हामी समाजवादीहरू अर्को संसार सम्भव छ भन्छौँ । किन ?
दुई विषयबाट यसको उत्तर पत्ता लगाउन सकिन्छ । पहिलो, पुँजीवादको समस्या र सङ्कट । दोस्रो, मानव जातिमा अन्तर्निहित मूल गुणहरू । लेखमा यिनै तत्वबारे चर्चा गरिनेछ । त्यसपछि लेनिनको सान्दर्भिकताबारे अलिकति टिप्पणी गरिनेछ । हामी कसरी सङ्गठित हुनुपर्छ ? अन्त्यमा यस प्रश्नमा लेनिनले देखाउनुभएको बाटोबारे चर्चा गरिनेछ ।
सुरुमा क्रान्तिकारी परिवर्तनको सम्भावनाबारे चर्चा गरौँ । म संरा अमेरिकाको नागरिक हुँ । मेरो जीवनभरि यो विश्व पँुजीवादको केन्द्र रह्यो । कसैकसैले यसलाई ‘राक्षसको पेट’ पनि भन्ने गर्छन् । यो प्रणाली अहिले सङ्कटको दलदलमा फस्दै छ । यसको अर्थ अहिले झन् बढी मान्छेहरू समस्याको भासमा जाकिँदै छन् । दिनप्रतिदिन समाचारमा सङ्कटकै चर्चा हुन्छ । खासमा भइरहेको के हो ? हामीले बुझ्नुपर्छ ।
हाम्रो दैनिक जीवनको पृष्ठभागमा सधैँ केही न केही भइरहेको छ । तर, अहिले त्यो मुद्दा सबैभन्दा अगाडि देखापरेको छ । त्यो मुद्दा हो जलवायुको । हामीले मौसममा अनौठो परिवर्तन देख्दै भोग्दै छौँ । ठाउँठाउँमा अहिले पहिलेभन्दा बढी गर्मी भोग्दै छौँ! पहिले भन्दा बढी जाडो भोग्दै छौँ¤ पहिलेभन्दा वर्षापूर्ण ! पहिले भन्दा सुक्खा भोग्दै छौँ । जलवायु परिवर्तन पहिलेभन्दा झन्झन् ज्वलन्त हुँदै छ । हिजोभन्दा आज र आजभन्दा भोलि जलवायु परिवर्तन तीव्र, भयावह र व्यापक बन्दै छ । बाढी, खडेरी, वनमा आगलागी, हावाहुरी र आँधीबेहरीमा असामान्य तीव्रता आएको छ । यी समस्या विश्वका अन्य कुनामा पनि ठुलै टाउको दुखाइ बनिरहेका छन् । तर, अमेरिकी जनतामाथि यिनको मार झन् ठुलो छ ।
हाम्रै जीवनमा पनि हामीले भयानक असमानता र खुलेआम भ्रष्टाचार देखेकै हौँ । तर, पछिल्लो समय असमानतामा जून उछाल आएको छ, त्यो हामीले जीवनभर देखेका थिएनौँ । असमानतामा यो वृद्धि कल्पनातीत छ । सत्ताको उच्च घरानामा भ्रष्टाचारको बिगबिगी छ । यसबाट लाभ लिनेहरू अचाक्ली शक्तिशाली छन् । तिनीहरू सर्वसाधारण जनतालाई तिरस्कार गर्छन् । तिनीहरू हामीसँग झूटो बोल्छन् । तिनीहरू हामीलाई बेवास्ता गर्छन् । हामीलाई देखेर खिसी गर्छन् तिनीहरू । भन्नलाई त तिनीहरू हामीलाई आफ्नो सर्वोत्तम मित्र भन्छन् । तर, तिनीहरूले हामी जनतालाई आपसमा लडाइरहन्छन् ।
हामी सबै यसको मारमा छौँ । समाजको माथिल्लो तप्कासमेत यसबाट अछुतो छैन । आर्थिक असमानता झन्झन् बढ्दै छ । समाजको पिँधमा रहेका ८० प्रतिशत अमेरिकीहरू बढ्दो महँगी, पतनशील जीवनस्तर, खस्किँदो रोजगारी, चर्किँदो आवास र स्वास्थ्य समस्या तथा (शिक्षा, पुस्तकालय, बगान, यातायातलगायत) सम्पूर्ण सावर्जनिक सेवामा आएको ¥हासले पीडित छौँ । सामाजिक सेवामा आएको ¥हास तथा धेरै मानिसले आडभरोसा मान्दै आएका सरकारी कार्यक्रमहरू छँटनीमा परेपछि सर्वत्र निरासा–हतासा फैलेको अवस्था छ ।
माथि उल्लेख घटनाहरू आजभोलि दालभातसरी बन्दै छन् । अमेरिकाका शासक वर्गमा उदार डेमोक्र्याटदेखि पुराना रुढीवादी रिपब्लिकनहरूको वर्चस्व छ । अधिकांश पर्यवेक्षकहरूले यी दुवै पक्षको आलोचना गर्दै आएका छन् । वर्षौँदेखि यिनीहरूले जनताको बढ्दो दूर्दशा समाधान गर्ने वचन दिँदै र असफल साबित हुँदै आएका छन् । यी असफल शासकहरूको खेदो खन्दै र अमेरिकी जनताको जीवनस्तर सुधार्न उथलपुथल ल्याउने वाचासहित डोनाल्ड ट्रम्पले निर्वाचन जिते । अमेरिकामा विद्यमान विभेद र भ्रमहरूबीच दाउपेच खेल्दै सत्तासीन बनेका ट्रम्प खासमा मर्यादाहीन, अहङ्कारी र शक्तिशाली ठग हुन् ।
ट्रम्प आफू भारी मतले विजयी भएको दाबी गर्छन् । तर, सत्य अर्कै छ । उनी थोरै अस्थीर मतान्तरले विजयी भएका थिए । ट्रम्पको कार्यकालमा अमेरिकी जनता अझ बढी स्वेच्छाचारी शैलीमा शासित छन् । ट्रम्पको शासक गुट प्रजातन्त्र÷लोकतन्त्र तथा संवैधानिक सरकारको बाहिरी लुगा उतारेर फाल्न उद्यत छ । पुराना नीति–नियम, मूल्यमान्यता तथा संस्थाको घाँटी थिचिँदै छ । यसका साथै नयाँ सरकारी तह र तप्का थपिँदै छ । यो तप्का विचारधारात्मकरूपमा निकै सङ्कीर्ण छ । यसमा कुनै गहिराइ, योग्यता र लचकता छैन ।

जनताले भोग्दै आएका ज्वलन्त समस्याहरूको हल खोज्ने क्षमताका दृष्टिले अमेरिकी शासक वर्गको कुनै पनि गुट योग्य छैन । सरकारप्रति अमेरिकी जनताको विश्वास ह्वातह्वाती घट्दै छ । यसले गैरसरकारी हिंसा बढाइरहेको छ । परम्परागत ‘अपराध’ का साथसाथै अरुलाई सताउने, घुसपैठिया क्रियाकलाप, जथाभावी गोलीबारी र कहिलेकाही नियोजित हत्याका घटना बढ्दै छन् ।
सामाजिक र राजनीतिक सङ्कटका साथसाथै सरकारी तहबाट हुने हिंसामा अनिष्टकारी बढोत्तरी भएको छ । ‘समस्याकारी तत्व’ ठानिएकाहरूका विरुद्ध राजनीतिक दमनदेखि सिधा हत्यासम्म भइरहेको छ । तर, यो आफूमुखी हिंसा अमेरिकाको विदेश नीतिभन्दा अलग छैन । यो हिंसा साम्राज्यवाद तथा सैन्यवादको बढ्दो असरसँग मेल खान्छ । अहिले साम्राज्यवादले उसका निश्चित मित्रमण्डलीले मच्चाइरहेको जातिसंहारको पक्ष लिँदै छ । बाहिरफेर अहिले युद्धको खतरा झाङ्गिँदै छ ।
पृथ्वीभरि नै अहिले नयाँ परिस्थिति उत्पन्न भएको छ । यसबारे धेरैथोक भन्न सकिन्छ पनि । तर, सारमा भन्ने हो भने बर्तोल्ट ब्रेख्तको एउटै हरफ पर्याप्त छ :
जे हुनुपर्ने हो,
त्यही भइरहेको छ,
त्यसैले तिनीहरू जे हुन्,
त्यसरी टिक्न सक्दैनन् ।
अब हामी दोस्रो प्रश्नतर्फ लागौँ । कार्ल स्यान्डबर्गको एउटा महान् कविता छ – हो जनता, हो । सन् १९३० को दशकमा रचिएको त्यो कवितामा एकपछि अर्को शोषकको अत्याचारमा पर्दै आएको बहुमत श्रमजीवी जनताको चर्चा गरिएको छ । स्यान्डबर्ग लेख्छन् :
आरन÷लिही हाँस्छ
फुटेका धेरै हथौडा देखेर ।
कवि लेख्छन् –
महागुरु हो समय
आशाबिना को बाँच्न सक्ला ?
सन् १९३० को दशकमा जोन स्टेनबेकको उपन्यास आयो – द ग्रेप्स अफ ¥याथ । सन् १९४० मा त्यसलाई फिल्ममा ढालियो । उपन्यासको मूल पात्र थिइन् – मा जोड । पतिसँग कुराकानी गर्दै उ
नी भन्छिन्, “धनीमानीहरू मोटाउँदै जान्छन् र मर्छन् । तिनका सन्तान असल हुँदैनन् । तिनीहरू पनि मर्छन् । तर, हामी अघि बढिरहन्छौँ । हामी बाँचिरहन्छौँ । तिनीहरूले हामीलाई मेट्न सक्दैनन्; हामीलाई जित्न सक्दैनन् । हामी सदासर्वदा बाँचिरहन्छौँ । किनभने, हामी जनता हौँ ।”
त्योभन्दा तीन दशकअगाडि
पिछडिएको रुस देशमा म्याक्सिम गोर्की नामका उपन्यासकार थिए । उनले आफ्नो क्रान्तिकारी उपन्यास ‘आमा’ मा स्टेनबेककै जस्तो विचार व्यक्त गरिसकेका थिए । एक पात्रमार्फत गोर्की भन्छन्, “कुनै समय यस्तो पनि आउनेछ जब मानिसहरू आफ्नै सौन्दर्य देखेर छक्क पर्नेछन्, जब प्रत्येक व्यक्ति बाँकी सारा व्यक्तिका नजरमा तारा जस्तो जगमगाउँदो देखिनेछ । सारा संसार स्वतन्त्र र महान् मानिसले भरिभराउ हुनेछ ।
प्रत्येक व्यक्ति सबैका लागि, सबै व्यक्ति एक व्यक्तिका लागि ¤ म त त्यस्तो पो देख्छु त । साँच्चै भन्ने हो भने हामी सबै आत्मीय साथी हौँ; सबैजना जल्दाबल्दा आत्मा हौँ; सबैजना एकै आमाका सन्तान हौँ; ती आमा हुन् – सत्य !”
मानिसका रूपमा हामीमा अनेक समस्या छन् र हाम्रा अनेक सीमा छन् । तर, प्रत्येक मानिसमा बाँच्नका लागि चाहिने मूलभूत विशेषता पनि छन् । सन् १८४० को दशकमा कार्ल माक्र्स जवान हुनुहुन्थ्यो । तिनैताक उहाँले मानिसका यी विशेषतालाई हाम्रो ‘स्पिसिज बिङ’ (स्वःत्व) भन्नुभयो । उहाँले व्यक्तिमा स्वतन्त्रता चाहने, सिर्जनशील श्रम गर्ने र ठेट समुदाय बनाउने आधारभूत लालसा हुन्छ भन्नुभयो । पहिलो विश्वयुद्धको उथलपुथलकारी समयमा रोजा लक्जेम्बर्गले कैदखानाबाट मानिसको यो गतिशील पक्षबारे लेख्नुभयो, “जनताको मनोदशा अनन्त सगर जस्तो हुन्छ । त्यसमा प्रत्येक सम्भावना लुकेका हुन्छन् । त्यहाँ मृत जडता र प्रचण्ड आँधी दुवै हुन्छ । त्यहाँ तल्लो दर्जाको कायरता र एकदम उग्र वीरता दुवै हुन्छ । जनता जहिल्यै जस्तो देखिन्छन् त्योभन्दा नितान्त भिन्न बन्ने मोडमा हुन्छन् ।”
हामीबिच, हामीले चिनेजानेका मानिसबीच र हामीले चिन्दै नचिन्ने असङ्ख्य मानिसबिच हामी धेरै गुण भेटाउन सक्छौँ । ती मानिसमा हुन्छ दूरदर्शिता, रचनात्मकता, हास्यरस, समूहप्रतिको झुकाव, करुणा, हेरविचारी र वीरता† ती मानिसमा हुन्छ व्यक्तिवाद र समूहवादको जीवन्त योग । यी सबै विचार गरी ल्याउँदा भविष्यप्रति आशावादी हुने ठाउँ छ । आशाको यो ज्योति मानव जातिका हजारौँ वर्षको अनुभवमा आधारित छ । मानव संस्कृतिका अनेक पत्रहरूमा यो ज्योति भेटाउन सकिन्छ । हाम्रा आध्यात्मिक परम्परामा; क्रिश्चियन, यहुदी, इस्लाम र बौद्ध परम्परामा यी गुणहरूको प्रतिविम्ब भेट्न सकिन्छ । निश्चय नै म यहाँ धार्मिक स्वेच्छाचारिता र जड अन्धविश्वासको कुरा गरिरहेको छुइनँ । बरु यी आध्यात्मिक परम्परालाई सजीव तुल्याइरहेका गतिशील दृष्टि र ऊर्जामा जोड दिँदै छु ।
सयौँ वर्षदेखि यिनै कुरालाई मानवता र वैज्ञानिक भावना भनिँदै आएको छ । संसारका धेरै सामाजिक आन्दोलन तथा सङ्घर्षहरूमा यही भावना पाइन्छ । जनमुखी प्रजातन्त्र र मानवअधिकारको मानव आकाङ्क्षामा यिनै भावना प्रतिविम्बित हुन्छन् । समाजवादको मुटुमा यही परम्पराको सुवास छ । हामीमध्ये धेरैलाई प्रेरित गर्ने माक्र्सवादी विचारधारामा यही दृष्टि र ऊर्जा पाइन्छ । कतिपय सङ्कीर्ण माक्र्सवादी गुटहरूमा स्वेच्छाचारिता र जड अन्धविश्वास पनि नपाइने होइन । तर, माक्र्सवादको मूल मर्म जीवन्त, रचनात्मक, आलोचनात्मक र स्वतन्त्र छ । यिनै सद्गुणले लेनिनको दृष्टिकोणलाई सजीव तुल्याएका थिए ।
हालै मैले लेखेको पुस्तक ‘लेनिन : प्रलयलाई जवाफ, क्रान्तिको निर्माण’ प्रकाशित भयो । लेनिनको जीवनी पुस्तक हो यो । यथार्थको सही बुझाइकै अर्को नाम हो लेनिन । यो यथार्थ आन्दोलनकारीको मूलभूत प्रतिबद्धता र माथि उल्लेख चेतनासँग अभिन्न रूपले जोडिएको छ । माक्र्सले विकसित गर्नुभएको चेतनालाई उहाँले ‘क्रान्तिकारी द्वन्द्ववाद’ भन्नुभयो । यसमा जटिल र अन्तर्विरोधी यथार्थको खेल हो ‘क्रान्तिकारी द्वन्द्ववाद’ । लेनिनको शब्दमा यसको अर्थ हुन्छ – ‘छलाङ, प्रलय र क्रान्तिको विकास’ । यहीनिर हामीले चाहे अनुसारको परिवर्तन ल्याउन किन र कसरी आफूलाई सङ्गठित गर्नुपर्छ भन्ने प्रश्न जोडिन्छ ।
सादा शब्दमा भनौँ – हामीले आफूलाई सङ्गठिन गर्नुपर्छ किनभने भयानक समस्या र मान्छेका सुखद आकाङ्क्षाले मात्र स्वतःस्फूर्त ढङ्गले सकारात्मक परिणाम ल्याउँदैन । जनताबिच रहने र व्यापक जनताबाटै आउने सचेत र होसियार तप्काले बहुमत शोषितपीडित जनतालाई जागरुक हुन् र क्रान्तिकारी परिणाम हासिल गर्न टेवादायी काम गर्छन् ।
यसका लागि निष्ठापूर्ण र व्यापक प्रजातान्त्रिक समूहको खाँचो पर्छ । यहीनिर ‘कार्यकर्ता’ (जर्मन भाषामा ‘क्याडर’) को मुख्य अवधारणा जोडिन्छ । कार्यकर्ताहरू अभियन्ता हुन् । उनीहरूले परिस्थितिलाई आकार दिन सिकेका हुन्छन् । उनीहरूलाई प्रभावकारी पर्चा लेख्न आउँछ । उनीहरूलाई सटिक तथा प्रभावकारी निर्णय लिनका लागि बैठक सञ्चालन गर्ने तरिका थाहा हुन्छ । निर्णयलाई लागु गराउनमा कार्यकर्ताहरू पोख्त हुन्छ । कार्यकर्ताहरूले जुलुस, प्रदर्शन, हडताललगायत जनताका गतिविधि सञ्चालन गर्न जानेका हुन्छन् । सबैले यी काम गर्न सक्दैनन्† कार्यकर्ताले सक्छन् । यस्ता कार्यकर्ताले धेरैभन्दा धेरै मानिसलाई यी सिप र क्षमताको विकास गर्न पनि सघाउँछन् ।
यसका लागि विभिन्न तरिकाले मतमतान्तर जाहेर गर्ने वा साधारण जुलुस प्रदर्शनको आयोजना गर्ने भन्दा पनि अघि बढेर सोच्नुपर्ने हुन्छ । अर्थात्, कार्यनीति र रणनीति विकास गर्नुपर्ने हुन्छ; तिनलाई कार्यान्वयन गर्नुपर्ने हुन्छ । विद्यमान परिस्थितिअनुसार एकपछि अर्को पाइला अघि बढाउने गरी कार्यक्रम बनाउनुपर्छ । तब गएर इच्छ्याएको प्रतिफल प्राप्त हुन्छ । सबैखाले अन्याय अत्याचारविरुद्ध हामीले हाम्रो जमानाको रङ्गीबिरङ्गी श्रमजीवी वर्गभित्रैबाट आन्दोलन उठाउन र सुदृढ पार्न मद्दत गर्नुपर्छ । यसरी हामीले पँुजीवादी समाजलाई स्वतन्त्र र समान समाजमा रूपान्तरण गर्न सहयोग गर्न सक्छौँ ।
(पल ले ब्लाँकले यो वर्षको मे ३१ तारिखमा बर्लिनमा आयोजित माक्र्स विशेष कार्यक्रममा यो मन्तव्य राख्नुभएको थियो । वामपन्थी ‘लेफ्ट पार्टी’ को आयोजनामा सम्पन्न उक्त कार्यक्रममा १२ सय कार्यकर्ता उपस्थित थिए ।
पल ले ब्लाँक इतिहासका प्राध्यापक हुनुहुन्छ । उहाँ लारोचे विश्वविद्यालयमा प्राध्यापन गर्नुहुन्छ । उहाँका चर्चित रचना हुन् – ‘अमेरिकी श्रमजीवी वर्गको सङ्क्षिप्त इतिहास’, ‘माक्र्सदेखि ग्राम्स्कीसम्म’ र ‘अक्टोबर गीत ः बोल्शेभिक विजय, कम्युनिस्ट त्रासदी’ । उहाँ रोजा लक्जेम्बर्गको समग्र रचनावली तयार पार्ने सम्पादक समितिमा हुनुहुन्छ । स्रोत : एमआर अनलाइन । सम्यक)