामै पाइएका थिए । सामान्य स्थितिमा पनि यी ढोकाहरू बन्द नै रहन्थे ।
डिमिट्रोभ, टानेभ र पोपोभको संलग्नताको भने कुनै स्पष्ट प्रमाण थिएन । राइखस्टागका सदस्य टोर्गलरको संसद् भवनमा आउजाउ त हुन्थ्यो तर आगलागीको बखत भने उनी अन्तै रहेको पक्का प्रमाण थियो । घटनास्थलको कुनै पनि प्रमाण वा विश्वसनीय साक्षीले पनि उनलाई आगलागीसँग जोड्न सक्दैनथ्यो ।
भान डेर लुब घटनास्थलबाटै पक्राउ परेका थिए । उनको संलग्नतामा शङ्का नहोला । हामीले अघि उल्लेख गर्याैँ, ‘खैरो किताब’ ले सो आगलागीमा नाजीहरूको हात रहेको प्रमाण दिएको छ । उनीहरूको छानबिनका अनुसार संसद् भवनमा छिर्ने एउटा सुरुङ मार्ग थियो । यो भूमिगत मार्गको तीनवटा द्वार छन् : एउटा राइखस्टाग, दोस्रो राइखस्टागका अध्यक्ष गोयरिङको निवास र तेस्रो ‘इन्जिन घर’ वा प्राविधिक कक्ष ।
मुद्दाको बेला लण्डनको आयोगको सूचना प्रयोग गर्दै डिमिट्रोभले सो सुरुङ मार्गको छानबिन भएको वा नभएको सोधेका थिए । सुरुमा उनको प्रश्नलाई न्यायाधीशले खारेज गरिदिए । तर, वादी पक्षका साक्षी एडरम्यानले आगलागीको अघिल्लो रात सो भूमिगत मार्गबाट आवाज आएको सुनेको बयान दिए । त्यसपछि सो विषयले छलफलमा प्रवेश पायो । अदालतले सो स्थानको निरीक्षण गर्यो र सो मार्गसम्बन्धी प्रमाणहरू केलायो ।
जोशेफ गोयबल्स
भूमिगत मार्गको एक थान साँचो निरीक्षक स्कानोभिचसँग रहने गरेको थाहा भयो । ९ः२५ बजे भान डेर लुबलाई पकाउ गरेका स्कानोभिचले आफ्नो फोन नउठाएपछि ड्युटीमा रहेका एक जवान उनलाई खबर दिन गएका थिए । स्कानोभिच ९.१८ मा घटनास्थल पुगे र त्यहाँका प्रहरी (एस.एस.) अधिकारीलाई राइखस्टागको भूमिगत कोठामा मान्छेको आवाज सुनेको बताए । लण्डनको छानबिन आयोगले आगलागी गर्नेहरू त्यही भूमिगत मार्गबाट प्रवेश गरेको निष्कर्ष निकाल्यो । जर्मन अदालत र मुद्दाको वादी पक्षले यसलाई पूर्णतया अस्वीकार ग¥यो र यसमा अचम्म मान्नुपर्ने कुरा थिएन ।
फेब्रुअरी २७ को राति गोयरिङका प्रेस अधिकारी मार्टिन सोमरफेल्डटले घटनास्थलमा आई प्रेस विज्ञप्ति बनाउन प्रहरी र दमकलका कर्मचारीसँग सोधपुछ गरे । उनले तयार पारेको विज्ञप्तिमा प्रहरीले घटनास्थलबाट ‘११२ पाउन्ड लाइटर’ (झन्डै ५० केजी) बरामद गरेको उल्लेख थियो । त्यसपछि सोमरफेल्डटले गोयरिङलाई भेटे र गोयरिङले तयार पारेको विज्ञप्तिमा घटनास्थलबाट बरामद आगलागीका सामान निकै ग¥हुँगा भएका, त्यसलाई बोक्न ६/७ व्यक्ति आवश्यक पर्ने र संसद् भवनबारे राम्रो जानकारी भएको व्यक्तिले नै सो आगलागी गरेको लेखिएको थियो । सञ्चारमाध्यममा वितरित गोयरिङको टिप्पणीमा आगलागीमा कमसेकम १० जनाको संलग्नता रहेको भनी उल्लेख थियो ।
आगलागीको छानबिनको सबभन्दा भरपर्दो अध्ययनले भान डेर लब एक्लैले सो कार्य नगरेको र भवनभित्र प्रवेश भूमिगत मार्गबाट भएको प्रमाणित गर्न एउटा प्रमाण देखाएको छ : संसद् भवनका बाहिरी ढोकाहरू सबै बन्द थिए वा ताला लगाइएका थिए ।
वामपन्थी खेमाका केही समूहहरू भान डेर लुबको रक्षामा बोल्न थाले – नाजीसँग उनको साँठगाठ थियो भन्ने आरोपको विरुद्धमा । सन् १९३३÷३४ मा ‘युद्ध र फासीवादविरोधी विश्व समिति’ भन्ने अराजकतावादी समूहले ‘खैरो किताब’ ले भान डेर लुबमाथि लगाएको आरोपको खण्डन गर्दै पर्चाहरू प्रकाशित गर्न थाल्यो ।
यो समूहका सदस्यहरू फ्रान्स, नेदरल्यान्डस् र स्पेनमा थिए । उनीहरूको मुख्य कुरा थियो : भान डेर लुब सर्वहारा वर्गका सच्चा सदस्य हुन् र उनले गरेको कार्य पूर्णतया कानुनी … व्यक्तिगत र परिणाममुखी’ हो । भान डेर लुब नाजीहरूको हतियार बनेको भन्ने ‘खैरो किताब’ को आरोपलाई उनीहरूले ‘बुर्जुवा र स्तालिनवादी’ सोचको संज्ञा दिएका थिए । भान डेर लुबबारे यी विचारहरू हालसम्म पनि कायम छन् ।