नारायणमान बिजुक्छेँ (रोहित)
मजदुरवर्गको विजय
साँझको सात बज्यो । आदेशअनुसार ‘अरोरा’ भन्ने लडाकु जहाजी सेनाको तोपको निशाना शीतल दरबारतिर फर्काइयो । शीतल दरबार तीनतिरबाट घेरिएको थियो । अचानक अँध्यारोलाई चिर्ने खालको एक ज्वाला र आवाज सुनियो । त्यो तोपको आवाज थियो; अरोराको तोपले शीतल दरबारमाथि हानेको गर्जन थियो । त्यो तोपको गर्जनले समाजवादी क्रान्ति र नयाँ युगलाई सुरु ग¥यो । शीतल दरबारलाई पहरा दिने खानदानी परिवारका तालिमे छात्र भनिने युङ्करहरू र कज्जाकहरूले आत्मसमर्पण गरे । अस्थायी सरकारका मन्त्रीहरू पक्राउ परे । तर, प्रधानमन्त्री करेन्स्की एक आइमाईको भेषमा भाग्न सफल भए ।
उता स्मोल्नीको सभा भवन मजदुर, किसान र सिपाहीले भरिभराउ थियो । राति १० बजेर ४५ मिनेट भयो । आ–आफ्ना गुटका सबै प्रतिनिधिहरू त्यस ठुलो सभा भवनभित्र पसेर आ–आफ्ना ठाउँमा बसे । सभाको सभापति मेन्शेभिक नेता दान थियो । उसले फौजी डाक्टरको एक खुकुलो पोसाक लगाएको थियो । उसको मुख अँध्यारो थियो । ऊ बोल्शेभिकविरोधी थियो । क्रान्तिको हाँक, स्रोताहरूको ताली र सिटीको आवाज, भुइँमा बजाएको खुट्टाको आवाजले सभा भवन गुञ्जिरहेको थियो । त्यस हलचललाई शान्त पार्न सभापतिले घण्टी बजायो र बैठक उद्घाटनको घोषणा ग¥यो । यो एक प्रकारको राष्ट्रिय प्रतिनिधिसभा वा संसद् थियो ।
उसले आफ्नो उद्घाटन भाषणमा औपचारिकरूपले भन्यो, “हाम्रो हातमा हुकुम आइसकेको छ ।… साथीहरू ! सोभियतहरूको यो महाधिवेशन असाधारण स्थितिमा भइरहेको छ । ‘मजदुर र सैनिक प्रतिनिधिहरूको सोभियतको राष्ट्रिय रुसी केन्द्रीय कार्यकारिणी समिति’ (छोटोमा त्से–इ–काह) तपाईँहरूको अगाडि राजनीतिक भाषण गर्नु अनावश्यक सम्झन्छ । तपाईँहरूलाई सम्झना होला म त्यही (त्से–इ–काहको) समितिको सदस्य हुँ । ठीक यही समयमा हाम्रा पार्टीका साथीहरू शीतल दरबारमा तोपले हान्दै छन् । तिनीहरू त्से–इ–काहले दिएको जिम्मेवारी पूरा गर्नको निम्ति आफ्नो जीवन होम्दै छन् । तपाईँहरूलाई अब कुरो प्रस्ट भयो होला ।”
त्यतिकैमा सभा भवनमा ठुलो होहल्ला भयो । उसले घोषणा ग¥यो, “सोभियतहरूको दोस्रो महाधिवेशनको पहिलो बैठकको काम सुरु हुन्छ ।”
सबभन्दा पहिलो महाधिवेशन सञ्चालन गर्न अध्यक्षमण्डलको चुनाव भयो । प्रतिनिधिहरूको सङ्ख्याको आधारमा चुनाव भयो । त्यसमा बोल्शेभिकहरू १४ जना र अन्य पार्टीका ११ जना (समाजवादी क्रान्तिकारी ७, मेन्शेभिक ३, गोर्कीको संयुक्त समाजवादी प्रजातान्त्रिक अन्तर्राष्ट्रवादी १) चुनिए ।
दक्षिणपन्थी र मध्यमार्गी समाजवादी क्रान्तिकारी, मेन्शेभिकहरू र मेन्शेभिक अन्तर्राष्ट्रवादीहरूले विभिन्न कारण देखाउँदै अध्यक्षमण्डलमा भाग लिन अस्वीकार गरे । त्यतिकैमा ताली, सिटी बजाउँदै र विश्वासघाती भन्दै तिनीहरूको विरोध भयो । युक्राइनी प्रतिनिधिमण्डलबाट एक जनालाई अध्यक्षमण्डलमा राखियो । पुराना अध्यक्षमण्डलका सदस्यहरू डबलीबाट तल झरे ।
बोल्शेभिकहरूबाट नयाँ चुनिएका अध्यक्षमण्डलका सदस्य त्रोत्स्की, कामेनेभ, लुनाचार्की, कोल्लोन्ताई, नोगिन आदि मञ्चमा आ–आफ्नो स्थान लिन उक्ले । बोल्शेभिक सदस्य कामेनेभले पहिलो दिनको कार्यक्रम प्रस्तुत गरे । त्यसमा पहिलो, हुकुमको सङ्गठन, दोस्रो, युद्ध र शान्ति र तेस्रो संविधानसभाबारे थियो । त्यसैबेला वामपन्थी समाजवादी क्रान्तिकारीहरू र संयुक्त समाजवादी प्रजातन्त्रवादीहरूको तर्फबाट मार्तोभले किसानहरूलाई महाधिवेशनमा मत दिने अधिकार प्रदान गर्ने प्रस्ताव राखे । त्यसलाई स्वीकार गरियो । दक्षिणपन्थी प्रतिनिधिहरूले क्रान्तिलाई अराजकता र ‘सरकारको विरोधमा अपराधपूर्ण विद्रोह’ भनेर निन्दा गरे । तिनीहरू लामा लामा प्रस्तावका कुरा गरेर समय खेर फाल्न चाहन्थे । छाउनी, लडाइँको मोर्चा, कारखाना र गाउँगाउँबाट आएका सिपाही, मजदुर र किसानहरू अधैर्य भएर कराउँथे, “अब धेरै प्रस्तावको आवश्यकता छैन । अब धेरै भाषणको आवश्यकता छैन । हामी काम चाहन्छौँ । हामी सोभियतहरूको सरकार चाहन्छौँ ।”
विरोधीहरू आफ्नो चलनअनुसार सबै पार्टीको संयुक्त सरकार चाहन्थे । बोल्शेभिकहरू त्यसको जवाफमा भन्थे, “खालि एउटा मेलको बिन्दु छ – मजदुर, सिपाही र किसानहरूको संयुक्त सरकार !” मेन्शेभिक गुटको वामपन्थी पक्षलाई ‘मेन्शेभिक अन्तर्राष्ट्रवादी’ भनिन्थ्यो । त्यसको नेता मार्तोभ थिए । उनले ‘हुन गइरहेको गृहयुद्धलाई पन्छाउने उद्देश्यले समस्याको शान्तिपूर्ण ढङ्गले सुल्झाउन’ आह्वान गरे ।
त्यसको जवाफमा आकाशै थर्किने गरी नारा लाग्यो, “शान्तिपूर्ण सुल्झाइ मान्दैनौँ । हाम्रो जितमात्रै एउटा बाटो छ । क्रान्तिको विजय मात्रै सम्भव सुल्झाइ हो ।”
कुचिन भन्ने एक सैनिक अफिसरले सोभियतहरूलाई जनताको समर्थन छैन र सेना त्यसको विरोधमा छ भनेर तर्साउन खोज्यो ।
सिपाहीहरू रिसाएर कराउन थाले, “तिमी फटाहा हौ; सेनाको माथिल्ला ओहदाको तर्फबाट बोल्दै छौ; लडाइँको खाडलमा लड्ने सिपाहीहरूको तर्फबाट होइन । हाम्रो माग छ, सारा हुकुम सोभियतहरूलाई देऊ !”
मेन्शेभिकहरूले एक घोषणा पढे, “बोल्शेभिकहरूले अरू पार्टी र पक्षसँग सल्लाह नगरिकनै पेट्रोग्राद सोभियतको सहायताबाट सैनिक षड्यन्त्र गरेको हुँदा हामीलाई महाधिवेशनमा भाग लिनु असम्भव भयो । यसकारण, हामी बैठक बहिष्कार गर्छौँ । अरू पार्टीलाई पनि हामीले जस्तै गर्न आह्वान गर्छौँ र परिस्थितिमाथि विचार गर्न सबैसँगै बस्न आह्वान गर्छौँ ।”
त्यसपछि सभामा एकछिन हाहा–हुहु भयो । पक्ष र विपक्षमा सैनिकहरू बोल्न थाले । चर्काचर्की बहस भयो । साँच्चै बन्दुकको आवाज, घृणा, रिस, निन्दा, विरोध र डरत्रासको वातावरणमा नयाँ युगको जन्म हुँदै थियो । अन्त्यमा, यहुदी समाजवादी प्रजातान्त्रिक सङ्गठन (बुन्द) का सदस्य अब्रामोविच दबुलीमा चढ्यो र रिसाएर ठुल्ठुलो स्वरले बोल्यो, “हामी यहाँ बसेर अपराधको भागिदार हुन चाहन्नौँ । हामी सबै प्रतिनिधिलाई यो महाधिवेशन छोड्न अनुरोध गर्छौँ ।”
यति भनेर ऊ दबुलीबाट तल झर्यो र फटाफट ढोकातिर लम्क्यो । ऊसँगै झन्डै ८० जना प्रतिनिधि आ–आफ्नो ठाउँबाट उठेर उसको पछि लागे ।
ताली बजाउँदै, सिटी बजाउँदै र गिज्याउँदै उनीहरूलाई भनियो, “भगुवाहरू ! धोकेबाजहरू !” तिनीहरू बाहिर गइसकेपछि बैठकले एक घोषणापत्र स्वीकार ग¥यो, “अस्थायी सरकारलाई पल्टाइयो । मजदुर, सिपाही र किसानहरूको ठुलो बहुमतको इच्छाअनुसार सोभियतहरूको यो महाधिवेशनले हुकुम आफ्नो हातमा लिन्छ । सोभियत सरकारले तुरुन्तै सबै राष्ट्रको अगाडि प्रजातान्त्रिक शान्ति र सबै मोर्चामा लडाइँ तुरुन्तै रोक्ने सन्धिको प्रस्ताव राख्नेछ । यस सरकारले क्षतिपूर्ति नदिई जग्गा हस्तान्तरण गर्नेछ ।”
बैठकमा छिनछिनमा नयाँनयाँ विजयका समाचार आइरहेका हुन्थे । मन्त्रीहरूको पक्राउ, राष्ट्र बैङ्क, रेडियो, टेलिफोन, सेनाको मुख्यालय कब्जा भएको; विभिन्न छाउनी र सैनिक गढबाट समर्थन तथा लडाइँहरूमा जितेका विषय हुन्थे । प्रतिनिधि र जनता खुसीले रुँदै एक अर्कालाई अँगालो हाल्थे । सोभियत सरकार स्थापना भयो । ८ नोभेम्बर अर्थात् २६ अक्टोबरको बिहान ६ बजेसम्म महाधिवेशनको पहिलो बैठक चालु रह्यो ।
यसप्रकार अक्टोबर क्रान्तिले विजयको घोषणा ग¥यो । रुसको आकाशमा मजदुरवर्गको झन्डा फहरियो ।
२६ अक्टोबर (८ नोभेम्बर)
२६ अक्टोबरको बिहान जीवन सामान्य नै थियो । विरोधी पक्षले बोल्शेभिकहरूको विरोधमा जबरजस्ती सत्ता हत्याएकोमा भित्ता–भित्तामा गाली–बेइज्जतीका कागजात टाँसेका थिए । बोल्शेभिक ‘अत्याचार’ को विरोधमा लड्न आह्वान गरिएको थियो । जवाफमा बोल्शेभिकहरूले सेनाको क्रान्तिकारी समितिमार्फत अस्थायी सरकारका मन्त्रीहरू पक्राउमा परेको, करेन्स्की भागेको, उसलाई सजायको निम्ति पेट्रोग्राद पठाउन कागजात टाँसेका थिए । करेन्स्कीलाई कुनै किसिमको सहयोग गर्नु राज्यको विरोधमा ठुलो अपराध सम्झिने र सहायता दिनेलाई ठुलो सजाय गर्ने कुरो पनि भित्ते कागजहरूमा लेखिएको थियो ।
अस्थायी सरकारले पक्रेका सबै किसानहरूलाई जेलबाट छोड्ने; सेनामा मृत्युदण्ड समाप्त गर्ने; सरकारी कर्मचारीहरूले आ–आफ्नो काम चालु राख्ने; नगर्नेहरूलाई चर्को सजाय गर्ने; लुटपाट, उपद्रो र कालाबजारियालाई ज्यान सजाय गर्नेजस्ता एकपछि अर्को अपिल र आदेशहरू सोभियत सरकार र बोल्शेभिकहरू दिँदै गए ।
बोल्शेभिकविरोधी अखबारहरूले जथाभावी लेख्दै थिए, “बोल्शेभिकहरूको वचनमा विश्वास नगर्नुहोस् । तुरुन्तै शान्तिको प्रतिज्ञा झूटो हो । रोटी एक छल हो र जग्गा दिने वाचा एक परी कथा हो ।”
बोल्शेभिक क्रान्तिलाई तिनीहरूले क्रूरता, धोका आदि शब्दले गाली गर्न थाले ।
बिहान १० बजेतिर पेट्रोग्राद नगरपालिका (ड्युमा) को अधिवेशन भइरहेको थियो । त्यसको सभापति बोल्शेभिकविरोधी सेइदेर भन्ने थियो । उसले भन्यो, “समान, प्रत्यक्ष र गुप्त मतदानबाट निर्वाचित नगर ड्युमा एकमात्र वैधानिक सरकार हो । यसले अल्पमतबाट जबरजस्ती कब्जा गरेको बोल्शेभिक सरकारलाई मान्यता दिँदैन ।” बोल्शेभिकहरूले त्यसको जवाफमा भने, “चुनावबाट आएको भए पनि यो पुरानो भयो, यसलाई भङ्ग गरिनुपर्छ र फेरि यो चुनावबाट आउनुपर्दछ ।”
बोल्शेभिक प्रतिनिधिहरूको कुराले अधिवेशनमा कोलाहल मच्चियो । नगरपालिका (ड्युमा) लाई ‘यो प्रतिक्रान्तिको अड्डा हो; यहाँ हामी एक मिनेट पनि बस्दैनौँ’, भनेर बोल्शेभिकहरू बाहिर निस्के । विरोधीहरूले ठुलठुलो स्वरले गाली गर्दै भने, “जर्मनीका दलाल र धोकेबाजहरूको नास होस् !” बैठकले बोल्शेभिकहरूको पाइलाको विरोध गर्ने निर्णय ग¥यो ।
अलेक्जान्द्र भवनमा पनि विरोधी पार्टीहरूको बैठक हुँदै थियो । ड्युमाको यस बैठकमा राम्रो लुगा लगाएका र खान पाएका मानिसहरूमात्रै थिए । मजदुरहरू तीनजना मात्रै थिए । रेलमार्गका मजदुरहरू, रेडियो, टेलिफोन अड्डाका मजदुरहरू र विदेश मन्त्रालयका कर्मचारीहरू बोल्शेभिकहरूको विरोधमा हडताल र विरोध गर्दै थिए । मजदुर र किसानको प्रगतिशील हुकुमलाई अचेतित र शोषकवर्गका प्रभावमा परेका मजदुरहरूले विरोध गर्ने यो एक राम्रो नमुना थियो । केही मजदुर पुँजीवादी विचारका र वर्गशत्रुहरूबाट उक्साइएका थिए ।
हडताल भड्काउने र बिगार्ने कामहरू गर्दै भिड चिच्याउँथ्यो, “यी बोल्शेभिकले बुद्धिजीवीहरूमाथि हुकुम चलाउने ? केही गरेर त हेर ! हामी तिनीहरूलाई कस्तो फलामे चिउरा चपाउन दिनेछौँ, थाहा होला !” तिनीहरूले बोल्शेभिकहरूलाई ‘बज्रमुक्का’ र ‘दनक’ दिने धम्की दिए । त्यस बैठकले पनि बोल्शेभिकहरूको विरोधमा प्रस्ताव पारित ग¥यो ।
सडकमा लालरक्षक र माझीहरूले विरोधी अखबार जफत गर्दै थिए । विरोधीहरू रिसाउँथे । मजदुरहरू तिनीहरूलाई सम्झाउँथे । जहाँ–तहाँ यस्तै भद्रगोल थियो । सबै विरोधी पार्टीहरू बोल्शेभिक पार्टीको विरोधमा थिए ।
बोल्शेभिकहरूको पनि स्मोल्नीमा बैठक हुँदै थियो । बोल्शेभिकहरूको एक ठुलो भाग कामेनेभ र रियाजानोभ आदिसँग सम्झौता गरेर ‘संयुक्त सरकार’ बनाउन चाहन्थे । तिनीहरूले भने, “हामी एक्लै कहिलेसम्म टिक्न सक्छौँ । विरोधी पक्ष सा¥है बलियो छ । हामीसँग मानिस छैन । हामी जनताबाट अलग्गिने छौँ र सबै खतम हुनेछ ।”
लेनिनले दरो भएर भनिरहनुभयो, “सम्झौता गर्नेहरूले हाम्रो कार्यक्रम मान्नुपर्छ अनिमात्र तिनीहरू मन्त्रिपरिषद्मा आउन सक्छन् । हामी एक अङ्गुल पनि पछि हट्ने छैनौँ । यति साहस र सङ्कल्प हुनेहरू यहाँ छैनन् भने; हामीजस्तै खतरा मोल्न तयार छैनन् भने, त्यस्ता साथीहरू पनि अरू कातर र सम्झौतावादीहरूसँगै महाधिवेशन छाडेर जान सक्छन् । हामी मजदुर र किसानहरूको समर्थनबाट आफ्ना पाइला अगाडि बढाउँदै जानेछौँ ।”
रातको ८ बजेर ४० मिनेट गएको थियो । अध्यक्षमण्डल सभा भवनमा प्रवेश गरेपछि ताली बज्यो । त्यसमा लेनिन र अरू बोल्शेभिक नेता पनि थिए । सोभियतहरूको दोस्रो महाधिवेशनको दोस्रो बैठक सुरु भयो ।
कामेनेभले बैठकमा सैनिकहरूको क्रान्तिकारी समितिको तर्फबाट सेनामा मृत्युदण्ड समाप्त गरेको† प्रचार स्वतन्त्रता फेरि स्थापना गरेको; राजनीतिक अपराधमा पक्राउ परेका अफिसर र सिपाहीहरूलाई छोडेको र करेन्स्कीलाई गिरफ्तार गर्ने आदेश तथा व्यक्तिगत गोदामहरूमा थुपारेको अन्न एवम् खानेकुरा जफत गर्ने आदेशबारे रिपोर्ट प्रस्तुत गरे ।
यहुदी समाजवादी पार्टी (बुन्द) का प्रतिनिधिले ‘बोल्शेभिकहरूको एकोहोरोपन (कट्टरता)’ का कारण महाधिवेशनमा भाग लिन अस्वीकार ग¥यो । सभा भवनमा ठुलो स्वर सुनियो । हामीले त सम्झेका थियौँ; तपाईँले हिजै सभा त्याग्नुभएको थियो । तपार्ईँ कतिचोटि बैठक त्याग्नुहुन्छ ?
बोल्नलाई मेन्शेभिक अन्तर्राष्ट्रवादीहरूको प्रतिनिधि उठ्यो । तर, बैठकबाट व्यङ्ग्यको वर्षा भयो, “अहो ! तपाईँ अहिलेसम्म यही हुनुहुन्छ ?” उसले भन्यो, “सबै मेन्शेभिक अन्तर्राष्ट्रवादीहरूले महाधिवेशन छोडेका छैनन्; केहीले महाधिवेशनमा भाग लिँदै छन् । हुकुमलाई सोभियतहरूले हातमा लिनु क्रान्तिको निम्ति डरलाग्दो छ र सम्भवतः घातक पनि छ भन्ने हामी सम्झन्छौँ ।”
बिचैमा कराएको सुनियो, “तर, फेरि पनि हामी महाधिवेशनमा बसेर त्यसकै विरोधमा मत दिने कर्तव्य सम्झन्छौँ ।” यस्तै व्यङ्ग्य, विरोध, छलफल र वादविवाद हुँदै गयो । पछि लेनिन बोल्नको निम्ति उठ्नु भयो; ताली बज्यो ।
लेनिनले भन्नुभयो, “अब हामी समाजवादी व्यवस्थाको निर्माण सुरु गर्छौँ ।” अनि, उहाँले शान्तिसम्बन्धी घोषणाको खेस्रा पढ्नुभयो । १० बजेर ४५ मिनेट जाँदा कामेनेभले घोषणासँग सहमत हुनेहरूले आ–आफ्नो कार्ड देखाउन अनुरोध गरे । खालि एक जना प्रतिनिधि त्यस मतको विरोधमा थियो । सबै प्रतिनिधि रिसाएको देखेर उसले पनि आफ्नो हात तल झार्यो । यसरी सर्वसम्मतिबाट घोषणा स्वीकृत भयो । बैठकले युद्धमा भाग लिइरहेका बेलायत, फ्रान्स र जर्मनीका वर्ग चेतित मजदुरहरूलाई शान्ति र मुक्तिको निम्ति सहयोग गर्न आह्वान ग¥यो ।
यतिकैमा सबै उठे र संसारका मजदुरहरूको ‘अन्तर्राष्ट्रिय’ गीत गाए । लडाइँ समाप्त हुन्छ भन्ने सबैले बुझे । केही मानिस त खुसीले रुन थाले । फेरि, सहिदहरूको ‘शव यात्रा’ को गीत गाए । लेनिनले फेरि ‘भूमिसम्बन्धी विज्ञप्ति’ को खेस्रा पढ्नुभयो । त्यस प्रस्तावमा पनि ठुलो बहस भयो । रातको २ बजे ‘भूमिसम्बन्धी विज्ञप्ति’ मा मत लिइयो । एकमत विरोधमा गयो र अत्यन्त बहुमतले त्यसको पक्षमा मत दियो ।
त्यस विज्ञप्तिले भूमिमाथि बिनाक्षतिपूर्ति जमिनदारहरूको स्वामित्व समाप्त भयो । जग्गामा व्यक्तिगत स्वामित्वको ठाउँमा सामूहिक स्वामित्व कायम गरियो । जमिनदार, राजा जारका परिवार र मठहरूको जग्गा श्रमिकहरूलाई बिनापैसा दिने वा वितरण गरिने भयो । त्यसले ४० करोड एकडभन्दा बढी जग्गा राजा–रजौटा, पुँजीपति, महन्त र गुठीजस्ता शोषकहरूबाट खोसियो । बर्सेनि ५० करोड सुनको रूबल तिर्नुपर्ने रकम तिरोबाट किसानहरूलाई मुक्त ग¥यो । तेल, कोइला, धातु आदि खानीहरू, जङ्गल र पोखरीमा भएको व्यक्तिगत मालिकत्व पनि समाप्त भएको घोषणा गरियो ।
रातको २ बजेर ३० मिनेट जाँदा कामेनेभले सरकार स्थापनाको घोषणा गरे । संविधानसभाको अधिवेशन नभएसम्म किसान–मजदुरहरूको एक अस्थायी सरकार कायम गर्ने निर्णय भयो । त्यस सरकारलाई ‘जनकमिसार परिषद्’ अथवा ‘जनताको मन्त्रिपरिषद्’ नाम दिइयो । त्यसमा जम्मा १५ जना कमिसार थिए । लेनिन त्यसको अध्यक्ष चुनिनुभयो । गृहमन्त्री रिकोभ, परराष्ट्रमन्त्री त्रोत्स्की र जातिहरूको अध्यक्षमा स्तालिन चुनिनुभयो । मन्त्रिपरिषद्का सबै सदस्य बोल्शेभिक पार्टीका सदस्य थिए ।
साभार : अक्टोबर क्रान्ति र यसको महत्व