यहि त हो जीवन, साथी
पहिले सपनाहरू उड्छन् आकाशमा
देखिदैन शिशाको पर्खाल
झ्याप्प पूर्णविराम,
जिन्दगी त्यहीँ सक्किन्छ, साथी ।
किन रोइलो गर्छौ दु:खमा ?
सुख त पाहुना मात्र हो, साथी
हिंड्दा पाउमा काँडा बिझ्छ,
यहि त हो जिन्दगी
छातीमा फूल पर्दा त निर्जीव शरीर हुन्छ, साथी
जिन्दगी यात्रा हो, साथी
सकेपनि हिंड, नसकेपनि हिंड
दुखेपनि हिंड, नदुखेपनि हिंड
हिडाई सकिएपछि
त जिन्दगी नै सकिन्छ, साथी ।
तिम्रो के नै मूल्य छ र, साथी ?
मरेपछि
शरीरको जुम्राले पनि साथ छोड्छ
तिमी कसका लागि के हौ र ?
कर्मकाण्डपछि फूलहरु पनि फ्याँकिन्छन्, साथी ।
आकाशै छेँड्छु भन्दै ठडिने तामाहरु
समयक्रममा
बाँस भएर निहुरिन्छन् यहाँ, साथी
कति अहम् पाल्छौ ?
हिटलर पनि
बङ्करमा मर्नुपरेको थियो, साथी ।
तिमीले जिन्दगी बढी बुझ्यौ कि ?
मैले कम,
थाहा छैन यहाँ, साथी
तर
एउटा पक्का थाहा छ मलाई
विस्तारै हिँडेपनि
गन्तव्य उहीं हो, साथी !