पार्टीको छैटौँ महाधिवेशन
सन् १९०७ को मे महिनामा बोल्शेभिक पार्टीको पाँचौँ महाधिवेशन बेलायतको राजधानी लन्डनमा भएको थियो । १९१२ को जनवरीमा पार्टीको छैटौँ सम्मेलन चेकोस्लोभाकियाको राजधानी प्रागमा भएको थियो । २६ जुलाई, १९१७ को दिन पेट्रोग्रादको भिवोर्ग जिल्लामा पार्टीको छैटौँ महाधिवेशन गुप्तरूपमा सुरु भयो ।
पछि नार्भा ढोका (Narva Gate) भन्ने ठाउँको नजिक एक स्कूलमा ३ अगस्तसम्म बैठक चल्यो । त्यसबेला पुँजीवादी पत्रपत्रिकाले बोल्शेभिक पार्टीबारे जथाभावी लेख्दै थिए । यसकारण, पत्रपत्रिकालाई पार्टीको महाधिवेशन हुने कुरो मात्रै थाहा दिइयो । तर, कहाँ र कहिले हुने भन्ने कुरो खुलाइएन । गुप्ती पार्न पुलिसहरू ठाउँ र समय थाहा पाउन धुइँधुइँती खोज्दाखोज्दा हैरान भए । सुरक्षाको कारणले लेनिनलाई बैठकमा उपस्थित हुन दिइएन । स्तालिन, स्वेर्दलोभ, मोलोतोभ र ओर्जेनिकिद्जमार्फत लेनिनले गुप्तरूपमै महाधिवेशनलाई निर्देशन दिनुभयो ।
त्यसबेला बोल्शेभिक पार्टीको सदस्य सङ्ख्या २ लाख ४० हजार थियो । महाधिवेशनमा मत दिन पाउने १५७ प्रतिनिधि थिए । १२८ प्रतिनिधि बोल्न पाउने तर मत दिन नपाउनेहरू थिए । स्तालिनले बैठकमा केन्द्रीय समितिको तर्फबाट राजनीतिक परिस्थितिबारे रिपोर्ट दिनुभयो । त्यसमा उहाँले क्रान्तिमा उत्पादनलाई कसरी नियन्त्रण गर्ने र कसरी त्यसलाई वितरण गर्ने, जग्गा किसानहरूलाई दिने र राज्यको हुकुम कसरी पुँजीपतिवर्गको हातबाट मजदुर एवम् गरिब किसानहरूलाई दिने भन्ने कुरो उल्लेख गर्नुभएको थियो । त्यो क्रान्ति समाजवादी क्रान्तिमा बदलिंदै थियो । त्यसको अर्थ हो, उत्पादनका साधनहरू समाजको हुनु र नेतृत्व सर्वहारावर्गको हुँदै जानु ।
रिपोर्टमा स्तालिनले प्रस्ट भन्नुभयो, “क्रान्तिको शान्तिपूर्ण सिलसिला समाप्त भयो । एक शान्तिहीन, भिडन्त र भद्रगोलको सिलसिला सुरु भयो ।” वास्तवमा पार्टी समाजवादी क्रान्तिको निम्ति सशस्त्र विद्रोहको तयारी गर्दै थियो ।
पार्टीभित्रका पुँजीवादी प्रभाव भएकाहरूले त्यस कुरोको गन्ध पाइहाले र त्यसको विरोधमा अनेक संशोधनहरू ल्याए । त्रोत्स्कीका समर्थक प्रेओब्राजेन्स्कीले पश्चिमी देशहरूमा सर्वहारा क्रान्ति भएपछि मात्रै रुसलाई समाजवादतिर लैजाने प्रस्ताव राख्यो । त्रोत्स्कीको समर्थन गर्ने बुखारिनले भने, “किसानले युद्धको समर्थन गर्दै छ† त्यो वर्ग पुँजीपतिहरूसँग मिल्छ र मजदुरवर्गलाई साथ दिन सक्दैन ।” यसको अर्थ बुखारिन किसानलाई क्रान्तिबाट अलग पार्न चाहन्थे । त्यसबाट किसान पुँजीपतिवर्गसँग मिल्न जान्थ्यो र सर्वहारावर्ग एक्लिन्थ्यो ।
स्तालिनले त्रोत्स्की समर्थक प्रेओब्राजेन्स्कीलाई उत्तर दिँदै भन्नुभयो, “रुसले समाजवादलाई बाटो देखाउने सम्भावना छ ।… युरोपले हामीलाई बाटो देखाउनेछ भन्ने पुरानो विचार छोड्नुपर्छ । माक्र्सवाद दुई किसिमको छ – कोरा सिद्धान्त र रचनात्मक ।” स्तालिनले आफूलाई रचनात्मक माक्र्सवादी घोषणा गर्नुभयो । बुखारिनलाई जवाफ दिँदै स्तालिनले भन्नुभयो, “धनी किसानले साम्राज्यवादी र पुँजीपतिहरूको समर्थन गर्छन् । तर, गरिब किसान मजदुरवर्गसँग मित्रता चाहन्छन् र क्रान्तिको पक्षमा लडाइँलाई समर्थन गर्छन् ।”
पार्टी महाधिवेशनले राजा–रजौटाहरूको जग्गा जफत गरी राष्ट्रियकरण गर्ने, बैङ्क र ठुलठुला उद्योगधन्दा राष्ट्रियकरण गर्ने विषयका साथै उत्पादन र वितरणमा मजदुरहरूको नियन्त्रणलाई स्वीकार ग¥यो । बैठकले लेनिनलाई अदालतमा हाजिर नगराउने कुरो पनि निर्णय ग¥यो ।
क्रान्तिविरोधी षड्यन्त्र असफल
एकातिर समाजवादी क्रान्तिको निम्ति बोल्शेभिकहरूको छैटौँ महाधिवेशन भइरहेको थियो भने अर्कोतिर पुँजीपति, जमिनदार, मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूको राज्य समिति को बैठक बोलाइँदै थियो ।
रियाबुशिन्स्की भन्ने एक करोडपतिले लाजै नमानी भन्यो, “अकाल र बर्बादीको बलियो पन्जाले जनताका झूटा मित्रहरू भनिने प्रजातान्त्रिक सोभियत र समितिहरूको घाँटी निमोठ !” ३ अगस्तको दिन प्रधानसेनापति जनरल कोर्निलोभले युद्ध मोर्चाको पछाडि पनि ज्यान सजायको बन्दोबस्त चालु राख्न माग ग¥यो । त्यसको अर्थ थियो बोल्शेभिक र मजदुरहरूको हत्या गर्न पाउनुपर्छ ।
१२ अगस्त, १९१७ को दिन, मस्कोको ठुलो नाचघरमा अस्थायी सरकारको राज्य समितिको बैठक बस्यो । आफूलाई समाजवादी क्रान्तिकारी भन्ने करेन्स्कीले धक्कु लाएर भने, “जमिनदारको जग्गालाई बिनाअधिकार कब्जा गर्ने किसानहरूलाई ‘निर्ममतापूर्वक’ दबाइनेछ ।”
त्यसको विरोधमा बोल्शेभिकहरूले मस्कोमा हडतालको आह्वान गरे । हडतालमा धेरैजसो मजदुर सामेल भए ।
बैङ्कका मालिक, व्यापारी र कारखानाका मालिकहरू कोर्निलोभको मुख्यालयमा जम्मा हुन थाले र मद्दत दिने वचन दिए । बेलायत र फ्रान्सका प्रतिनिधिहरूले क्रान्तिको विरोधमा पाइला चाल्न उक्साए । कोर्निलोभले सीधै प्रतिक्रियावादी माग अघि सारे, “समिति र सोभियतहरूलाई समाप्त गर !”
कोर्निलोभले बोल्शेभिकहरूबाट ६ महिनाभित्र विद्रोह हुने हल्ला फैलाए र बोल्शेभिकहरूलाई दबाउन सैनिक तयारी गर्न थाले । उनी पुँजीपतिवर्गको अस्थायी सरकारलाई समेत भङ्ग गरेर सैनिक शासन लागु गर्न खोज्दै थिए ।
पितृभूमि रक्षा गर्ने निहुँ राखेर २५ अगस्तको दिन कोर्निलोभले क्रिमोन भन्ने एक जनरलको मातहतमा पेट्रोग्रादमा एक घोडचढी सेना बोलाए । त्यो सैनिक षड्यन्त्र थियो । त्यस घोडचढी सेनाले जनतालाई दबाउँथ्यो । त्यस सेनामा सा¥है बदनाम र निर्दयी ककेशियालीहरू थिए ।
यो बुझेर बोल्शेभिक पार्टीको केन्द्रीय समितिले क्रान्तिविरोधी त्यस पाइलोलाई सशस्त्र बलले नै जवाफ दिन मजदुर र सैनिकहरूलाई आह्वान ग¥यो । मजदुर र क्रान्तिकारी सेनाले पेट्रोग्रादको चारैतिर खाडल खन्न थाले; काँडा भएको तार बेर्न थाले र जाल बिछ्याउन थाले । सहरतिर आउने रेलका बाटाहरू भत्काइयो । हजारौँ सशस्त्र जहाजीहरू लड्नको निम्ति क्रोन्स्ताद्तबाट ओइरिए । मजदुर प्रतिनिधिहरूले पेट्रोग्रादतिर आइरहेका क्रिमोभको पल्टनलाई सम्झाउन जनप्रतिनिधिहरू पठाए । जनप्रतिनिधिहरूले ती सेनालाई कोर्निलोभको जनविरोधी उद्देश्य र षड्यन्त्रबारे सम्झाउँदा जनरल क्रिमोभको अगाडि बढ्ने आदेशलाई सेनाले अस्वीकार ग¥यो । अर्को दललाई पनि सम्झाउन जनप्रतिनिधि पठाइयो ।
बोल्शेभिकहरूले ती फौजी षड्यन्त्रको विरोधमा जनतालाई सङ्गठित गर्दै गए । अस्थायी सरकारका करेन्स्कीहरू पनि षड्यन्त्रको विरोधमा गए । तर, बोल्शेभिकहरू करेन्स्कीहरूलाई उदाङ्ग्याउन पछि परेनन् । अन्त्यमा बोल्शेभिकहरूको बलले कोर्निलोभको विद्रोह दबायो र जनरल क्रिमोभले आत्महत्या गरे । उनका षड्यन्त्रकारी साथी देनिकिन र लुकोम्स्की पक्राउ परे । कोर्निलोभको षड्यन्त्रको दमनले बोल्शेभिकहरू एक मुख्य शक्ति हो भन्ने कुरो देखायो । त्यसले गाउँका किसानहरूमा पनि राम्रो प्रभाव प¥यो । बोल्शेभिकहरूले तिनीहरूलाई युद्ध र जमिनदारको पन्जाबाट मुक्त गर्नेछन् भन्ने विश्वास बढ्यो ।
कोर्निलोभको हारको भोलिपल्ट अर्थात् ३१ अगस्टको दिन पेट्रोग्रादको सोभियतले बोल्शेभिक नीतिलाई स्वीकार ग¥यो । ठाउँठाउँका कारखानाहरूमा पनि मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूको ठाउँमा बोल्शेभिकहरू चुनिए ।
५ सेप्टेम्बरको दिन पेट्रोग्राद सोभियत बोल्शेभिक पार्टीको पक्षमा गयो र मेन्शेभिक तथा समाजवादी क्रान्तिकारीहरूले राजीनामा दिए । ती दुवै पार्टीहरूमा बोल्शेभिकहरूलाई समर्थन गर्ने ‘वामपन्थी’ गुटहरू बन्न थाले । फुटले तिनीहरू कमजोर हुँदै गए ।
१२ सेप्टेम्बरको दिन ती पार्टीहरू मिलेर एक सम्मेलन गरे । त्यस सम्मेलनले ‘प्रेद पार्लमेन्ट’ अर्थात् ‘संसद्भन्दा पहिले’ को एक अस्थायी ‘गणतन्त्र परिषद्’ बनायो । त्यो त समाजवादी क्रान्तिलाई पुँजीवादी संवैधानिक विकास र पुँजीवादी संसद्वादको बाटोमा फसाउने एक योजना थियो । बोल्शेभिकहरूले त्यसलाई बेकामको संसद् भनेर अस्वीकार गरिदिए ।
विद्रोह सुरु
पेट्रोग्राद र मस्को दुवै राजधानीमा सोभियतको चुनावमा बोल्शेभिक प्रतिनिधिहरूको बहुमत भयो । गाउँगाउँमा किसान विद्रोह भइरहेको थियो । पेट्रोग्राद र मस्कोको चुनावमा पार्टीको विजयले जनतामा बोल्शेभिकप्रतिको विश्वास बढ्दै थियो । कोर्निलोभको सैनिक षड्यन्त्र असफल पार्नमा सर्वहारावर्ग सफल भएको हुँदा करेन्स्की पुँजीवादी सरकार मजदुरवर्गसँग डराएर राजधानी पेट्रोग्रादबाट अन्तै सार्न चाहन्थ्यो । राजधानी अन्तै सार्नुको अर्थ पेट्रोग्रादबाट सेना हटाउनु र त्यसलाई जर्मनीको हातमा सुम्पनु थियो ।
रुसको भित्री परिस्थिति त्यस्तो थियो भने उता शत्रु देश जर्मनीमा जलसेनाले विद्रोह ग¥यो । युरोपको निम्ति यो नौलो कुरो थियो । त्यस घटनाले सारा युरोपमा समाजवादी क्रान्तिको सङ्केत दियो । रुसी क्रान्तिको सम्भावनालाई बुझेर साम्राज्यवादीहरू आपसमा शान्ति गर्न चाहन्थे र क्रान्तिलाई दबाउन चाहन्थे ।
राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थिति क्रान्तिको पक्षमा देखियो । बोल्शेभिकहरू यस्तो राम्रो परिस्थितिलाई हातबाट फुत्कन दिन चाहँदैनथे । यसकारण, विद्रोहको तयारी सुरु गरियो । ७ अक्टोबरको दिन लेनिन गुप्तरूपले फिनल्यान्डबाट पेट्रोग्राद पुग्नुभयो । १० अक्टोबरको दिन पार्टीको केन्द्रीय समितिको बैठक बस्यो । मस्को पेट्रोग्रादको चुनावमा मजदुर र सैनिकहरूको बहुमत भएको हुँदा लेनिनले “जनताको बहुमत हाम्रो पक्षमा हुनाले राज्यको हुकुम बोल्शेभिकहरूले लिनुपर्छ” भनी निर्देशन दिनुभयो । केन्द्रीय समितिको तर्फबाट लेनिनले तल्लो तहका सबै पार्टी समितिहरूलाई विद्रोहको तयारी गर्न निर्देशन दिनुभयो ।
केन्द्रीय समितिका दुई जना सदस्य कामेनेभ र जिनोभिएभले भने विद्रोहको विरोधमा मत दिए । तिनीहरू ‘प्रेद पार्लामेन्ट’ अर्थात् ‘संसद्भन्दा अघिको’ अस्थायी गणतन्त्र परिषद्मा सामेल हुन चाहन्थे । तिनीहरूको विचारमा समाजवादी क्रान्तिको निम्ति मजदुरवर्ग त्यति बलियो र परिपक्व भइसकेको थिएन । तिनीहरू पुँजीवादी संसदीय प्रजातन्त्रमै बस्न चाहन्थे । मेन्शेभिकहरूको पनि त्यही विचार थियो ।
त्रोत्स्की सोभियतहरूको दोस्रो महाधिवेशन सुरु हुनुभन्दा पहिले विद्रोह नगर्ने पक्षमा थिए । त्यसको अर्थ थियो – विद्रोह ढिलो गर्नुः विद्रोहको दिन तोक्नु र त्यसको खबर अस्थायी सरकारसम्म पु¥याउनु । यसप्रकार त्रोत्स्कीले विद्रोहको प्रस्तावलाई विरोध नगरे पनि विद्रोहलाई असफल पार्ने उद्देश्य राखे । पार्टी केन्द्रीय समितिबाट पनि विद्रोह सञ्चालन गर्नको निम्ति भोरोसिलोभ, मोलोतोभ, जेर्जिन्स्की, ओर्जेनिकिद्ज, किरोभ, कागानोभिच, कुश्वीरोभ, फुन्जे, यारोस्लाभ्स्कीजस्ता नेता विभिन्न इलाकामा खटिए ।
साभार : अक्टोबर क्रान्ति र यसको महत्व