“सारा रुस पढ्न सिक्दै थियो । पढ्दै थियो राजनीति, अर्थशास्त्र, इतिहास । किनभने, जनता थाहा पाउन चाहन्थे । प्रत्येक सहर, सम्पूर्ण नगर र लडाइँका मोर्चाहरू सबै राजनीतिक समूहका आ–आफ्नै पत्रपत्रिका थिए । कसैका त अनेकौँ अखबार थिए । हजारौँ सङ्घसंस्थाले लाखौँ पर्चा–पम्पलेट बाँड्थे । सेनाका छाउनी, गाउँघर, कलकारखाना र गल्ली–गल्लीमा बाँडिन्थ्यो ती पर्चा । युगौँसम्म दबाइएको शिक्षाको तिर्खा क्रान्तिसँगै उखर्माउलो ढङ्गले विस्फोट भएको थियो । स्मोल्नी संस्थानबाट मात्र पहिलो ६ महिनामा प्रतिदिन गाडी र रेलभरि टनका टन साहित्य बाहिरिन्थ्यो । मानौँ, एकएक इन्च भूमिमा साहित्य छर्नु छ । तातो बालुवाले पानी सोसेजस्तो रुसले अध्ययन सामग्री सोस्थ्यो । यी साम्रगीमा मानिसलाई भ्रष्ट पार्ने किंवदन्ती, झूटा इतिहास, विकृत धर्म अथवा सस्ता कहानी थिएनन् । बरु यिनमा सामाजिक र आर्थिक सिद्धान्त, दर्शनलगायत टोल्स्टोय, गोगोल र गोर्कीका रचना थिए ।”
– जोन रिड, संसार हल्लाउने ती दस दिन, सन् १९१९ ।
सामान्य जनताको क्रान्ति भयो । समाजका बन्धनहरूमा चुँड्न थाले । नयाँ संसारको रचना गर्ने हुटहुटी बढ्यो । कतिपय मानिस समाजवादी थिए भने कतिपय देशलाई मुक्त गर्ने सोचले सक्रिय थिए । पुरातन सामाजिक मूल्यमान्यता उल्ट्याउने र समानतापूर्ण समाज निर्माण गर्ने जुर्मुराहट थियो । समानतापूर्वक बाँच्ने लालसा थियो । बीसौँ शताब्दीका धेरै क्रान्ति किसान र मजदुर (मेक्सिको, सन् १९१०; चीन, सन् १९११; इरान, सन् १९०५–१९११; रुस र मध्य एसिया, सन् १९१७) को नेतृत्वमा भएको थियो । उनीहरू प्रायः जमिनदारी प्रथाले ल्याउने जड सोचलाई कसरी बदल्ने होला भन्नेमा बढी जोड दिन्थे । जमिनदारहरूको सत्ता फाल्न अतिरिक्त जमिन वितरण गरेर अथवा भूमिसुधार गरेर मात्रै पुग्दैनथ्यो । जमिनदारको सत्ताको जरा सामाजिक पदानुक्रम (वा उँचनीच) मा गढेको थियो । कहिलेकाहीँ यो मर्यादाक्रमलाई ईश्वरीय नै मानिन्थ्यो । बुझ्नै हम्मेहम्मे पर्ने जमिनका पुर्जा र खातापाता प्रयोग गरी किसानलाई शोषण गरिन्थ्यो । साहुमहाजन र पण्डापुजारीका डढ्दा पनि किसानलाई शोषण गर्ने माध्यम थिए । पढ्न नसक्दा किसानहरू शक्तिहीन हुन्थे । (माथि उल्लेख) विश्वका यी गरिब भूभागमा क्रान्ति भएपछि शक्तिहीनहरूले शक्ति हासिल गर्न चाहे । पढाइको हुटहुटी यसको प्रमाण थियो ।
उन्नाइसौँ शताब्दीमा यी देशमा बुर्जुआ संस्कृति फैलियो । त्यस बेला पढाइलाई खानदानीवर्गको पहिचान बनाइयो । हुन त व्यावसायिक छापाखानाको विकाससँगै पत्रपत्रिका र किताबको संस्कृति मौलाएको थियो । तर, त्यो संस्कृति खासगरी बुर्जुवावर्गका लागि र कता कति निम्न बुर्जुवावर्गको लागि थियो । मेक्सिकोमा राष्ट्रपति बेनिटो जुआरेज (सन् १८५९–१८७२) को पालामा विद्यालय तथा छापा उद्योगलाई विस्तार गरियो । तर, पत्रपत्रिकाको मूल्य एक औसत मजदुर वा किसानको दैनिक कमात्न्दा कता हो कता बढी थियो । मेक्सिको, रुस र भारत एवम् अफ्रिकाका उपनिवेशहरूमा जमिनदारहरूको शासन थियो । मजदुर र किसानले पढ्न सिक्ने माहोल वा अवसर एकदम कम थियो । ट्रेड युनियन र कम्युनिस्ट आन्दोलन देखापरेपछि मात्र यी देशमा मजदुर–किसानका लागि पत्रपत्रिका र पर्चा–पम्प्लेट प्रकाशित भए । यी सङ्गठनले प्रायः भूमिगतरूपमा प्रकाशनको काम गर्थे । यसरी कामदारवर्ग र किसानले पढाइमा पहुँच पाए । प्रायः पढेलेखेका सङ्गठकहरूले उनीहरूले किताबका कुरा पढेर सुनाउँथे । सामूहिक सिकाइको यो तरिका नै अक्षर चिन्ने पहिलो पाठशाला बन्यो ।
पढ्छ मेक्सिको
सन् १९१० मा मेक्सिकोमा क्रान्ति भयो । त्यसबेला देशका साढे १ करोड जनतामध्ये २२ प्रतिशतले मात्र अक्षर चिन्थे । त्यसपछिको दस वर्षमा मेक्सिकोमा धेरै अशान्ति र अस्थिरता फैलियो । सन् १९२० मा अलभारो ओब्रेगन राष्ट्रपति बने । उनले सुधारको लहर ल्याए । संस्कृतिमा पनि ठुलो परिवर्तन आयो । गाउँ–गाउँमा पाठशाला खोल्ने, शिक्षकलाई तालिम दिने, सार्वजनिक पुस्तकालय र कला विद्यालयहरू खोल्ने काम भयो । सरकारले नै सिकारुहरूको लागि पर्चा–पम्प्लेट र किताब छाप्न थाल्यो । सन् १९२१ मा होजे भास्कोन्सिलोस पहिलो शिक्षामन्त्री बने । राष्ट्रपति ओब्रेगनले उनलाई मेक्सिकोको संस्कृतिलाई प्रजातान्त्रिक बनाउने जिम्मा सुम्पे । यो लक्ष्य हासिल गर्न राज्यले गाउँ–गाउँमा हजारौँ पाठशाला खोल्यो, शिक्षकहरूलाई तालिम दिने तालिम केन्द्रहरू खुले । गाउँले शिक्षकहरूले दैनिक एक पेसो तलब पाउँदै आएकोमा बढाएर तीन पेसो पु¥याइयो । तालिम केन्द्र स्थापना गर्न भास्कोन्सिलोसले कम्युनिस्ट पार्टीकी सदस्य एलिना टोरेस क्वेलरसँग मद्दत माग्यो । टोरेसले यो सांस्कृतिक अभियानलाई देशका कुनाकाप्चासम्म पु¥याइन् । दस वर्षभित्र चार हजार शिक्षकलाई तालिम दिइयो । सन् १९२१ मा टोरेसले पाठशालामै निःशुल्क खाजा दिने कार्यक्रम ल्याइन् । पाठशालाहरूले दैनिक दसौँ हजार विद्यार्थीलाई खाजा खुवाउन थाले ।
भास्कोन्सिलोसको अगुवाइमा शिक्षा मन्त्रालय गाउँ–गाउँमा गुणस्तरीय सार्वजनिक पुस्तकालयको विकासमा जोडतोडले लाग्यो । यसको लागि मन्त्रालयले पुस्तकालय निर्माण गर्न बजेट निकासामात्र गरेन । बरु, मन्त्रालयले आफैँ पुस्तक छाप्न र वितरण गर्न थाल्यो । गाउँका पुस्तकालयका लागि मन्त्रालयले पचासथरी किताब छाप्थ्यो भने सहरका पुस्तकालयका लागि एक हजारथरी पुस्तक छाप्थ्यो । यसले गाउँले किसानको सांस्कृतिक जीवन उकास्न टेवा पुग्यो । तिनले व्यवहारिक तथा उत्पादनमुखी ज्ञान पाए । यी पुस्तकमा प्राचीन ग्रीक साहित्य, मेक्सिकोको इतिहास, गृह व्यवस्थापन, कृषि विज्ञानसँग सम्बन्धित ज्ञान हुन्थ्यो । शिक्षा मन्त्रालयले शिक्षकको लागि ‘गुरु’ नाउँको अलग्गै पत्रिका चलाउँथ्यो । पत्रिकामा शिक्षण शैली, शिक्षासम्बन्धी नयाँ–नयाँ विचार र पुस्तक समीक्षाहरू छापिन्थ्यो । राज्यको यो अगुवाइसँगै सन् १९३४ मा समाजशास्त्री तथा अर्थविद् डेनियल कोजियो भिलेगासले ‘आर्थिक सांस्कृतिक कोष’ स्थापना गरे । त्यसबेला अर्थशास्त्रको राष्ट्रिय क्याम्पसमा यस कोषको स्थापना गरिएको थियो । (हिजोआज यहाँ मेक्सिकोको राष्ट्रिय स्वायत्त विश्वविद्यालयको अर्थशास्त्र विभाग छ ।) सुरुमा अर्थशास्त्र पढ्न आउने विद्यार्थीलाई पुस्तक बाँड्न खोजिएको यस कोषले पछि ल्याटिन अमेरिकाभरि नै अनेक विषयका पुस्तक वितरण गर्न थाल्यो ।
मेक्सिकोमा क्रान्ति संस्थागत भयो । त्यसपछि त्यसको वर्गीय चरित्र पनि बदलिन थाल्यो । संस्कृतिलाई प्रजातान्त्रिक बनाउने सोच खस्किँदै गयो । साक्षरता दर बढ्यो । तर, ७० प्रतिशत पुगेपछि त्यहाँभन्दा माथि चढ्न सकेन । सरकारी शैक्षिक संस्था तथा सार्वजनिक पुस्तकालयहरूले शिक्षाको गुणस्तर सुधार्न सकेनन् । सन् १९८२ मा मेक्सिकोमा ऋण सङ्कट आयो । देशमा वित्तीय भार बढ्यो । यसले गर्दा विद्यालय र पुस्तकालयले पाउनुपर्ने बजेट घट्न पुग्यो । मेक्सिकोका नीतिनिर्माताहरू नवउदारवादी आनीबानीमा चिप्लिँदै गए । तर, समाजका अन्य पक्षले शिक्षामाथिको जोड कमजोर पार्न चाहेन । त्यसैले, तिनले सङ्घर्ष गरिरहे । सन् १९८६ मा पुस्तकालय निर्देशनालयले एउटा कार्यक्रम ल्यायो । कार्यक्रमको नाम थियो – ‘मेरो गर्मी बिदा पुस्तकालयमा’ । कार्यक्रमले गति लिएपछि लाखौँ बालबालिका तथा युवा सार्वजनिक पुस्तकालयमा हुने विभिन्न सामाजिक क्रियाकलापमा सहभागी भए । मेक्सिकोमा यही कार्यक्रमका कारण सार्वजनिक पुस्तकालय एउटा पद्धति र संस्कृति बनिसकेको छ । पुस्तकालयहरूले सांस्कृतिक, साङ्गीतिक तथा कथा वाचन कार्यक्रम (फेस्टिभल) को आयोजना गर्छन् । सन् १९९३ मा पाठ्यक्रममा सुधार गरियो । लगत्तै सन् १९९५ मा शैक्षिक सुधार गरियो । यही सुधारअन्तर्गत शिक्षा मन्त्रालयले ‘पढाइको निम्ति राष्ट्रिय कार्यक्रम’ ल्यायो । सन् २००० मा यो कार्यक्रमको नाम फेरेर ‘पढाकुहरूको देशतर्फ’ राखियो । देशभरिका विद्यालयका पुस्तकालयहरूको लागि बर्सेनि पचहत्तर पुस्तकहरू छनोट, प्रकाशन तथा वितरण गर्नु नै यस कार्यक्रमको सबल पक्ष हो ।
सन् २००८ मा ‘पठन तथा पुस्तक प्रवद्र्धनका निम्ति राष्ट्रिय कार्यक्रम’ अघि सारियो । यसले एउटा परियोजना चलायो – ‘पढ्छ मेक्सिको’ । शिक्षालाई सामाजिक असमानता घटाउने र ज्ञानमा पहुँच बढाउने साधनका रूपमा प्रयोग गर्न यो परियोजना चलाइएको थियो । यो कार्यक्रमको जरा खोतल्दै जाने हो भने त्यहाँ मक्सिकोकै इतिहासमा चलाइएको साक्षरता अभियान र क्युवाली क्रान्तिको ‘हो, म सक्छु’ अभियानको प्रभाव भेटिन्छ । सन् १९६१ को क्युवाली साक्षरता कार्यक्रमको पाठ्यक्रमबाट सिक्दै सन् २००१ मा मेक्सिकोमा प्रौढ साक्षरताको पाठ्यक्रम तयार पारिएको थियो । यो पाठ्यक्रम ल्याटिन अमेरिकाभरि नै प्रभावकारी साबित भएको छ । अर्को वर्ष, अर्थात् सन् २००९ मा ‘आर्थिक सांस्कृतिक कोष’ का निर्देशक पासो इग्नासियो ताइबो र लेखिका पालोमा सेज तेजेरोले ‘मुक्तिका लागि पढ्ने पल्टन’ नामक संस्था स्थापना गरे । यो संस्थाले पुस्तक छाप्यो । यी पुस्तक सित्तैमा डाउनलोड गर्न मिल्थ्यो । कहीँकतै पुस्तक मेला र सांस्कृतिक कार्यक्रम (फेस्टिभल) भए पाठकले यस संस्थाका पुस्तक सित्तैमा घर लग्न पाउने भए । ‘पढाइको मज्जा’ नै यस पल्टनको मूल मर्म हो । पालोमा सेज तेजेरो भन्छिन् :
“पढाइले हाम्रो आशा–आकाङ्क्षा र ज्ञान बढाइदिन्छ । सामान्य अवस्थामा हामीसँग यस्तो आकाङ्क्षा र ज्ञान हुँदैन । पढाइले हामीलाई अझ बढी आलोचनात्मक बनाउँछ र दैनिक जीवनमा आफूलाई रक्षा गर्ने साधन दिन्छ; हतियार उपलब्ध गराउँछ । पढाइले तपाईँलाई रूपासे वा धनाढ्य बनाउँदैन । पढेर तपाईँ रूपासे वा धनाढ्य बन्नुहुन्छ भनी लेखिएका पुस्तक सरासर झूटा हुन् । पुस्तक पढेर तपाईँ महाज्ञानी बन्नुहुन्छ भन्ने पनि छैन । तर, पढाइले तपाईँलाई आफूले गर्ने र गर्न नचाहेको कामबिच स्पष्ट रेखा कोर्न मद्दत गर्छ ।”
पढाइले चिनियाँ जनतालाई शिर उँचो पार्न सघायो
सन् १९११ मा चीनबाट चिङ वंश हट्यो । त्यसअघि अधिकांश चिनियाँ (त्यसमा पनि खासगरी महिला) ले अक्षर चिन्दैनथे । बीसौँ शताब्दीको आरम्भमा चीनको साक्षरता दर १०–१५ प्रतिशतमात्र थियो । त्यसपछि पनि धेरै वर्ष बिते । साक्षरतामा कुनै सुधार आएन । सन् १९४९ को चिनियाँ क्रान्तिभन्दा अगाडि चिनियाँ समाज धेरै उथलपुथलकारी घटनाक्रमबाट गुज्रियो । साक्षरतामा सुधार नहुनुको मुख्य कारण यही थियो । सन् १९५० को दशकमा आएर चीनको साक्षरता दर नाटकीय ढङ्गले बढ्न थाल्यो । सन् १९५९ मा साक्षरता दर ५७ प्रतिशत पुग्यो । सन् २०२१ सम्ममा चीनको प्रौढ साक्षरता बढेर ९७ प्रतिशत पुगेको छ । यो विश्वकै उच्च साक्षरता दर हो । पछिल्ला सात दशकमा चीनले गरेको शैक्षिक प्रगतिलाई ‘सम्भवतः मानव इतिहासकै एकमात्र महाकाय शैक्षिक अभियान’ भनिएको छ ।
चिनियाँ कम्युनिस्ट पार्टीले सन् १९४९ को क्रान्तिपछि लागु गरेको नीतिका कारण यी उपलब्धि हासिल भएका हुन् । यी नीतिको प्रयोग सुरुमा च्याङ्सी सोभियत (सन् १९३१–१९३४) र यनान सोभियत (सन् १९३६–१९४८) मा गरिएको थियो । च्याङ्सी सोभियत दक्षिणपूर्वी चीनमा थियो भने यनान सोभियत उत्तर–मध्य चीनमा थियो । यी नीतिअन्तर्गत खासगरी गाउँका प्रौढहरूलाई अक्षर चिनाउन विभिन्न साक्षरता अभियान चलाइएको थियो । यी अभियान सोभियत सङ्घको शैक्षिक अनुभवमा आधारित थिए । सोभियत रुसमा लिकबेज नामक निरक्षरता उन्मूलन अभियान चलाइएको थियो । यसले गर्दा सबै सोभियत गणराज्यमा ठुलो परिवर्तन आयो† प्रौढ साक्षरता कार्यक्रमसम्बन्धी ज्ञान व्यवस्थित बन्दै गयो ।
(टिपोट : यहाँ सोभियत सङ्घबारे विस्तृत चर्चा गरिएको छैन । सोभियत सङ्घको साक्षरता अभियानले विश्वमै उदाहरण पेस गरेको थियो । सोभियत साक्षरताका तथ्याङ्क मात्र हेरेर समग्र कथा बताउन सकिन्न । सोभियतहरूले तीव्रगतिमा देशबाट निरक्षरताको कहरलाई परास्त गरेका थिए । उदाहरणको लागि, सोभियतहरूले देशैभरि गाउँ–गाउँमा ‘पढ्ने झुपडी’ निर्माण गरेका थिए भने स्तेपीको घाँसे मैदानभरि स्वास्थ्यकर्मी र साक्षरता टोली खटाउन ‘लाल शिविर’ खडा गरेका थिए । यी कथा कहिल्यै राम्ररी सुनाइएका छैनन् ।)
सन् १९२१ मा अर्थनीतिसम्बन्धी एक सम्मेलनमा निरक्षरता रहेसम्म देशले फड्को मार्न नसक्ने घोषणा नै गर्नुभयो । लेनिनले भन्नुभयो, “साक्षरताबिना राजनीति हुन सक्दैन । साक्षरताबिना खालि हल्ला, गफ, परीकथा र पूर्वाग्रह मात्र हुन्छ; राजनीति हुन्न ।”
नयाँ चीनको साक्षरता अभियानका सबै पक्षलाई केही बुँदामा समेट्न सम्भव छैन । तर, तीनवटा पक्षमाथि जोड दिनैपर्छ :
१. चिनियाँ भाषामा निरक्षर मान्छेलाई ‘अक्षर अन्धो’ भनिन्छ । अर्थात्, साक्षर बन्न चिनियाँ वर्णहरूलाई चिन्नुपर्छ । चिनियाँ भाषाका १ लाखभन्दा बढी वर्ण समाजमा पूर्ण साक्षरता हासिल गर्नमा तगारो बन्दै आएका छन् । साक्षरता बढाउनका लागि सन् १९५५ मा क्रान्तिकारी सरकारले ‘चीनको लेख्य भाषा सुधार समिति’ गठन ग¥यो । समितिले गाउँले जनताका लागि साढे १ हजार तथा गाउँले नेता र सहरिया जनताका लागि २ हजार वर्णको सूची तयार पा¥यो । कम्तीमा यति अक्षर चिनेपछि व्यक्ति साक्षर कहलिने भयो । सन् १९५८ मा आधारभूत पाठशालाहरूमा पिनयिन र सरलीकृत चिनियाँ वर्णको प्रयोग सुरु भयो । (चिनियाँ अक्षरलाई मानक अङ्ग्रेजी लिपिमा लेख्नुलाई पिनयिन भनिन्छ ।)
२. मेक्सिको र रुसमा जस्तै चिनियाँ क्रान्तिले ग्रामीण र प्रौढ साक्षरतालाई महत्व दियो । अभिभावकलाई नै पढाइ–लेखाइको महत्व थाहा छैन भने तिनका छोराछोरीमा पनि पढाइको मज्जा पैदा गर्न सकिन्न भन्ने थियो । लिन हान्डा चीनको निरक्षरताविरोधी अभियानकी एक मुर्धन्य अगुवा हुन् । सन् १९५५ मा उनले भनेकी थिइन् – अक्षर सिक्दैमा कसैलाई साक्षरको कोटीमा राख्नुहुँदैन; बरु साक्षरता अभियानको लक्ष्य अक्षर चिनाएर किसानहरूलाई तिनको जीवन सम्पन्न बनाउन र उत्पादनशीलता बढाउन सक्षम पार्ने हुनुपर्छ । सन् १९५६ मा निरक्षरताविरोधी अध्यादेश आयो । उक्त आदेशमा ग्रामीण प्रौढ साक्षरता दुई सिद्धान्तमा आधारित हुनुपर्ने उल्लेख थियो – व्यवहारसँग जोडिएको र उपयोगका लागि सिकाइ ।
३. अन्ततः चिनियाँ क्रान्तिले आफ्ना साक्षरता कार्यक्रममा सार्वजनिक पुस्तकालयहरूको भूमिकालाई जोड दियो । सन् १९४९ मा चीनभरि जम्मा पचपन्न सार्वजनिक पुस्तकालय थिए । समाजलाई प्रजातान्त्रिक बनाउनमा जोड दिँदै नयाँ चीनले पुस्तकालयहरू निर्माण गर्न थाल्यो । किसानहरूका लागि गाउँले इलाकामा र मजदुरहरूका लागि कलकारखानामा पुस्तकालयहरू बने । सन् १९५६ सम्ममा चीनले १ लाख ८२ हजार ९६० ग्रामीण पुस्तकालय बनाइसकेको थियो । ती पुस्तकालयमा अन्य शैक्षिक सामग्रीहरू पनि हुन्थे ।
यस्ता उपायमार्फत चिनियाँ समाज निरक्षरतामाथि विजयी भयो । आज चीनले धेरै नयाँ चुनौतीको सामना गर्दै छ । जस्तो, बालबालिकाहरू स्क्रिन र भिडियो गेमका अम्मली बन्दै छन् । यस्ता समस्याको हल खोज्नु छ । सन् २०२१ मा चीनका राष्ट्रपति सी चिनफिङले चीन सरकारले अनलाइन भिडियो गेममा प्रतिबन्ध लगाउने घोषणा गर्नुभयो । बालबालिकाहरूले हप्तामा तीन घण्टामात्र भिडियो गेम खेल्न पाउने भए । भिडियो गेम उद्योगले मात्र नभई अभिभावकले पनि बालबालिकालाई नियममा राख्नुपर्ने भयो । सन् २०२२ मा राष्ट्रपति सीले पठनका लागि प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गर्नुभयो । सभामा उहाँले पढाइको महत्व औँल्याउनुभयो । ज्ञान प्राप्तिको लागि मात्र नभई समझदारी बढाउन र आफूमा सद्गुण भर्न पनि पढाइ आवश्यक रहेकोमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “प्राचीनकालदेखि नै चिनियाँ जनताले पढाइको पैरवी गरेका छन्; वस्तुको प्रकृति बुझेर ज्ञान हासिल गर्न र इमानदारीपूर्वक चिन्तन गरेर बुद्धि तिखार्न जोड दिएका छन् । पढाइले चिनियाँ जनतालाई धैर्यको परम्परागत भावनालाई अघि बढाउन र आत्मविश्वास एवम् आत्मनिर्भरताको छवि निर्माण गर्न सघाउँछ ।
म पार्टी सदस्य तथा पदाधिकारीहरूलाई पढाइ र सिकाइमा अब्बल बन्न; सद्गुण र आदर्शलाई मलजल गर्न तथा क्षमता अभिवृद्धि गर्न आह्वान गर्छु । मलाई विश्वास छ – हाम्रा सबै छोराछोरीले पढ्ने बानी बसाल्नेछन्, पढाइको मज्जा लिनेछन् र स्वस्थ तरिकाले हुर्किनेछन् । मलाई हाम्रा जनता पढाइमा दत्तचित्त भएको; सबैले पढाइलाई माया गर्ने, सबैसँग पढ्नलाई असल किताब हुने र पढाइबाट लाभ लिन जान्ने मानिसहरूको माहोलमा केही न केही योगदान गरेको देख्ने रहर छ ।”
त्यही वर्ष साङ्घाई पुस्तकालय (पूर्वी शाखा) सर्वसाधारणको लागि खुला गरियो । पुदोङ जिल्लाको केन्द्रीय पार्कको सडकमा अलिकति हिँडेपछि त्यो पुस्तकालय आउँछ । हरेक दिन त्यहाँ विभिन्न रचनात्मक गतिविधि भइरहन्छ । आइतबार साँझ त झनै रमाइलो हुन्छ । दक्षिणी गोलाद्र्धका अनेक गरिब मुलुकमा त्यो दिन बालबालिकाहरू सडकमा खेलिरहेका भेटिन्छन् । उत्तरी गोलाद्र्धका मुलुकहरूमा बालबालिका त्यो दिन घरभित्रै स्क्रिनमा टाँसिइरहेका हुन्छन् । साङ्घाईमा बालबालिकाहरू किताबका चाङ बनाउँछन्; कतिपय आमाबुबा वा बाजेबज्यैका काखमा बस्छन्† अनि, रमाउँदै एकपछि अर्को पाना पल्टाउँछन् । पुस्तकालयको एउटा सानो तर महत्वपूर्ण भागमा माक्र्सवादी साहित्य मात्र राखिन्छ । किताब राख्ने खानामा सुरुमा कार्ल माक्र्स र फ्रेडरिक एङ्गेल्सका पुस्तक छन् । त्यसपछि क्रमशः माओ त्सेतुङ, देङ स्याओपिङ र सी चिनफिङका पुस्तक राखिएका छन् । पुस्तकालयको सबैभन्दा अविस्मरणीय भाग बालशाखा हो । त्यहाँ रङ्गीबिरङ्गी बालपुस्तकहरूलाई लहरै राखिएको छ । पढ्नलाई देख्दै बसेर पढिहालूँ लाग्ने अनेक काउच, टेबल र बुथ छन् । यहीनिर उमेरदार र बालबालिका दुवैले आफ्नो पढ्ने अधिकार प्रयोग गर्छन् । (मानव अधिकारको विश्वव्यापी घोषणा १९४८ को दफा २६ मा विश्वका सबै मानिसलाई यो अधिकार प्रत्याभूत गरिएको छ ।) यस्तो परिपाटीमा बसेर पढ्नु एक सामाजिक क्रियाकलाप हो; पढाइले (खासगरी युवाहरूमा) समानुभूति र बोध क्षमताको विकास गर्छ† मानिसलाई तिनको इतिहास, संस्कृति, भाषा र पुर्खासँग जोड्छ ।
– ‘द ट्राइकन्टिनेन्टल’ बाट
अनुवाद : सम्यक