#सुरेन्द्रराज गोसाई
एसईईमा राम्रो नतिजा ल्याएर उत्तीर्ण हुने विद्यार्थी भाइबहिनीहरूलाई हार्दिक बधाई ज्ञापन तथा उत्तरोत्तर प्रगतिको कामना गर्दछु । विभिन्न विद्यालयका प्रधानाध्यापक, विषयगत शिक्षक साथी र विद्यालय परिवारहरूप्रति हार्दिक धन्यवाद ज्ञापन गर्दछु । आगामी दिनमा योभन्दा राम्रो नतिजाको निम्ति आजैबाट प्रयास थाल्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
प्रारम्भमै विद्यार्थी भाइबहिनीहरूलाई एउटा सुझाव दिन्छु, अबदेखि एउटा कलम र एउटा डायरी बोक्ने बानी बसालौँ ! अनि केही टिप्ने बानी, राम्ररी धैर्यपूर्वक सुन्ने बानी, सङ्ग्रह गर्ने बानी गरौँ ! आफ्नो सिकाइ प्रक्रियालाई निरन्तर गति दिने प्रयास गर्नुहुनेछ भन्ने विश्वास व्यक्त गर्दछु ।
अङ्ग्रेजीमा भन्ने चलन छ, Know thyself अर्थात्, आफूले आफैँलाई चिन्नुहोस् । जो–जसले आफैँलाई चिन्नेछन् ती विद्यार्थी भाइबहिनीहरूले गल्ती कममात्र गर्नेछन् । जसले आफूलाई चिन्ने कुरामा कमजोरी देखाउँछ तिनीहरूले कहिले कस्तो दुर्घटना बेहोर्नुपर्ला, ठेगान हुँदैन । यो अर्ती तथा उपदेश होइन । यो संसारमा प्रचलित कुरा मैले सुनाएको मात्र हो । उच्च शिक्षामा विषय र कलेज छनोट गर्ने बेलामा यो भनाइलाई आत्मसात गर्नुहोला । त्यसको अर्थ आफ्नो क्षमता चिन्नु, आफ्नो अवस्था बुझ्नु र आफ्नो परिवेश चिन्नु भन्ने पनि हो ।
अर्को, ‘Honesty is the best policy.’ यदि आफूले आफैँप्रति इमानदार बन्न चुक्नुभयो, भुल्नुभयो भने गल्ती—कमजोरीहरू, असफलताहरू कति होलान् त्यो भन्न सकिन्न । त्यसकारण, इमानदार बन्नु सबैभन्दा राम्रो हो । यो अत्यन्त प्रचलित कथन हो । देश र समाजप्रति इमानदार बन्नका निम्ति आज आफैँप्रति आफू इमानदार बन्नुपर्छ ।
‘Self help is the best help.’ आफूले आफैँलाई सहयोग गर्नुहोस् । अब आउने दिनमा आफूले आफैँलाई सहयोग गर्नुभएन, अरूको भर र आशा गरिराख्नुभयो भने पछाडि परिनेछ । बुबाले गरिदिनुहोला, आमाले गरिदिनुहोला, गुरूबा–गुरूआमाहरू फेरि पनि एसईईमा जस्तै सँगसँगै आउने हुनेछ भनेर मनमा राख्नुभयो भने सा¥है ठुलो समस्या वा कमजोरी हुनेछ ।
आफूले आफैँलाई ‘टपर’ भनेर कहिले पनि विभूषित नगर्नुहोला र तपाईँभन्दा पनि फरक क्षमता र प्रतिभा भएका अरु धेरै हुने सम्भावना सधैँ रहन्छ ।
एसईईको बधाई कार्यक्रममा पुग्दा विद्यार्थीहरूमा एउटा अभाव महसुस गर्छु । त्यो हो ‘ग्राटिट्युड कल्चर’ अर्थात् आफ्ना गुरूजन, आफ्ना आमाबुबा, आफ्ना अग्रज तथा सहगोगीहरूप्रति आभार प्रकट गर्ने, कृतज्ञता ज्ञापन गर्ने विषयमा समस्या पाउँछु । आफूलाई त्यो ठाउँसम्म पु¥याउनको लागि सहयोग गर्नेप्रति ‘आभार’ को तीन अक्षर व्यक्त भएको कमैमात्र सुन्छु । त्यो गल्ती हामीले कहिले पनि नगरौँ ! यो संस्कारसँग सम्बन्धित कुरा पनि हो । जसले औँला समातेर तपाईँलाई हिँडाउनुभयो र लेख्न—पढ्न सिकाउनुभयो, ती सम्पूर्णप्रति, अग्रजहरूप्रति, आफूलाई सहयोग गर्ने सबैप्रति सम्मानभाव, आभार र कृतज्ञताको भाव तपाईँमा कम भयो भने तपाईँले पाएको शैक्षिक सफलताले अर्थ राख्दैन । तपाईँको व्यवहारमा एउटा ठुलो प्रश्न चिह्न खडा हुन्छ । यस विषयमा शिक्षक, प्रअ, विद्यार्थी र अभिभावकहरू सबै मिलेर काम गर्न आवश्यक छ भन्ने लाग्दछ । संस्कार भनेको एकैबाजी आउँदैन । त्यो रगत–रगतमा बग्नुपर्ने कुरा हो । व्यवहार, संस्कार, सु–संस्कृतिको कुरा किताबमा पढेर मात्र जानिने होइन । यो भनेको अभ्यास गरेर, कार्यक्षेत्रमा गएर सिक्नुपर्ने, मनैदेखि बुझ्नुपर्ने र लागु गर्नुपर्ने कुरा हो ।
अब आउने दिनमा व्यक्तित्वको विषयमा अलिकति सतर्क रहनुस् भन्ने म आग्रह गर्न चाहन्छु । सबै विद्यार्थी भाइबहिनीहरूले भित्री र बाहिरी व्यक्तित्वमा सन्तुलन मिलाएर अगाडि बढ्न सकेको खण्डमा सुनमा सुगन्ध हुनेछ ।
हामीलाई प्रकृतिले दुईवटा कान दियो । त्यसको अर्थ हो, धेरै सुन्नुस् । एउटा जिब्रो दियो । त्यसको अर्थ हो, कम बोल्नुस् । दुईवटा आँखा दियो । चारैतिर हेर्नुस्, बुझ्नुस् । हाम्रो समाजले दुईवटा आँखाले पुग्दैन, जीउभरि आँखा राखेर हिड्नुस् भन्छ । तपाईँहरूले अब आउने दिनमा पूर्वसावधानी र अत्यन्त होसियारीपूर्वक पाइला चाल्ने, होसियारीपूर्वक बोल्ने, होसियारीपूर्वक व्यवहार गर्नेजस्ता कुरा अगाडि बढाउनु आवश्यक छ ।
वर्तमान नेपाली समाजमा विशेषगरी नयाँ पुस्ताबिच सदाचार र शिष्टाचारमा समस्या देखियो भनी बरोबर चिन्ता व्यक्त गरिन्छ । हामीले विद्यार्थीहरूलाई सदाचार किन दिन सकेनौँ ? विद्यालय र शिक्षकले मनन गरौँ ! हाम्रो शिक्षा प्रणाली, विद्यालय, पाठ्यक्रम वा हाम्रो सामाजिक परिवेशमा कहाँनिर समस्या छ ? त्यो विषयमा हामीले ध्यान पु¥याउन आवश्यक छ । परीक्षाको नतिजामा धेरै–धेरै माथि पुग्ने तर व्यवहारमा निकै कमजोर ! त्यो एकप्रकारको असन्तुलन र समस्या हो । त्यो विडम्बना हो !
तपाईँले कति जीपीए ल्याउनुभयो त्यो ठुलो कुरा होइन । तपाईँलाई योभन्दा तीतो लाग्ला ! कक्षा ११ र त्योभन्दा माथिको चुनौती र सङ्घर्षमा त्यो जीपीएले थोरै मात्र अर्थ राख्नेछ । अबका दिनहरूमा आफैँले कति कडा मेहनत गर्नुहुन्छ, त्यसले अर्थ राख्नेछ । त्यसकारण, अल्बर्ट आइन्स्टाइनले एकचोटि भनेका थिए, “विद्यालय जीवनमा तपाईँले पढेका कुरा बिर्सिसकेपछि तपाईँसँग जेजति बाँकी रहन्छ त्यो नै शिक्षा हो ।” यो फरकखालको परिभाषा हो ।
तपाईँको जीपीएभन्दा पनि तपाईँको विवेक महत्वपूर्ण हुनेछ । तपाईँको जीपीएभन्दा पनि तपाईँको आचरण महत्वपूर्ण हुनेछ । तपाईँको जीपीएभन्दा पनि तपाईँको बुद्धिमत्तापूर्ण निर्णय क्षमता महत्वपूर्ण हुनेछ । तपाईँको मानसिक तथा शारीरिक स्वास्थ्यले धेरै कुराको छिनोफानो गर्नेछ ।
अर्को, Be true to yourself. असाध्यै गा¥हो काम यही हो । आफूले आफैँलाई नठग्नु, नढाँट्नु र आफूप्रति आफैँ इमानदार बन्नु भनेको सफलताको निम्ति आधार तयार पार्नु हो । आफ्नो काममा र लक्ष्यमा मनैदेखि समर्पित हुनुहोस् !
विद्यार्थीहरूसँग सधैँ दुईवटा चुनौती अगाडि हुन्छन् । एउटा ‘Inferiority complex’ बाट जोगिने र अर्को ‘Superiority complex’ बाट जोगिने । यी दुईवटै समस्याबाट हामी जोगिनैपर्छ । अहम् भाव र आफूलाई सा¥है तुच्छ ठान्ने, यी दुईवटै खतरनाक हुन्छन् । अहङ्कारी बन्नु पनि खतरनाक एवम् आत्मघाती हुन्छ र म त केही सक्दिनँ, म त केही जान्दिनँ, मसँग केही छैन भन्ने हिनताभाव, त्यो पनि खतरनाक हुन्छ । तसर्थ, सन्तुलनमा राख्न सकेमा हामी ठीक ठाउँमा ठीक समयमा पुग्न सक्नेछौँ ।
अहिलेको अर्को चिन्ताको विषय के छ भने हामी पुस्तक अध्ययन संस्कृतिमा पछाडि प¥यौँ । हामी जीपीएको होडबाजीमा लाग्यौँ । प्राविधिक अर्थात् येनकेन प्रकारेण परिणाम देखाउने भनी महत्वाकाङ्क्षी भयौँ । यो खतरा हो । एसईई उत्तीर्ण गर्नुभएका विद्यार्थी भाइबहिनीहरूले मनमा राख्नुहोला, १३ वर्षमा कतिवटा किताब हामीले पढ्यौँ ? कतिवटा हामीले गीत गायौँ ? कतिवटा नाच नाच्यौँ ? कतिवटा खेल खेल्यौँ ? कति ठाउँमा पुग्यौँ ? के के सीपको विकास ग¥यौँ ? सिर्जनात्मक क्षेत्रमा हामीले कति समय बितायौँ ? साहित्य अध्ययन तथा साहित्य लेखनको क्षेत्रमा कहाँ छौँ ? यो अत्यन्त गम्भीर विषय हो । खाली टेक्स्ट बुक, टेक्स्ट बुक, टेक्स्ट बुक ! त्यो टेक्स्ट बुकले मात्र पु¥याउँछ कहाँ ? भाषिक सुधार तथा अभिव्यक्ति कलाको विकासका निम्ति साहित्य अध्ययन, पुस्तक अध्ययन तथा सिर्जनात्मक गतिविधिमा हामी कतातिर छौँ ? आत्ममूल्याङ्कनको विषय छ । कहिलेकाहीँ कुरा उठ्छ । ४ जीपीए ल्यायो । ठिकै छ । ३.९५ ल्यायो, ठिकै छ । आपत्ति छैन । तर, ती विद्यार्थीले कतिवटा नाच नाचे ? कतिवटा खेल खेले ? कतिवटा कविता लेखे ? कतिवटा गीत गाए ? कति वटा बाजा बजाउन सिके ? कतिवटा गतिविधिमा सहभागिता जनाए ? सेवामूलक गतिविधिमा कति भाग लिए ? सबै कुरा ग्रेडसिटबाट प्रस्ट पार्न सम्भव नहोला । तर, महत्वपूर्ण कुरा यही हो । त्यसकारण, जीवनोपयोगी सीप र त्योखालको प्रतिभाको कदर हुन आवश्यक छ । त्यतातर्पm राज्यले ध्यान पु¥याएको देखिन्न । यद्यपि, हामीले विद्यार्थी भाइबहिनीहरूलाई त्यतातर्पm उत्प्रेरित गर्न अति आवश्यक छ । अन्यथा, हाम्रा विद्यार्थी भाइबहिनीहरूले धेरै पढ्न—लेख्न सक्लान् तर जीवनसङ्घर्षमा खर्रो उत्रन नसक्नेखालका बन्नेछन् । हामीले चाहेको नक्कली डाक्टर होइन । हामीले खोजेको भ्रष्ट इन्जिनियर होइन, घूसखोर न्यायाधीश होइन, विवेकहीन वकिल होइन, कर्तव्यच्युत शिक्षक खोजेको होइन, कामचोर कर्मचारी होइन । हामीले क्षमतासहितका असल नागरिक चाहेका हौँ ।
अहिले हाम्रो कर्मचारी प्रशासन भ्रष्टाचारको कारण बद्नाम हुँदै छ । अहिले करोडमा होइन, अर्ब–अर्बमा भ्रष्टाचार भइरहेको बरोबर खबर आउँछ । कसले ग¥यो ? हिजोकै विद्यार्थीहरूले । न्यायाधीशहरू घूस खान्छन् भनेर सुन्छौँ । हिजो कुन स्कूलबाट तिनीहरू पास भएका होलान् ? डाक्टरहरूले दिनै नमिल्ने औषधि लेखेर कमिसन लिन्छन् भन्ने गुनासा सुन्छौँ । तसर्थ, एसईईको राम्रो रिजल्टसँगै हाम्रा भाइबहिनीहरूलाई असल एवम् योग्य बनाएर समाजप्रति उत्तरदायी तथा देशप्रति जिम्मेवार नागरिक तयार गर्न आवश्यक छ ।
यो वर्षको एसईईमा हरेक १०० जनामा हाम्रा ५३ जना साथीहरू पास भएनन् । यो गम्भीर समस्या होइन ? त्यति धेरै विद्यार्थी भाइबहिनीहरूले किन उत्तीर्णाङ्क पाउन सकेनन् । एसियाली विकास बैङ्क, विश्व बैङ्क या विभिन्न दात्तृ निकायले हाम्रा केटाकेटीहरूलाई कसरी परीक्षणको वस्तु बनाउँदै छन् ? विदेशीका कुरालाई जस्ताका तस्तै लागु गर्ने लाचार शिक्षामन्त्रीहरू, लाचार प्रधानमन्त्रीहरू हामीले कसरी पायौँ ? हामीले किन निर्वाचित ग¥यौँ ? यो सा¥है चिन्ताको विषय हो ।
कुनै पनि देशको भविष्य नास गरिदिने हो भने शिक्षामा आक्रमण हुन्छ । विद्यालय शिक्षामा हमला हुन्छ । किन्डरगार्टनहरूमा हमला हुन्छ । हाम्रो देशमा एसईई रिजल्टको नाममा जुन हमला भयो त्यो स्वाभाविक खालको हमला होइन । यसमा शिक्षकमात्र दोषी म भन्दिनँ, विद्यालयमात्र दोषी पनि भन्दिनँ, प्रअमात्र दोषी पनि म भन्दिनँ । बृहत्तर ढङ्गमा यसलाई हेर्ने यो देशमा अहिलेसम्मका शिक्षामन्त्रीहरू दोषी छन् । अहिलेसम्म प्रधानमन्त्री बन्ने र सरकारमा जाने दलहरूले यसको जिम्मेवारी लिनुपर्छ । २ लाख ५२ हजार अनुत्तीर्ण हुँदा तिनीहरूलाई लाज लाग्नुपर्ने हो । अन्तर्राष्ट्रिय क्षेत्रमा कस्तोखालको सन्देश गयो होला ? कति परिवारले धिकारे होलान् ? यो विषयमा पनि विद्यार्थी र शिक्षकहरूले सोचौँ ! यस विषयमा व्यापक छलफल गरौँ !
विशेषतः सामुदायिक विद्यालयको वस्तुस्थितिबारे यहाँ धेरै कुरा सुन्यौँ । सामुदायिक विद्यालयको विषयमा हामीले सोच्नैपर्छ किनभने राज्यको ठुलो लगानी यसैमा छ । सामुदायिक विद्यालयहरू असफल भएको खण्डमा देश असफल हुने स्थितिमा जान सक्दछ । हाम्रो चिन्ता र पहिलो सरोकारको विषय हाम्रा सामुदायिक विद्यालयहरू हुन् । हाम्रा केही सामुदायिक विद्यालयहरूबारे छलफल हुँदा तीतो प्रतिक्रिया सुन्छौँ : ‘उत्कृष्ट हेडमास्टरको निकृष्ट परिणाम’ ! यस्तो आलोचना किन आयो थाहा भएन ! कुन–कुन विद्यालयको सन्दर्भ हो, त्यो पनि थाहा भएन ! हाम्रो विद्यालयको रिजल्टको जिम्मेवारी हामीले लिनुपर्छ । हाम्रो विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकले सिंहावलोकन गर्नैपर्छ ।
गम्भीरतापूर्वक यसमा शल्यक्रिया गर्न आवश्यक छ र यो सोचनीय तथा गम्भीर विषय जरूर हो । कहाँनिर कमजोरी छ त्यो नखुलाइकन अब हामीले समाधान गर्न सक्दैनौँ । एकजना विद्यार्थी फेल भएसम्म मेरो जिम्मेवारी छ, म उतार्छु भन्ने प्रणका साथ हामी अगाडि बढ्नुपर्दछ ।
एसईई रिजल्टकै सन्दर्भलाई लिएर केही दिनअगाडि भक्तपुरका प्रधानाध्यापकहरूको भेला भएको सुन्यौँ । अहिलेको संविधानले ‘जिल्ला शिक्षा कार्यालय’ लाई अधिकार दिएको छैन । विद्यालयको नजिकको निकाय भनेको नगर शिक्षा शाखा हो, नगरपालिका हो । नगरपालिकालाई अवज्ञा या उल्लङ्घन गरेर कुनैपनि विद्यालयले काम गर्न मिल्दैन । यो कानुनी प्रावधान हो । कसैले ‘घोषणा’ भनेर सुनाउँदैमा त्यो घोषणा कोही सुन्नेवाला छैन । त्यस्तो घोषणाको कुनै अर्थ हुँदैन ।
सबैले आ–आफ्नो ठाउँबाट विद्यालय बनाउन मनवचन र कर्मले लाग्न आवश्यक छ । नगरले नगरगतरूपमा, विद्यालयले विद्यालयगतरूपमा प्रतिबद्ध भएर लाग्न सके प्रगति सम्भव छ । १७ वटा विद्यालयको संयुक्त परीक्षा समिति छ । त्यो परीक्षा समिति व्यवस्थितरूपमा लागेर गुणस्तर वृद्धिमा काम गर्न आवश्यक छ । उता संस्थागततिर इसान, एनप्याब्सन र प्याब्सन छन् । संविधानले नचिनेको संस्थालाई फेरि शक्ति प्रदान गर्ने षड्यन्त्र चल्दै छ, त्यसको खण्डन तथा विरोध गर्न आवश्यक छ । यो गम्भीर विषय हो । अहिलेको जिल्लाको शिक्षा प्रमुख को हुन् मलाई थाहा छैन । तर, ‘फुट गर र राज्य गर’ को नीति ल्याउन खोजेको हो कि अथवा भक्तपुरको शिक्षा क्षेत्रको सङ्घर्षबारे उनको अज्ञानता हो म जान्दिनँ । भक्तपुरमा ‘एक घर एक स्नातक’ को अभियान चलेको दुई दशक नाघिसक्यो । भक्तपुरले वास्तवमा कसैको मुख नताकी शिक्षाको क्षेत्रमा अगाडि बढेको हो । भक्तपुर आज शैक्षिक केन्द्र बन्दै छ । आज आएर कसैले बिनायोगदान जश लिन खोजिँदै छ ।
त्यो ‘घोषणा’ मा विद्यार्थीलाई ‘आनन्दित जीवन’ दिने भनेर लेखिएको रहेछ ¤ हाम्रो नेपाली समाजको अहिलेको आवश्यकता के हो ? विद्यार्थीहरूलाई नयाँनयाँ सङ्घर्षको निम्ति तयार गर्ने, प्रतिस्पर्धाको निम्ति तयार गर्ने, सेवाको निम्ति तयार गर्ने, इमानदार बनाउने हाम्रो उद्देश्य हुनुपर्छ । यो विषयमा पनि आदरणीय प्रधानाध्यापकहरूलाई अत्यन्त विनम्रतापूर्वक आग्रह गर्दछु । आगामी दिनहरूमा होसियारीपूर्वक पाइला चालौँ भनी म अनुरोध गर्दछु ।
हाम्रो अरू केही स्वार्थ छैन । हाम्रो स्वार्थ छ त हाम्रा नानीबाबुहरूलाई प्रतिस्पर्धामा उतार्ने, क्षमतावान बनाउने र सुयोग्य बनाउने । काठमाडौंका ठुला भनिएका स्कूलका विद्यार्थीहरूभन्दा हाम्रा विद्यार्थी कम नबनून् भन्ने भावना हामीमा हुनुपर्छ । अठोट हुनुपर्छ । त्यो सम्भव छ । प्रतिभा भनेको जन्मसिद्ध हुन्न । प्रतिभा भनेको विकास पनि हुँदै जान्छ । अवसरको कुरा हो । वातावरणको कुरा हो । त्यसको निम्ति उत्साहित गर्न र ऊर्जा दिन आवश्यक छ ।
अहिले यहाँ १७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक र शिक्षकहरू यहाँ उपस्थित छौँ । यी १७ वटा विद्यालयहरूले पनि अन्य धेरै शैक्षिक संस्थासँग मिलेर भक्तपुरलाई ज्ञान र विज्ञानको केन्द्र बनाउने उद्देश्यलाई मलजल गर्ने र टेवा पु¥याउने ढङ्गमा अगाडि बढिरहेका हौँ । मलाई थाहा छ, भक्तपुरका विद्यालयको एक प्रअज्यूले आफ्नो घरखेत धितो राखेर विद्यालयका लागि जग्गा किन्नुभयो । मलाई लाग्छ, त्यो सिपाडोलको एक विद्यालय हुनुपर्छ । त्यसरी बनाइएका र हुर्काइएका विद्यालय हुन्, हाम्रा । त्यसरी नै यो वागीश्वरी माविको इतिहासबारे मैले भनिरहनु पर्दैन । विसं २०१५ मा अरूबाट आश नगरी जनताले सुरू गरेको हो । जनताले नै यहाँसम्म पु¥याएको हो । त्यस्तै, यहाँ नजिकै समाज सुधार मावि छ । सबै विद्यालयहरू जनताद्वारा स्थापित, जनताद्वारा नै विकास गरिएका हुन् । त्यस्ता उदाहरण थुप्रै छन् । त्यस अर्थमा हामी बलियो सामाजिक जगमा उभिएका छौँ । हाम्रा आदरणीय प्रअलाई मेरो अनुरोध छ, हामीले रोेजेको बाटो भनेको तल्लो वर्गका विद्यार्थीहरूलाई माथि उठाउने वा गरीब, आर्थिकरूपमा विपन्न, पछाडि पारिएका विद्यार्थीहरूलाई राम्रो शिक्षा दिने, गुणस्तरीय शिक्षा दिनेनै हो । हाम्रो पहिलादेखिको उद्देश्य यही हो । त्यसबाट हामी विचलित नबनौँ ! सबैभन्दा ठुलो सेवाको काम के हो भने तल्लो वर्गका विद्यार्थीहरूलाई हरेक हिसाबले सक्षम बनाउने हो । शिक्षाको हिसाबले र जीवन सङ्घर्षमा खर्रो उत्रिन सक्ने बनाउने उद्देश्यमा हामी अगाडि बढौँ ! सबैभन्दा ठुलो धर्म त्यही नै हो । ठुलठुलाहरू, धनीमानी, नवसम्भ्रान्तहरूका छोराछोरीहरूलाई पढाउने, हेर्ने विद्यालयहरू त अरु छँदै छन् नि । तिनीहरूसँग हामीले सङ्घर्ष गर्ने हो । शिक्षा क्षेत्रको वर्गसङ्घर्ष भनेको यही नै हो । त्यो वर्गसङ्घर्षको निम्ति हामी तयार हुनुपर्छ । हाम्रा छोराछोरीहरूलाई तयार गर्नुपर्छ ।
शैक्षिक बिचौलियाहरूको यहाँ बिगबिगी छ । शैक्षिक बिचौलियाहरूबाट विद्यालयलाई जोगाऔँ ! शैक्षिक बिचौलियाको सिकार हुनबाट केटाकेटीलाई जोगाऔँ ! यो पनि सोचनीय विषय हो ।
अन्तिममा, पुनः एकपटक सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई आगामी दिनमा अझ मेहनत गरेर पढ्नुहोला भनी शुभकामना दिन्छु । मेरो समुदाय, मेरो देश, मेरा दाजुभाइ—दिदीबहिनीहरू र पछाडि पारिएका सबैप्रति ‘मेरो पनि जिम्मेवारी छ’ भन्ने भावका साथ पढ्नुहोला ! समय मिलाएर विभिन्न सिर्जनात्मक तथा चेतनामुलक गतिविधिमा भाग लिनुहोला ! आफैँलाई अलिअलि गरी राजनीतिक चेतनाबाट क्रमशः सिञ्चित गर्दै जानुहोला ! राजनीतिक चेतनाले विद्यार्थीहरूलाई जाँगरिला, फूर्तिला, कर्तव्यपरायण र असल नागरिक बनाउनेछ । राजनीतिक चेतना भएन भने हामी फेरि पनि पछाडि पर्नेछौँ । त्यसकारण, सम्पूर्ण भाइबहिनीहरू एकएक पाइला गरी देशलाई बुझ्ने, समाजलाई चिन्ने, आफ्नो कर्तव्य पूरा गर्नेखालको नागरिक बन्ने यात्रामा क्रमशः अगाडि बढ्नुहोला ! तबमात्र तपाईँको शिक्षाले थप सार्थकता पाउनेछ ।
(सार्वजनिक परीक्षा समिति, भक्तपुरद्वारा गत असार २८ गते आयोजित एसईईमा उत्तीर्ण विद्यार्थीहरूलाई बधाई ज्ञापन कार्यक्रममा नेमकिपाका केन्द्रीय सदस्य तथा वाग्मती प्रदेशसभा सदस्य सुरेन्द्रराज गोसाईले राख्नुभएको विचारको सम्पादित अंश)