९ मंसिर, कञ्चन
रुपन्देहीको कञ्चनमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियान शुरु भएको छ। कञ्चन साथी सञ्जालको आयोजनामा भएको उक्त अभियानको राष्ट्रिय नारा “प्रविधिको सही प्रयोग गरौंः लैङ्गिक हिंसाको अन्त्य गरौं” भन्ने रहेको छ।
हरेक बर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० सम्मा सञ्चालन हुने उक्त अभियान कञ्चन लगायत देशभर विभिन्न कार्यक्रमगरी मनाइदैछ। लैङ्गिक हिंसा एक गम्भीर सामाजिक अपराध हो। यो राज्यको एकल प्रयासले नियन्त्रण हुन नसक्ने हुँदा शून्य सहनशीलता अवलम्वन गर्दै सभ्य समाज निर्माणमा सहयोग गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सम्पूर्ण पक्षलाई आह्वान समेत गरेको छ।
सुनगाभा सामुदायिक बिकास केन्द्र, कञ्चन ४, रुपन्देही र कञ्चन गाउँपालिकाको आर्थिक सहयोगमा शुरु भएको उक्त १६ दिने अभियानको पहिलो दिन कञ्चन गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी र सरोकारवालाहरुको उपस्थितिमा लैंगिक हिंसा विरुद्ध हस्ताक्षर संकलन कार्यक्रम गरिएको थियो। यस्तै कञ्चनकको हरैया बजारमा र्याली तथा दीप प्रज्वलन कार्यक्रम समेत गरिएको कञ्चन साथी सञ्जालका कोषाध्यक्ष समिक्षा रानाले जानकारी दिनु भएको छ।
हरैया बजारमा भएको र्याली तथा दीप प्रज्वलन कार्यक्रममा कञ्चन गाउँपालिकाका उपाध्यक्ष मौसमी थापा मगरले लैंगिक हिंसाका विभिन्न रुप मध्ये प्रविधिको माधयमबाट गरिने हिंसा अति संवेदनशिल बिषय भएको बताउनु भयो। उपाध्यक्ष थापा मगरले लैङ्गिक आधारमा गरिने शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई अन्त्य गर्न सबैपक्षको सहकार्य र समन्वय अनिवार्य रहने बताउनु भयो।
यस्तै कञ्चन गाउँपालिकाका निवर्तमान अध्यक्ष गोकर्ण बहादुर क्षेत्रीले राज्य वा सेवा प्रदायकहरुबाट स्रोत, साधन, अवसर, जिम्मेवारि तथा हक, अधिकारको असमान वितरण, सानो उमेरमा वा बालविवाह, महिलालाई घरमा मात्र सिमित राख्नु, महिलाको कामको मूल्याङ्कन नगरिनु जस्ता कार्यहरुले लैङ्गिकतामा आधारित हिंसालाई बढवा दिने भएकोले त्यस्ता कार्यहरुलाई निरुत्साहित गर्न आवस्यक रहेको बताउनु भयो।
हरैया मँधयमिक बिद्यालयका सहायक प्रधानाध्यापक प्रकाश आचार्यले घर परिवार, समाज र विद्यालयहरुमा समेत हरेक बालवािलकाहरुलाई प्रविधिको प्रयोगमा दिइने छुटका कारण समाजमा विभिन्न हिंसा र अपराधजन्य कार्यहरुले प्रसय पाइरहेको बताउनु भयो। प्रविधिको सही सदुपयोगले ज्ञान विज्ञानको श्रोतहरुको दैलो उघार्ने भएकोले प्रविधि आफैमा गलत नभएको तर प्रयोग गलत ढंगले भइरहेको अवस्थामा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानले प्रविधिको उपयोगितावारे थप ज्ञान दिने सहायक प्रधानाध्यापक आचार्यले विश्वास व्यक्त गर्नुभयो।
लैङ्गिक समानता कायम गर्न तथा लैङ्गिक हिंसा अन्त्य गर्ने सम्बन्धमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको ऐन, २०७१ अनुसार “लैङ्गिक हिंसा” भन्नाले सार्वजनिक वा निजी जीवनमा लैङ्गिक आधारमा कसै प्रति शारीरिक, यौनजन्य वा मानसिक क्षति वा पीडा पुर्याउने कार्य सम्झनु पर्छ र सो शब्दले लैङ्गिक आधारमा हुने वा हुन सक्ने कुनै पनि प्रकारको अपमानजन्य, पीडाजन्य वा धम्कीपूर्ण व्यवहार, दवाव, करकाप वा स्वेच्छाचारी रुपमा महिलालाई स्वतन्त्रताको उपभोग गर्नबाट वञ्चित गर्ने कुनै कार्य समेतलाई जनाउँछ ।अभियानको अध्यक्षता गर्दै कञ्चन साथी सञ्जालका अध्यक्ष सुस्मिता नेपालीले अभियानअन्तर्गत यस वर्षको अन्तर्राष्ट्रिय नारा ‘सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसाको अन्त्य गर्न जुटौँ’ र राष्ट्रिय नारा ‘प्रविधिको सही प्रयोग गरौँ: लैंगिक हिंसा अन्त्य गरौँ’ भनेर तय भएको बताउनु भयो। १६ दिने अभियानको क्रममा लैङ्गिक हिंसाविरुद्ध जनचेतना फैलाउने र प्रविधिको सही प्रयोगमार्फत हिंसा रोक्ने, लैङ्गिक आधारमा शारीरिक, मानसिक, सामाजिक साँस्कृतिक, आर्थिक तथा यौनिक रुपमा असर पर्ने गरि हुने हिंसालाई अन्त्य गर्ने कार्यमा सबैको अभियान सार्थक बन्ने बिश्वास व्यक्त गर्नुभएको छ।
ईलाका प्रहरी कार्यलय रुद्रपुर र हरैया माध्यमिक बिद्यालयको समन्वय र सहकार्य रहेको आजको कार्यक्रममा कञ्चन साथी सञ्जालका किशोर किशोरी, विद्यार्थी तथा सरोकारवालाहरुको सहभागिता रहेको थियो। कञ्चन गाउँपालिकाको कार्यलय परिसरमा भएको हस्ताक्षर संकलन कार्यक्रममा १६ दिने लैंगिक हिंसा बिरुद्ध एक्यवद्धता जनाउदै "म हिंसा सहन्न, म पनि गर्दिनँ र देखेमा प्रतिकार गर्छु, आवाज उठाउछु" लेखिएको व्यानरमा हस्ताक्षर संकलन गरिएएको थियो।