
असार २२ कञ्चनका अव्यबस्थित बसोबासीहरुका लागि ऐतिहासिक दिन
१९ असार, कञ्चन
२०८२ सालको असार २२ गते कञ्चनका अव्यबस्थित बसोबासीहरुका लागि ऐतिहासिक दिनको रुपमा दर्ज हुदैछ। विगत ६० औं बर्षदेखि आरोह र अवरोह सहित जीवन नै समर्पण गरी बस्दै आएका अव्यबस्थित बसोवासीहरुले सपनाकै रुपमा लिइएको लालपूर्जा पाउने दिनको रुपमा इतिहास पूनः लेखिने भएको छ।
कञ्चन गाउापालिकाका अध्यक्ष नवराज ढकालले चुनावको समयमा गरेको बाचा मध्ये कञ्चनका अव्यबस्थित बसोवासीहरुलाई लालपूर्जा दिने बाचा पुरा गर्ने दिन असार २२ हो। कञ्चनको हरेक कुनामा पुगेर "मलाई जिताए भूमिको काम गरेको १०० दिनमा लालपूर्जा दिन्छु" भनि बाचा गरेका थिए । अहिलेका गाउँपालिका अध्यक्ष नवराज ढकालले। चुनाव सकिएको ३ बर्ष भयो। कञ्चनका मतदाताले "अझै १०० दिन आएन, १०० दिनमा लालपूर्जा दिन्छु भनेको कहिले पुग्छ १०० दिन" भन्दै सामाजिक सञ्जाल भराए। तर अध्यक्ष ढकालले आफ्नो नियमित कार्य र लालपूर्जा बाढ्ने बाचालाई अर्जुनदृष्टिको रुपमा राखेर काम गरे।
कञ्चनका अव्यबस्थित बसोबासीहरुलाई लालपूर्जा दिन जल, जमिन र जंगलका हरेक पाना, खोल्सा र ढिकहरु ओल्टाए, पल्टाए। चुनाव जिते पछि कञ्चनवासीलाई बर्षौ देखि जोता भोग गर्दै आएको जमिनको मालिक बनाउन बन कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भूमि मन्त्रालय, अर्थ मन्त्रालय, बन मन्त्रालय सबै सबैतिर धाए।
उल्लेखित सबै आलोचनाहरुको साझा उत्तर दिने दिन भनेको असार २२ गते आइतवार बिहान ९ बजे तय भएको छ। त्यो उत्तर (लालपूर्जा) कति बैधानिक, कत्तिको आधिकारिक हुन्छ भन्ने कुरा समयले पनि विस्तारै प्रमाणित गर्दै जानेछ। किन भने यस भन्दा देशका विभिन्न स्थानहरुमा वितरण गरिएका लालपूर्जाको तथ्यांक सम्बन्धित जिल्ला मालपोत तथा नापी कार्यलयमा नभएपछि निकै तामझामका साथ बांडिएको लालपूर्जा आगजी खोस्टा बन्न पुगेको समाचारहरु प्रकाशित भइरहेका छन।
कञ्चनवासीले पाउने लालपूर्जा आधिकारिक नै बनाउन नापी सम्बन्धी जहाँ जहाँ समस्या छ त्यहाँ पुगेर समाधानका लागि पहल गरे, कञ्चनवासीका खेतहरुका मेढीहरु पुगेर मेढी र साँधकिल्लामा देखिएका समस्या समाधानका लागि समन्वययकारी भूमिका निर्वाह गर्न पुगे। राष्ट्रिय भूमि आयोगमा जग्गाहरुलाई प्रविष्ट गर्ने कार्यलाई तिव्रता दिएकै कारण आज कञ्चनवासीहरुले लालपूर्जा पाउने एतिहासिक दिन असार २२ सम्म पुगेको हो।
असार २२ गते कञ्चन गाउँपालिका वडा नं. ५ का ४४२ जना अब्यबस्थित बसोबासीहरुले लालपूर्जा पाउदैछन। कञ्चनको इतिहासमा वडा नं. ५ का ६३२ जना अव्यबस्थित बसोवासीह मध्ये ४४२ जनाले भूमि आयोगले निर्धारण गरेको राजस्व तिरेर उनिहरुको नाममा जग्गा दर्ता भएको छ। यो समाचार तयार गर्दासम्म १९० जनाले अझै राजश्व तिरेका छैनन। उनिहरुले के कति कारणले राजश्व तिरेनन भन्ने कुरा थप अध्ययन र समाचारको बिषय बन्न सक्छ । तर ४४२ जनाले असार २२ गतेका दिन लालपूर्जा पाएर सोही लालपूर्जा सिरानीमा राखेर करिब ६० औं बर्ष देखिको अनिदो रातलाई विट मार्ने छन।
सरकारले भूमिहिन दलित, भूमिहिन सुकमवासी तथा अव्यबस्थित बसोवासीहरुलाई एक पटक त्यो पनि अन्तिम पटक व्यबस्थित बनाउन उनिहरुले नै आमोत कमोत गरेको जग्गाको लालपूर्जा दिने नीति लिएको छ। सोही अनुसार १५ दिने राजश्व तिर्ने सूचनाको समयावधी थोरै भएका कारण पहिलो सूचना सकिएपछि पनि भूाि आयोगले पूनः दुई पटक राजश्व तिर्ने सूचना प्रकाशित गरिसकेको छ। तेश्रो पटकको सूचनाको समयावधी सकिन अव एक हप्ता (असार २३ गते) सम्म बांकी छ। आर्थिक रुपमा सवल र श्रोत भएकाहरुले यथासक्य राजश्व तिरेर आफ्नो नाममा जग्गा दर्ता गर्न पालिकाले पटक पटक सूचना जारी गरिरहेको छ।
पालिकाले असार २२ लाई कञ्चनका ६३२ जना अव्यबस्थित बसोवासीहरुका लागि ऐतिहासिक बनाउन स्थानीय सहकारी र वित्तिय संस्थाहरुसंग समन्वयगरी कर्जा व्यबस्थापन गरिरहेको छ। सकेसम्म बांकी १९० जनाले पनि लालपूर्जा लिनबाट बञ्चित नहोउन भनेर वडा र पालिकाको समन्वयमा कर्जा व्यबस्थापन गरेर राजश्व तिर्ने कार्यलाई प्रोत्साहित गरिरहेको छ। राजश्व तिर्ने तेश्रो पटकको सूचनाको समयावधी सकिएपछि पुनः चौथो पटकको सूचना प्रकाशित हुने सम्भावना नभएको राष्ट्रिय भूमि आयोग, स्थानीय समन्वय समितिका एक पदाधिकारीले जानकारी दिएका छन।
कञ्चनमा करिब १५ हजार भन्दा बढी भूमिहिन दलित, भूमिका सुकुमवासी तथा अव्यबस्थित बसोवासीहरुले २०७७ सालमा राष्ट्रिय भूमि आयोगमा आवेदन गरेका छन। १५ हजार कञ्चनवासीका करिब ४० हजार कित्ता मध्ये पहिलो पटक २ हजार कित्ताको लालपूर्जा वितरण गर्न लागिएको हो। यस पछि करिब १० हजार कित्ताका करिब ५ हजार कञ्चनवासीहरुको ३५ दिने हकदावीको सूचना प्रकाशित हुने अन्तिम तयारी भइरहेको स्थानीय समन्वय समितिका एक पदाधिकारीले जानकारी दिएका छन।
बर्षौं देखिको सपनाको रुपमा रहेको लालपूर्जा हातमा लिएर यो ऐतिहासिक महत्वपुर्ण दिनलाई अवसरको रुपमा उपयोग गर्न सकुन भने जनप्रतिनीधि, कर्मचारी, राजनैतिक दल र स्थानीय टोल बिकास संस्थाका प्रतिनीधिहरुले सहजिकरण गरिरहेका छन। कञ्चनवासी सबैले लालपूर्जा पाउन भन्ने उद्धेश्यले राजश्व तिर्ने अवस्थालाई कही कतैबाट पनि सहज बनाउन नसक्नेहरुको वडा वडामा तथ्यांंक संकलन गरी राजश्व तिर्न सक्ने बनाउन के कसरी सकिन्छ भन्ने सम्भाव्यता खोजि भइरहेको पनि पालिका अध्यक्ष नवराज ढकालको भनाइरहेको छ ।
जसरी समाजमा चलेको हल्ला अनुसार लालपूर्जा कागजी खोस्टा नबनोस। सबै कञ्चनवासीहरुको लालपूर्जामा उल्लेखित सबै जग्गा उनिहरुकै नाममा मालपोत कार्यालयमा अभिलेखिकरण होस। अहिले लालपूर्जा पाएका व्यक्तीहरुका भावि सन्ततिले मालपोत कार्यालयमा गएर कार्यालयको धड्डाका पाना पल्टाउदा लालपूर्जामा अभिलेखिकरण सरह दस्तावेज देख्न पाउन।
लालपूर्जाको हल्ला आएपछि खाउँ भने कान्छा बा को अनुहार, नखाउँ त दिनभरी सिकार
राजश्व एकमुस्ट तिर्न नसक्ने अव्यबस्थित कञ्चनवासीको मनमा अल्झिएको पिडा राज्यले राजश्व दर त घटायो तर १५ दिन भित्र सबै राजश्व तिर्न लगायो। पैसा हुने र साहुले पत्याउनेहरुले त तिर्लान तर हामी सामान्य जनता जसको कुनै आयश्रोत छैन, बैंक र सहकारीबाट ऋण लिन धितो छैन उनिहरुले कसरी एकमुस्ट राजश्व तिर्ने भनेर मनमा पिर गरेका छन। बरु लालपूर्जा नआएको हुन्थयो। हामीले गरिखान पाएका थियौं, आज लालपूर्जाको हल्ला आएपछि "खाउँ भने कान्छा बा' को अनुहार, नखाउँ त दिनभरी सिकार" भएको छ। यदि हामीलाई लालपूर्जा नै दिने हो भने किस्ता किस्तामा राजश्व तिर्ने व्यबस्था मिलाइदिन कञ्चन गाउँपालिका समक्ष पिडितहरुले कञ्चन खवर मार्फत आग्रह गरेका छन।