
निसान
नेपालमा किसान र मजदुरको सेवा गर्ने भनिएका कम्युनिस्ट पार्टी वा दलहरू धेरै छन् । शासक कम्युनिस्ट पार्टीहरू पनि छन् । धेरै पटक शासक भई उनीहरुले सरकार पनि चलाइसकेका छन् । सरकारको स्वाद उनीहरूले चाखिसकेका छन् । देशमा बहुदल, गणतन्त्र आएको पनि ३५ वर्ष भयो । २०४७ देखि २०८२ सालसम्मको ३५ वर्षमा एमालेका हालका प्रधानमन्त्री खड्गप्रसाद ओली २०७२, २०७४, २०७८ र २०८१ गरी ४ पटक प्रधानमन्त्री भइसकेका छन् । माओवादीका पुष्पकमल दाहाल २०६५, २०७३ र २०७९ गरी ३ पटक, माओवादीकै बाबुराम भट्टराई २०६८ मा एक पटक, एकीकृत समाजवादीका माधवकुमार नेपाल २०६६ मा एक पटक, त्यही दलका झलनाथ खनाल २०६७ मा एक पटक प्रधानमन्त्री भइसकेका छन् । कम्युनिस्ट नेताहरू मन्त्री त कति भए कति । पञ्चायतकालको प्रतिबन्धित अवस्थामा पनि देश र जनताको पक्षमा लुकीछिपी निःस्वार्थ, त्याग, इमानदारीपूर्वक किसान, मजदुर र गरिब जनताको सेवा गरेको प्रभाव आजसम्म जनतामा छ । अझै पनि गाउँ, सहर बजारमा जनता कम्युनिस्ट पार्टीलाई विश्वास गर्छन् । उनीहरू किसान, मजदुर, गरिब जनताका दुःख सुखमा साथ र सहयोग गर्छन् ।
शासकहरू उनीहरूकै भोटबाट सत्तामा गएपछि देश र जनतामाथि विश्वासघात गर्दै छन् ।
रोपाइँको सिजन सुरु भएको छ । यति बेला किसानको घरघरमा मल पुगिसक्नुपर्ने थियो । तर मल पुगेको छैन । नवलपरासीका किसानहरूले मल नभएको कारण रोपाइँ गर्न नसकेको दुखेसो समाचारमा आएको छ । देशको विभिन्न क्षेत्रमा किसानहरू समयमा रोपाइँका लागि मललाई पर्खिरहेका छन् । सायद शासक दलका नेताहरू मल खरिदको कमिसनको भागबन्डामा कुकुरझगडा गरिरहेका होलान् ।
नेपालमा अल्पमतवर्ग सामन्त, जमिनदारको हातमा धेरै जग्गा जमिन छ । बहुसङ्ख्यक वास्तविक किसानको हातमा थोरै जमिन छ । आमूल परिवर्तन नगरिकन वास्तविक बहुसङ्ख्यक किसानको हातमा जग्गा, जमिन आउँदैन, देशको उत्पादन पनि बढ्दैन । देशमा कम्युनिस्ट, प्रजातन्त्रवादी भनिएको दलले सरकार चलाएको ३५ वर्ष भयो । पछि स्वतन्त्रता र प्रजातन्त्र पाएका देश कहाँ पुगे, कति अगाडि पुगे । तर, शोषक, सामन्त, जमिनदार, पुँजीपतिहरूलाई बाहेक बहुसङ्ख्यक जनतालाई परिवर्तनको अनुभव हुने गरी देशमा खासै परिवर्तन आएको छैन ।
नेपाल कृषिप्रधान देश हो भन्ने कुरा सबैलाई थाहा छ । नेपाली काङ्ग्रेस त भारतीय एकाधिकार पुँजीपरस्त भइहाल्यो । प्रजातन्त्र आएको ३५ वर्ष भइसक्दा पनि कम्युनिस्ट सरकार पटक पटक आइसक्दा पनि देशमा एउटा मल कारखाना खोलेको छैन । मल कारखाना खोलेका भए नेपालका खेतीयोग्य जमिन खेतीपातीले हरियाली भइसके होलान् । त्यसो नहुँदा किसानहरू मर्कामा परे । सरकारले देशमा मल कारखाना कहिले खोल्ने ? आफ्नै खुट्टामा उभेर नयाँ नयाँ बीउ बिजन किसानलाई कहिले दिने हो ? जबसम्म उपयुक्त समयमा राम्रो मल खेतबारीमा लगाउन पाउँदैन, तबसम्म उत्पादन बढाउन सकिँदैन । के किसानले हातमा कुटो† कोदाली, हलो, बीउ लिएर सडकमा ओर्लेर जुलुस गरेपछि मात्र मल आउने हो ? सरकार र कृषिमन्त्रीको आँखा खुल्ने हो ? मलको लागि सधैँ भारतको मुख ताकिरहनुपर्ने देशको यो तीतो यथार्थ हो । समयमा कहिल्यै मल उपलब्ध भएको छैन । मल आउँछ ढिलो । कति मल म्याद नाघेको हुन्छ । त्यस्तो मलले देशको कृषि उत्पादन घट्नेछ । माटोको उर्वराशक्ति नास हुँदै जान्छ । कृषिप्रधान देश भएर पनि कृषि उपजको लागि भारतमा भरपर्नुपर्ने वातावरण भारतले बनाउँदै छ । मलको लागि देशको पचासौं अर्ब रूपैयाँ हरेक वर्ष विदेश पुगिरहेको छ । त्यसैले किसानहरू सरकार र नेताहरूलाई खुट्टा नकमाऊ, आफ्नै देशमा मल कारखाना खोल भन्दै छन् ।
नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) ले देशलाई हरेक तवरले आत्मनिर्भर बनाउनुपर्ने कुरा उठाउँदै आउनुभएको छ । देशको अर्थतन्त्र बलियो र स्वतन्त्र नभइकन देश स्वतन्त्र हुँदैन । आजभन्दा २५–३० अगाडि नै चीन भ्रमणमा जाँदा उहाँले चिनियाँ सरकारसँग मल कारखानाको लागि सहयोग गर्न आग्रह गर्नुभएको थियो । त्यसको लागि चिनियाँ सरकार आवश्यक सहयोग गर्न तयार भएको थियो । उहाँले लेख्नुभएको ‘चीन यात्रा’ को पुस्तकमा त्यसबारे उल्लेख छ ।