वाल स्ट्रीट जर्नलमा प्रकाशित भर्खरैको लेखमा, जापानका लागि अमेरिकी राजदूत रहम इमानुएलले अब ‘पेइचिङको आर्थिक रणनीतिको सामना गरेर चीनलाई अझ एक्लो पार्ने’ समय आएको बताए । उनले अमेरिका र उसका सहयोगीहरूले चीनको ‘आर्थिक जबरजस्ती’ विरुद्ध संयुक्त मोर्चा प्रस्तुत गर्न आर्थिकरूपमा नाटोको बराबरको गठबन्धन बनाउनुपर्छ भन्ने प्रस्ताव गरे । संयोगवश, इमानुएलको प्रस्ताव यस्तो समयमा आयो जब जापानका नयाँ प्रधानमन्त्री शिगेरु इसिबाले एसियामा सामूहिक आत्मरक्षा प्रणालीको निर्माणको लागि गरेको आह्वानले ‘एसियाली नाटो’ पहिले नै हेडलाइन बनाइसकेको थियो ।
के त्यहाँ इमानुएलको प्रस्तावित आर्थिक गठबन्धन र इशिबाको सुरक्षाकेन्द्रित ‘एसियाली नाटो’ साकार हुने कुनै सम्भावना छ ? मेरो विचारमा, ती दुई विचारहरूमध्ये कुनै एकलाई पनि साकार पार्ने सम्भावना अत्यन्त कम छ । अझ स्पष्टरूपमा भन्नुपर्दा, सुरक्षाकेन्द्रित ‘एसियाली नाटो’ स्थापना गर्नु पहिले नै गा¥हो छ, विशेषगरी एसियामा ‘आर्थिक नाटो’ स्थापना गर्नु अझ कम सम्भव छ ।
‘आर्थिक नाटो’ को विचार न त आर्थिक भूमण्डलीकरणको समग्र प्रवृतिसँग मेल खान्छ, न आर्थिक विकासका सिद्धान्तहरूसँग मेल खान्छ । यसबाहेक, यसले एसियाको आर्थिक र सामाजिक विकासको वर्तमान वास्तविकतालाई बेवास्ता गर्दछ । यो केही अमेरिकी राजनीतिज्ञहरूले राजनीतिक ध्यान खिच्न र राजनीतिक फाइदा उठाउनको लागि अगाडि सारेको आकर्षक नाराबाहेक अरू केही होइन । यो निम्न प्रमुख क्षेत्रहरूमा देख्न सकिन्छ :
पहिलो, हालको विश्वव्यापी अवस्था विशेषगरी सुरक्षाको सन्दर्भमा, महत्वपूर्ण परिवर्तनहरू भए तापनि आर्थिक भूमण्डलीकरणको आधारभूत प्रवृत्ति अपरिवर्तित छ । संरा अमेरिका र जापानलगायत लगभग सबै देशका लागि आर्थिक वृद्धि कायम राख्नु र जनताको जीवनस्तरमा सुधार सुनिश्चित गर्नु अझै पनि सबैभन्दा महत्वपूर्ण विषय र कार्यहरू हुन् । विश्व व्यापारमा विश्वको दोस्रो ठुलो अर्थतन्त्र चीनको भूमिका निर्विवाद छ । धेरै देशहरूका लागि, विशेषगरी एसियामा, चीन उनीहरूको सबैभन्दा ठुलो व्यापार साझेदार हो । चीनको विकास र स्थिरतालाई खतराको रूपमा नभई सहयोग र पारस्परिक लाभको बहुमूल्य अवसरको रूपमा हेरिएको छ ।
दोस्रो, एसियाको समग्र अवस्था अमेरिका र युरोपमा दोस्रो विश्वयुद्धपछिको गठबन्धन प्रणालीभन्दा निकै फरक छ । सुरक्षा र अर्थतन्त्रको हिसाबले युरोप अमेरिकामाथि धेरै निर्भर भएको छ, जसले यसको स्वायत्तता घटाएको छ । यसको विपरीत, एसियामा आर्थिक विकासका स्तरहरू क्षेत्रभरि व्यापकरूपमा भिन्न छन्, जबकि नाटोसित स्वायत्तताको बलियो भावना छ र नाटोले कुनै पनि अन्य देशले निर्धारण गरेको व्यवस्थालाई पालन गर्दैन । उदाहरणको लागि, इन्डोनेसियाका केही सञ्चारमाध्यमहरूले ‘एसियाली नाटो’ को लागि इशिबाको प्रस्तावको विरुद्धमा खुलारूपमा आफ्नो विरोधको आवाज उठाएका छन्, जसले एसियाली राष्ट्रहरूबिचको स्वायत्तताको लागि बलियो आग्रहलाई जोड दिन्छ ।
तेस्रो, संरा अमेरिका र जापानजस्ता देशको आर्थिक विकास चीनसँग जोडिएको छ । नाटोको आर्थिक संस्करण सिर्जना गर्नु आत्म–पराजय हुनेछ, आफैलाई थप हानि पु¥याउनेछ । तथ्याङ्कअनुसार सन् २०२३ मा संरा अमेरिकासँग चीनको वैदेशिक व्यापार ६६४.५ अर्ब डलर थियो । यसैबिच, २०२३ मा चीन–जापान द्विपक्षीय व्यापार कुल ३१८ अर्ब अमेरिकी डलर थियो, जापान चीनको दोस्रो ठुलो व्यापारिक साझेदार हो । यसले स्पष्टरूपमा देखाउँछ कि ‘आर्थिक नाटो’ को अवधारणा यसको सम्भाव्यताभन्दा राजनीतिक शुद्धतामा बढी छ ।
अन्तमा, आफ्नो आर्थिक विकासले केही चुनौतीहरूको सामना गरेको भए पनि चीनले यी समस्याहरूबारे पूर्णरूपमा सचेतमात्र नभएर अर्थतन्त्रलाई प्रवद्र्धन गर्न विभिन्न उपायहरू अपनाउँदै तिनलाई सम्बोधन पनि गरिरहेको छ । चीनले उल्लेखनीयरूपमा आफ्नो सुधार र खुलापनलाई अझ गहिरो बनाउँदै, बजार जीवन शक्ति र कानुनको शासनलाई सुदृढ गर्दै र व्यापार वातावरण सुधार गर्न प्रयास गरिरहेको छ । जबसम्म चीन विकासको सही दिशामा अघि बढिरहन्छ, कुनै पनि देश वा गठबन्धनले यसको प्रगतिलाई रोक्न वा छेक्न सक्दैन ।
सहयोगले पारस्परिक लाभतिर डो¥याउँछ, जबकि टकरावले हार–हारको अवस्था निम्त्याउँछ । नाटोले युरोपमा शान्ति ल्याएको छैन† बरु यसले द्वन्द्व, भिडन्त र युद्ध निम्त्याएको छ । एसिया युरोप होइन, एसियाली देशहरूले शान्ति र विकास खोजेका छन्, टकराव र द्वन्द्व होइन । तसर्थ, नाटोको आर्थिक संस्करण स्थापना गर्ने विचारले तरङ्ग सिर्जना गर्न सक्छ, तर यो वास्तविकता बन्न असम्भव छ, निश्चितरूपमा एसियामा होइन ।
(लेखक साङ्घाई विश्वविद्यालय फर साइन्स एन्ड टेक्नोलोजीको कलेज अफ फरेन ल्याङ्ग्वेजमा अन्तर्राष्ट्रिय राजनीति र चीन–जापान सम्बन्धका विद्वान् हुनुहुन्छ ।)
– ग्लोबल टाइम्स अनलाइनबाट
अनुवाद : आरोही