गत डिसेम्बर १२ को बिहान कुनै समयको चीनको राजधानी नानकिङ सहरमा दस बज्दा नबज्दै पुरै सहरभरि चर्को आवाजमा साइरन गुञ्जायमान भयो, मानौँ तत्कालै त्यहाँ कसैले भीषण हमला गर्दै छ । तर, साइरन बजेसँगै सहरमा मानिसहरूको कुनै भागदौड भने भएन । बरु पूरै सहर केही समयको लागि बरफ जमेजस्तै टक्क अडियो । हिँडिरहेका मानिस, गुडिरहेका सवारी, काम गरिरहेका मजदुर किसान, खेलिरहेका युवा, पढिरहेका विद्यार्थी सबै साइरनको ध्वनिसँगै रोकिए र मौनतामा नै सम्झिए आजभन्दा ८८ वर्षअघिको एउटा अविस्मरणीय इतिहास ।
सन् १९३७ को डिसेम्बर १३ को दिन नानकिङ सहर सधैँझैँ आफ्नै लयमा हिँडिरहेको थियो । बजारमा भीड छिचोल्दै मानिसहरू आ–आफ्ना गन्तव्यतिर दौडिरहेका थिए । बाटोछेउ फुटपाथ पसलेहरू म्यानथ्यौर (चाउचाउ) उमालिरहेका थिए । जाडो मौसममा तातो म्यानथ्यौर खान ग्राहकहरू हातमा काठे ख्वाइच बोकेर तम्तयार थिए । भरियाहरू आकाश छुने गरी सामान लादिएको गाडा बल गरी तानिरहेका थिए । उनीहरूलाई त्यो खेपको भारी बिसाएर अर्को भारी लिन जाने हतारो थियो । धनाढ्य साहुहरू उलिन्काठमा बसेर ठाँटका साथ सहरको सयर गरिरहेका थिए । तर, उनीहरूमध्ये कसैले पनि चिताएका थिएनन्, केही बेरमा उनीहरूले इतिहासमा कहिल्यै नभोगेको एउटा त्रासद समय भोग्नुपर्ने कुरा ।

रेप अफ नानकिङ पुस्तकको आवरण
जापानीहरूले कुनै पनि बेला नानकिङ सहरमा हमला गर्न सक्छन् भन्ने कुरा सरकारी र माथिल्ला ओहदाका मानिसहरूलाई सङ्केत थियो । नानकिङतिरको बाटोमा पर्ने गाउँ र साना सहरहरूमा जापानीहरूले हमला गर्दै, आगजनी गर्दै नानकिङतिर आइरहेका थिए । त्यसकारण, केही हुनेखाने र पहुँचवालाले नानकिङ छोड्ने जोहो गरिरहेका थिए । तर, सर्वसाधारण चिनियाँ जनतालाई न त्यसको कुनै सूचना थियो, न पहुँच नै । जब जापानी सेना नानकिङ सहरभित्र पसे, उनीहरूसँग सके भाग्ने, नसके लुक्ने, त्यही पनि नसके आत्मसमर्पण गर्नुको विकल्प नै थिएन । किनभने, चीन सरकार र सेनाका अधिकांश उच्च अधिकारीहरू नानकिङबाट भागिसकेका थिए । चिनियाँ सिपाहीहरू पनि प्रतिकार गर्नभन्दा ज्यान जोगाउन सामान्य पोशाकमा सर्वसाधारणको भीडमा मिसिएका थिए ।
तर, नानकिङमा जापानी सेनाले त्यसपछिका ६ हप्ता जे गर्यो, त्यसले नृशंसताको कुनै पनि सीमा नाघेको थियो । उनीहरूले ६ हप्तामा ३ लाख चिनियाँहरूको निर्मम हत्या गरे । आत्मसमर्पण गरेका सिपाहीलाई केही हानि नगर्ने युद्धको सामान्य नियम हो । अझ निहत्था सर्वसाधारणलाई कुनै पनि हानि पु¥याउनु युद्ध अपराध मानिन्छ । तर, नानकिङमा जापानी सिपाहीहरूले युद्धका कुनै पनि नियमको न्यूनतम पालनासमेत गरेका थिएनन् ।
नानकिङमा भेटिए जति मानिसहरूको उनीहरूले निर्मम हत्या गरेका थिए । सहरका सडकमा लासका बिस्कुन लागेको थियो । अधिकांश लासका टाउका काटिएका थिए अथवा टाउकामा गोली हानिएको थियो । मानिसको रगतले सडक पूरै रातै थियो, मानौँ त्यहाँ अबिर जात्रा निस्केको थियो । सडकका खम्बामा चिनियाँहरूका लास झुन्ड्याइएको थियो । कैयौँ चिनियाँहरूलाई जिउँदै गाडिएको थियो । जापानी सिपाहीहरूबिच कसले सबभन्दा बढी चिनियाँहरूको टाउको काट्न सक्छ भनी प्रतिस्पर्धा चलेको थियो । जापानी सिपाहीहरूबिच मानिसको टाउको काट्ने यो प्रतिस्पर्धा जापानको अखबारमा पहिलो पृष्ठको समाचार बनेको थियो, मानौँ मानिसको टाउको काट्नु फूटबल म्याचमा गोल गर्नुजस्तै गौरवको विषय हो । चिनियाँ महिलाहरू बलात्कृत मात्र भएनन्, बरु उनीहरूको बलात्कारपछि निर्मम हत्या गरियो । बालिका, किशोरी, वृद्धा, सुत्केरी, गर्भवती महिला कोही पनि जापानी अपमान र कार्यबाट जोगिएनन् । नानकिङ सहर भएर बग्ने यांजी नदीको पानी मानिसको रगतले रातै भएको थियो । हजारौँ मानिसका लास नदीको सतहमा महिनौँ तैरिरहेको थियो । घरभित्र लुकेर बसेका मानिसलाई मार्न घरघरमा आगो लगाइएको थियो । कुनै पनि घरका बहुमूल्य सामान बाँकी थिएनन्, जापानी सिपाहीहरूले लुटेका थिए । जापानीहरूका लागि चीनका धनी र गरिबमा कुनै भेद थिएन, उनीहरू त्यहाँका सबै मानिसलाई तुच्छ चिनियाँहरू नै ठान्थे ।

चलचित्र नानकिङ फोटो स्टुडियोको पोस्टर
सैन्यवादले उन्मत्त जापानी सिपाहीहरूले नानकिङमा मच्चाएको युद्धअपराध लुकाउन त्यहाँबाट कुनै पनि सूचना बाहिर नजाओस् भनी कडा निगरानी राखिएको थियो । उनीहरूलाई लागेको थियो, जापानी सैन्यवादको नरसंहारबारे संसार बेखबर रहनेछ र चिनियाँहरूलाई नानकिङको आतङ्कले सात पुस्तासम्म त्रसित बनाउन सकिनेछ । तर, घटनाक्रम त्यसरी अघि बढेन । बरु, नानकिङमा जापानी सिपाहीहरूले गरेका युद्ध अपराधका तस्बिर ऐनकेनप्रकारेण पश्चिमा सञ्चारमाध्यमका सम्पादकीय कार्यालयसम्म पुग्यो र अन्ततः चीनको एउटा कुनामा जापानीहरूले गरेको मृत्युपूजा संसारसामु प्रकाशित भयो । जापानीहरूले इतिहास दबाउन गरेका प्रयास असफल भए ।
नलेखिएको इतिहास
नानकिङ नरसंहारपछि पनि सात वर्षसम्म चीनमा जापानी अत्याचार कायम रह्यो । सन् १९४५ मा अपमानपूर्वक दोस्रो विश्वयुद्धमा पराजय भोगेपछि मात्र जापानी अत्याचारको अन्त्य भयो । तर, युद्धको अन्त्य पछाडि पनि जापानी सैन्यवादले चीनमा गरेका अत्याचारका घटना लुकाउने सबै प्रयास जारी राखे । समयान्तरमा उनीहरूका प्रयासमा पश्चिमा जगत्ले समेत मद्दत गर्यो । दोस्रो विश्वयुद्धमा जर्मन नाजीवादले यहुदीहरूमाथि गरेका अत्याचारका बारेमा प्रशस्त पुस्तक, चलचित्र र साहित्य प्रकाशित छन् । संसारलाई जर्मन नाजीवादका अत्याचारबारे थाहा छ । तर, त्यस्तै प्रकृतिको जापानी अत्याचार इतिहासमा लुकाउने वा बङ्ग्याउने प्रयास अद्यापि छ । तथापि, नानकिङ नरसंहार दुःख बनेर चिनियाँ जनताको सम्झनाबाट कहिल्यै मेटिएन ।
आइरिस चाङ चिनियाँ मूलका अमेरिकी लेखिका हुन् । उनले आमाबुबाबाट नानकिङको इतिहास बाल्यकालदेखि नै सुनेका थिए । किशोरी उमेरमा उनले यो इतिहासबारे थप अध्ययन गर्ने जमर्को गरिन् । उनी अमेरिकी विश्वविद्यालय र सार्वजनिक पुस्तकालयमा नानकिङको इतिहास खोज्न थालिन् । तर, उनले कुनै पनि पुस्तकालयमा नानकिङ नरसंहारबारे कुनै पनि पुस्तक वा सामग्री फेला पारिनन् । इतिहासका अध्येताहरूलाई समेत यो घटनाबारे निकै कम मात्र जानकारी भएको थाहा पाइन् । अनि उनी चिनियाँ जनताको यो त्रासद इतिहास खोज्न नानकिङ पुगिन् । सौभाग्यवश, नानकिङ नरसंहारमा मारिनबाट जोगिएका केही मानिसहरू पुरानो स्मृति बोकेर अझ बोल्न सक्ने थिए । उनीहरूका दुःखका घाउ सुन्दै आइरिसले नानकिङ घटनाबारे लुकाइएका र प्रकाशमा नआएका धेरै पाना खोतलिन् र अन्ततः सन् १९९७ मा रेप अफ नानकिङ
(नानकिङको बलात्कार) नामको पुस्तक प्रकाशन गरिन् । नानकिङ नरसंहारको झण्डै छायामा पारिएको इतिहासलाई आइरिसको त्यो पुस्तकले संसारको सम्झनामा ब्युँतायो ।
पुस्तक प्रकाशन हुँदा आइरिसको उमेर २९ वर्ष थियो । अमेरिकामा अङ्ग्रेजी भाषामा पुस्तक प्रकाशन भएपछि नानकिङ घटनाबारे संसारका अझ धेरै पाठकले जानकारी पाए । जापानी दक्षिणपन्थीहरूको युद्धका कुरूप अनुहार लुकाउने प्रयास फेरि असफल भयो । पुस्तक प्रकाशनपछि आइरिसले संसारका धेरै सहर र विश्वविद्यालयमा गएर नानकिङ नरसंहारबारे संभाषण दिइन् । त्यसबापत उनले धेरै थरी मानसिक हमला सामना गर्नुपर्यो । फलतः ३२ वर्षको उमेरमा उनले आत्महत्या गरिन् । तर, उनले युवा उमेरमै झण्डै इतिहासको रासमा लुकाइएको पाटो संसारमा उजागर गरिन् । ‘रेप अफ नानकिङ’ को प्रकाशनपश्चात् युद्ध अपराधबाट उन्मुक्ति पाउने जापानी सैन्यवादको प्रयास अन्ततः विफल भयो ।
चलचित्रमा नानकिङ

चलचित्र ७३१ टुकडीको पोस्टर
यो वर्ष संसारले दोस्रो विश्वयुद्धमा फासीवाद पराजय भएको ८० औँ वर्षगाँठ बनायो । चीन सरकारले राजधानी पेइचिङमा धुमधामसँग विशेष समारोहसहित यो विजयोत्सव मनायो । फासीवादमाथि विजयकै सन्दर्भ जोडेर चीनमा यो वर्ष दुई वटा चलचित्र सार्वजनिक भए, नानकिङ फोटो स्टुडियो र ७३१ टुकडी । यीमध्ये पहिलो चलचित्र नानकिङ नरसंहारकै इतिहास हो । नानकिङ फोटो स्टुडियो कसरी नानकिङ नरसंहारको त्रासदीबिच पनि त्यहाँका गोप्य तस्बिर बाहिरिएका थिए र त्यसको निम्ति कस्तो बलिदान गर्नुपरेको थियो भन्ने कथामा आधारित थियो । अर्को चलचित्र भने सन् १९३४ मा जापानले उत्तरी चीनमा बनाएको गोप्य वैज्ञानिक प्रयोगशालाबारे थियो । त्यो प्रयोगशालामा मानिसको शरीरले कतिसम्मको चिसो वा तातोमा कस्तो प्रतिक्रिया दिन्छ भनी चिनियाँ, कोरियाली, सोभियत र मङ्गोलियन जनताको शरीरमा प्रयोग गरिन्थ्यो । त्यही प्रयोगशालामा बनाइएको नरसंहारक किटाणुलाई जैविक हतियारको रूपमा प्रयोग गरेर चीन, कोरियालगायत पूर्वी एसियामा जापानले आफ्नो उपनिवेश बिस्तार गरेको थियो ।
जापानले इतिहासमा आफूले गरेका गल्ती स्वीकार्दै भविष्यमा यस्ता गल्ती हुन नदिन सजग हुनुको सट्टा आफ्नो अपराधलाई छोप्ने, बङ्ग्याउने र अस्वीकार गर्न थालेपछि चीनले जापानी अत्याचारको इतिहासलाई उदाङ्ग्याउने काम गर्दै छ । विशेषतः जापानी पाठ्यपुस्तकमा इतिहासका त्यस्ता नरसंहारलाई उल्लेख नगर्ने, बङ्ग्याउने, अथवा सेतो पोत्ने काम हुन थालेपछि युद्धको पीडा अझ निको नभएका घाउबारे चिनियाँहरूले विरोध गर्दै आएका छन् । कम्तीमा जापानका आजको पुस्ताले हिजो आफ्ना पुर्खाले गरेका गल्ती स्वीकार्दै भविष्यमा संसारमा कसैले पनि यस्ता घटना भोग्न नपरोस् भन्ने भावना राखेको भए लाखौँको सङ्ख्यामा मारिएका चिनियाँ जनताका पुर्खाले सान्त्वनाबोध गर्ने थिए । तर, जापानी दक्षिणपन्थी शक्तिहरूले अझै उस्तै नरसंहारको समय कुरेर बसेजस्तै उस्तै दक्षिणपन्थी सोचाइ पाल्ने गरेका छन् ।
ताकाइचीको नयाँ सैन्यवाद
जापानका दक्षिणपन्थी प्रधानमन्त्री ताकाइचीले पछिल्लो समय दिएको एउटा अभिव्यक्तिले चिनियाँ जनताको घाउको पाप्रो उप्काउने काम गर्यो । उनले थाइवानको प्रश्न उठाउँदै थाइवान चीनको हुनु जापानको अस्तित्वमाथि खतराको रूपमा वर्णन गरिन् । थाइवान चीनको भूभाग हो भन्ने कुरा जापानले विगतमा धेरैपटक औपचारिकरूपमा स्वीकारिसकेको विषय हो । तथापि, अहिले थाइवान र चीनलाई अलग भूभागको रूपमा व्याख्या गर्दै जापानी प्रधानमन्त्रीले दिएको अभिव्यक्तिलाई चिनियाँहरूले जापानमा ब्युँतिँदैै गरेको सैन्यवादको सङ्केतको रूपमा बुझेका छन् । उनको भनाइ जापानी संविधानको मूल मर्मविपरीत फेरि पनि जापान दोस्रो विश्वयुद्धभन्दा अघिको अवस्थामा फर्किन खोजिरहेको लक्षण हो भन्ने मान्न बाध्य छन् ।

जापानी प्रधानमन्त्री ताकायिची
जापानी दक्षिणपन्थका प्रतिनिधि ताकाइचीको अभिव्यक्तिप्रति चीनले औपचारिक खेदमात्र जनाएन, बरु उनको अभिव्यक्तिविरुद्ध जापान जाने सयौँ सङ्ख्यामा विमानहरूले उडान रोके । लाखौँ सङ्ख्यामा जापानको यात्रामा निस्कने तयारीमा रहेका चिनियाँहरूले भ्रमण रद्द गरे । यसले जापानी अर्थतन्त्रमा ठुलो धक्का पुग्यो । फलतः जापानभित्रै प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति फिर्ता लिनुपर्ने माग उठ्यो । विश्व युद्धपूर्वको जापानी साम्राज्यवादप्रति गौरव गर्ने जापानीहरूले चीनलाई युद्धपूर्वकै चीनको रूपमा हेर्ने गल्ती गर्दै छन् । तर, समयले कोल्टे फेरिसकेको छ । चीनसँगको द्वन्द्व बढे जापानले भोग्ने आर्थिक क्षति आज जापानले झेल्न सक्ने अवस्था छैन । जापान र चीनको द्वन्द्व बढे फेरि पनि पूर्वी एसिया अर्को दावानलमा फस्ने पक्का छ ।
नानकिङ नरसंहार र टुकडी ७३१ का युद्ध अपराधलाई भविष्यमा कहिलेकाहीँ पनि नदोहोरियोस् भन्ने कामना नै जापानी शासकहरूको लागि हितकारी हुनसक्छ ।