नारायणमान बिजुक्छेँ (रोहित)
करेन्स्की सरकारले राजधानीलाई पेट्रोग्रादबाट मस्को लैजान खोज्यो । मजदुर र सैनिकहरूले त्यसको विरोध गरे । १६ अक्टोबरको दिन पार्टी केन्द्रीय समितिको एक पूर्ण बैठक बस्यो । बैठकले विद्रोह सञ्चालन गर्न स्तालिनको नेतृत्वमा एक पार्टी केन्द्र चुन्यो । त्यो पार्टी केन्द्र पेट्रोग्राद सोभियतको क्रान्तिकारी सैनिक समितिको नेतृत्व थियो । १८ अक्टोबरको दिन मेन्शेभिकको पत्रिका ‘नोभाया जिज्न’ (नयाँ जीवन) मा कामेनेभ र जिनोभिएभको एक वक्तव्य छापियो । वक्तव्यमा तिनीहरूले विद्रोहलाई दुस्साहसपूर्ण जुवा खेल्नु बताए । त्यसको अर्थ तिनीहरूले बोल्शेभिक विद्रोहको योजना शत्रुसम्म बताइदिनु थियो । यसकारण, लेनिनले भन्नुभयो, “कामेनेभ र जिनोभिएभले सशस्त्र विद्रोहबारे आफ्नो केन्द्रीय समितिको निर्णयलाई विश्वासघात गरेर राजतन्त्रवादी रोदजियोको र करेन्स्कीलाई बताइदिए ।” लेनिनले तिनलाई पार्टीबाट निकाल्ने प्रश्न उठाउनुभयो ।
अस्थायी सरकारले विद्रोहको कुरा थाहा पाएर बोल्शेभिकहरूसँग लड्न अस्थायी सरकारको बैठक बोलायो । १९ अक्टोबरको दिन अस्थायी सरकारले युद्धका मोर्चाहरूबाट छिटछिटो सेनालाई पेट्रोग्राद बोलायो । २५ अक्टोबरको दिन (अन्तर्राष्ट्रिय पात्रोअनुसार ७ नोभेम्बर) देशभरका मजदुर, किसान र सिपाहीहरूको राष्ट्रिय प्रतिनिधिसभाको दोस्रो महाधिवेशन (The Second all Russian Congress of Soviets) बस्दै थियो । अस्थायी सरकारले सोभियतहरूको दोस्रो महाधिवेशन हुनुभन्दा अगाडि नै बोल्शेभिक पार्टी वा त्यसको केन्द्रलाई ध्वस्त पार्न सेना जम्मा गर्ने योजना बनायो ।
२० अक्टोबरको दिनसम्ममा १५ जना प्रतिनिधिमात्रै पेट्रोग्राद पुगेका थिए ।
शनिबार २१ अक्टोबरको दिन थियो । बोल्शेभिक पार्टीका नेताहरूको एक गुप्त बैठक भयो । त्यस ऐतिहासिक बैठकमा लेनिनले भन्नुभयो, “२४ अक्टोबर (अन्तर्राष्ट्रिय पात्रोमा ६ नोभेम्बर) समत्न्दा अगाडि हुनेछ । विद्रोहको निम्ति एक राष्ट्रिय रुसी आधार चाहिन्छ र २४ अक्टोबरसम्म महाधिवेशनका सबै प्रतिनिधि पुगिसकेका हुँदैनन् ।… अर्कोतिर २६ अक्टोबर (८ नोभेम्बर) सम्म समय बितिसकेको हुनेछ । त्यसबेलासम्म महाधिवेशन सङ्गठित भइसकेको हुन्छ र धेरै मानिस भएको कुनै पनि संस्थालाई तुरुन्तै निर्णय लिन गा¥हो हुन्छ । महाधिवेशन बस्ने २५ अक्टोबरकै दिन हामीले काम सुरु गरिदिनुपर्छ; किनभने त्यसलाई हामी भन्न सक्छौँ – लिनुस्, यो हो हुकुम । भन्नुस्, अब तपाईँहरू के गर्नुहुन्छ ?”
२१ अक्टोबरसम्म सय जना प्रतिनिधिमात्र पेट्रोग्राद पुगेका थिए । त्यस महासभाको गणपूरक सङ्ख्या (कोरम) ४०० थियो । महाधिवेशनको निम्ति अझ ४ दिन बाँकी थियो । तर, रुसको परिस्थिति छिटछिटो फेरिरहेको थियो । सिपाहीहरू भकाभक बन्दुक छोड्दै लडाइँको मोर्चाबाट टाढिंँदै थिए । अञ्चल र जिल्लाहरूमा ब्यारेक र छाउनीहरू धमाधम बोल्शेभिकको पक्षमा लाग्दै थिए । मजदुरहरूको विश्वास अस्थायी सरकार (अर्थात् मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरू) तिर घट्दै बोल्शेभिकहरूप्रति बढ्दै थियो । गाउँगाउँमा किसानहरूले जमिनदारहरूका जग्गा कब्जा गर्दै थिए । खानदानी र सामन्तहरूको दरबारहरूमा ह्वारह्वारती आगो लगाउँदै थिए । किसान विद्रोह दबाउन गएका सिपाहीहरू किसानहरूसँगै मिल्दै थिए । अस्थायी सरकार नाउँ मात्रैको थियो ।
बोल्शेभिक पार्टीले सेना र कारखानाहरूमा तयारी सुरु ग¥यो । ‘अरोरा’ (Aurora) र जार्यास्भोबोडी (Zaryasvobody) भन्ने लडाकु जहाजको सेनालाई विद्रोहको निर्देशन पठायो । त्रोत्स्कीको घमण्डलाई चूर्ण पार्न पेट्रोग्राद सोभियतको एक बैठकमा विद्रोहको दिनलाई अगाडि नै घोषणा गरिदियो । यसकारण, केन्द्रीय समितिले तोकेको दिनभन्दा पहिले नै विद्रोह सुरु गर्ने निर्णय ग¥यो । त्यसो गर्दा अस्थायी सरकारले विद्रोहलाई असफल पार्न सक्दैनथ्यो ।
शीतल दरबार अस्थायी सरकारको केन्द्र थियो । त्यसको रक्षा गर्न खानदानीवर्गका छोराहरूलाई अफिसरको तालिम दिने सैनिक विद्यालयका छात्र तथा ‘युङ्करहरू’ ले तोपको पहरा दिन थाले । सडकहरूमा निर्दयी मानिने कज्जाक सिपाहीहरूलाई पहरा दिन लगाइयो । आज्ञा उल्लङ्घन गर्ने र विद्रोहलाई ‘पूरा शक्ति’ लगाएर दबाउने धम्की दिइयो । अस्थायी सरकारको शिक्षामन्त्री किस्किनलाई पेट्रोग्रादमा शान्ति–सुरक्षा कायम गर्न विशेष ‘कमिसार’ वा मन्त्री नियुक्त गरियो । पेट्रोग्राद, क्रोन्स्ताद्त र फिनल्यान्डलाई चारैतिर घेरेको वा नाकाबन्दी गरेको घोषणा गरियो ।
पेट्रोग्राद मजदुरहरूको गढ थियो; क्रोन्स्ताद्तमा २५ हजार जहाजी थिए । तिनीहरू सबै मृत्युदेखि नडग्ने बोल्शेभिक थिए । फिनल्यान्ड रुसको राजनीतिक गतिविधि गर्ने एक केन्द्र थियो अथवा रुसको प्रभावमा भएको देश थियो । देशको परिस्थितिलाई बुझेर सरकारको त्यस धम्कीलाई व्यङ्ग्य गर्दै ‘नोभाया वेम्प्रा’ (नयाँ युग) भन्ने एक पुँजीवादी अखबारले लेख्यो, “किन चारैतिर घेरेको ? सरकारको हातमा न हुकुम छ न बल प्रयोगको निम्ति आवश्यक साधन छ; न त त्यसको कुनै नैतिक प्रतिष्ठा नै बाँकी छ । परिस्थिति धेरै अनुकूल भएमात्र सम्झौताको कुराकानी गर्न सक्छ; त्यो पनि ऊसँग कुराकानी गर्न तयार भए मात्र । योभन्दा ऊसँग बढी अधिकार छैन ।”
२२ अक्टोबर, १९१७ आइतबारको दिन बिहान १७५ जना प्रतिनिधि पेट्रोग्राद पुगे । त्यसमध्ये १०३ प्रतिनिधि बोल्शेभिक थिए । महाधिवेशन हुन अझ तीन दिन बाँकी थियो । बोल्शेभिकहरूको तयारी जोडतोडले हुँदै थियो ।
२३ अक्टोबर सोमबारको दिन मारिन्स्की दरबारमा ‘रुसी जनतन्त्र परिषद्’ को बैठक भइरहेको थियो । बैठकमा बेलायतको ‘टाइम्स’ (समय) पत्रिकाको सम्पादकीय लेख सुनाइँदै थियो । लेखमा भनिएको थियो, “बोल्शेभिकहरूको एउटै उपचार छ – गोली !” सबै दक्षिणपन्थी ‘त्यसैमा सहमत’ थिए ।
करेलिन भन्ने वामपन्थी समाजवादी क्रान्तिकारीले उठेर जवाफ दिए, “हो, मलाई थाहा छ – तपाईँहरू त्यही चाहनुहुन्छ । तर, तपाईँहरूमा त्यो साहस छैन ।”
बैठकमा चर्काचर्की र भनाभन हुँदै गयो । विदेशमन्त्री तरेश्चेन बोल्न उठ्नासाथ वामपन्थीहरू ठुलठुला स्वरले कराए, ‘राजीनामा गर । गद्दी छोड ।’ २३ अक्टोबरको दिनमात्र पेट्रोग्रादमा बोल्शेभिकहरूका ५०–६० जनसभा भएका थिए ।
२४ अक्टोबर मङ्गलबार पनि ‘रुसी जनतन्त्र परिषद्’ मा चर्काचर्की वादविवाद हुँदै थियो । बैठकमा मन्त्रिपरिषद्का अध्यक्ष करेन्स्कीले समाजवादी प्रजातन्त्रवादका उग्र वामपन्थीहरूको निम्ति परिस्थिति सा¥है अनुकूल भएको लेनिनकै भनाइ अघि सारे । उनको भनाइमा बोल्शेभिकहरूका सबै अखबार बन्द गरिनुपर्छ; प्रदर्शन र जनसभालाई दबाउनुपर्छ; बोल्शेभिक पार्टीलाई प्रतिबन्ध लगाउनुपर्छ र त्यसका नेताहरूलाई पक्राउ गरी सजाय दिनुपर्छ । करेन्स्कीले लेनिनको भनाइ पढ्न थाले ।
“लौ सुन्नुहोस् ! जर्मनीका साथीहरूका एउटै नेता हुनुहुन्छ; लिब्नेख्त । उहाँसँग अखबार छैन; जनसभा गर्ने स्वतन्त्रता छैन; सोभियतहरू छैनन् ।… उहाँलाई समाजका सबै वर्गको चर्को शत्रुता झेल्न परिरहेछ । तैपनि, जर्मनीका साथीहरू विद्रोह गर्ने कोसिस गर्नुहुन्छ । हामीसँग दर्जनौँ अखबार छन्; हामीसँग धेरै सोभियत छन्; हामीलाई जनसभा गर्ने स्वतन्त्रता छ; हामी सारा संसारका सबभन्दा राम्रो सङ्गठित सर्वहारा अन्तर्राष्ट्रवादी हौँ । के हामी जर्मनीका क्रान्तिकारी र विद्रोही सेनालाई समर्थन गर्न अस्वीकार गर्नसक्छौँ ?”
सभा भवनहरू खचाखच भरिएको हुन्थ्यो । एकपछि अर्को वक्ता बोल्दै जान्थे । जहाँ–तहाँका जनसभामा सबैले ‘सबै हुकुम सोभियतलाई देऊ !’ भनेर नारा लगाउँथे । मजदुरहरूले जनसमितिहरू बनाउँदै गए । क्रान्तिमा भाग लिने मान्छेहरूको सूची तयार हुँदै गयो । कोही राइफल जम्मा गर्दै र कोही उपचार दल तयार गर्दै थिए । करेन्स्कीले जनताको भावना बोल्शेभिकहरूबाट पन्छाउन जनसभामा बोल्न थाले, “राज्यको अपराधी लेनिनले जनतालाई लुटपाट गर्न र सा¥है डरलाग्दो हत्याकाण्डको लागि भड्काउँदै छन्; जसले स्वतन्त्र रुसको निधारमा सधैँको निम्ति कलङ्कको टीका लाग्नेछ ।”
जवाफमा जनताले लेनिनलाई स्वागत गर्न थाले । क्रान्तिकारी सैनिक समितिको केन्द्र स्मोल्नी थियो । मजदुरहरू पेट्रोग्रादका सडक र ठाउँठाउँमा छेकबार (मोर्चा) बनाउँदै थिए । जनसमितिहरूमा अनेक वर्ग र दलका मानिस धमाधम भर्ना हुँदै गए ।
क्रान्तिकारी शक्तिहरूको माझमा सम्बन्ध छुटाउन अस्थायी सरकारको तत्वले सोभियत र सैनिक छाउनीहरूको टेलिफोन सम्पर्क काटिदियो । खानदानीहरूका छोराहरूलाई सैनिक तालिम दिने विद्यालयका छात्र (युङ्करहरू) ले मजदुर इलाकाबाट पेट्रोग्राद सहरलाई अलग राख्न पुलहरू झिक्न थाले । बोल्शेभिक अखबारहरूका कार्यालय बन्द गर्दै लाहाछाप लगाउन थाले । तर, त्यसको जवाफमा बोल्शेभिकहरूले टेलिफोन यन्त्रलाई ठीक गरे; लाहाछाप फोरेर अखबार निकाल्न सुरु गरे ।
२४ अक्टोबरको आधा रातमा ‘राबोची पूत’ (मजदुरहरूको बाटो) को सम्पादकलाई पक्राउ गर्न आएको एक कर्नेल र युङ्कर दस्तालाई जनताले पक्राउ गरे । माफी मागेपछि बल्लतल्ल तिनीहरूको ज्यान बच्यो । तिनीहरू बोल्शेभिकहरूद्वारा बन्दी बनाइए ।
पार्टी केन्द्रको निर्देशनअनुसार क्रान्तिकारी सेना र लाल स्वयंसेवकहरू स्मोल्नी पुगे । स्मोल्नी नेभा नदीको किनारमा बनेको ठुलो दरबार थियो । त्यस दरबारमा पहिले खानदानीवर्गका केटीहरूको निम्ति स्कूल चल्थ्यो । त्यहाँ राष्ट्रिय प्रतिनिधिसभा अर्थात् सोभियतहरूको दोस्रो महाधिवेशन २५ अक्टोबर (अन्तर्राष्ट्रिय पात्रोअनुसार ७ नोभेम्बर) को दिन हुँदै थियो । त्यो ठाउँ बोल्शेभिक पार्टीको केन्द्र बन्यो । २४ अक्टोबरकै राति लेनिन त्यहाँ पुग्नुभयो । लेनिनले विद्रोह सञ्चालन गर्ने जिम्मेवारी सम्हाल्नुभयो ।
पेट्रोग्रादका ठाउँ–ठाउँमा बोल्शेभिक पक्षका सेना र अस्थायी सरकारको पक्षका सिपाहीबिच गोली हानाहान भइरहेको थियो ।
राति २ बजे अर्थात् २५ अक्टोबर (७ नोभेम्बर) को सुरुमा बोल्शेभिकहरू ‘रेडियो केन्द्र’ कब्जा गर्न सफल भए । बिहान चार बजे नै उपन्यायमन्त्री र उनकी जहान पक्राउ परिसकेका थिए । राष्ट्र बैङ्क कब्जा गर्न एक रेजिमेन्ट हिँडिसकेको थियो । बिहान ७ बजेसम्ममा उनीहरूले टेलिफोन अड्डा कब्जा गरिसकेका थिए ।
७ नोभेम्बर बुधबारको दिन थियो । बोल्शेभिक पार्टीको केन्द्रीय मुखपत्र ‘राबोची पूत’ मा ठुलठुला अक्षरले लेखिएको थियो, ‘सारा हुकुम मजदुर, सिपाही र किसानहरूको हातमा दे ¤’, ‘शान्ति, रोटी र जग्गा दे !’
लेखमा भनिएको थियो, “हरेक सिपाही, हरेक मजदुर, हरेक सच्चा समाजवादी, हरेक इमानदार प्रजातन्त्रवादी यस कुरालाई बुझ्छ कि वर्तमान परिस्थितिमा खालि दुई विकल्प छन् –
कि त हुकुम पुँजीपति, जमिनदार गुटको हातमा रहिरहोस् । यसको अर्थ हुनेछ – मजदुर, किसान र सिपाहीहरूमाथि हरेक किसिमको थिचोमिचो, लडाइँको निरन्तरता र निश्चय पनि भोक र मृत्यु ।… अथवा, हुकुम क्रान्तिकारी मजदुर, सिपाही र किसानहरूको हातमा सुम्पियोस् । त्यसको अर्थ हुनेछ – सामन्ती अत्याचार पूर्णरूपले उखेलिनु, पुँजीपतिहरूलाई छेक्नु र छिट्टै एक न्यायपूर्ण शान्ति सन्धिको प्रस्ताव । यस्तो स्थितिमा किसानहरूको निम्ति जग्गा निश्चित छ† उद्योगमाथि मजदुरहरूको नियन्त्रण निश्चित छ, भोकाहरूको निम्ति रोटी र यो बेकार युद्धको समाप्ति निश्चित छ ।”
‘देन’ भन्ने मेन्शेभिकहरूको पत्रिकाले रातको हलचलबारे टुक्राटुक्रा समाचार छापेको थियो ।
टेलिफोन एक्सचेन्ज (टेलिफोन अड्डा), बाल्टिक स्टेसन (रेल स्टेसन) र रेडियो बोल्शेभिकहरूको कब्जामा; पिटरहोफका युङ्करहरू पेट्रोग्राद पुग्न असमर्थ; कज्जाकहरूको स्थिति अनिश्चित† केही मन्त्री पक्राउ; नगर रक्षक दलका अध्यक्षलाई गोली हानियो; पक्राउको बदला पक्राउ; विरोधी सेनाको पहरा, युङ्करहरू र लालर क्षकहरूको माझमा गोली हानाहान ।’ ती सबै समाचारले अस्थायी सरकार हारिरहेको र बोल्शेभिकहरूको हात माथि परेको थाहा हुन्थ्यो ।
अस्थायी सरकारका प्रधानमन्त्री करेन्स्की सबेरै ४ बजेदेखि बिहान उज्यालो नहुँदासम्म पेट्रोग्राद सेनाको मुख्यालयमै थिए । त्यहाँ उनले सैनिक तालिम स्कूलका युङ्करहरू र क्रूर सम्झिएका कज्जाक सिपाहीहरूलाई एकपछि अर्को आदेश दिई बोल्शेभिकहरूले कब्जा गरिसकेका तार, टेलिफोन र अन्य ठाउँ फेरि कब्जा गर्न कोसिस गरे । गोली हानाहान भयो तर कब्जा गर्न सकेन । दिनभर स्थिति त्यस्तै गोली हानाहानको थियो । बिस्तारै अँध्यारो भयो ।
अस्थायी सरकारका मन्त्रीहरू शीतल दरबारमा बैठक बस्दै थिए । शीतल दरबार पहिले जारको दरबार थियो । शीतल दरबार सा¥है राम्रो थियो । सुन र काँसमा ढालिएका मूर्तिहरूले कोठाहरू सजाएका थिए । भुइँमा पूर्वका देशहरूमा बुनेका राम्राराम्रा गलैँचा ओछ्याइएको थियो । भित्ताहरू अनेक राम्राराम्रा लुगाले सिङ्गारिएका चित्रले सजाएका थिए । काँचका विभिन्न बत्तीले बैठक जग्मगाएको थियो । त्यहाँ दराज रक्सी र अत्तरका सिसीले भरिएका थिए । छोटोमा संसारमा जाने–सुनेसम्मका सबै राम्राराम्रा सामान त्यहाँ सजाइएको थियो । तर, शीतल दरबारको बाहिर अँध्यारो थियो । पालो–पहराको पूरा प्रबन्ध थियो ।
उता स्मोल्नी बोल्शेभिकहरूको केन्द्र थियो । त्यहाँ पनि लालरक्षकहरूको राम्रो पालो पहरा थियो । त्यहाँ देशका विभिन्न ठाउँबाट आएका प्रतिनिधि, मजदुर, किसान र सिपाहीहरूको हुल बढ्दै थियो । आवतजावत भइरहेको थियो । युद्धको मोर्चा, कालापानी, जेल र साइबेरियाबाट प्रतिनिधिहरू पुग्दै थिए । धेरै वर्षसम्म भेट नभएका, सम्पर्क छुटिसकेका साथीहरू एक अर्कालाई चिनेर खुसीले कराउँदै थिए; एक आपसमा अँगालो हाल्दै, कुराकानी गर्दै थिए र आ–आफ्नो बैठकमा छलफल गर्न जाँदै थिए ।
त्यहीँ ठाउँमा राष्ट्रिय प्रतिनिधिसभा अर्थात् सोभियतहरूको दोस्रो महाधिवेशन हुँदै थियो । पहरा बसेका सिपाहीहरूको हातहतियारको घनघन, सिमेन्टमा मेसिनगन र तोपको घिसाइको घरघर, क्रान्तिकारी गीत र लेनिनलाई जनताले गरेको स्वागतको तालीले स्मोल्नी साँच्चै उत्साह र जोशले जाज्वल्यमान थियो । टाढैबाट त्यहाँको उज्यालो देखिन्थ्यो । बाटो हिँड्ने मजदुरहरू आफ्नो आशाको केन्द्रको रूपमा त्यसलाई हेर्दै जान्थे ।
साभार : अक्टोबर क्रान्ति र यसको महत्व