
४ फागुन, काठमाडौँ
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष एवं वरिष्ठ राजनीतिज्ञ नारायणमान बिजुक्छेँ (रोहित) ले पार्टीको घोषणापत्र एक विशेष समारोहबिच शङ्खमूल काठमाडौँमा आइतबार सार्वजनिकीकरण गर्नुभयो ।
‘देश र जनताको निःस्वार्थ सेवा गरौँ, समाजवादी प्रचार अभियानलाई अगाडि बढाऔँ’ भन्ने उद्घोषका साथ प्रतिनिधिसभा निर्वाचन घोषणापत्र २०८२ सार्वजनिकीकरण गरिएको थियो ।
निर्वाचन जनतालाई राजनीतिक र सैद्धान्तिकरूपले सचेत र सङ्गठित गर्ने एक भरपर्दो अवसर भएको उल्लेख गर्दै अध्यक्ष रोहितले नेमकिपा देश र जनताको हितमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गर्छ भन्नुभयो ।
संसद्ले विधेयक पारित गरी ऐन–कानुन र नीति निर्माण गर्ने उल्लेख गर्दै अध्यक्ष रोहितले भन्नुभयो, “पार्टीले क्रान्तिकारी संसद्वादलाई व्यवहारमा लागू गर्छ ।”
प्रजातन्त्र सत्तामा बस्ने पार्टीहरूको मनपरीतन्त्र होइन; शासक पार्टीका मुठीभर नेताहरू पालैपालो प्रधानमन्त्री हुने व्यवस्था पनि होइन भन्दै उहाँले दलको घोषणापत्र अध्ययन नगरी आँखा चिम्लेर अन्ध समर्थन गरेर मतदान गरेमा जनताले थप दुःख पाउने विचार व्यक्त गर्नुभयो ।
घोषणापत्र या प्रतिबद्धता लागू नगर्ने दललाई मतदान गर्न नहुने उल्लेख गर्दै अध्यक्ष बिजुक्छेँले भन्नुभयो, “जनताको अमूल्य मत पद र पैसामा नभुली देश र जनताको इमानदारी र निःस्वार्थपूर्वक सेवा गर्दै आएको पार्टीलाई दिनुपर्छ ।”
प्रजातन्त्रमा कुनै पनि दलको आलोचना गर्न पाउने विचार व्यक्त गर्दै उहाँले हरेक सचेत राजनीतिक नेता तथा कार्यकर्ताले समाजवाद र कम्युनिस्ट विचारबारे जनतामाझ पु¥याएर सचेत र सङ्गठित गर्नुपर्छ भन्नुभयो ।
नेमकिपाले देश र जनताको दीर्घकालीन हितमा सदन र सडकमा सङ्घर्ष गर्दै आएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “पटक–पटक सरकारको नेतृत्व गरेका दलका प्रधानमन्त्रीहरूले बहुमत जनताको पक्षमा के गरे ? बहुमत प्राप्त सरकारको नाउँमा सरकारले जे पनि गर्न पाउँदैन । निर्वाचनमा पैसा खर्च गरेर जितेका दलका नेताहरूले पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउनेबाहेक देश र जनताको सेवा गरेनन् ।”
कार्यक्रममा विभिन्न सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको जवाफमा अध्यक्ष रोहितले सत्तासीन दलका नेताहरूले देश र जनताको सेवा नगरेकै कारण जनता आजित भएको उल्लेख गर्दै भन्नुभयो, “सरकारहरूले क्रान्तिकारी भूमिसुधार ल्याएनन् । व्यक्तित्व विकासमा समान अवसर प्रदान गरेनन् । योग्यताअनुसार काम र कामअनुसारको ज्यालाको बन्दोबस्त गरेनन् ।”
राजधानी काठमाडौँलाई सांस्कृतिक नगरको रूपमा विकास गर्नुपर्ने आवश्यकता औँल्याउँदै उहाँले देशको सन्तुलित विकास गर्नुपर्छ भन्नुभयो ।
निर्वाचित जनप्रतिनिधिहरू आ–आफ्नै जिल्लामा बसेर जनताको सेवा गर्नुपर्नेमा जोड दिँदै अध्यक्ष रोहितले आ–आफ्नै जिल्लामा बसेर असल काम गरे जनताकै हित हुन्छ भन्नुभयो ।
जेनजी आन्दोलन थालेको भ्रष्टाचारविरोधी आन्दोलन सही भए पनि देशको सम्पत्ति जलाउने काम ठीक नभएको स्पष्ट पार्दै उहाँले भन्नुभयो, “संरा अमेरिका बढी भ्रष्टाचार हुने देश हो । त्यहाँका मानिसहरू अन्धविश्वासी छन् । देशका व्यापक जनता अशिक्षित, असङ्गठित र अचेतित भएको हुँदा सही दलका उम्मेदवारलाई छान्न सकेनन् । समाज परिवर्तन गर्न समय लाग्छ ।”
नेमकिपाका सचिव प्रेम सुवालले सार्वजनिकीकरण गरिएको घोषणापत्रबारे जानकारी दिँदै पार्टीले स्थापनाकालदेखि किसान आन्दोलन, देशको सार्वभौमिकता रक्षा आन्दोलन र साम्राज्यवादविरोधी आन्दोलनको नेतृत्व गर्दै आएको बताउनुभयो ।
उहाँले भन्नुभयो, “प्रजातन्त्र सत्तामा बस्ने पार्टीहरूको मनपरीतन्त्र होइन, न त शासक पार्टीका मुठीभर नेताहरू पालैपालो प्रधानमन्त्री, उपप्रधानमन्त्री एवम् मन्त्री हुने व्यवस्था नै प्रजातन्त्र हो । प्रजातन्त्र एक जीवनपद्धति हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रमा पनि केही व्यक्ति धनी र असङ्ख्य जनता गरिब हुनेछन् ।”
“यो निर्वाचन पनि पुँजीवादी नै होे । पुँजीवादी पार्टीहरूले यो निर्वाचनमा पनि पद, पैसा, पशुबल र सत्ताको दुरूपयोग गर्नेछन् । यो निर्वाचनबाट पनि नेपाली जनताको सुन्दर भविष्यको निर्माण, नयाँ युगको सुरूआत, सुशासन र लोकतन्त्रको जीत हुन्छ भन्ने भ्रममा नेपाली जनता पर्नु हुँदैन । निर्वाचनमा नेमकिपाको पक्षमा धेरै मत प्राप्त हुनु आमूल परिवर्तनको लागि परिस्थिति परिपक्व हँुदै छ भन्ने सङ्केत हुनेछ । यसपटक पनि नेमकिपाले संसदमा प्रखर प्रतिपक्षीको भूमिका निर्वाह गरी देश र जनताको निःस्वार्थ सेवा गर्नेछ”, सचिव सुवालले भन्नुभयो ।
उहाँले भन्नुभयो, “संसद्को मुख्य काम र केन्द्र ‘प्रधानमन्त्री’ होइन बरू आवश्यक नीति र ऐनहरूको निर्माण गर्ने हो । संसद्लाई जनताको पिर मर्का हेर्ने, देशको रक्षा गर्ने, देशभक्तहरूको जीवन्त सदन बनाउन आवाज उठाउनेछ ।”
जन्मको आधारमा नेपाली नागरिकता पाएका विदेशीका छोराछोरीलाई वंशजको आधारमा नेपाली नागरिकता दिने कानुनी व्यवस्था खारेज गराउन र आमा–बुबा दुवै वंशजको नेपाली नागरिकका छोराछोरीमात्र वंशज नेपाली नागरिक हुने कानुनी व्यवस्थाको निम्ति सङ्घर्ष चालु राख्ने स्पष्ट पार्दै सचिव सुवालले भन्नुभयो, “नेमकिपाले देशको द्रुतत्तर विकास गर्न २०४८ सालदेखि दुर्गम क्षेत्रहरूमा रोपवे (रज्जुमार्ग), केबुल कार र सुरूङमार्ग, रेलमार्ग अवलम्बन गर्नुपर्नेबारे सरकारहरूको ध्यान आकर्षित गर्दै आएकोे हो ।”
भ्रष्टाचारीहरूको सम्पत्ति राष्ट्रियकरण र ठुला भ्रष्टाचारीलाई ज्यान सजायसमेत हुने कानुनी व्यवस्था बनाउन निरन्तर सङ्घर्षरत रहने सचिव सुवालले स्पष्ट गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य अनुराधा थापामगरले नेपाली जनता हो हल्ला र आश्वासनको राजनीतिमा नलागी देश र जनताको पक्षमा सङ्घर्षरत दल र दलका उम्मेदवारलाई मतदान गर्नुपर्नेमा जोड दिनुभयो ।
उहाँले मानव तस्कर, ठुलठुला भ्रष्टाचारी, अपराधीहरूलाई कडा कारबाही गर्नुपर्ने उल्लेख गर्दै कार्यक्रममा सहभागी सञ्चारकर्मी तथा जिल्ला जिल्लाबाट आएका कार्यकर्ता, प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
नेमकिपाका केन्द्रीय सदस्य सुरेन्द्रराज गोसाईले कार्यक्रमको आवश्यकताबारे चर्चा गर्दै राजनीतिक र वैचारिक सङ्घर्ष चालू रहने बताउनुभयो ।
निर्वाचन पनि समाजवादी गणतन्त्र प्रचार अभियान रहेको उल्लेख गर्दै उहाँले हिमाल, पहाड र तराईका गाउँ र नगरको बस्ती बस्तीमा रहेका जनताले इमानदारी र निःस्वार्थपूर्वक सेवा गर्ने दल र दलका उम्मेदवारलाई निर्वाचित गराउनुपर्नेमा जोड दिनुभयो ।
“निर्वाचनमा आश्वासनको पोको बाँड्ने होइन, व्यापक जनतालाई देश चिनाउनुपर्छ† नेमकिपा सदन र सडकमा देश र जनताको पक्षमा सङ्घर्षरत छ”, उहाँले भन्नुभयो ।
देशमा आर्थिक अनियमितता र लुट भइरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले देशभक्ति आन्दोलनको नेतृत्व गर्ने, भ्रष्टाचारविरोधी आन्दोलन छेड्ने, स्वतन्त्रता र सार्वभौमिकताको निम्ति लड्ने सच्चा कम्युनिस्ट नेमकिपालाई जनताले चिन्नुपर्ने आवश्यकता औल्याउँदै शासकहरूले इमानपूर्वक सेवा नगरेकै कारण देशमा सङ्कट आएको हो भन्नुभयो ।