के हो मानसिक स्वास्थ्य ?
मानसिक स्वास्थ्य भन्नाले मानिसको भावनात्मक र सामाजिक तन्दुरुस्तीलाई बुझिन्छ, जसले हामीलाई कसरी सोच्ने, महसुस गर्ने र व्यवहार गर्ने, दैनिक कार्य कसरी गर्ने, कुनै समस्या आए त्यसलाई कसरी सामना गर्ने, दैनिक जीवनमा कसरी अरुसँग गाँस्ने भनेर जीवनको गुणस्तर कसरी विकास गर्ने भनेर बुझ्छौँ ।
यदि भावनात्मक, मनोवैज्ञानिक र सामाजिक जीवनमा नकारात्मक असर गरेर हाम्रो दैनिक कार्य, सामाजिक, व्यावसायिक तथा पारिवारिक जीवनमै असर गर्छ भने त्यसलाई मानसिक स्वास्थ्य समस्या भनिन्छ ।
के–के हुन् लक्षण ?
मानसिक स्वास्थ्य समस्या भएका व्यक्तिमा भावनात्मक परिवर्तन आउन सक्छ । जस्तो, निराशापन आउने, काम गर्न मन नलाग्ने तथा स–साना कुरामा रिस उठ्ने हुन सक्छ । यस्तै, सोचमा समस्या आउन सक्छ । अनियन्त्रित विचार आउने, ध्यानकेन्द्रित गर्न कठिनाइ हुने हुन्छ भने वास्तविकताविरुद्धका विश्वास सिर्जना हुन्छन् । जस्तोः कसैले आफूलाई हानि पु¥याउन सक्छन् भनेर या आफू विशेष शक्तिको धारक भएको सोच आउन सक्छ । यसबाहेक साथीभाइ, परिवार र सामाजिक जीवनबाट टाढा रहने समस्या देखिन सक्छ ।
मानसिक स्वास्थ्य भने पनि शारीरिक लक्षण पनि देखिन सक्छ । थकान हुने, शरीर झम्झमाउने, पोल्ने, दुख्ने, टाउको भारी हुने, खानपानमा परिवर्तन हुने, निन्द्रा कम लाग्ने या बढी लाग्ने, खानामा रुचि हट्ने या बढी खानेजस्ता लक्षण देखिन सक्छन् ।
मानसिक रोगका कारण
मानसिक रोगका विशेषगरी तीन वटा कारण रहेको पाइन्छ, जैविक, मनोवैज्ञानिक र सामाजिक कारण । परिवारमा मानसिक रोगको पृष्ठभूमि भएकाहरूमा जोखिम बढ्न सक्छ भने मस्तिष्कको न्युरो ट्रान्समिटरहरूको असन्तुलनले मूड र व्यवहारमा प्रभाव पर्न सक्छ ।
अर्को हो मनोवैज्ञानिक कारण । केही व्यक्तित्व विशेषताहरूले मानसिक स्वास्थ्य समस्याहरूको लागि पूर्वनिर्धारित गर्न सक्छन् । यस्तै, तनावको प्रभावकारी सामना गर्ने उपायको कमी मानसिक स्वास्थ्य समस्यामा परिणत हुन सक्छ । अभिभावकको मृत्यु र पारिवारिक अस्थिरताजस्ता नकारात्मक अनुभवहरूले पनि मानसिक स्वास्थ्यमा असर पर्छ ।
रोकथाम
सबैभन्दा महत्वपूर्ण कुरा भनेको सामाजिक जनचेतना नै हो । चेतना भयो भने रोगलाई समयमै उपचार गर्न सकिन्छ । अर्को कुरा, मानिसहरूले भावनात्मक र शारीरिक लक्षणलाई बुझ्नुपर्छ । भावना, व्यवहार र विचारमा परिवर्तन आइरहेको छ भने त्यसले दैनिक कामकाजमै असर गरिरहेको छ भने मनोचिकित्सकसँग परामर्श लिनुपर्छ ।
उपचार
परामर्श र मनोचिकित्सा : थेरापी वा परामर्शका माध्यमबाट भावनात्मक सहयोग प्रदान गरिन्छ भने मानसिक स्वास्थ्यका लागि उपयुक्त औषधि प्रदान गरिन्छ । यस्तै, स्वस्थ आहार, नियमित व्यायाम र पर्याप्त निन्द्राजस्ता जीवनशैलीमा परिवर्तन गर्ने सल्लाह दिइन्छ ।
तनाव व्यवस्थापनका लागि ध्यान, योग र मानसिक शान्तिको अभ्यास गर्न सकिन्छ । नयाँ सीप सिक्ने र आफ्नो रुचिका गतिविधिहरूमा संलग्न हुँदा पनि तनाव व्यवस्थापनमा सघाउ पुग्छ । यस्तै, आत्मस्वीकृति र सकारात्मक विचारमा ध्यानकेन्द्रित गर्नुपर्छ ।
काम र पारिवारिक जीवनमा सन्तुलन कायम गर्नुपर्छ । तनावलाई सामना गर्ने क्षमता हुनुपर्छ । कतिपय अवस्थामा तनावको सामना गर्ने क्रममा नकारात्मक कार्य गर्ने गरिन्छ । जस्तो, तनाव छ भनेर नसा, मदिरा सेवन गर्ने गरिन्छ, जुन गलत हो ।
मानसिक रोगसम्बन्धी भ्रम र यथार्थ
मानसिक स्वास्थ्य समस्या हुने विभिन्न कारण हुन्छन् । कतिपय मानिसमा मानसिक रोग कमजोर मानिसलाई मात्र हुन्छ भन्ने भ्रम रहेको पाइन्छ, जुन ठीक होइन । यस्तै, अर्को मानसिक रोग दीर्घकालीन हुन्छ भन्ने भ्रम पनि रहेको पाइन्छ । तर, केही मानसिक स्वास्थ्य समस्या उपचारपछि ठीक हुन सक्छ । सही उपचारले मानिसहरूलाई सामान्य जीवनमा फर्कन मद्दत गर्दछ । मानसिक रोगको उपचार गर्न औषधिमात्र आवश्यक हुन्छ भन्ने गरिन्छ । तर, औषधिसँगै मनोचिकित्सा र थेरापी पनि महत्वपूर्ण हुन् ।
यस्तै, मानसिक रोगका बारेमा कुरा गर्दा कलङ्क लाग्छ भन्ने भ्रम मानिसहरूमा पाइन्छ । यथार्थ के हो भने मानसिक स्वास्थ्यका बारेमा खुला कुरा गर्दा समाजमा जागरुकता बढ्छ र मानिसहरूलाई सहयोग खोज्न प्रोत्साहित गर्छ ।
यसैगरी, मानसिक रोग केवल चिन्ता र अवसाद हो भन्ने सोच पनि कतिपयमा पाइन्छ । तर, मानसिक रोग धेरै प्रकारका हुन्छन् । जस्तै, स्किजोफ्रेनिया, बाइपोलार डिस्अर्डर, खानासम्बन्धी विकारहरू आदि ।
मानसिक रोगको औषधि प्रयोग गर्दा बानी लाग्छ, सधैँ खानुपर्छ भन्ने भ्रम पनि रहेको पाइन्छ । तर, औषधिहरू प्रभावकारी हुन्छन् र तिनीहरूलाई सहीरूपमा प्रयोग गर्दा जोखिम कम हुन्छ र औषधि रोक्ने बेलामा चिकित्सकको सल्लाह अनिवार्य छ ।
नर्भिक अस्पतालमा मानसिक स्वास्थ्यसम्बन्धी उपचार गर्ने साइकोलोजिस्ट, साइक्रियाटिकहरू उपलब्ध छन् । नियमित ओपीडीका अतिरिक्त भर्ना गरेर राख्ने र उपचार गर्ने गरिन्छ । यहाँ सबैभन्दा धेरै आउने बिरामीहरू एन्जाइटी र डिप्रेसनका हुने गर्छन् । त्यसबाहेक स्किजोफ्रेनिया, मादक पदार्थ सेवन गरेका र बाइपोलार डिस्अर्डर भएकाहरू बढी आउने गर्छन् ।
बर्सेनि बढ्दै मानसिक स्वास्थ्य समस्या
विश्व स्वास्थ्य सङ्गठनको तथ्याङ्कअनुसार पनि बर्सेनि ८ लाख मानिसले आत्महत्या गर्ने गरेका छन् । अर्थात्, प्रत्येक ४० सेकेन्डमा एक जनाले आत्महत्या गरेको पाइन्छ । करिब ८० प्रतिशत आत्महत्याको कारण नै मानसिक स्वास्थ्य समस्या हो यसमध्येको मु्ख्य कारण डिप्रेसन हो । विश्वमा मृत्युको कारणमध्ये आत्महत्या १५ औँ कारण रहेको छ । नेपालमा भने आर्थिक वर्ष २०८०/८१ मा ७ हजार २ सय २३ जनाले आत्महत्या गरेको तथ्याङ्क छ । जसअनुसार नेपालमा सरदर दिनमा २० जनाले आत्महत्या गर्ने गरेका छन् । दिगो विकासको लक्ष्यले दैनिक आत्महत्याको दर ४.७ मा झार्ने भए पनि आत्महत्याको दर बढ्दै गएको छ ।
यस्तै, नेपालमा कुल नसर्ने रोगको समस्यामध्ये १८ प्रतिशत मानसिक रोग रहेको पाइन्छ । अपाङ्गता गराउने प्रमुख १० कारकमध्ये ४ वटा मानसिक स्वास्थ्य समस्या पर्छन् । राष्ट्रिय मानसिक स्वास्थ्य सर्वेक्षण नेपाल २०७७ को नतिजाअनुसार नेपालमा १३ देखि १७ वर्षका ५.२ प्रतिशत किशोरकिशोरीहरूमा मानसिक स्वास्थ्य समस्या देखिएको छ । जसमा चिन्ताजन्य, डिप्रेसन र आत्महत्यासम्बन्धी सोचजस्ता समस्या रहेको पाइएको थियो । १८ वर्षभन्दा माथिका व्यक्तिहरूमा भने १० प्रतिशतमा मानसिक स्वास्थ्य समस्या देखिएको छ, त्यसमा पनि सबैभन्दा बढीमा आत्महत्यासम्बन्धी सोच रहेको पाइएको छ ।
यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवस
यस वर्षको विश्व मानसिक स्वास्थ्य दिवस ‘कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता’ भन्ने नाराका साथ आज विश्वभर मनाइँदै छ । विश्वको जनसङ्ख्यामध्ये ६० प्रतिशत कामकाजी छन् । तीमध्ये १५ प्रतिशतमा मानसिक स्वास्थ्य समस्या रहेको आकलन गरिन्छ । कार्यक्षेत्रमा कामको बोझ धेरै हुँदा, समय व्यवस्थापन नहुँदा, कामको अनिश्चितता हुँदा, समयमा पारिश्रमिक नपाउँदाजस्ता कुराले पनि मानसिक स्वास्थ्यलाई प्रभावित पारेको हुन्छ । त्यसैले कार्यस्थलमा मानसिक स्वास्थ्यलाई प्राथमिकता प्रमुख आवश्यकता हो ।
(डा. थापा नर्भिक इन्टरनेसनल अस्पतालका मनोरोग विशेषज्ञ हुन्)