
२७ माघ, काठमाडौं/अर्जुन बहादुर तामाङ्ग
आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठान ,एनएफडिनको आयोजनामा आइतबारदेखि मंगलबारसम्म भएको तीन दिने नेपाल आदिवासी ज्ञान सम्मेलन सम्पन्न भएको छ ।
“ज्ञानको साझा, सम्पदाको संरक्षण, भविष्यको निर्माण अथावा ज्ञान बाँडफाँड, सम्पदा संरक्षण, भविष्य निर्माण” भन्ने मूल नारासहित आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानको रजत जयन्तीको अवसरमा काठमाडौंस्थित राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिका, एफएओ, डब्ल्यूडब्ल्यूको सहकार्यमा कार्यक्रम सम्पन्न भएको हो ।
नेपालका आदिवासी जनजातिको मौलिक ज्ञान, संस्कृति, परम्परा र पहिचानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा उजागर गर्न विभिन्न चरणमा देशका विभिन्न क्षेत्रबाट सहभागी र प्रतिनिधित्वहरुसँग बहस ,खाना महोत्सव र ८१ वटा कार्यपत्र प्रस्तुतिकरण भएको थियो ।आदिवासी ज्ञान सम्मेलनको उद्घाटन राष्ट्रपति रामचन्द्र पौडेलले गरेका थिए भने समापनमा अर्थमन्त्री रामेश्वरप्रसाद खनाल पुगेका थिए ।
ज्ञान सम्मेलनमा डा।गणेश योञ्जनले जलवायु परिर्वतन र आदिवासी ज्ञान, नवीन सुब्बाले आदिवासी सिनेमा, लोकनाबा र सौन्दर्यशास्त्र, डा। सुमाया राईले आदिवासी महिलाको अवस्था र अनुभवका बारेमा सहजीकरण गरेका थिए ।
नेपालमा जलवायु उत्थानशीलता निर्माणमा आदिवासी ज्ञानको कार्यपत्र सुशीला थापाले प्रस्तुत गरेकी थिइन् । आदिवासी ज्ञान प्रणालीमार्फत जंगल संरक्षणः चेपाङको अध्ययनबारे ऋषिराम अधिकारीले कार्यपत्र प्रस्तुत गरेका थिए । याकथुङ समुदायमा पहाको महत्वको अन्वेषणबारे विवेक गौतमले कार्यपत्र प्रस्तुत गरेका थिए । वाम्बुले राईहरूबीच शासन र आदिवासी पर्यावरणबाट जलवायु परिवर्तनको स्थानीय बुझाइबारे कार्यपत्र शुभा कर्ण राईले प्रस्तुत गरेकी थिइन् ।
आदिवासी सिनेमा, लोकनाथा र सौन्दर्यशास्त्रको विषयमा आदिवासी भाषा र संस्कृतिमा आधारित नेपाली सिनेमाको विषयमा युवराज मास्कीले कार्यपत्र प्रस्तुत गरेका थिए । पापनी लोक नाटक : पश्चिम रुकुमको मगर समुदायमा एक जातीय अध्ययनबारे प्रवीण पूर्णले कार्यपत्र प्रस्तुत गरेका थिए ।आदिवासी सौन्दर्यशास्त्रको कसीमा लोकगीतिनाटक जीवैमामाबारे डा। मिन श्रीसले कार्यपत्र प्रस्तुत गरेका थिए ।
‘ज्होजो’ (पेवा) प्रणाली तामाङ महिलाको भविष्यको आर्थिक सुरक्षा र आत्मनिर्भरताबारे मायालु तामाङले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । आदिवासी दनुवार समुदाय : प्रथागत संस्थाहरू, ज्ञान, र आदिवासी महिलाको अनुभव लिङ्ग आधारित हिंसाबारे हिमा राईले कार्यपत्र प्रस्तुत गरेकी थिइन् । मगर संस्कृतिमा मगर महिलाको हैसियतबारे डा।विष्णुकुमार सिजालीले कार्यपत्र प्रस्तुत गरेका थिए । आदिवासी जनताको अधिकार, र उत्थानशील खाद्य प्रणालीः नेपालमा एफएओ संलग्नता र समुदाय नेतृत्व हस्तक्षेपको विषयमा सुशीला थापाले ज्ञान बाडेकी थिइन् ।
आदिवासी महिला र परम्परा, आदिवासी सिकाइ र शिक्षाका चुनौतिहरु,परम्परागत संस्थाहरू र स्वशासन पद्धति विषयमा नेपाल पर्यटन बोर्डको हलमा डा।चुन्दा बज्राचार्य,प्रा।चित्र बहादुर बुढाथोकी,डा। पासाङ शेर्पाले सहजिकरण गरेका थिए । सरिता राईले किरात राई महिलामा प्रचलित मौलिक गरगहना ,किशोर गुरुङले धरानका विभिन्न शैक्षिक संस्थामा गुरुङ समुदायको उच्च शिक्षामा सहभागिता, एक राज चौधरीले नेपालमा थारु प्रथाजन्य संस्थाको अवस्था, अवसर र चुनौतीहरु ,इन्दु थारुले टिका छेड्नाः थारु ट्याटु संस्कृतिको प्रतीकवाद, अभ्यास, र पतनको अन्वेषण, निर्मल चोङ्गबाङले सोलुखुम्बु जिल्लामा गुणस्तरीय शिक्षामा योगदान पुर्याउने सामुदायिक सामाजिक सहयोग अभ्यास ,दिपेन्द्र लामाले मनाङ–ङिस्याङ उपत्यकाको हिमाली आदिवासी समुदायमा क्षेत्रीय र भूमि सार्वभौमिकता कायम जस्ता विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
नेपाल पर्यटन बोर्डको हल बीमा अभ्यासमा आदिवासी ज्ञान चेपाङ, महिलाहरूको एक केस स्टडीमा भोला भट्टराई, आदिवासी अधिकारको जगको रूपमा आदिवासी ज्ञानः किरात ब्रह्माण्ड विज्ञानमा ज्ञानशास्त्रीय र शैक्षिक आयामहरू कौशिला राईले आफ्नो प्रस्तुतिकरण गरेका थिए । मधुकर नेवारको मिला गुठीको एक एथनोग्राफिक अध्ययनस् यसको प्रथागत र पारस्परिकमा अस्ता के। श्रेष्ठ, नेवास् महिलाहरूले बोक्ने मसीस् ला छोएगुमा अकिना सिंह सुवाल, विद्यालयका किशोर किशोरीहरूमा यौन शिक्षा सम्बन्धी ज्ञान र धारणामा रुथ तामाङ, तामाङ विद्यार्थीहरूले अंग्रेजी सिक्नमा सामना गरेका चुनौतीहरूमा दावा लामा, घुमन्ते–फिरन्ते राउटे समुदायको वर्तमान अवस्था अध्ययन प्रतिवेदन–२०८२ मा राष्ट्रिय मानव अधिकार आयोगका किरण कुमार बरामले आफ्नो प्रस्तुतिकरण गरेका थिए । तुम्याङः मेलमिलाप पद्धतिः लिम्बु समुदायमा प्रथाजनित मेलमिलाप पद्धतिमा कालिबहादुर साम्यु लिम्बु, र आदिवासी ज्ञानशास्त्र नैतिक नेतृत्वमाः मुस्ताङका थकाली समुदायका बिपिन शेरचनले आफ्नो प्रस्तुतिकरण गरेका थिए ।
एनएफडिनको उपाध्यक्ष रेशम गुरुङले समापन कार्यक्रममा ज्ञान सम्मेलन निकै उपलब्धीमूलक रहेको बताए । उनले आदिवासी प्रणालीमा यो ज्ञान सम्मेलनले आदिवासीको छलफलमा सार्थक विमर्श भएकोे बताए
उनले भने,‘भावी पुस्ताका लागि प्रस्तुत कार्यपत्र प्रकाशन सरकारसमक्ष प्रतिवेदन बनाएर पेश गरिनेछ ।सहभागीहरु उल्लेख्य उपस्थिति ऐतिहासिक भएको छ । विभिन्न स्वदेश र विदेशबाट जम्मा भएका सम्पूर्णलाई धन्यवाद ।’ मूलुकलाई परिवर्तन गर्न आफैबाट सुरु गर्नुपर्ने उनले बताए । उनले भने,‘सरकारको नजिक रहेर काम गरेको यो प्रतिष्ठानमा ११ करोडको बजेटमा छौँ । समावेशी भवन निमार्ण भएको छ । ’ उनले प्रस्तुत कार्यपत्र सरकारसमक्ष पेश गरी आदिवासीको उत्थान गर्न पहल गर्ने प्रतिबद्धता जनाए ।
सांस्कृतिक प्रदर्शनमा सुनुवारको श्याँदर सिल–नृत्य,भोटे समुदायको स्याप्रो नृत्य,गुरुङको सोरठ्ठी ,तामाङको डम्फु सेलो,राजवंशीको मौलिक नृत्य,मगरको कौराह नाच प्रदर्शन गरिएको थियो । महोत्सवमा थकाली ,राई ,नेवारी ,शेर्पा ,थारु आदिवासीको मौलिक परिकारमा पस्किएको थियो ।