नारायणमान बिजुक्छेँ (रोहित)
दोस्रो अन्तर्राष्ट्रिय
जर्मनी युद्धको निम्ति पहिले नै तयार थियो । उसले बेलायत र फ्रान्सका उपनिवेशहरू कब्जा ग¥यो । रुसको कब्जामा रहेका युक्रेन, पोल्यान्ड र बाल्टिक प्रदेश हात पा¥यो । रुसी जारका गृहमन्त्री र अफिसरहरू नै जर्मन जासुसहरूको औँलामा नाचेका हुन्थे । यसकारण, रुस लडाइँमा हार्दै गयो । यता सन् १८७०–७१ मा जर्मनीले लिएको अलसास र लोरेन प्रान्त फिर्ता लिन फ्रान्स चाहन्थ्यो । बाहिरी बजारमा जर्मनीले बेलायती सामानलाई धपाउँदै थियो । रुसका जमिनदार र पुँजीपतिवर्ग पनि आफ्नो देशको मजदुर आन्दोलन दबाउने र अरू देश कब्जा गर्ने इच्छा राख्थे । फेरि त्यसबेला बेलायत र फ्रान्सको ठुलो पुँजी रुसमा लगानी गरिएको थियो । यसकारण, रुस पनि त्यस युद्धमा फस्यो ।
सन् १९१० मा कोपेनहेगन (डेनमार्क) मा अन्तर्राष्ट्रिय समाजवादी मजदुरहरूको महाधिवेशन भएको थियो । त्यसलाई दोस्रो इन्टरनेसनल पनि भनिन्थ्यो । संसद्मा मजदुर प्रतिनिधिहरूले आ–आफ्ना पुँजीवादी सरकारहरूको युद्धको ऋण प्रस्तावहरूमा मत नदिने र युद्धको विरोध गर्ने सिद्धान्त मानेका थिए । सन् १९१२ मा बाल्कन युद्ध भएको थियो । त्यसबेला पनि बालेसमा दोस्रो इन्टरनेसनलको महाधिवेशन भएको थियो । त्यस महाधिवेशनमा युद्धको विरोध गर्ने र पुँजीपतिवर्गको नाफाको निम्ति मजदुरवर्ग एक आपसमा नलड्ने प्रस्ताव पारित गरिएको थियो ।
४ अगस्ट, १९१४ मा जर्मन समाजवादी प्रतिनिधिहरूले युद्धको ऋणको पक्षमा मत दिए । त्यस्तै फ्रान्स, बेलायत, बेल्जियम र अरू देशका समाजवादी मजदुर पार्टीहरूले युद्धमा आ– आफ्नो सरकारको समर्थन गरे । तिनीहरू मुखले समाजवादको कुरा गर्थे र कामले साम्राज्यवादलाई मद्दत गर्थे । तिनीहरू अन्धराष्ट्रवादी थिए । यसरी दोस्रो इन्टरनेसनलका नेताहरूले मजदुरवर्गलाई धोका दिए र पुँजीपतिवर्गको सेवक बने । तर, सन् १९१४ को शरद् ऋतुमा लेनिनले युद्धसम्बन्धी सिद्धान्त प्रस्तुत गर्नुभयो । सन् १९१४ मा बोल्शेभिक पार्टीले युद्धको विरोधमा आफ्नो विचार प्रकट गर्यो ।
सेप्टेम्बर १९१५ मा स्वीजरल्यान्डको जिमरवाल्ड भन्ने ठाउँमा विभिन्न देशका क्रान्तिकारी समाजवादीहरूको बैठक भयो । त्यसमा लेनिन, जर्मनीका कार्ल लिब्नेख्त र रोजा लक्जेम्बर्गजस्ता अन्तर्राष्ट्रवादी पनि हुनुहुन्थ्यो । त्यसले ‘साम्राज्यवादी युद्धलाई गृहयुद्धमा फेरिदेऊ’ र ‘साम्राज्यवादी युद्धमा आफ्नै सरकारलाई हराऊ !’ भन्ने निर्णय गर्यो ।
रुसमा मेन्शेभिक र अरू समाजवादीहरूले समाजवादको मुकुन्डो लगाएर रुसी पुँजीपति र जमिनदारवर्गको समर्थन गर्दै थिए । तर, लेनिनको नेतृत्वमा बोल्शेभिक पार्टीले सर्वहारा अन्तर्राष्ट्रवादको झन्डा उचाल्यो । साम्राज्यवादी लडाइँको रूप र कारणलाई संसारसामु नङ्ग्याइदियो ।
‘फेब्रुअरी क्रान्ति’
रुस लडाइँमा फस्दै गयो । सबै मालसामान र धन–सम्पत्ति लडाइँमा होमिरहेको थियो । अर्थतन्त्र चौपट भयो; कारखानाहरू बन्द हुन थाले । १ करोड ४० लाख बलिया मानिसहरू कामबाट निकालेर सेनामा भर्ती गरिए । रेल पनि मुश्किलले चालु थियो । सिपाहीहरू ओसार्न समेत धौधौ परिरहेको थियो । लाखौँ किसानहरू सेनामा भर्ना गरिएको हुनाले गाउँहरू उजाड देखिए । काम गर्ने मानिसहरू थिएनन् । सरकारले किसानका घोडाहरू र अरू पशु जफत गर्दै सेनामा लाँदै थियो । काम गर्ने मानिस र जनावरको कमीले गर्दा खेत बाँझो भए । खेत नजोतिँदा कृषि उत्पादन कम भयो र अनिकाल पर्न थाल्यो । यसले कामदार जनताको जीवन झन्झन् कष्टमय भयो । त्यसकारण, बोल्शेभिक पार्टीका कार्यकर्ताहरू लडाइँको मैदानमा सिपाहीहरूकहाँ जान्थे र जनतालाई लडाइँको विरोधमा सम्झाउँथे । यो लडाइँ पुँजीपतिवर्गको फाइदाको निम्ति हो; जनतालाई केही फाइदा छैन भनेर बोल्शेभिकहरू भन्थे । बोल्शेभिक पार्टीका कार्यकर्तालाई सरकारले लडाइँको विरोध गरेकोमा ज्यान सजाय दिन्थ्यो । तर, सिपाही, मजदुर र किसानले बोल्शेभिकहरूको कुरा बुझ्न थाले । उनीहरूले पनि ‘साम्राज्यवादी लडाइँलाई गृहयुद्धमा बदल !’, ‘लडाइँ मुर्दावाद !’ र ‘जार मुर्दावाद !’ भनी नारा लगाउन थाले ।
सन् १९१७ को जनवरी महिना थियो । लडाइँले गर्दा पिटर्सबर्गका मजदुरहरू भोकभोकै मर्न लागे । ९ जनवरी, १९१७ को दिन हडताल सुरु भयो । मस्कोमा एकतिहाइ मजदुरले हडतालमा भाग लिए । हडतालकै सिलसिलामा पिटर्सबर्ग, मस्को, बाकु र निज्नी नोभ्गोरोदमा जुलुस भयो । त्वेस्र्कोपी भन्ने राजमार्गमा दुई हजार मानिसले प्रदर्शनमा भाग लिएका थिए । पुलिसले तिनीहरूलाई छिन्नभिन्न पारिदियो । पिटर्सबर्गको भिवोर्ग सडकमा भएको जुलुसमा सिपाहीहरूले पनि भाग लिएका थिए । हडतालले सन् १९०५ को रूप लिन लागेको थियो ।
मेन्शेभिक र समाजवादी क्रान्तिकारी भनाउँदा गुटले उठिरहेको मजदुर आन्दोलनलाई उदार पुँजीपतिवर्गको पक्षमा घुमाउन चाहन्थ्यो । त्यसकारण, तिनीहरूले १४ फेब्रुअरीको दिन संसद् (ड्युमा) मा जुलुस लैजाने निधो गरे । तर, मजदुर जनता मेन्सेविकहरूसँग संसद् नगई जुलुसमा पुगे । वास्तवमा रुसमा क्रान्ति परिपक्व भइरहेको थियो ।
१८ फेब्रुअरीको दिन पिटर्सबर्गको पुतिलोभ कारखानामा हडताल सुरु भयो । २२ फेब्रुअरीको दिन त्यहाँ धेरैजसो ठुलठुला कारखानामा मजदुरले हडताल गरे ।
२३ फेब्रुअरीको दिन अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस थियो । पिटर्सबर्गको बोल्शेभिक समितिद्वारा भोकमरी, युद्ध र जारशाहीको विरोधमा महिलाहरूको एक जुलुसको आयोजना गरिएको थियो । पिटर्सबर्गका मजदुरहरूले कामदार स्वास्नीमान्छेहरूको त्यस जुलुसलाई समर्थन गरे । तिनीहरूले एक ठुलो राजनीतिक हडताल गरेर त्यसलाई मद्दत गरे ।
२४ फेब्रुअरीको दिन पनि जुलुस भई नै रह्यो । त्यस दिन पुग नपुग दुई लाख मजदुरले हडताल गरे ।
२५ फेब्रुअरीको दिन सारा पिटर्सबर्ग रातो झन्डाले ढाक्यो । जिल्ला जिल्लाको राजनीतिक हडताल सहरको राजनीतिक हडतालसँग मिसियो । ठाउँ–ठाउँमा ठुलठुला जुलुस भए । ‘जारशाही नास होस्’, ‘लडाइँ मुर्दावाद’ र ‘हामीलाई रोटी देऊ’ भन्ने नारा झन्डाहरूमा लेखिएका हुन्थे ।
उता लडाइँको मोहडामा पनि सिपाहीहरू बरफको जाडो र भोकलाई सहिरहेका थिए । त्यसकारण, सेनाका सिपाहीहरूले पनि अफिसरहरूको आदेश मान्न छोडेका थिए । उनीहरू मोर्चाबाट अन्तै हिँड्थे । त्यस्तै, गाउँगाउँमा पनि असन्तोष बढिरहेको थियो ।
२५ फेब्रुअरीको दिन जारले आफ्नो जर्नेल खवालोभलाई आदेश दियो, “भोलिसम्ममा राजधानीका सबै गोलमाल बन्द गर ।” पिटर्सबर्गको सेनापति जनरल खवालोभले २८ फेब्रुअरीसम्म काममा नफर्क मजदुरहरूलाई जबरजस्ती लडाइँमा पठाउने धम्की दियो । तर, २६ फेब्रुअरीको दिन पनि जुलुस र हडताल भइरह्यो ।
पाभ्लोभ्स्की पल्टनको जगेडा बटालियनको चौथो दलले मजदुरहरूसँग जुझिरहेको पुलिसमाथि गोली चलाइदियो । कामदार महिलाहरूले पल्टनलाई मजदुरहरूको पक्ष लिन अपिल गरे । सरकारलाई घृणा गर्न र मजदुर जनतासँग दाजुभाइको नाता जोड्न आह्वान गरे । बोल्शेभिक पार्टीको केन्द्रीय समितिले सरकारको विरोधमा सशस्त्र सङ्घर्ष चालु राख्न र अस्थायी सरकार बनाउने घोषणा गर्यो । त्यसबेला पार्टीको प्रधान कार्यालय पिटर्सबर्गमा थियो । त्यसको अगुवाइ (नेतृत्व) कामरेड मोलोतोभले गर्दै हुनुहुन्थ्यो । सिपाहीहरूले छाउनीमा गएर बैठक गरे । भोलिन्स्की रेजिमेन्टले जनतालाई दृढ समर्थन गयो ।
२७ फेब्रुअरीको दिन पनि आन्दोलन भइरह्यो । सङ्घर्षमा भाग नलिने भोलिन्स्की रेजिमेन्टका अफिसरलाई निकाला गरियो । त्यसपछि अरू रेजिमेन्ट पनि तिनीहरूसँग मिल्न गए । मजदुरहरूले नारा लगाए, ‘सिपाहीहरू जिन्दावाद !’ अनि, मजदुर सिपाहीहरू मिलेर जेलका राजनीतिक बन्दीहरूलाई छुटाउन गए । पुलिसले विद्रोहलाई दबाउन सकेन । बिहानैदेखि १० हजार सिपाहीहरू विद्रोहमा भाग लिन थालेका थिए । साँझसम्ममा विद्रोहमा ६० हजार सिपाहीहरूले भाग लिन पुगे । विद्रोहमा भाग लिएका मजदुर र सिपाहीहरूले सरकारका मन्त्रीहरू र जर्नेललाई गिरफ्तार गर्न थाले । जेलमा थुनिएका क्रान्तिकारीहरूलाई छोड्न थाले । छुटेका राजबन्दीहरू क्रान्तिमा भाग लिन थाले । तर, पुलिस तोपको सहारामा मजदुर आन्दोलन दबाउँदै थियो । सेना मजदुरहरूसँग मिलेपछि जारको मनपरीतन्त्र खतम भयो† क्रान्तिको जित भयो ।
पिटर्सबर्गको क्रान्तिको जितको खबर चारैतिर बिजुलीजस्तै फैलियो । खबर सुन्नासाथै अरू सहर र लडाइँका मोर्चाहरूमा मजदुर र सिपाहीहरूले सरकारी अफिसरहरूलाई गिरफ्तार गर्न थाले र सेनाबाट निकाल्न थाले । यसरी मजदुरवर्गले रुसमा क्रान्ति गर्यो । तिनीहरूकै वीरता र रगतले अरू जनतालाई पनि सँगै लग्यो । त्यसलाई रुसको फेब्रुअरीको पुँजीवादी जनवादी क्रान्ति भनियो । अब रुसी जनता राजतन्त्र चाहँदैनन् भन्ने बुझेर पुँजीपतिवर्गले राजा निकोलस दोस्रोलाई गद्दी छोड्न मनायो र चुनाव नभएसम्मको निम्ति एक अस्थायी सरकारको घोषणा गर्यो । त्यसमा ठुलठुला जमिनदार र पुँजीपतिवर्गका मानिसहरू थिए ।
त्यसबेला बोल्शेभिक पार्टीका मुख्यमुख्य नेता जेल र देशबाहिर थिए । लेनिन विदेशमा हुनुहुन्थ्यो । स्तालिन र स्वर्दलोभ साइबेरियामा कालापानीको सजाय भोग्दै हुनुहुन्थ्यो । बोल्शेभिकहरू सरकारी पुलिस र सेनासँग भिडन्त गर्दै थिए । त्यस्तै, मौका छोपी मेन्शेभिक र समाजवादी क्रान्तिकारी गुट सरकार र चुनावमा आ–आफ्नो हात माथि पार्न दाउ लगाउँदै थिए ।
२७ फेब्रुअरी, १९१७ को दिन मेन्शेभिक र समाजवादी क्रान्तिकारीहरूले मिलेर नयाँ सरकारलाई समर्थन गरे । त्यो पुँजीवादी अस्थायी सरकार थियो । यो पुँजीपतिवर्ग र पुँजीपति बन्न लागेका जमिनदारहरूका प्रतिनिधि भएको नयाँ राज्यसत्ता थियो ।
नयाँ सरकार पनि शान्ति चाहँदैनथ्यो । ऊ साम्राज्यवादी युद्धलाई चालु राख्न चाहन्थ्यो । रुसका मजदुरहरूमा क्रान्तिकारी जोश थियो । तर, तिनीहरूले लडाइँ र राजनीतिक अनुभवको कमीले गर्दा राजनीतिक छलकपट र दाउपेच बुझ्न सकेका थिएनन् । बहुमत मजदुरहरूमा स–साना पुँजीपतिवर्गको विचारधारा पनि बाँकी नै थियो । यसकारण, क्रान्ति मजदुरवर्गले गर्यो तर सत्ता पुँजीपतिवर्गको हातमा गयो । तैपनि, मजदुर र सैनिकहरूको प्रतिनिधिसभा निरन्तर बस्न थाल्यो । त्यसलाई सोभियत भनिन्थ्यो । क्रान्तिले ल्याएको त्यस प्रतिनिधिसभाको प्रभाव बढ्दै गयो । गाउँ, नगर र जिल्ला अनि सबै सङ्गठनको प्रतिनिधिसभा वा परिषद् बन्न थाल्यो । ती सबैलाई सोभियत भनियो । स्थानीय र राष्ट्रिय स्तरका सोभियतहरू चुनिन थाले ।
साभार : अक्टोबर क्रान्ति र यसको महत्व