-गौरव प्रधान
देश र जनताको हित हुने नीति नियम बनाउने थलो संसद्मा नेपालकै धनी व्यापारी, ठेकेदार, अराजनीतिक तथा उच्छृङ्खल बाटोमा लागिरहेका तथा आपराधिक व्यक्तिहरू संसद्मा निर्वाचित हुनु या दलले उम्मेदवार उठाउनु उचित होइन । त्यसरी नै कुनै पनि दलमा भ्रष्टाचारी, कमिसनखोर, अपराधी, हत्यारा, गुण्डा, कालोसूचीमा परेका ठेकेदारहरू भित्याउनु पनि राम्रो होइन । पार्टीमा त्यस्ता आपराधिक या जनताको नजरमा गिरेका व्यक्तिहरू भित्याएर र संसद्मा निर्वाचित गराएर देशमा कसरी सुशासन हुन्छ, देशको विकास कसरी हुन्छ ? हालैमात्र एमालेले पप्पु कन्स्ट्रक्सनका ठेकेदार हरिनारायण रौनियारलाई पार्टीमा भित्यायो । कालोसूचीमा परेका या बदनाम भएका या देशको सम्पत्तिमा रजाइँ गरेर समयमा काम नगरेका ठेकेदारहरू एमालेले पार्टीमा किन भित्यायो ? कारबाही गरेर फाल्नुपर्ने कालोसूचीमा परेका व्यक्तिलाई पार्टीमा भित्याएर स्वागत सत्कार गर्ने दल भित्र कसरी स्वच्छ राजनीति हुन्छ ? यस्तै यस्ता चरित्रका मानिसहरू पार्टीमा बढिरहेको हुँदा पार्टीले सिद्धान्त र विचारअनुसार राजनीति गर्न नसकेको हो ।
भनिन्छ, एमाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूद्वारा परिचालित छ या एमाले नेता, मन्त्री, सांसद तथा कार्यकर्ताहरू गैरसरकारी सङ्घ संस्थामा आबद्ध छन् । ती संस्थामा रहेर एमालेका नेता कार्यकर्ताहरूले अकुत सम्पत्ति कमाइरहेका छन् । गैरसरकारी संस्थाको बैठक या कार्यक्रम भएपछि तिनीहरू संसद् बैठक नै छोड्छन् । कति संसद्को बैठक गणपूरक सङ्ख्या नपुगेर स्थगित हुनुको कारण संसद्मा हाजिर गरेर सांसदहरू त्यस्तै गैरसरकारी सङ्घ संस्थाको बैठक या कार्यक्रममा सहभागी हुनु पनि हो । कति सांसदहरूले संसद् र गैरसरकारी सङ्घ संस्थाको दोहोरो तलब खाइरहेका हुन्छन् । ती सांसदहरूको ध्यान संसद् र दलतर्फ होइन, गैरसरकारी सङ्घ संस्थातर्फ केन्द्रित हुन्छ । पदको दुरूपयोग गरी अकुत सम्पत्ति कमाउनेतर्फ लागेका नेता, मन्त्री र सांसदहरू कसरी चरित्रवान् हुन्छन् ? देशका युवा–विद्यार्थीहरू विदेश पु¥याउने, भारतीय नागरिकहरूलाई सजिलैसँग वंशजको आधारमा नागरिकता दिएर नेपालीलाई अल्पमत पार्ने सरकारको कामले के नेपाल भोलि रहला ? भारतीय नागरिक, ठेकेदार, ठुलठुला धनाढ्यहरूले सरकारको नेतृत्व ग¥यो या संसद्मा तिनीहरूको बहुमत भयो भने देशको स्थिति के होला ? यसरी सत्तासीन दल र ठुला दलका नेता, मन्त्री तथा सांसदहरूले देशलाई भड्खालोमा पु¥याउने, देशलाई जहिल्यै परनिर्भर बनाउने काम गरिरहेका छन् । अतः आम देशभक्त र परिवर्तन चाहने जनता सचेत हुनुपर्छ ।
पार्टीको सिद्धान्त माने पनि नमाने पनि, पार्टीको सिद्धान्त बुझे पनि नबुझे पनि, पार्टीको नीति र नियम अनुसरण नगरे पनि, अपराधी, चरित्रहीन, भ्रष्टाचारीहरू पार्टीमा भित्याएर पार्टी ठुलो बनाउने दलको पछि लागेर के बहुमत जनताले राहत पाउलान् ? के देश विकासको उचाइ बढाउन सक्ला ? शासक र ठूला दलका नेता र मन्त्रीहरूको यो हविगतले गर्दा देशभक्त जनताले देशबारे चिन्ता व्यक्त गर्न थालेका हुन् । पार्टीको नेतृत्व गर्ने, पार्टी सञ्चालन गर्ने नेता, मन्त्री, सांसद र कार्यकर्ताहरू सही, इमानदार, देश र जनताप्रति समर्पित या जिम्मेवार नभएसम्म, दूरदर्शी नभएसम्म देशको मुहार उज्यालो हुनेछैन; जनताले राहत पाउने छैनन् । अतः देशमा समाजवादी गणतन्त्र आवश्यक छ, समाजवादी गणतन्त्र ल्याउन सबै जुट्नुपर्छ ।