
विपद् कहिले आउँछ भनेर कसैले पूर्वानुमान गर्न सक्दैन । भूकम्प, आगलागी, महामारीजस्ता सङ्कटहरू कुनै सूचना दिएर आउँदैनन् । तर, जब यस्तो विपद् आउँछ, सबैको आशा अस्पतालतिरै हुन्छ – अस्पतालले बिरामीको ज्यान जोगाउने, चोटपटकको उपचार गर्ने र डरमा रहेका मानिसलाई हिम्मत दिने आशा गरिन्छ ।
प्रश्न उठ्छ – के हाम्रा अस्पतालहरू यस्तो सङ्कट सामना गर्न तयार छन् ?
धेरै अस्पतालहरू भन्छन्, “हामीसँग डिजास्टर म्यानेजमेन्ट प्लान छ ।” तर, त्यो योजना फाइलमा मात्र सीमित रहन्छ । अस्पतालमा ‘आपत्कालीन निस्कने बाटो’ लेखिएको साइन बोर्ड हुन्छ, तर त्यो बाटो साँच्चिकै प्रयोग गर्न सकिन्छ कि सकिँदैन भन्ने सुनिश्चित छैन ।
२०७२ सालको भूकम्पको समयमा धेरै अस्पतालहरूमा बिजुली थिएन, अक्सिजन आपूर्ति रोकिएको थियो, मोबाइल÷फोन सेवा चलेन, धेरै बिरामी एकैपटक आए, तर व्यवस्थापन गर्न गा¥हो भयो । यसबाट सिक्नुपर्ने कुरा के हो भने हामीले सतर्क हुनुपर्छ, नत्र सङ्कटमा हाम्रो प्रणाली नै फेल हुन्छ ।
तयारी हुनु भनेको केबल योजना बनाउनु होइन । साँचो तयारी भन्नाले यी कुराहरू बुझिन्छ :
१. आवश्यक सेवा सञ्चालनको ब्याकअप – बिजुली, पानी, अक्सिजन, इन्टरनेट – यी सेवा सङ्कटमा पनि नरोकिनुपर्छ ।
२. सबै कर्मचारी तालिम प्राप्त हुनुपर्छ – डाक्टर मात्र होइन – नर्स, वार्डब्वाइ, सुरक्षा गार्ड, सरसफाइ कर्मचारी – सबैलाई के गर्ने थाहा हुनुपर्छ ।
३. धेरै बिरामीको व्यवस्थापन (Surge Capacity) – एकैपटक धेरै बिरामी आए भने कहाँ राख्ने ? कसरी सेवा दिने ?
४. सुरक्षित निस्कने बाटो– आईसीयू, एनआईसीयू, ओटीबाट कसरी बिरामीलाई निकाल्ने ?
५. औषधि र सामग्रीको तयारी – पीपी, मास्क, औषधि, सलाइन आदि पर्याप्त मात्रामा भण्डारणमा हुनुपर्छ ।
स–साना कुराले पनि ठुलो दुर्घटना गराउँछ । उदाहरण – अस्पतालमा झुण्डिएको पङ्खा, थाम नभएको अलमारी वा सास फेर्न नसकिने कोठा । यस्ता कुराले विपद् बढाउन सक्छ ।
अब के गर्नुपर्छ ?
– वर्षमा कम्तीमा दुईपटक मोक ड्रिल गरौँ ।
– आपत्कालीन व्यवस्थापन समिति सक्रिय होस् ।
– स्थानीय प्रशासन, प्रहरी, दमकलसँग समन्वय गरौँ ।
– अभ्यासपछि समीक्षा गरौँ – के कमजोरी देखियो ?
– स्टाफ मात्र नभई बिरामी र आगन्तुकलाई समेत सुरक्षा तालिम दिऊँ ।
विपद् आउँदा तयारी गर्न समय हुँदैन । त्यसैले अस्पतालले पहिले नै योजना, अभ्यास र सामथ्र्य बनाइसक्नुपर्छ । अस्पताल केवल उपचारको ठाउँ होइन – सङ्कटमा समाजलाई सुरक्षा दिने केन्द्र पनि हो ।
हामी सबैले आजैदेखि सोध्नुपर्छ – के हाम्रो अस्पताल साँच्चै विपद् सामना गर्न तयार छ ?
– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, एमडी (अस्पताल प्रशासन)