
(माध्यमिक शिक्षा परीक्षा) को नतिजा सार्वजनिक ग¥यो । परीक्षार्थीहरूमध्ये ६१.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भए । गत वर्ष ४८ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका थिए । यस वर्ष धेरै विद्यार्थी उत्तीर्ण भएकोमा विद्यालयका शिक्षकहरू, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू खुसी हुने नै भए । त्योभन्दा बढी विद्यार्थीहरू र अभिभावकहरू खुसी छन् । यतिबेला विद्यालयहरूमा बधाई तथा मार्गनिर्देशन कार्यक्रमहरू धमाधम भइरहेका छन् । यो राम्रो कुरा हो ।
एसईई एउटा पढाइको चरणमात्र हो । यसमा धेरै जीपीए प्राप्त भयो भनेर अति उत्साहित हुनु जरुरी छैन । यसभन्दा अघि विद्यार्थीहरूले पार गर्नुपर्ने धेरै चरणहरू बाँकी छन् । त्यसको लागि आजैदेखि तयारी गर्नुपर्दछ । अहिले जीवनको लक्ष्य निर्धारण गर्ने अत्यन्त महत्वपूर्ण समय हो । क्षणिक गल्तीले जीवनभर पछुताउनुपर्ने हुन सक्छ ।
कुन विषय पढ्ने ? कहाँ पढ्ने ? भन्नेबारे सोचेर निर्णय गर्नुपर्ने अवस्था हो यो । व्यक्तिगत क्षमता र चाहना, अभिभावकहरूको आर्थिक हैसियत, देशको भविष्यसमेतको अध्ययन गरी विषय चयन गरेको खण्डमा भविष्यमा पछुताउनुपर्ने छैन । आफ्नो इच्छा र चाहना एकातिर राखेर बुबा आमाहरूको सपना पूरा गर्नेतर्फ लाग्यो भने त्यहाँ समस्या हुन सक्छ । अभिभावकहरूको आर्थिक अवस्था र विद्यार्थीको क्षमता कमजोर छ भने त्यस्ता विद्यार्थीहरूले चिकित्सक वा वैज्ञानिक बन्ने इच्छा राखेर मात्र हुँदैन । क्षमताअनुसार इच्छाएकोे विषय रोज्योे भने कुनै पनि विद्यार्थी भविष्यमा निराश हुनुपर्ने छैन ।
राम्रो अध्ययन गर्नेहरूको लागि कुनै पनि विषय नराम्रो छैन । सबै विषय उत्तिकै आवश्यक र महत्वपूर्ण छन् । मानविकी, व्यवस्थापन, विज्ञान वा अन्य जुनसुकै विषय लिएर अध्ययन गरे पनि गहिरो अध्ययन गरी विशेषज्ञ बन्ने प्रयत्न गर्नुपर्छ । देश र जनताको सेवा गर्ने उद्देश्य राख्नुपर्छ । नेपालमा विश्वविद्यालयको प्रमाणपत्र बोकेका धेरै जनशक्ति छन् तर देश र जनताको इमानदारीपूर्वक सेवा गर्ने भावना भएका क्षमतावान विशेषज्ञहरूको अभाव छ । हालै त्रिभुवन विश्वविद्यालयले प्राध्यापक पेशाको लागि परीक्षा लिएकोमा आवश्यक सङ्ख्यामा उत्तीर्ण नभएको समाचार यसको ज्वलन्त उदाहरण हो ।
अभिभावकहरूले पनि छोराछोरीको इच्छाविपरीत आफ्नो परिवारको ‘इज्जत’, ‘प्रतिष्ठा’ बढाउने नाउँमा कुनै विषय पढ्न दबाब दिनु हुन्न । त्यसले भर्खरका युवा मस्तिष्कमा नराम्रो छाप पर्न सक्छ । उदाहरणका लागि २०६२÷६३ तिर भक्तपुरको प्रतिष्ठित विद्यालयमा अध्ययनरत एक विद्यार्थीलाई लिन सकिन्छ । त्यतिबेला उनी एसएलसीमा विशिष्ट श्रेणीमा उत्तीर्ण भए । विद्यार्थीको चाहना थियो एक राम्रो साहित्यकार बन्ने । आमा बुबा छोरालाई राम्रो डाक्टर बनाउन चाहन्थे । विद्यार्थी र अभिभावकको चाहनाबिचको द्वन्द्वमा विद्यार्थीको केही लागेन । आफ्नो इच्छालाई त्यागेर अभिभावकको चाहनामा चिकित्सा पढ्न विदेश गए । उनका साथीहरूका अनुसार विद्यार्थीले राम्रो पढ्न चाहेनन् । परीक्षामा लापरबाही गर्ने, परीक्षा नै नदिने, सधँै मौन बस्नेजस्ता व्यवहार देखाउने गर्थे । सँगै पढेका साथीहरू एमबीबीएस पास गरी केही वर्ष काम गरेर विशेषज्ञ बनेको पनि वर्षौं भइसक्यो । उनले मेडिकल अफिसर भर्खर उत्तीर्ण गरे र अझै काउन्सिलबाट प्रमाणपत्र पाउन सकेका छैनन् । उनको भनाइ छ, ‘डाक्टर मेरो बुबा आमाको लागि बन्ने हो । मैले किन पढ्ने ?’ हरेक अभिभावकहरूले यो कुरालाई ध्यान दिनुपर्छ ।
कक्षा ११ भनेको भविष्यमा आफ्नो शैक्षिक गन्तव्यको लागि एक खुड्किलो भएकोले विषय चयन गर्दा आफू अध्ययनरत विद्यालयमा आफ्नो चाहनाअनुसारको विषय भए प्राथमिकता त्यही विद्यालयलाई दिनु राम्रो हो । विद्यार्थीको आनीबानी, क्षमता र चाहना त्यहीका शिक्षकहरूले राम्रो बुझेका हुन्छन् । शिक्षकहरू जहिले पनि आफ्ना विद्यार्थीहरू राम्रो भएको चाहन्छन् । त्यहाँ नभएको अवस्थामा मात्र नजिकका अन्य विद्यालय रोज्नु राम्रो हुनेछ ।
सधँै एउटै विद्यालयमा किन पढ्ने भनी अन्य विद्यालयमा जान उक्साउनेहरू पनि हुन्छन् । निजी विद्यालय र कलेजबाट कमिशन खाएर विद्यार्थी बेच्ने शिक्षक र प्राध्यापकहरू पनि नभएका होइनन् । अझ कतिले त विदेशी विद्यालय र कलेजहरूमा पढ्न वा विदेशमै गएर पढ्न पनि सल्लाह दिन्छन् । त्यस्ता शिक्षक वा प्राध्यापकहरू रूपमा शिक्षक भए पनि सारमा म्यानपावर कम्पनीका दलालहरू हुन् भनी बुझ्नुपर्छ । त्यस्ता मान्छेहरूबाट विद्यार्थी र अभिभावकहरू सधँै सचेत हुनुपर्छ ।
अहिले ११ र १२ कक्षा सञ्चालन गर्ने निजी विद्यालय र कलेजहरू चाउचाउ, कोकाकोलाजस्ता स्वास्थ्यको लागि हानीकारक वस्तुको झिलिमिली विज्ञापन गरेझैँ विज्ञापन गर्दै छन् । ती निजी विद्यालय कलेजहरू सेवा गर्न होइन नाफा कमाउन खोलिएका व्यापारिक संस्थाहरू हुन् । त्यस्ताको झिलिमिली विज्ञापनको पछि लाग्यो भने विद्यार्थीबाट उनीहरूले मासिक हजारौँ रुपैयाँ शुल्क र वार्षिक लाखौँ रुपैयाँ उठाउने गर्छन् । ती व्यापारको लागि खोलिएका शैक्षिक संस्थाहरूबाट जोगिनु पनि त्यत्तिकै आवश्यक छ ।
कानुन किन पढ्ने ?
हरेक विषयको अध्ययन त्यत्तिकै महत्वपूर्ण हुँदाहुँदै कानुनमा रुचि राख्ने विद्यार्थीहरूका लागि कानुन अध्ययन र औचित्यका बारेमा केही कुराहरू यहाँ उल्लेख गर्नु सान्दर्भिक देखिन्छ ।
डा. अशोकानन्द मिश्र धेरैको निम्ति परिचित नाउँ हो । उहाँ एक प्रतिष्ठित चिकित्सक हुनुहुन्छ । भक्तपुर अस्पताल, वीर अस्पताल, राजविराज अस्पताललगायतमा लामो समयसम्म बिरामीको सेवा गरेर अहिले अवकाशको जीवन व्यतित गर्दै हुनुहुन्छ । उहाँले करिब ७० वर्षको उमेरमा कानुनमा स्नातक गर्नुभयो । एउटा प्रसङ्गमा कानुन पढ्नुको रहस्यबारे जिज्ञासा राख्दा उहाँले भन्नुभयो, “उपचारको क्रममा केही भयो कि बिचौलियाहरूले मुद्दा हालेर हैरान गर्छन् । उनीहरूकै कारण धेरै रुपैयाँ खर्च गर्नुपथ्र्यो । आफै वकिल बन्यो भने त त्यो तन्तै साफ !”
हो, केवल वकिल वा न्यायाधीश बन्नका लागि मात्रै होइन चिकित्सक, इन्जिनियर, प्रशासक सबैको लागि त्यत्तिकै आवश्यक विषय हो । अहिले अख्तियारले धेरै भ्रष्टाचारसम्बन्धी मुद्दा चलाएको छ । अधिकांश मुद्दामा इन्जिनियरहरू फसेका देखिन्छन् । एउटा समाचार छापियो, “अख्तियारको कोठामा इन्जिनियरहरू राख्ने ठाउँ छैन ।” अख्तियारले मुद्दा चलाउँदैमा सबै भ्रष्टाचारी नै हुन्छन् भने होइन । कतिपय पदाधिकारीहरू कानुनको राम्रो जानकारी नहुँदा इमानदार भएर पनि विभिन्न अनियमिततामा फसेका हुन सक्छन् ।
त्यस्तै मेडिकल क्षेत्रका केही उदाहरणहरू हेरौँ ! २०७९ साल माघ महिनामा गङ्गा गौतमले आफ्नी २८ महिने छोरीको उपचारको लागि ज्ञानेश्वरस्थित हिमाल अस्पताल, त्यसपछि कान्ति अस्पताल र पछि मेट्रो अस्पतालमा लगिन् र त्यहीँ बच्चाको मृत्यु भयो । अभिभावकले चिकित्सक र अस्पतालविरुद्ध मुद्दा दर्ता ग¥यो । यही असार १२ गते उपभोक्ता अदालतले १ करोड ४५ लाख क्षतिपूर्ति दिनुपर्ने फैसला ग¥यो ।
त्यस्तै वर्षा भण्डारीले ग्राण्डी अस्पतालमा दुई पटक सर्जरी गर्दा पनि निको नभएको भनी अस्पताल र चिकित्सकविरुद्ध उपभोक्ता अदालतमा उजुरी दिएकोमा अदालतले ५७ लाख ५१ हजार क्षतिपूर्ति भराउने निर्णय ग¥यो ।
ओम अस्पतालको घटनामा पनि त्यस्तै भयो । वसन्त गौतम नामको १ बिरामीको तर्फबाट उपभोक्ता अदालतमा उजुरी दिएकोमा ५० लाख क्षतिपूर्ति तिराउने फैसला ग¥यो । (२० असार अनलाइन खबर) यस्ता थुप्रै घटनाहरू छन् ।
फैसला कति ठीक र कति बेठिक आफ्नो ठाउँमा छ । तर, उपभोक्ता कानुनले चिकित्सक, इन्जिनियर, व्यापारी, व्यवसायी, कारखाना मालिक सबैलाई दण्ड सजाय गर्न सक्छ भन्नेबारे सबैले जानकारी राख्नु आवश्यक छ । नत्र आफ्नो सानो लापरबाहीले पनि करोडौं क्षतिपूर्ति तिर्नुपर्ने अवस्था आउन सक्छ । हरेक पेशा व्यवसायीहरूले ध्यान दिनुपर्छ ।
उपभोक्ता अदालतको निर्णयविरुद्ध चिकित्सकहरूले आन्दोलन गर्ने घोषणा गरेको छ । लापरबाही गर्ने हरेक व्यक्ति दण्डको भागी बन्नुपर्छ । औषधीको कारण वा अन्य कुनै किसिमको प्रमाणित तथ्यको आधारमा सजाय हुनुपर्छ । कुनै पनि चिकित्सकले बिरामीको स्वास्थ्यको अहित गर्ने मनसायले उपचार गर्दैन । त्यसरी क्षतिपूर्तिको तरबार टाउको माथि राखेर चिकित्सकहरूले राम्रो उपचार गर्न सक्दैनन् । यसबारे न्यायमूर्तिहरूले पनि ध्यान दिनु आवश्यक छ । एक जना राम्रो चिकित्सक बन्न निजी कलेजमा पढ्नु परेमा करोड बढी खर्च लाग्छ । ऋण तिरी नसक्दै फेरि त्यस्तै प¥यो भने चिकित्सकहरूले आत्महत्या गर्नुपर्ने दिन नआउला भन्न सकिन्न । चिकित्सकहरू विदेश पलायनलाई यसले थप टेवा पु¥याउनेछ ।
भक्तपुरमा किन पढ्ने ?
भक्तपुर नगरपालिकाको एसईईको परिणाम विगतको तुलनामा यो वर्ष राम्रो छ । ६० वटा विद्यालय एसईईको परीक्षा दिनेहरूमध्ये १९ वटा विद्यालयबाट शत प्रतिशत उत्तीर्ण गर्न सफल भए भने ९०—९९ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्ने विद्यालयहरू २१ वटा छन् । ८० प्रतिशतमाथि ८ वटा विद्यालयहरू छन् । कूल २४१० परीक्षार्थीहरूमध्ये २१६६ उत्तीर्ण भए । यो सहभागी विद्यार्थीमध्ये ८९.८८ प्रतिशत हो । देशभरको औसत उत्तीर्ण प्रतिशतभन्दा निकै राम्रो परिणाम हो ।
भक्तपुर नगरपालिकाले ख्वप मावि सञ्चालन गरिरहेको छ । त्यहाँ विज्ञान, व्यवस्थापन, मानविकी, शिक्षा, कानुनलगायतको विषय पढाइ हुन्छ । सस्तो र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको त्यस विद्यालयमा गरिब तथा जेहनदार विद्यार्थीहरूका लागि प्रशस्त छात्रवृत्तिको व्यवस्था छ । वागीश्वरी, आदर्श आजाद, श्री पद्म, बासु, विद्यार्थी निकेतन, शारदा मावि. लगायतमा पनि कक्षा ११ र १२ को पढाइ हुन्छ ।
भक्तपुर नपाले कक्षा ११ र १२ मात्र होइन, स्नातक र स्नातकोत्तर सम्म पनि पढाउँदै छ । अझ इतिहास, भूगोल, राजनीतिशास्त्र, अर्थशास्त्र, दर्शनशास्त्र, नेपालभाषालगायत पढ्न चाहने नगरबासी विद्यार्थीहरूलाई विद्यावारिधिसम्म छात्रवृत्तिको व्यवस्था गरेको छ । विज्ञान, इन्जिनियरिङ र कानुन विषय पढ्नेहरूका लागि स्नातक र स्नातकोत्तरसम्म पनि पढाइरहेको छ । नगरबासी गरिब परिवारका विद्यार्थीहरूका लागि शैक्षिक ऋण पनि प्रदान गरिरहेको छ ।
ज्ञानविज्ञानको केन्द्र बनाउने उद्देश्यले शिक्षामा जोड दिइरहेको भक्तपुर नगर अहिले देशभरिको शैक्षिक गन्तव्यको रूपमा विकास हुँदै छ । समयको बचत, कम शुल्कमा गुणस्तरीय शिक्षा, गरिब तथा जेहनदार विद्यार्थीको लागि वर्षको करोडौँको छात्रवृत्तिको व्यवस्था भएकैले भक्तपुरमा उच्च शिक्षा पढ्ने विद्यार्थीहरूको आकर्षण बढ्दै गएको हो ।