
इरानमाथिको हमला इतिहासमा ती दुर्लभ युद्धहरूमध्ये एक बन्न पुग्यो, जहाँ सबै पक्षले आफूलाई विजेता घोषणा गरे – तर साँचो जीत कसको भयो भन्ने कुरा भने भविष्यले मात्रै बताउनेछ । इजरायलले चाहेजस्तै इरानको आणविक शक्ति जरैदेखि सखाप भयो वा अमेरिकाले देखाएजस्तै प्रहार निर्णायक सिद्ध भयो, त्यो आउने दिनले मात्र खुलाउने छ ।
हाम्रो समाजमा घरभित्र सधैँभरि देखिरहने एउटा घटना यहाँ साझा गर्छु । परिवारमा दुई जना नाबालक दाजुभाइ हुँदा स–साना कुरामा पनि सधैँ झगडा गरिरहनुलाई स्वाभाविक घटनाको रूपमा लिइन्छ । दाजुभाइबिच सधैँझैँ झगडा हुँदा ठुलो भएको कारण दाइले रिसले गाली गर्दै सानो भाइको गालामै पिट्ने धेरैपटक हुन्छ । भाइ रोएरै आमाकहाँ जान्छ । गालामा दुखाइ, मनमा चोट लिएर भाइ आमासँग गुनासो गर्दै कराउँछ, “आमा, दाइले पिट्यो ¤ तपाईँले दाइलाई पनि पिट्नुपर्छ !”
आमा आइन्, अवस्था बुझिन् । आमाले दाइको गालामा आफ्नै एउटा हत्केला राख्दै अर्को हातले हल्का पिट्दै ‘प्याट’ आवाज निकालिन् – यस्तो लागोस् कि पिटिन्, तर वास्तविक चोट नहोस् ।
भाइलाई लाग्यो दाइ पनि पिटियो, उसको मनले न्याय पायो । आँसु रोकियो, मुस्कान फर्कियो ।
सन्देश स्पष्ट थियो – कहिलेकाहीँ नाटक गरेर सन्तुलन मिलाइन्छ, वास्तविक पीडाबिना पनि न्यायको अनुभूति दिलाइन्छ ।
यो दृश्य यति सामान्य लागे पनि आजको विश्व राजनीति पनि केही त्यस्तै भइरहेको छ – विशेषतः इरानमाथि अमेरिकाले गरेको बम आक्रमण, जुन धेरैजसो रिपोर्टअनुसार इजरायललाई सन्तुष्ट पार्न गरिएको रणनीतिक कदम थियो ।
के भयो इरानमा ?
गत हप्ता अमेरिकाले इरानको फर्डो, नतान्ज र इस्फान तीनवटा मुख्य नाभिकीय केन्द्रमा हमला ग¥यो । अमेरिकी राष्ट्रपति ट्रम्पले त्यसपछि गर्वका साथ घोषणा गरे, “हामीले इरानको परमाणु कार्यक्रमलाई पूर्णरूपमा नष्ट ग¥यौँ, यो हिरोशिमाजस्तै हो ।”
तर, केही दिनमै अमेरिकी गोप्य दस्ताबेज चुहियो । अमेरिकी रक्षा विभागको रिपोर्टले इरानका महत्वपूर्ण परमाणु संरचना वास्तवमै ध्वस्त भएको थिएन भनेर स्पष्ट देखाए । सीएनएनलगायतका सञ्चारमाध्यमहरूले आक्रमणले परमाणु कार्यक्रम केही महिनाको लागि मात्र ढिलाइ हुन्छ, तर कार्यक्रम अझै बाँकी रहेको उल्लेख गर्दा ट्रम्पको झूट फेरि एकपटक उदाङ्गिएको छ ।
यो सबै नाटक भएको र अमेरिकी शक्ति देखाउने प्रयासमात्र भएको भन्नेमा धेरैको शङ्का छ । इरानलाई आणविक हतियारको अप्रसार सन्धि (NPT) अन्तर्गत शान्तिपूर्ण प्रयोजनका लागि आणविक ऊर्जा उपयोग गर्ने पूर्ण अधिकार प्राप्त छ र इरानले कुनै पनि परिस्थितिमा आफ्नो यो अधिकार अक्षुण्ण राख्ने अडान प्रस्ट पारेको छ । हालै अमेरिकी आक्रमणपछि इरानी आणविक केन्द्रहरूमा केही सामान्य तहको क्षति पुगेको भए पनि, त्यो क्षति स्थायी नभएको इरानी अधिकारीहरूले स्पष्ट पारेका छन् ।
फोर्दो, नतान्ज र इस्फाहानस्थित इरानी आणविक प्रतिष्ठानका मुख्य संरचनाहरू सुरक्षित रहेको र इरान आफ्नो आणविक कार्यक्रमलाई पहिलेकै गतिमा अगाडि बढाउन दृढ
रहेको देखिन्छ । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनीले समेत यो आक्रमणलाई ‘साम्राज्यवादी शक्तिको नाटक’ भन्दै खारेज गरेका छन् र इरानको वैज्ञानिक तथा प्राविधिक क्षमतामा कुनै असर नपरेको बताएका छन् । यी सबै घटनाक्रमले के स्पष्ट पार्छ भने इरानले हालको आक्रमणलाई अस्थायी झटका मात्रै ठानेको छ र आफ्नो दीर्घकालीन रणनीतिक लक्ष्यहरूप्रति दृढताका साथ प्रतिबद्ध रहेको छ ।
किन गरियो आक्रमण ?
सामान्य आँखाले हेर्दा यो घटनालाई अमेरिका र इरानको झगडाजस्तो लाग्छ । तर, गहिरो विश्लेषण गर्दा, यो इजरायलको दबाब र अमेरिकाको आन्तरिक राजनीतिक स्वार्थका कारण भएको देखिन्छ । इजरायल लामो समयदेखि इरानको परमाणु विकासविरुद्ध छ । इजरायल चाहन्थ्यो यसमा अमेरिकाले हस्तक्षेप गरोस् ।
इजरायली नेतासँगको सम्बन्ध देखाउन र अमेरिकी जनतालाई ‘हामी कडा छौँ’ भन्ने सन्देश दिने ट्रम्पको पनि इच्छा थियो । तर, यो कडा कदम वास्तवमा भाइको लागि ‘दाइलाई पिटेको नाटक’ जस्तो भयो – शब्दमा ठुलो तर वास्तवमा हल्का । यसरी अमेरिकाले इरानमाथि गरेको आक्रमण नाटकमात्र हो कि भन्नेमा धेरैलाई शङ्का लागेको छ ।
डोनाल्ड ट्रम्पले ‘इरानको समृद्ध युरेनियम ध्वस्त बनाएको’ दाबी गरे पनि अमेरिकी आणविक निःशस्त्रीकरणविज्ञ जोसेफ सिरिन्सियोनले यो असत्य भएको स्पष्ट पारेका छन् । उनका अनुसार युरेनियम सजिलै केही ट्रकमार्फत अन्यत्र सार्न सकिने र इरानसँग त्यस्ता गोप्य स्थलहरू छन् । ट्रम्पले भने युरेनियम धेरै ग¥हौँ भएकाले छोटो समयमा सार्न नसकिने बताएका छन् । अमेरिकी खुफिया प्रतिवेदनले आक्रमण अघि नै केही युरेनियम स्थानान्तरण भइसकेको सङ्केत दिएको छ । भूउपग्रह तस्बिरहरूले आक्रमणको एक दिनअघि ट्रक र बुलडोजरको गतिविधि देखाएको छ । यद्यपि, ट्रम्प प्रशासनले यो आक्रमणले ठुलो क्षति पु¥याएको दाबी गरे पनि विज्ञहरूका अनुसार प्रभाव केही महिनामात्रै टिक्नेछ । यसरी विभिन्न सञ्चारमाध्यमले दिएको जानकारी सत्य ठहरियो भने, इरानको आणविक कार्यक्रम ‘वर्षौँ पछाडि धकेलिएको’ ट्रम्पको दाबी गलत साबित हुन्छ । यस आक्रमणलाई आफ्नो मुख्य लक्ष्य प्राप्त गर्न असफल रहेको र २ अर्ब डलरको आतिशबाजीमात्र भएको अमेरिकीहरूमाझ ठट्टा सत्य साबित हुनेछ ।
हिजैमात्र फेरि अर्को समाचार बाहिरिएको छ । इस्फहान केन्द्र अत्यधिक गहिराइमा रहेकोले बङ्करबुस्टर बम प्रभावकारी नहुने भन्दै त्यसको साटोमा टमहक क्रुज मिसाइल प्रयोग गरेर आक्रमण गरेको भनियो । यो मिसाइल पानीमुनिबाट प्रक्षेपण गरिएको थियो ।
आजको डिजिटल युगमा समाचारहरू बारम्बार फेरिनु सामान्य भएको छ, विशेषगरी युद्ध, राजनीति र अन्तर्राष्ट्रिय मामिलामा । प्रारम्भिक विवरण अपूर्ण वा अनुमानमा आधारित हुन सक्छ, जुन पछि पुष्टि वा रणनीतिक कारणले परिवर्तन हुन्छ । यस्तो अवस्थामा आलोचनात्मक सोच आवश्यक छ, जसले गर्दा हामी हतारमा धारणा नबनाई विश्वसनीय स्रोतका आधारमा समाचारलाई बुझ्नुपर्छ ।
नाटक नै भए पनि युद्धविराम भइसकेको छ । अमेरिकाको मध्यस्थतामा भएको युद्धविराम लागु भएपछि इजरायल र इरान दुवैले मङ्गलबार विजय हासिल गरेको दाबी गरेका छन् । यससँगै मध्यपूर्वका दुई कट्टर प्रतिद्वन्द्वीहरूबिचको लगभग दुई हप्तादेखि जारी अभूतपूर्व द्वन्द्व रोकिएको छ ।
इरानमाथिको हमला इतिहासमा ती दुर्लभ युद्धहरूमध्ये एक बन्न पुग्यो, जहाँ सबै पक्षले आफूलाई विजेता घोषणा गरे – तर साँचो जीत कसको भयो भन्ने कुरा भने भविष्यले मात्रै बताउनेछ । इजरायलले चाहेजस्तै इरानको आणविक शक्ति जरैदेखि सखाप भयो वा अमेरिकाले देखाएजस्तै प्रहार निर्णायक सिद्ध भयो, त्यो आउने दिनले मात्र खुलाउने छ ।
(विभिन्न समाचार एजेन्सीको सहयोगमा)