इकुश्रे
हाम्रो शैक्षिक क्षेत्रमा अहिले उठिरहेको सबैभन्दा गम्भीर प्रश्न हो, “पढाइमा विद्यार्थीको रूचि किन छैन ?” यस प्रश्नको उत्तर खोज्दा हामी प्रायः विद्यालयलाई मात्र दोष लगाउँछौँ, तर विस्तृत अध्ययनले देखाउँछ – बालबालिकाको सिकाइमा अरूचि हुनु कुनै एक पक्षको गल्ती होइन – यो घर÷समाज, प्रविधि, संस्कार र युवा पुस्ताको रूचिको त्रिकोणात्मक असन्तुलनको जटिल परिणाम हो ।
सबैभन्दा पहिले कुरा आउँछ – बालकको घरायसी वातावरणको । अहिलेका अभिभावकहरू आफ्नो व्यस्त काम, आर्थिक दबाब र सामाजिक प्रतिस्पर्धाको कारण बच्चालाई, ‘मोबाइल’ लाई विकल्प शिक्षकजस्तै बनाएर दिन्छन् । रोएको छ भने मोबाइल दिने, खान मान्दैन – युट्युब खोलिदिने, चकचक गर्छ, गेम खेलाएर देखाइदिने गर्दा, अभिभावकलाई त तत्काल राहत दिन्छन् तर बालकको मानसिक विकासका लागि त्यसले विशाल क्षति गर्छ । मनोविज्ञान भन्छ—१२ वर्षभन्दा तलको बच्चाको मस्तिष्क निरन्तर परिवर्तनशील र संवेदनशील हुन्छ । स्क्रिनको अत्यधिक उत्तेजनाले उसको ध्यान–केन्द्रित क्षमता गम्भीर रूपमा घटाउँछ, जसले गर्दा कक्षामा बस्नै कठिन हुन्छ । यसरी, सिकाइको पहिलो आधार–ध्यान–घरमै खण्डित हुन पुग्छ ।
बच्चाको दिमागमा बसाइएको अर्को खतरनाक धारणा हो – ‘नपढे पनि पास त भइहालिन्छ नि ¤’ नेपालको पछिल्ला वर्षहरूमा लागू भएको ‘उदार उत्तरपुस्तिका परीक्षण’ नीति, ग्रेस मार्क, अभिभावकको दबाब, विद्यालयमा राम्रो नतिजा देखाउनुपर्ने प्रतिस्पर्धा – यी सबैले विद्यार्थीमा ‘प्रयास नगरे पनि परिणाम आउँछ’ भन्ने निष्क्रिय मानसिकता बनाइदिएका छन् । प्रयासविहीन सहजता र उपलब्धि सबैलाई मज्जा लाग्छ र जब पढाइ ‘चुनौती’ नभई ‘सजिलो’ बन्न थाल्छ तब सिकाइको गहिराइ पूर्णरूपमा हराउँछ । विडम्बना ! कतिपय समाजले पढेर पास हुने मेहनती विद्यार्थीलाई भन्दा नपढी पास हुने विद्यार्थीको दैनिकी सुन्न/जान्न रुचाउँछन् ।
यतिबेला बालबालिकामा बढ्दै गएको अर्को प्रवृत्ति हो – कसैलाई नमान्ने प्रवृत्ति । हिजोका अभिभावक र आजका अभिभावकबिचको एक ठुलो अन्तर – अघिल्लाहरूले शिक्षकको कठोरतामा पनि अर्थ हेर्थे, आजका धेरैजसोले शिक्षकको सामान्य टिप्पणीलाई पनि ‘अनावश्यक कठोरता’ ठान्छन् । फलस्वरूप, बच्चामा ‘मलाई कसैले केही गर्न सक्दैन’ भन्ने मानसिकता विकसित हुन थाल्छ । सिक्न उत्साहित गर्ने डर, अनुशासन र परिणाम – यी सिकाइका प्राथमिक शर्त हुन् । तर, जहाँ बालक न शिक्षकदेखि डराउँछ न अभिभावकले भनेको मान्छ, न गल्ती बोध गर्छ न दण्डको परिणाम बुझ्छ – त्यहाँ सिकाइ कसरी सम्भव हुन्छ ?
त्यसको अर्को पक्ष घरायसी जीवनसँग सम्बन्धित छ । अहिलेका धेरै परिवारहरूले बच्चालाई आफ्नो कठिन जीवनको सन्तुलनका रूपमा राखेर अत्यधिक माया र सुविधा दिन्छन् । ‘काम नगरोस्’, ‘कसैको दबाबमा नपरोस’्, ‘कुनै पनि कुरामा दुःख नपाओस्’, ‘आफूले जति कष्ट पाए पनि उसलाई त्यस्तो नहोस्’ भन्ने अति–संरक्षणले बच्चालाई जिम्मेवारीविहीन बनाउँछ । कुनै पनि कार्यमा सफलता पाउन परिश्रम गर्नुपर्छ, केही दुःख पाउनुपर्छ, धैर्य चाहिन्छ । यी सबै कुुरा सानैदेखि, जीवनका साना–साना जिम्मेवारीहरूबाट सिकिने हो । तर, बच्चाले न थाली उठाउँछ न कोठा बढार्छ न कपडा धुन्छ न कुनै पारिवारिक काममा सहभागी हुन्छ । उसलाई पढ्नुको निहुँ छ । ‘खेल्नुको काम’ छ । त्यस्तो बच्चाले कक्षाकोठामा ४०÷४५ मिनेट शान्त भएर बस्न र शिक्षकको निर्देशन पालना गर्नभन्दा अटेरी बन्न र ‘मनलाग्दो’ व्यवहार गर्न नै सहज मान्छ ।
अर्को रोचक यथार्थ – अभिभावकले बच्चालाई ‘असिम प्यार’ दिने क्रममा मागेजति पैसा दिन्छन् । उसले रोजेको मोबाइल÷कपडा÷विलासी सामान किनिदिन्छन् । पास भइस् भने म यो थोक किनिदिन्छु भन्छन् । अनि सोच्छन्, “मेरा छोराछोरी खुसी छन् ।” तर, खुसी र बिग्रिएको आत्मअनुशासनबिचको सिमाना धेरै पातलो हुन्छ । बच्चाले जब केही प्रयासै नगरी सबै कुरा सहज पाउँछ, त्यसपछि उसले कक्षामा २–३ पृष्ठ पढ्नुपर्ने पाठलाई पनि दण्डको रूपमा लिन्छ । मनोविज्ञान भन्छ, ‘अत्यधिक सुविधा’ ले सबैभन्दा पहिले ‘दायित्व’ मार्छ । दायित्वबोधबिना सिकाइ हुन सक्दैन ।
विद्यार्थीहरूको सिकाइ खस्किनुमा अर्को सामाजिक भ्रम गहिरोसँग जोडिएको छ – विदेश जाने मोह । आज नेपालका हजारौँ परिवारमा एउटै धारणा छ : “पढाइले होइन, विदेशले जीवन चल्छ ।” यही सोच बालकमा पनि बस्छ, “पढे पनि विदेश जाने, नपढे पनि विदेश जाने† त्यसैले किन नेपाली सिक्ने, किन विज्ञानमा ध्यान दिने ¤ बरु अहिलेदेखि अलि अलि गरेर भाषा सिक्दा राम्रो हुन्छ ।” यसले दुई गम्भीर परिणाम दिन्छ – पहिलो, विद्यार्थी आफ्नो वर्तमान सिकाइलाई अनावश्यक ठान्छ । दोस्रो, देशलाई ‘अस्थायी बसाइँ’ को रूपमा हेर्न थाल्छ । यस्तो भएपछि कक्षाकोठाको अर्थ गुम्छ । पाठ्यपुस्तक ‘भिसा प्रक्रिया’ का बिचको एउटा औपचारिकता जस्तै मात्र रहन्छ ।
विद्यार्थी र शिक्षकबिचको औपचारिक दूरी पनि अहिले निकै कमजोर भएको छ । ‘विद्यार्थीलाई छुन नपाइने’, ‘उनीहरूको चित्त दुख्ने कुरा नभन्ने’, ‘कडा बोल्यो भने उजुरी’, अति गरेको बेलामा ‘एक थप्पड हान्यो भने मुद्दा’ – ‘आधुनिक सिकाइ’ का यी बन्देजहरूले शिक्षकलाई भत्ीत बनाएका छन् । शिक्षकले विद्यार्थीलाई अनुशासनमा राख्न डराउनुपर्ने भएको छ । पाठ सोध्नु भएन । गृहकार्य किन नगरेको भन्नु भएन । त्यसले विद्यार्थीको चित्त दुख्छ ¤ यसरी सिकाइको वातावरण नै नष्ट भएर बालबालिकाले नियन्त्रणविहीन स्वतन्त्रता पाउँदै छन् । परिणाम – कक्षामा शिक्षक असहज, विद्यार्थी निर्बाध !
विद्यार्थीलाई प्रेरणा होस् भनेर विभिन्न असल/सफल व्यक्तिको जीवनी पढाइन्छ । जब शिक्षकले कुनै सफल व्यक्तिको सङ्घर्ष कथा सुनाउँछन्, विद्यार्थीको पहिलो प्रश्न हुनसक्छ – “उनी गरिब थिए, म किन कष्ट गर्छु ? म त विदेश गएर सजिलै कमाउँछु ।” यसले सिकाइको मूल अर्थ ‘सङ्घर्ष–सीप–सफलता’ लाई पैसाको तुलनामा कमजोर बनाइदिन्छ । प्रेरक पात्रबाट ‘कष्ट, सङ्घर्ष र अनुशासन’ सिक्नुपर्ने हो, तर आजका बालकले तिनको ‘आर्थिक अवस्था’ मा मात्र चासो राख्छन् ।
खानपानको विकृतिले पनि विद्यार्थीकै सिकाइमा प्रत्यक्ष असर पारिरहेको छ । अहिलेको पुस्ता जङ्क फुडमा अत्यधिक निर्भर छ । मीठो, मसिनो, चिल्लो, मिठाइ, प्याकेट फुड… । फल, गेडागुडी, परिकार र स्वस्थ खानामा भने ‘निरस’ मानिन्छ । जङ्क फुडले शरीरमा ऊर्जा दिन्छ जस्तो लाग्छ तर तिनले वास्तवमा ध्यान, स्मरणशक्ति र मानसिक स्थिरतालाई कमजोर बनाउने वैज्ञानिक प्रमाण धेरै छन् । यो अवस्थामा सिकाइले यथोचित परिणाम दिन सक्दैन ।
अन्त्यमा, शिक्षक पेसाप्रति समाजले देखाएको बेवास्ता, अभिव्यक्तिगत जोखिम र असुरक्षाले सिकाइमा प्रत्यक्ष असर पारिरहेको छ । शिक्षक कडाइ गर्न नसक्ने, कक्षा नियन्त्रण गर्न नसक्ने, अभिभावकले गाली गर्ने डर, सामाजिक सञ्जालमा भिडियो सार्ने प्रवृत्ति – यी सबैले शिक्षकलाई ‘सिकाउने’ होइन ‘बाँच्ने’ र ‘जागिर जोगाउने’ मोडमा धकेलिदिन्छन् । जति शिक्षक कमजोर, त्यति कक्षा कमजोर र जति कक्षा कमजोर, त्यति शिक्षा खस्किँदै जान्छ । शिक्षकको मनोबल हराउँदा शिक्षा ‘रूप मात्रको संरचना’मा सीमित रहन्छ ।
अब मूल प्रश्न :
माथि उल्लिखित विभिन्न कारणले विद्यार्थीले सिकेनन् । अब कसरी सिक्छन् त ?
शिक्षा कुनै जादू होइन† यो वातावरण, व्यवहार र मनोविज्ञानको समष्टिगत फल हो । यही कुरालाई हृदयङ्गम गर्दै समाधानका केही आधारभूत र अत्यन्त प्रभावकारी मार्गहरू यसप्रकार उल्लेख गर्न सकिन्छ :
पहिलो, परिवारले आफूलाई ‘माया दिने पक्षमात्र’ नभई ‘संयमित र जिम्मेवारी सिकाउने पहिलो विद्यालय’ ठान्नुपर्छ । मोबाइलको समय निर्धारण, काम बाँडफाँड, दायित्व, सीमित सुविधा, अनुशासन – यी बच्चामा आत्मनियन्त्रण र धैर्य निर्माण गर्ने मूल आधार हुन् ।
दोस्रो, विद्यालय र अभिभावकबिचको सहकार्य अनिवार्य छ । बच्चाको व्यवहार, सिकाइ र प्रविधिको प्रयोगसम्बन्धी स्पष्ट संयुक्त नीति बनाउनुपर्छ, जसमा विद्यालयले भनेको कुरा घरमा पनि मानिने होस् र घरले बनाएको सीमा विद्यालयमा पनि समान रूपमा लागु होस् ।
तेस्रो, विद्यार्थीमा ‘किन पढ्ने ?’ भन्ने उद्देश्य–केन्द्रित बुझाइ विकास गर्नुपर्छ । पाठ्यपुस्तक जीवनका समस्या समाधान गर्ने सीप हो भन्ने बोध गराइदिनु, सिकाइलाई आत्मनिर्भरता, चिन्तनशक्ति, व्यक्तित्व विकाससँग जोडिदिनु अत्यावश्यक छ ।
चौथो, अनुशासनलाई ‘डर’ होइन ‘मार्गदर्शन’ का रूपमा पुनर्परिभाषित गर्नुपर्छ । स्पष्ट, न्यायपूर्ण र समान व्यवहारले मात्र विद्यार्थीले ‘दायित्व’ बुझ्छ । अनुशासनविहीन स्वतन्त्रता शिक्षा होइन, बिग्रिएको ‘उन्मुक्ति’ हो ।
पाँचौँ, मोबाइललाई पूर्ण रूपमा हटाउने होइन, सकारात्मक उपयोगमा मोड्ने नीति आवश्यक छ । सिकाइ एप, समय अनुशासन, डिजिटल सामग्रीको छनोट – यी आधुनिक युगमा अनिवार्य छन् ।
छैटौँ, स्वास्थ्य, खानपान र मानसिक सन्तुलनलाई शिक्षाको एक महत्वपूर्ण भाग बनाउनुपर्छ । शरीर स्वस्थ भएन भने मन स्वस्थ हुँदैन र मन स्वस्थ नभए पढाइ सम्भव हुँदैन ।
सातौँ, शिक्षकको सुरक्षा, सम्मान र मनोबल पुनःस्थापित गर्नु सबैभन्दा महत्वपूर्ण पक्ष हो । शिक्षक सुरक्षित भए भने मात्र उनले प्रभावकारी कक्षा सञ्चालन गर्न सक्छन् । शिक्षक सम्मानित भए भनेमात्र विद्यार्थीले अनुशासन सिक्न सक्छन् । समाजले शिक्षकलाई ‘सरोकारविहीन कामदार’ होइन, ‘राष्ट्र निर्माणकर्ता’ को रूपमा हेर्नुपर्छ ।
निष्कर्ष
विद्यार्थीले किन सिकेनन् भनेर सोध्दा हामीलाई धेरैजसो समस्या बाहिर देखिन्छ – मोबाइल, जङ्क फुड, विदेशी मोह, अनुशासनहीनता, शिक्षकप्रतिको बेवास्ता…। तर, मूल समस्या हो – सिकाइका लागि आवश्यक वातावरण परिवार, समाज र विद्यालय । यी तीनै तह विखण्डित अवस्थामा छ । जबसम्म यो तीनै तह एकमत, समन्वित र व्यवस्थित हुँदैनन् तबसम्म कुनै पाठ्यक्रम, कुनै प्रशिक्षण र कुनै सुधारले पनि गहिरो परिवर्तन ल्याउन सक्दैन ।
शिक्षा संस्थान होइन, साँच्चिकै संस्कार हो । संस्कार परिवारले दिन्छ, विद्यालयले विकसित गर्छ र समाजले संरक्षण गर्छ । यदि यी तीनै हात मिलाउन सके, हाम्रा विद्यार्थीले सिक्छन्, बुझ्छन् र सक्षम नागरिक बन्छन् ।