(‘भक्तपुरमा गोर्खाली हमला’ नामको यो पुस्तक वि.सं. १८२६ मा भएको हमलाबारे गरुडनारायण गोँगलद्वारा हस्तलिखित वर्णनको आधारमा देवीचन्द्र श्रेष्ठले लेखेका हुन् । इतिहासका केही व्याख्या र वर्णनहरूमा थप काम गर्न वा फरक ढङ्गले सोच्न मद्दत गर्ने उद्देश्यले यो पुस्तक जगदम्बा प्रकाशनले २०७६ साउनमा प्रकाशित गरेको हो । यस पुस्तकबाट इतिहासकारहरूको निम्ति थप अनुसन्धान गर्न, सही विश्लेषण गर्न र इतिहासका विद्यार्थीहरूको ऊर्जा मिल्ने ध्येयले प्रकाशित गरिएको हो – सं.)
ऐतिहासिक छलफल
नेपालको विगतमा भएका अनेकौँ युद्धहरूमा पृथ्वीनारायण शाहले भक्तपुरमाथि गरेको हमला अत्यन्त महत्वका साथ ऐतिहासिक विश्लेषण गर्नु आवश्यक छ । यसले नेपाल मण्डलमा देखापरेका पछिल्ला मल्ल राज्यहरूको एकमुष्ठ अन्त्येष्टि गरिदिएको छ । नेपाल मण्डलभित्रै ललितपुर र भक्तपुर राज्यको सहारा पाएर यस मण्डलमा प्रवेश पाएको गोर्खा राज्यले आफ्ना पूर्ववर्ती तीनै राज्यहरूको उन्मूलन गर्ने अवसर पाउनु इतिहासकै दुर्लभ राजनैतिक घटना हो । यस्तो इतिहासकै दुर्लभ घटनाको आँखा देखालो बयान पाउनु अझ दुर्लभ ऐतिहासिक दस्ताबेज हो । यो दस्ताबेज सं. १८२६ मा भक्तपुरमाथि पृथ्वीनारायण शाहले गरेको हमला आफ्नै आँखाले देखेर समकालिक गरूडनारायण गोँगलले आफ्नो हस्तलिखितमा वर्णन गरेको पाइन्छ ।
यसलाई राजकीय दस्ताबेजको रूपमा नलिए तापनि भक्तपुरका अन्तिम राजा रणजित मल्लकै पोष्यपुत्र समकक्षी गरूडनारायण गोँगल देखिनाले उनी भक्तपुर युद्ध र त्यसपछिका लगत्तै भएको घटना आफ्नै आँखा देखालो वर्णन गर्न सक्षम भएको हो । तसर्थ, यसको प्रामाणिकता समकालिक ‘थ्यासफू’ जत्तिकै अङ्गीकार गर्नुपर्ने हुन्छ । साथसाथै, लेखक गरूडनारायणलाई नेपालको संस्मरण विधाका अगुवा लेखकका रूपमा पनि यहाँनिर उभ्याउनु परेको छ ।
लेखन समय
प्रस्तुत कृतिका आधारमा अन्य विश्लेषणहरू कोर्नुभन्दा पहिले यसको लेखन समयकै बारेमा चर्चा गर्नु उपयोगी ठान्दछु । नेपालीमा भाषा वंशावलीहरूको परिकल्पना नै भइनसकेको युगमा यथार्थ इतिहासको साक्षी भएर प्रस्तुत संस्मरण देखा परेको छ सं. १८४६ मा । लेखकले नै एक ठाउँमा प्रसङ्गवस प्रस्तुत संस्मरणको लेखनकाल जनाइदिएका छन् ने.स. ९०९ । यही सङ्क्षिप्त सङ्केतबाहेक यस कृतिमा अन्यत्र कतै पनि प्रस्तुत संस्मरण लेखेको समय निर्देश गरिएको छैन । भक्तपुरमा गोर्खाली हमला हुँदा मारिएका मानिसहरूको विवरण र सङ्ख्या दिँदै गएर तीमध्ये एकजना मरेको भनी फालिएका भक्तपुर क्वाछेँ टोल निवासी धनजु त्यतिखेर जीवितै रहेकाले लेखकको स्मृति पटलमा यसरी आकर्षित हुन पुगेको छः
“भन्डारखालबाट चौकोटमा जान्या बाटाकै छिडीमा तलवारले हानी म¥याको ३ मध्ये अफाल्न जाँदा ज्युँदै रही आज संवत् ९०९ सम्म बाँची रह्याको क्वाछेँ टोलको धंजु– १”
भक्तपुर दरबारको मुख्य आकर्षक खण्ड चौकोट हो । यो खण्ड दरबारको निकै अग्लो बैठक हुनाले युद्धको समयमा राजा रणजित मल्लसहित कान्तिपुरका शरणार्थी राजा जयप्रकाश मल्ल र ललितपुरका शरणार्थी राजा तेजनरसिंह मल्लसमेत भक्तपुरे भारदारहरू त्यहाँ सुरक्षित बस्ने मतो गरेका थिए । त्यसैले आखिरी सङ्घर्ष यसै चौकोटको परिसरमा भयो । भण्डारखालबाट चौकोट जाने बाटामा गोर्खालीहरूले तरबार चलाउँदा मारिएका ३ जना भक्तपुरेहरू पछि फाल्न लैजाँदा तीमध्ये एकजना धनजु भन्ने जीवितै रहेछन् । उनको घर भक्तपुर क्वाछेँ टोलमा लेखक गरूडनारायणकै जानकारको मानिस पर्नाले तथा यो संस्मरण लेख्तासम्म पनि जीवितै रहेकाले यहाँनिर सम्झिएको कुराले विशेष महत्व राख्तछ । उनले यहाँ ने.स. ९०९ भन्नेसम्म उल्लेख गरी महिना तिथिमिति केही नदिएकाले यसलाई सामान्य अर्थमा सं. १८४६ साल मान्नुपर्नेछ । त्यतिखेर नेपालमा हर्ताकर्ता नायब बहादुर शाहको शासन चुलिँदै थियो भने श्री ५ रणबहादुर शाह किशोरावस्थाको सङ्घारमा ।
पृथ्वीनारायण शाहले भक्तपुरमा हमला गरेको दिन ने.सं. ८९० कार्तिक शुक्ल एकादशी पर द्वादशी हो । तद्नुसार गणना गर्दा सं. १८२६ मार्ग १ गते हुन्छ । तसर्थ, भक्तपुर पतनको २० वर्षपछि यो संस्मरण लेखिएको भन्नुपर्ने हुन्छ । यतिखेर लेखक गरूडनारायण गोँगल प्रौढ, परिपक्व उमेरको पुगिसकेको हुनुपर्छ । उनले राजा रणजित मल्लको सेवा आफ्ना केटौली अवस्थामा नै गरेको भए तापनि उनी रणजित मल्ल काशीवास जान लाग्दा साथमा लैजान खोजिएका विश्वासपात्र समर्थ युवक देखिनाले त्यतिखेर उनको उमेर करिब १५ वर्षभन्दा कम आँक्न सकिँदैन । तसर्थ, प्रस्तुत संस्मरण लेख्ता उनको उमेर कम्तीमा लगभग ३५ वर्ष पुगेको अनुमान हुन्छ । उनको जीवनका अन्य घटनाक्रम खोजी हुन बाँकी नै छ ।
अन्तरिम काल
कान्तिपुर, ललितपुरको पतन उप्रान्त भक्तपुरमाथि हमला गर्नु अगाडि करिब एक वर्षभन्दा अधिक १३–१४ महिनाको अन्तराल पाइन्छ । तर, यस अन्तरिम कालको राजनैतिक विश्लेषण इतिहासमा उस्तो पाइँदैन । यस अवधिको गतिविधिबारे गरूडनारायणले पनि केही लेख्न सकेका छैनन् । यतिञ्जेल भक्तपुरको खास नगरबाहेक चौतर्फी गाउँ बस्तीहरूमा गोर्खालीहरूको उपस्थिति रहिसकेको पाइन्छ ।
कान्तिपुर, ललितपुरमाथि नाकाबन्दी खुलिसकेको अवस्थामा पनि भक्तपुरमाथि भने नाकाबन्दी कायमै रहनाले त्यहाँ जनसाधारणको आर्थिक जीवन सकसमा रहिरहेको अवस्था छ । त्यसमाथि भक्तपुर नगर बाहिर खेत खेतमा पाकेका बालीसमेत लुट्ने चाँजोमा गोर्खालीहरू ढुकिरहेका देखिन्छन् । तसर्थ, भक्तपुरका बासिन्दाहरू यस सकसबाट मुक्ति चाहिरहेकै थिए तर यसका लागि उपर्युक्त अन्तरिम राजनीतिक अवस्था नै जिम्मेवार रहेको कुरा तिनीहरूले नबुझेका होइनन् ।
त्यसमाथि ललितपुरको पतन अगावै कान्तिपुरका राजा जयप्रकाश मल्ल भक्तपुरमा आएर तेखाचो ढोकाबाट नगर प्रवेश गरी ‘हादी’ क्षेत्रमा बसिराखेको खबर सार्वजनिक भयो । यहाँ हादी क्षेत्र भन्नाले भक्तपुरमा दत्तात्रय मठको परिसरलाई बुझाउँछ । त्यहाँका मठाधीश महन्तहरूले जयप्रकाशलाई आश्रय दिएर राखेको कुरा रणजित मल्लसमक्ष बडो खतरापूर्ण खबरका रूपमा पुग्नु स्वाभाविक हो । यसबाट भक्तपुर नगरभित्र नयाँ राजनीतिक तरङ्ग नै पैदा भयो जसले गर्दा भक्तपुरका राजा रणजित मल्लले आफ्ना प्रजाको जनमत बुझ्न बाध्य भए । जनमत भने पदच्युत राजा जयप्रकाश मल्ललाई शरण दिनुपर्ने पक्षमा गएपछि राजा रणजित मल्लले आफ्नो भविष्य अड्कल गरिसकेकै अवस्था छ ।
फेरि, पृथ्वीनारायण शाहले कान्तिपुर, ललितपुरका राजाहरूको सुपुर्दगी मागेर मितबाबु रणजितसमक्ष लिखित सन्देश पठाएको तथ्य पनि रणजित मल्लबाटै सार्वजनिक भएको पाइन्छ । तथापि, भक्तपुरमा शरणको मरण नगर्ने राजनीति अख्तियार गरेपछि त्यहाँ राजा प्रजा निकट भविष्यको सङ्कटलाई पर्खेर नै बसेको छनक पाइन्छ ।
उपर्युक्त राजनीतिक परिप्रेक्ष्यमा पृथ्वीनारायण शाहको निम्ति भक्तपुरमा हमला गर्नुको विकल्प थिएन । परन्तु, भक्तपुरको राष्ट्रिय सुरक्षा प्रणालीमा त्यहाँका ‘लंक्वाठ’ अर्थात् प्रतिरक्षागढ प्राकारको अजेयतादेखि परिचित पृथ्वीनारायण शाहले गढ किल्ला तोडेर भित्र पस्ने जोखिम भने उठाउन नचाहेको देखियो । त्यसको लागि त्यहाँ पनि कान्तिपुरमा जस्तै प्रवेशद्वार खोलिदिने आफ्ना मतियारहरू कमाउन अथवा खोजी गर्न थालेको र त्यसमा रणजित मल्लकै मठ्या छोराहरूमा कोही तयार भएको छनक पाइन्छ । त्यसमा उनका माहिला छोरा धनसिंह मल्ल पृथ्वीनारायणको पक्षमा गएको कुरा पछिल्ला घटनाक्रमबाट बुझ्न सकिन्छ ।
तथापि, जयप्रकाश मल्लको भक्तपुरमा शरणार्थी जीवनकाल व्यर्थै गएको अड्कल काट्न भने सकिँदैन । यसमा उनको रणनीतिलाई तीन चार पक्षबाट केलाएर बुझ्न सकिन्छ :
१) क्रिश्चियन पादरीहरूको उपस्थिति
त्यतिखेर, नेपालका ती नै राज्यहरूमा फैलिराखेका क्रिश्चियन पादरीहरू पनि सक्रिय नै रहेको पाइन्छ । तिनीहरू कान्तिपुरमा पराजित राजा जयप्रकाशको समर्थनमा अझै रहेका पाइन्छन् । तिनीहरूमार्फत जयप्रकाश मल्लले भारतमा अङ्ग्रेजी साम्राज्यको गुमस्ताहरूको गुहार खोजिरहेकै अवस्था देखापर्छ । यसमा त अङ्ग्रेजहरूले नेपालमा दोस्रो बाजि हमला गर्छ भनेर सोहरा फैलिराखेका छन् त्यतिखेर । नेपालमा ‘हाम्रो टोपी अट्क्याको छ’ भन्ने गरेको ‘थेगो’ मेटिन सकेको थिएन । भक्तपुरमा शरणार्थी जीवन धान्दै जयप्रकाश मल्लले रणजित मल्ललाई यस कुराको आश देखाउँदै, फकाउँदै रहेको पाइन्छ ।
२) नगरकोटी सैन्य सङ्गठन
भक्तपुरमा शरणार्थी जयप्रकाश मल्लको अर्को काम भनेको उनले उठाएको नगरकोटी सैन्य सङ्गठन हो । नेपाल मण्डलमा परम्परागत स्थायी सेना नहुनाले त्यसको विकल्पमा जयप्रकाशले पञ्जाबदेखि नगरकोटी सेनाको नयाँ सङ्गठन स्थापित गरेका थिए । त्यसमा आप्रवासी तत्वको द्रव्यलालची पक्ष बढी हुनाले उनलाई भक्तपुरमा आर्थिक कठिनाइको सामना गर्दै रहनुपरेको थियो । यसमा उनले भक्तपुरबाट खास सहायक भूमिका पाउन सकेनन् । रणजित मल्लप्रति उनको यो गुनासो सदैव रह्यो ।
३) भक्तपुरेहरूको रणनीतिक चाल
यसमा रणजित मल्लको रणनीतिले पनि बेलाबखत काम गरिराखेको कुरा बुझ्न सकिन्छ । यसको लागि चौबिसी राज्य प्युठानसँग भक्तपुरको विशेष सम्बन्धको चर्चा नगरिरहन सकिँदैन । यसको निम्ति प्युठानले गोर्खामाथि हमला गर्नु आवश्यक छ तर प्युठान गोर्खासित साँध जोडिएको राज्य होइन । त्यसैले, गोर्खासित साँध जोरिएको कुनै राज्यको सहयोग नपाई यो उद्देश्य हासिल हुँदैन । तैपनि, यसले गर्दा नेपाल मार्ने गोर्खाको अभीष्ट परपर सर्दै रहने मध्यकालिक राजनीतिक विश्लेषण पाइन्छ । यसमा राजा रणजित मल्लको सक्रियता देखिएको पनि पाइन्छ । साथै, प्युठानले गोर्खाका पश्चिमी सँधियार चौबिसी राज्यहरूलाइ उक्साउने गरेको पक्ष पनि सामेल हुन्छ । त्यसैले, पश्चिमबाट गोर्खामाथि हमला रोक्ने चाँजोपाँजो गर्दैमा पृथ्वीनारायण शाहको बेला बेलामा नीद हराम भइराखेकै पाइन्छ ।
४) नेपाल मण्डलमा खसहरूको रणनीति
नेपाल मण्डलमा पश्चिमबाट खसहरूको पूर्वी विस्तार, यसको आर्थिक इतिहासकै ज्वलन्त पक्ष हो । यसमा रत्न मल्लकै पालादेखि खस बस्ती विस्तार गर्ने पक्षमा राजधानी कान्तिपुरले नै नीति अवलम्बन गर्दै आएको थियो । त्यसैले, उत्तर मध्यकालमा मल्ल राज्य विखण्डन हुँदै गर्दा तीनवटै राज्यमा खस भारदारहरू सक्रिय रहेका पाइन्छन् । गोर्खाले नेपाल खाएमा उनीहरूको चलखेल कदापि हुन सक्तैन । यो कुरा उनीहरूले राम्ररी बुझेका थिए । तथापि, पृथ्वीनारायण शाहले तिनीहरूलाई पनि आफ्नो पक्षमा पार्ने प्रलोभन देखाउँदै आएको पाइन्छ । यसमा परशुराम थापा अग्रणी रहेका छन् ।
पृथ्वीनारायण शाहले नुवाकोट दख्खल गर्नेबित्तिकै उनी परशुराम थापालाई हात लिने कोशिश गर्दै थिए । त्यतिखेर उनी कान्तिपुर राज्यमा राजनीति गर्थे । कान्तिपुरमा जयप्रकाशलाई राज्यच्युत गर्नमा उनको पनि हात रह्यो । जयप्रकाश आफ्नो राज्यमा पुनःस्थापित हुन सफल भएपछि उनी ललितपुर राज्यमा पसेर खस रणनीति खेल्न लागे । उनको यही चाल पृथ्वीनारायण शाहले आफ्नो लक्ष्यमा बाधक तत्व ठानेर उनलाई हात लिने प्रयत्नमा धेरै समय लगाइसकेको पाइन्छ । गोर्खाले कान्तिपुर, ललितपुर लिएपछि उनी फेरि भक्तपुरमा रणजित मल्लसमक्ष पुगेर आफ्नो रणनीतिप्रति अन्तिम विश्वासमा लिन खोजेको पाइन्छ ।
तर, यतिखेर भने उनी भक्तपुरमा बसेर गोर्खाकै पक्षमा काम गरिरहेको विश्वास पृथ्वीनारायणलाई दिलाउन खोजेको बुझिन्छ । त्यसैले भक्तपुरमाथिको हमलामा परशुराम थापा आफ्नो भविष्य गोर्खाली सत्ताभित्र पनि खोज्दै रहेको छनक भेटिन्छ । भक्तपुर पतनपछि परशुराम थापा गोर्खाली शासकीय अङ्गभित्र घुस्न सफल भएको कुरा पछिल्लो घटनाक्रमले देखाउँछ । तथापि, परशुराम थापाको खस रणनीतिले गर्दा पृथ्वीनारायण शाह आफ्नो उद्देश्यमा ढिलाइ भएको अवश्य ठान्दथे ।