द ट्राइकन्टिनेन्टल
सात दसकअघि सन् १९५५ मा एसिया र अफ्रिकाका २९ देशका सरकार प्रमुखहरू इन्डोनेसियाको बाङडुङ सहरमा आयोजित एसियाली–अफ्रिकी सम्मेलनमा भेला भए । औपनिवेशिक शासनबाट मुक्त नभइसकेका कतिपय देशसमेत सम्मेलनमा सहभागी थिए । औपनिवेशिक शासनबाट मुक्त हुने सिलसिलामा त्यो सम्मेलन एउटा उत्कर्ष थियो । तेस्रो विश्वका करोडौँ जनताका प्रतिनिधि पहिलोपल्ट एकसाथ भेला भएर अ–उपनिवेशीकरण र त्यसको प्रभाव जस्तो महाकाय सामाजिक प्रक्रियाबारे छलफल गर्नु आफैमा एउटा ऐतिहासिक घटना थियो । आयोजक देश इन्डोनेसियाका तत्कालीन सरकार प्रमुख सुकार्नो (सन् १९०१–१९७०) ले उद्घाटन मन्तव्य राख्दै सम्मेलन राख्नुपछाडि आयोजक जनताको उद्देश्यबारे प्रस्ट पारे । सम्मेलनले ‘मानव जातिलाई मार्गनिर्देश गर्ने’ तथा त्यो मार्गदर्शनले ‘शान्ति एवम् सुरक्षा हासिल गर्नका निम्ति मानव जातिले चाल्नुपर्ने पाइला निक्र्योल गर्ने’ विश्वास आफूले लिएको सुकार्नोले बताए । यी नेताहरू एक हिसाबले भारतको स्वतन्त्रता (सन् १९४७), चीनको क्रान्ति (सन् १९४९) र गोल्ड कोस्ट (सन् १९५१) लाई गरिएको सत्ता हस्तान्तरण (जसले गर्दा पछि सन् १९५७ मा घाना स्वतन्त्र भएको थियो) को हर्षोल्लास मनाउन पनि भेला भएका थिए । उनीहरू ‘एउटा नौलो एसिया र नौलो अफ्रिका जन्मिएको प्रमाण दिन’ चाहन्थे ।
सुकार्नोका मित्र रोजलान अब्दुलगानी (सन् १९१४–२००५) बाङडुङ सम्मेलनका महासचिव थिए । सम्मेलनको बेला र पछि पनि उनले ‘बाङडुङ भावना’ बारे बोलिरहे । उनको शब्दमा ‘बाङडुङ भावना’ को अर्थ थियो – शान्तिप्रतिको प्रेम, हिंसाको विरोध, विभेदको विरोध, एकअर्काप्रतिको अपार सम्मान, अरूलाई गलत नियतले हस्तक्षेप नगरी सबैको विकास । यो ‘बाङडुङ भावना’ निराधार आदर्श थिएन । उपनिवेशवादले पीडित देशका जनताको स्वतन्त्रता सङ्घर्षको भौतिक जगमा त्यो भावना जागेको थियो । पाँच वर्षपछि संयुक्त राष्ट्रसङ्घको महासभाले त्यसलाई ‘अदम्य र अपरिवर्तनीय’ ‘मुक्तिको प्रक्रिया’ भनेको थियो ।
(टिपोट : सन् १९६० डिसेम्बर १४ मा प्रकाशित ‘औपनिवेशिक देश र त्यहाँका जनतालाई स्वाधीनता प्रदान गर्ने घोषणा’ नामक दस्तावेजमा यो कुरा उल्लेख छ । महासभामा सोभियत कूटनीतिज्ञ भासिली कुजनेत्सोभले कविताको भाषामा सो प्रस्ताव राखेका थिए । त्यो बेला महासभाका अध्यक्ष आयरल्यान्डका कूटनीतिज्ञ फ्रेडरिक बोल्यान्ड थिए ।)
यो भावना उपनिवेशवादविरोधी जनसङ्घर्षबाट जन्मेको थियो । त्यसपछि यसलाई उपनिवेशवादको विरोध गरिरहेका नेता–कार्यकर्ताले टिपे । तिनीहरूले त्यसलाई फ्रान्सको बियरभिल सहरमा सन् १९२६ मा सम्पन्न छैटौँ ‘शान्तिका निम्ति अन्तर्राष्ट्रिय प्रजातान्त्रिक अधिवेशन’ मा लगे । सन् १९२७ मा बेल्जियमको ब्रसेल्समा आयोजित प्रथम ‘उपनिवेशवाद तथा साम्राज्यवादविरुद्ध अन्तर्राष्ट्रिय अधिवेशन’ मा पनि भावना पुग्यो । अब्दुलगानीले पछि यी सम्मेलनहरूमा भेला भएको धेरै व्यक्तिमा उही ‘उमङ्गको भावना थियो र उनीहरू एउटै लयमा बोलिरहेका थिए । त्यो उपनिवेश बनाइएका, हेपिएका र चेपिएका तिनका जनताको भावना र आवाज थियो’ । बाङडुङ भावना औपनिवेशिक शासनमा बाँचेका र उपनिवेशवादका आततायी अत्याचारविरुद्ध नयाँ संसारप्रति आशामुखी भइरहेका करोडौँ जनताको आवाज थियो ।
औपनिवेशिक शासन समाप्त भइसकेपछि पनि नवउदारवादी संरचनाबाट दबाब आइरह्यो । यहीबाट बाङडुङ भावना जन्मिएको पुष्टि गर्ने धेरै आधार छन् । त्यो उमङ्गको अब आभाष मात्र बाँकी छ । औपनिवेशिक शासनपछि जन्मेको नयाँ पुस्ताले लामो र जटिल उपनिवेशवादविरोधी सङ्घर्षमा फस्टाएको त्यो भावनालाई आफ्नो बनाएन । नवउपनिवेशवादी संरचनाहरूभित्र राष्ट्रिय मुक्ति सङ्घर्षको भावना कतै हरायो । उपनिवेशवादी युगपछि मजदुर र किसानहरूले आफ्नै देशका शासक वर्गलाई समस्या देख्न थाले । उनीहरूले नवऔपनिवेशिक संरचनाभित्र लुकेको समस्यालाई शत्रुको रूपमा देख्न सकेनन् । बाङडुङ सम्मेलनको सत्तरी वर्षपछि आज दक्षिणी गोलाद्र्धमा बाक्लो तुषारो लागेको छ । तैपनि, के बाङडुङ भावना अझै जीवित छ भनी सोध्नु अर्थपूर्ण हुन्छ ।
भाग १ : ‘बाङडुङ भावना’ को अर्थ
पूर्वी जगतमा हस्तक्षेपकारीहरू
सन् १९५३ अक्टोबर ५ देखि डिसेम्बर १४ सम्म अमेरिकी उपराष्ट्रपति रिचर्ड निक्सन एसियाको लामो भ्रमणमा आए । उनले (जापानदेखि इरानसम्म) यस क्षेत्रका चौध देशको भ्रमण गरे । साथै, उनले छिमेकका दुई देश अस्ट्रेलिया र न्युजील्यान्डको भ्रमण गरे । निक्सन केही महत्वपूर्ण उद्देश्य लिएर एसिया आएका थिए । पहिलो, जुलाई महिनामा कोरियाली प्रायःद्वीपको विषयमा गरिएको युद्धविरामको सम्झौताबारे अमेरिकाका साझेदार देशलाई आश्वस्त तुल्याउने । दोस्रो, हिन्द–चीनमा अमेरिकाको अवस्था बुझ्ने । हिन्द–चीनमा अमेरिकाले फ्रान्सबाट धेरै सैन्य सहयोग लिएको थियो र सन् १९५४ को मे महिनामा दियनबियन फूमा फ्रान्स पराजित भएपछि उसको स्थान लिएको थियो । तेस्रो, एसियामा चिनियाँ क्रान्तिको नयाँ भूमिकाबारे बुझ्न । दुई दशकपछि आफ्नो आत्मसंस्मरणमा निक्सनले यो भ्रमणको चर्चा गरे । उनले “चिनियाँ चीन निकै पिछडिएको र अविकसित हुनाले एसियामा त्यो कुनै खतरा होइन किनभने ऊ भनी वासिङ्टनलगायत पश्चिमेली चिन्तकहरूले सपना देखिरहेको बेला” आफूले “त्यसको प्रभाव सो क्षेत्रभरि फेलिरहेको आफ्नै आँखाले” देखेको लेखे । निक्सनले लेखे – सोभियतहरू हामीजस्तै पूर्वी जगतमा हस्तक्षेपकारी हुन् तर त्यो भन्दा फरक चिनियाँ कम्युनिस्टहरूले विद्यार्थी आदानप्रदान कार्यक्रम चलाइरहेका छन् र यसले गर्दा निःशुल्क उच्च शिक्षा लिन ठुलो सङ्ख्यामा विद्यार्थीलाई लाल चीनमा पठाइँदै छ । निक्सनले पछि सरकारलाई रिपोर्ट दिए – चिनियाँ क्रान्तिका कारण एसियामा भएको नयाँ विकासका सम्बन्धमा संरा अमेरिकाले तत्काल प्रतिक्रिया जनाउनुपर्छ ।
सन् १९५४ सेप्टेम्बरमा आठ देशले मनिला समझदारी नामक साझा रक्षा सन्धिमा हस्ताक्षर गरेर ‘दक्षिण–पूर्वी एसिया सन्धि सङ्गठन’ (सियोटो) को स्थापना गरे । यीमध्ये जम्मा तीन देश मात्र एसियाली (पाकिस्तान, फिलिपिन्स र थाइल्यान्ड) थिए भने दुई देश युरोपेली (फ्रान्स र बेलायत) थिए । ‘सियोटो’ का तीन सदस्य अस्ट्रेलिया, न्युजील्यान्ड र संरा अमेरिकाले सन् १९५१ मै सैन्य सन्धि (अन्जुस सन्धि) गरेका थिए । यो सन्धि र सियोटोले एसियाको प्रशान्त भेगमा थप तीन मुख्य सन्धि गरे – जापान र मित्र राष्ट्रबिच सान फ्रान्सिस्को शान्ति सन्धि (सन् १९५१), दक्षिण कोरिया र संरा अमेरिकाबिच परस्पर रक्षा सन्धि (सन् १९५३) र गणतन्त्र चीन (फर्मोसा, अहिले ताइवान) र संरा अमेरिकाबिच परस्पर रक्षा सन्धि (सन् १९५४) । सन् १९५१ मा जोड फोस्टर डलेस (जो सन् १९५३ मा अमेरिकाका विदेशमन्त्री बनेका थिए) ले सोभियत सङ्घ र जनगणतन्त्र चीनलाई घेराबन्दीमा राख्न जापानदेखि मलाया प्रायःद्वीपसम्मका टापुहरूमा जलसेनाका अखडा राखेर एउटा साङ्लो (आइल्यान्ड चेन) निर्माण गर्नुपर्ने विचार राखे । (मलाया प्रायःद्वीपमा म्यान्मार, थाइल्यान्ड, मलेसिया र सिङ्गापुर पर्छन् ।) माथिका पाँच सन्धिले जापानदेखि थाइल्यान्डसम्म यसप्रकारको साङ्लो बनाउने आधार तयार पारे । सन् १९५६ मा अमेरिकी विदेश मन्त्रालयका अधिकारीहरूले बेलायतको एउटा स्मरणपत्र पाए । ‘सो क्षेत्रको रक्षामा आणविक र गैरआणविक दुवैथरी हतियार प्रयोग गर्न सकिने मान्यताका आधारमा ‘सियाटो’ को सैन्य योजना निर्माण गर्नुपर्ने र आणविक हतियार नराखिने कुनै पनि योजना निश्चय नै अव्यवहारिक र निरर्थक’ हुने सो पत्रमा उल्लेख थियो । अर्को शब्दमा, चीनलाई घेरामा पार्ने पाँच सन्धिले एसियाको डिलमै आणविक हतियार राख्ने र आवश्यक पर्दा तिनलाई प्रयोग गर्ने अधिकार थियो ।
ध्यान दिनुपर्ने कुरा के भने यो खालि सैद्धान्तिक कुरा थिएन । संरा अमेरिकाले सन् १९४५ मा जापानमा अणुबम प्रयोग गरिसकेको थियो । सन् १९५१ को अन्त्यसम्ममा उसले कोरियाको उत्तरी भेगमा रहेको सबै भौतिक पूर्वाधारलाई बम खसालेर ध्वस्त पारेको थियो । (त्यो बमबारी सन् १९५३ सम्मै जारी रह्यो ।) कोरियामा बमबारी गर्ने अमेरिकी वायुसेनाका कमान्डर थिए मेजर जनरल एम्मेट आडोनेल । सन् १९५१ जूनमा अमेरिकी सिनेटमा बोल्दै उनले भने, “सबथोक ध्वस्त छ । ठाडो उभिएको केही छैन ।” सन् १९५० नोभेम्बरमा चिनियाँ सेनाले उत्तर कोरियासँगै रहेको यालु नदी पार गरेपछि अमेरिकी वायुसेनाले आफ्ना बमवर्षक परिचालन ग¥यो किनभने ओडोनेलको भनाइमा ‘कोरियामा नष्ट गर्नुपर्ने केही थिएन’ । सन् १९५३ डिसेम्बरमा अमेरिकी राष्ट्रपति ड्वाइट आइजनहावरले विन्स्टन चर्चिललाई पेइचिङले कोरियाली युद्धविराम सम्झौता उल्लङ्घन गरे अमेरिकाले चीनमाथि अणुबम खसाल्ने बताएका थिए । लगत्तै, सन् १९५५ मार्चमा अमेरिकी सरकारले चीनलाई जनमुक्ति सेना फर्मोसा (ताइवान) मा पस्यो भने आफूले अणुबम प्रयोग गर्ने प्रस्ट पा¥यो ।
(टिपोट : सन् १९५५ मार्च १५ मा आयोजित एक पत्रकार सम्मेलनमा जोन फोस्टर डलेसले ‘महा–कम प्रत्याक्रमण’ नीति व्याख्या गरे । उनले चीन फर्मोसामा पस्यो भने अमेरिकाले चिनियाँ सेनाविरुद्ध आणविक हतियार प्रयोग गर्ने बताए ।
भोलिपल्ट आइजनहावरसँग डलेसको वक्तव्य सही भए–नभएको सुनिश्चित गर्न खोज्दा उनले आणविक हतियार ‘गोली प्रयोग गरेजस्तो गर्न नसकिने बताए’ । उनले भने, “मेरो विचारमा यस्ता कुराबारे ठूलो प्रश्न त्यतिबेला मात्र आउँछन् जतिबेला तपाइँ ती क्षेत्रमा प्रवेश गर्नुहुन्छ । त्यहाँ तपाइँ सैन्य टुकडीविरुद्ध काम गर्दै हुनुहुन्छ भन्ने यकिन गर्नैै सक्नुहुन्न । तर, अनुभवका आधारमा म भन्छु – हो, ती (आणविक) हतियार प्रयोग गर्न सकिनेछ ।”)
शान्तिपूर्ण सहअस्तित्व
दोस्रो विश्वयुद्धको आरम्भमा संरा अमेरिकाले आफूलाई पुरानो साम्राज्यवादी गुटको नाइके बनाउँदै लग्यो । खासगरी खस्किँदो युरोपको तुलनामा अमेरिका सैन्य तथा आर्थिक हिसाबले धेरै अब्बल रह्यो । त्यो बेला बेलायत मलाया प्रायःद्वीपमा हिंसात्मक दमनमा उत्रिरहेको थियो । (सन् १९४८–१९६० मा मलाया विद्रोह चलेको थियो ।) सोही बेला फ्रान्स हिन्द–चीनमा अत्याचारपूर्ण युद्ध लड्दै थियो । (डचहरू सन् १९४९ मै हिन्द–चीनमा पराजित भइसकेका थिए ।) एसियाको माटो रगतले भिजेको थियो र बाङडुङमा आएका उपनिवेशवादविरोधी नेताहरूको नाकमा त्यही रगत भरिएको थियो । बाङडुङ सम्मेलन शान्ति र जातिवादमा बढी केन्द्रित हुनुको कारण यही थियो । उपनिवेशवादपछिको युगमा मानव जातिलाई विभाजित गर्ने पुरानो औपनिवेशिक मानसिकता जीवित रहला भनेर सम्मेलनका सहभागीहरू चिन्तित थिए । पूर्व उपनिवेशवादीहरूले इतर जातिमाथि पहिलेझैँ हिंसा जारी राख्लान् भनेर पनि उनीहरू चिन्तित थिए । सन् १९५४ मा चीन र भारतले मस्यौदा गरेका पञ्चशीलको सिद्धान्तमा टेकेर बाङडुङमा दशशील सिद्धान्त अघि सारियो । यही सिद्धान्तका आधारमा आपसी मतभेद अन्त्य गर्ने तय भयो । ‘शान्तिपूर्ण सहअस्तित्व’ का यी सिद्धान्तले सैन्य गठबन्धन बनाएर एसिया वरिपरि अखडा बनाउने र यहाँका देशमाथि आणविक आक्रमण गर्ने भन्दै डरधम्की दिने कार्यको निन्दा गरे ।
टर्की ‘नेटो’ मा संलग्न भएको चार वर्षपछि सन् १९५६ मा टर्कीका कम्युनिस्ट कवि नाजिम हिक्मतले हिरोसिमाकी एक सात वर्षीय बालिकाको सम्झनामा एउटा कविता लेखे । कविताको शीर्षक थियो – हिरोसिमाकी छोरी । कविताको एउटा हरफ निकै चर्चित भयो – बालबच्चा मरेपछि फेरि हुर्किँदैनन् ।
यत्ति चाहिन्छ मलाई, शान्तिको निम्ति
तिमी आज लड, तिमी भोलि लड
ताकि यो संसारका बालबच्चा
पाऊन् बाँच्न, हुर्किन–हाँस्न र खेल्न
बाङडुङ भावनाको मर्म यही थियो; निकै सरल थियो । यो मर्म सन् १९५५ अफिल २४ का दिन जारी सम्मेलनको अन्तिम वक्तव्यमा प्रकाशित दशशील सिद्धान्तमा व्याप्त थियो । यी सिद्धान्त निम्न थिए :
१. आधारभूत मानवअधिकारको सम्मान । राष्ट्रसङ्घको बडापत्रमा व्यक्त सिद्धान्त र उद्देश्यप्रति सम्मान ।
२. सबै राष्ट्रको सार्वभौमिक तथा भौगोलिक अखण्डताको सम्मान ।
३. सबै जातजातिको समानता र साना–ठूला सम्पूर्ण राष्ट्रको समानतालाई मान्यता ।
४. अन्य देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न अस्वीकार ।
५. राष्ट्रसङ्घको बडापत्र अनुसार एक्लै वा सामूहिक रूपमा आत्मरक्षा गर्ने प्रत्येक राष्ट्रको अधिकारलाई सम्मान ।
६. (क) कुनै महाशक्तिको स्वार्थविशेषको सेवामा सामूहिक सैन्य बन्दोवस्तीलाई प्रयोग गर्न अस्वीकार ।
(ख) कुनै पनि देशद्वारा अन्य देशमाथि दबाब दिन अस्वीकार ।
७. कुनै देशको भौगोलिक अखण्डता वा राजनीतिक स्वाधीनताविरुद्ध बल प्रयोग वा आक्रमणको धम्की अथवा कार्य गर्न अस्वीकार ।
८. राष्ट्रसङ्घको बडापत्र अनुसार सम्झौता, क्षतिपूर्ति, मिलापत्र वा न्यायायिक समाधान अथवा संलग्न पक्षको चाहना बमोजिमका अन्य शान्तिपूर्ण उपायमार्फत अन्तर्राष्ट्रिय विवादको छिनोफानो ।
९. परस्पर हित र सहकार्यको प्रवद्र्धन ।
१०. न्याय तथा अन्तर्राष्ट्रिय प्रतिबद्धताको सम्मान ।
सैन्य गठबन्धन वा विश्वलाई आकार दिन र अरूको सार्वभौमिकता मिच्न सैन्यबलको प्रयोग वा सैन्य गठबन्धन निर्माण गर्ने कार्यविपरीत यी सिद्धान्त राष्ट्रसङ्घको बडापत्र (सन् १९४५) मा आधारित विश्व व्यवस्थाको पक्षमा थिए । बाङडुङ सम्मेलनको स्मरण गर्दै अब्दुलगानीले त्यसलाई ‘आजको अन्तर्राष्ट्रिय सम्बन्धको कार्यबाही तथा मानक निर्धारण गर्ने’ मञ्च भने । उनले बाङडुङ सम्मेलनले सहविनाशको सट्टा सहअस्तित्वको बिगुल फुकेको बताए । सन् १९५५ सम्ममा विश्वका ७६ देशले राष्ट्रसङ्घको बडापत्रमा हस्ताक्षर गरेका थिए । बडापत्रले अफ्रिकी महादेश र प्रशान्त महासागरका बहुमत टापु लगायत औपनिवेशिक नियन्त्रणमा रहेका झन्डै ८० क्षेत्रलाई समेटेको थियो । हस्ताक्षर गर्नेहरूले पनि त्यसमा सहमति जनाएका थिए । राष्ट्रसङ्घको बडापत्र अहिले विश्वकै सबैभन्दा अहम् महत्वपूर्ण समझदारीको दस्तावेज हो । सन् १९५० को दशकको अन्त्यदेखि १९७० को दशकसम्म विभिन्न देश स्वाधीन बनिरहे । यसरी स्वाधीन बन्ने सबै देशले राष्ट्रसङ्घको पूर्ण सदस्यता लिए ।
बाङडुङ भावना तीव्र गतिमा फैलियो । यो भावनाले सन् १९५७–५८ मा कायरोमा बसेको अफ्रो–एसियाली जनताको ऐक्यबद्धता सम्मेलनमा प्रवेश पायो । सन् १९५८ मा आक्रा सहरमा बसेको अखिल–अफ्रिकी जनसम्मेलन, सन् १९६० मा ट्युनिस सहरमा बसेको अखिल–अफ्रिकी जनसम्मेलन, सन् १९६१ मा बेलग्रेडमा बसेको असंलग्न आन्दोलनका राज्यप्रमुख वा सरकार प्रमुखहरूको शिखर सम्मेलनदेखि सन् १९६६ मा हवाना सहरमा बसेको त्रिमहादेशीय सम्मेलनमा पनि यही भावना हावी भयो । यी सम्मेलनहरूले मातहतका हाँगाबिँगा पनि स्थापना गरे । ती थिए – अफ्रो–एसियाली जनऐक्यबद्धता सङ्गठन, असंलग्न आन्दोलन तथा अफ्रिका, एसिया र ल्याटिन अमेरिकाका जनताको ऐक्यबद्धता सङ्गठन । तिनको मूल मर्म थियो – साम्राज्यवादविरुद्ध सङ्घर्ष† आणविक खतरा, निःशस्त्रीकरण† र, अमूल्य सामाजिक धनलाई हातहतियारमा खेर फाल्नुको अर्थ विकासका मुद्दाको घाँटी थिच्नु हो भन्ने मान्यता । युद्ध र विकासबिचको अन्तरसम्बन्धलाई यसमा जोड दिइएको थियो । यस अवधिमा विकसित भएका शस्त्र नियन्त्रण विधिहरू यही असंलग्न तेस्रो विश्वका देशहरूको दबाबमा भएका सम्झौता थिए । सन् १९६३ मा हस्ताक्षर गरिएका सीमित परीक्षण प्रतिबन्ध सन्धि यसकै उदाहरण हुन् ।
विकसित सहकार्य
सार्वभौमिकता र शान्तिको आह्वान गर्ने बाहेक बाङडुङ युगले नयाँ विश्व आर्थिक व्यवस्थाको बिज समेत आत्मसात गरेको थियो । दक्षिण–दक्षिण सहकार्यलाई मलजल गर्नुपर्छ भन्ने आह्वान थियो बाङडुङ युगको । अन्तिम वक्तव्यको पहिलो भाग पूर्णतः आर्थिक सहकार्यप्रति समर्पित गरिएको थियो । त्यसमा आर्थिक विकास र प्राविधिक सहायताको आकाङ्क्षाको खाका कोरिएको थियो । यी देशमा वित्तीय लगानी ल्याउनका लागि आर्थिक विकासका निम्ति राष्ट्रसङ्घीय विशेष कोषको स्थापना गर्नुपर्छ भनी आह्वान पनि थियो त्यसमा । साम्राज्यवादले आफ्ना उपनिवेशहरूलाई कच्चा पदार्थ उत्पादन गर्ने क्षेत्रको रूपमा हेरेका र विकास गरेका थिए । त्यसैले वस्तुको मूल्य स्थिर बनाउनुपर्ने र निर्यात गर्नुअघि ती वस्तुलाई प्रशोधन गर्ने घरेलु क्षमताको विकास गर्नुपर्नेमा ठूलो जोड दिइयो ।
बाङडुङ सम्मेलनको अर्को अमिट छाप पनि छोड्यो । बहुपक्षीय संस्थानलाई आकार दिन त्यसले महत्वपूर्ण भूमिका खेल्यो । यो प्रक्रिया थोरै वा खप्टिएकै रूपमा सही आज पनि जीवित छ । सन् १९५८ मा आर्थिक विकासका निम्ति राष्ट्रसङ्घीय विशेष कोषको स्थापना (जो सन् १९६५ मा गएर राष्ट्रसङ्घीय विकास कार्यक्रममा रूपान्तरित भयो) यसकै सिलसिला थियो । त्यस्तै, सन् १९६४ मा व्यापार तथा विकासका निम्ति राष्ट्रसङ्घीय सभाको स्थापना भयो । त्यसको नयाँ विश्व आर्थिक प्रणाली पनि गठन भयो । सन् १९७४ मा राष्ट्रसङ्घको महासभाले थप नयाँ प्रस्तावहरू पारित ग¥यो । सन् २०२४ मा ‘व्यापार तथा विकासका निम्ति राष्ट्रसङ्घीय सभा’ को ६० औँ वार्षिकोत्सव मनाइयो । कार्यक्रममा उपमहासचिव पेद्रो मानुयल मोरेनोले घोषणा गरे, “(बाङडुङ सम्मेलन) को मर्म अनुसार नै नौ वर्षपछि व्यापार तथा विकासका निम्ति राष्ट्रसङ्घीय सभा (युएनसीटीएडी) को जन्म भएको थियो ।”
सत्ताविद्रोहको संसार
बाङडुङ सम्मेलन हुनुभन्दा केही हप्ताअघि सन् १९५५ को अप्रिल महिनामा अमेरिकी विदेशमन्त्री जोन फोस्टर डलेसले अमेरिकाका लागि बेलायती राजदूत सर रोजर माकिन्ससँग एउटा भेट गरेका थिए । डलेसले माकिन्सलाई ‘एसियाको सामान्य अवस्था’ ले ‘चिन्तित’ बनेको बताएका थिए । यो ‘अवस्था’ भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरूले स्वतन्त्रतापछि सन् १९५५ मार्च ३१ गते दिएको मन्तव्यमा अभिव्यक्त भएको थियो । बाङडुङ सम्मेलनको तयारी चलिरहेकै बेला उनले ‘सियाटो’ गठबन्धन आक्रामक सन्धि भएको, भारतको गोआमा उपनिवेश कायम गर्न ‘नेटो’ गठबन्धनले पोर्चुगललाई सहयोग गरेको र पश्चिमाहरूले पश्चिम एसियामा ‘चलखेल गरेको’ मा खेद प्रकट गरेका थिए । डलेसले भने, “(नेहरूको भाषण) ले पश्चिमा सभ्यता विफल भइसकेको र त्यसको ठाउँमा नयाँ प्रकारको सभ्यता आवश्यक भएको दृष्टिकोण दिएको छ ।” निराश डलेस बाङडुङ सम्मेलनलाई निस्तेज पार्न चाहन्थे किनभने उनको भाषामा त्यो ‘प्रकृति र अवधारणा पश्चिमविरोधी’ थियो ।
सन् १९५३ मा इरानले र सन् १९५४ मा ग्वाटेमालाले पश्चिमाहरूले नयाँ विश्व व्यवस्था निर्माण गर्न आनाकानी गरिरहेको घोषणा गरे । यसपछि अफ्रिका, ल्याटिन अमेरिका र एसियामा क्रमैसित सत्ताविद्रोहहरू भए । अफ्रिकामा सन् १९६१ मा र घानामा सन् १९६६ मा सत्ताविद्रोह भए । ब्राजिलमा सन् १९६४ मा सत्ताविद्रोह भयो । त्यस्तै, सन् १९६५ मा इन्डोनेसियामा सत्ताविद्रोह भयो । यी चारवटै सत्ताविद्रोह साम्राज्यवादका जवाफ थिए । यी चारै स्थानमा सत्तासीन भएका सैनिक शासनले आआफ्ना महादेशमा हुने कुनै पनि प्रकारका प्रगतिशील घटनाक्रमको घाँटी थिच्न भूमिका खेले । इन्डोनेसियामा भएको सत्ताविद्रोहका कारण १० लाख कम्युनिस्टहरूको हत्या भयोे । वास्तवमा यो बाङडुङ सम्मेलनको बदला थियो ।
(टिपोट : सन् १९४१–४७ मा गोल्ड कोस्ट र नाइजेरियाका गभर्नर रहेका एलन बन्र्सलाई बेलायतले राष्ट्रसङ्घको ट्रस्टिसिप काउन्सिलका स्थायी प्रतिनिधि नियुक्त ग¥यो । सन् १९४७–१९५६ सम्म उनी त्यो पदमा रहे । राष्ट्रसङ्घ छोडेलगत्तै बन्र्सले एउटा पुस्तक प्रकाशित गरे । पुस्तकमा बाङडुङ सम्मेलनबारे चर्चा गर्दै सो सम्मेलनलाई उनले ‘युरोपेली राष्ट्रहरूले विगतमा विश्वभरि जमाएको हैकमविरुद्ध गाढा छाला भएका जनताको असन्तोष’ भनेका थिए । )
(‘ट्राइकन्टिनेन्टल : सामाजिक अध्ययन संस्थान’ आन्दोलन केन्द्रित अन्तर्राष्ट्रिय संस्था हो । यसले राजनीतिक आन्दोलनलाई सघाउ पुग्ने गरी अनुसन्धानहरू गर्दै आएको छ । यसले राजनीतिक अर्थशास्त्र अनि सामाजिक सोपानको ज्ञानलाई आन्दोलनबिचको खाडल पुर्ने प्रयास गर्ने गर्छ । यसरी यो संस्था एउटा बुद्धिजीवीदेखि लिएर सामान्य कामदार समेतलाई प्रभावित गर्ने पुँजीवादी विचारधाराविरुद्ध ‘विचारको लडाइँ’ मा समर्पित हुँदै आएको छ ।
स्रोत : एमआर अनलाइन । सम्यक)