नाइजर साहेल क्षेत्रमा अवस्थित देश हो । साहेल सम्भवतः इतिहासमा सबैभन्दा बढी उत्पीडित क्षेत्र हो । यो सहारा मरुभूमिको दक्षिणी किनारमा छ । यसले माघरेबलाई सानो सहारा अफ्रिकाबाट अलग पार्छ । अरबी भाषामा ‘माघरेब’ को अर्थ घाम डुब्ने ठाउँ हो । यसलाई पश्चिमको पर्यायवाचीको रूपमा लिइन्छ । यहाँ ठूलो मात्रामा रणनीति सम्पदाहरू छन् । सयौँ वर्षदेखि तिनको दोहन हुँदै आएको छ । त्यसले गर्दा त्यहाँ विदेशी सैन्य हस्तक्षेप हुँदै आएको छ । यही हस्तक्षेप त्यहाँ हुने अस्थिरता र भद्रगोलको कारण हो । बितेका दशकहरूमा भएका सैन्य विद्रोह र आतङ्कवादको कारण पनि सोही हस्तक्षेप हो । त्यसैले त्यो भूभाग २० औँ शताब्दीको सबैभन्दा ठूला उपनिवेशवादविरोधी सङ्घर्षको जन्मथलो बनेको थियो । त्यही अफ्रिकी एकताका पक्षधर अनेक नेता जन्मेका थिए ।
साहेल एउटा लाम्चो इलाका हो । यसको लम्बाइ ५४ सय किलोमिटर छ । यसले एटलान्टिक किनारको मौरिटानिया र सेनेगललाई लालसागर किनारको सुडान र इरिट्रियासँग जोड्छ । बिचमा पूर्वदेखि पश्चिमसम्म इथियोपिया, चाड, नाइजर, उत्तर नाइजेरिया, माली र बुर्किना फासो फैलिएका छन् ।
पश्चिम साहेलमा १६ औँ शताब्दीमा अन्तर्राष्ट्रिय दास व्यापार सुरु भयो । राजनीतिज्ञ तथा इतिहासकार एरिक विलियम्सले यसलाई तीनकुने व्यापार भनेका छन् । युरापले साहेलमा तयारी माल निर्यात गथ्र्यो, मालसामानलाई अफ्रिकी दासहरूसँग साटिन्थ्यो र ती दासलाई अमेरिका पैठारी गरिन्थ्यो । त्यहाँ तिनले युरोपेली बजारमा व्यापारको लागि लगिने मालसामान उत्पादन गर्थे ।
व्यापारबाटै आजको पुँजीवादको जन्म भएको थियो । पश्चिम अफ्रिकीहरू प्रमुख मानव माल वा वस्तु थिए । तिनीहरूबेगर तीनकुने व्यापार अस्तित्वमा आउने थिएन । साहेल सहारा मरुभूमि आरपार हुने आर्थिक क्रियाकलापको क्षेत्र पनि हो । यसले सबै अफ्रिकी अक्षांशलाई जोड्ने पुलको काम गर्छ । तीनकुने व्यापार हुनुभन्दा धेरै अगाडिबाट यहाँ यस्ता अनेकौँ मार्ग छन् ।
बर्लिन सम्मेलन (१८८४–८५) मा स्पेन, इटाली, फ्रान्स, बेलायत, जर्मनी, पोर्चुगल र बेल्जियमले अफ्रिकालाई मनपरी ढङ्गले बाँडफाँट गरे । यसमा इथियोपिया र लाइबेरियामात्र जोगिए । इथियोपियालाई त्यसबेला अबेसिनिया भनिन्थ्यो । बर्लिन सम्मेलनपछि अफ्रिकालाई अन्तर्राष्ट्रिय श्रम विभाजनमा कच्चा पदार्थ र दास श्रमको स्रोत बन्नुपर्ने भयो । सयौँ वर्षसम्म अफ्रिकी देशहरूले औपनिवेशिक बर्बरता अनुभव गरे । यसकै प्रतिकारमा त्यहाँ विद्रोह, क्रान्ति, सैनिक विद्रोह, हत्या, मुक्ति र स्वतन्त्रता आन्दोलनको इतिहास कोरियो ।
साहेल क्षेत्रको ठूलो भूभाग फ्रान्सको हातमा प¥यो । उसले त्यहाँको खनिज, ऊर्जा, प्राकृतिक र मानवीय सम्पदाबाट धेरै लाभ लियो । त्यसपछि उनले फ्रान्सेली पश्चिम अफ्रिका (एफडब्ल्युए) नामक सङ्गठन बनायो । फ्रान्सको हातमा मौरिटानिया, सेनेगल, फ्रान्सेली सुडान (हाल माली), फ्रान्सेली गिनी (हाल गिनी कोनाक्री), आत्री कोस्ट, अपर भोल्टा (हाल बुर्किना फासो), दाहोमे (हाल बेनिन) र नाइजर थिए । प्राकृतिक विविधताबाट मात्र होइन, उपनिवेशवादी फ्रान्सलाई सहारा मरुभूमि वारपार हुने व्यापार मार्गबाट पनि फाइदा थियो । एटलान्टिक सागर वारपार हुने दास व्यापार मात्र होइन सहारा मरुभूमि वारपार हुने दास व्यापारबाट पनि फ्रान्सले फाइदा लिन्थ्यो । यसका साथै खनिज, तेल र ग्यासको व्यापार हुने नै भयो ।
साहेल क्षेत्रको दक्षिणमा विशाल तालहरू छन् । यसमै विश्वका विशालतम जलाशयमध्ये एउटा जलाशय पनि छ । साथमा फलाम, नुन, हीरा, तामा, कोइला र युरेनियमको खानीले दक्षिण साहेल भरिपूर्ण छ । साहेलमा फ्रान्सको आर्थिक स्वार्थले यस क्षेत्रलाई सामरिक र भूराजनीतिक महत्वको क्षेत्र बनाएको छ ।
अल्जेरिया, माडागास्कर, ट्युनिसिया, टोगो, मोरक्को र क्यामरुनको केही भाग, आजको चाड, मध्य अफ्रिकी गणतन्त्र, कङ्गो र गाबोनलाई एकमुस्ट फ्रान्सेली भूमध्य अफ्रिका भनिन्छ । त्यसमाथिको फ्रान्सको अधिकार अफ्रिकी स्वतन्त्रता सङ्ग्रामपछि २० औँ शताब्दीको उत्तराद्र्धमा पनि जारी रह्यो । यसले उसलाई अकुत नाफा दिइरह्यो । आज पनि नवउदारवादी अर्थनीति र संयन्त्रले उसलाई त्यो लाभ दिइरहेको छ ।
१९६० को दशकपछि साहेलमा स्वतन्त्रता आन्दोलन सुरु भयो । सन् १९५४ मा अल्जेरिया युद्ध चर्कियो । त्यो वर्ष फ्रान्सले आफ्ना १४ उपनिवेशहरू गुमायो । तिनताक अफ्रिकाभरि नै आआफ्नो सार्वभौमिकताको पक्षमा जनता र नेताको आवाज घन्किँदै थियो । घानाका क्वामे एन्क्रुमा अफ्रिकी एकताका प्रवक्ता र प्रवर्तक थिए । फ्रान्सेली उपनिवेशमध्ये मालीमा मोदिबो केइता र अपर भोल्टामा थोमस सङ्कारा उदाए । मोदिबो सन् १९६० देखि १९६८ सम्म मालीका राष्ट्रपति थिए । सङ्काराले क्रान्तिको नेतृत्व गरे र आफ्नो देशको नाम बुर्किना फासो राखे । यो आफैँमा एक देशभक्तिपूर्ण काम थियो । यसले आज पनि अफ्रिकी स्वतन्त्रता र स्वाधीनताको भावना र आदर्शको प्रतिनिधित्व गर्छ ।
यी नेता र यिनका राजनीतिक गतिविधिहरू सन् १९५५ को बाङडुङ सम्मेलनको भूराजनीतिक सन्देशमा प्रतिबिम्बित भयो । सोही सम्मेलनबाट असंलग्न आन्दोलन (नाम) जन्मियो । त्यसमा घानाको तर्फबाट एन्क्रुमा सहभागी थिए । उनले अफ्रिकी जनादेशलाई पनि सोही दिशामा मोडे । उनले अफ्रिकालाई सङ्गठित गरे र असंलग्न आन्दोलनका उनी सबैभन्दा महत्वपूर्ण प्रबद्र्धक बने । एसियामा त्यसबेला चलिरहेका सङ्घर्षहरू सन् १९५०, १९६० र १९७० को दशककै अफ्रिकाको स्थितिमा थिए । दुवैले एकले अर्काबाट सिकिरहेका थिए ।
अफ्रिकाको उपनिवेशवाद र स्वाधीनताविरोधी नेताहरूलाई गिराउन र सत्ताच्युत गर्न संरा अमेरिका र युरोपले निरन्तर खुफिया अपरेसनहरू चलाए । तिनको ठाउँमा उत्तर अमेरिका र युरोपको पुँजी अनि विदेश नीतिको पक्ष लिने सरकारहरूलाई स्थापित गर्न उनीहरूले चलखेल गरिरहे । अफ्रिकी सामाजिक आर्थिक परिवेशमा खुट्टा जमाउन र नवउदारवादी नीतिमार्फत समस्त महादेशको स्रोतसाधन लुट्न एकपछि अर्को षड्यन्त्र गरिरहे । यसले गर्दा आज साहेल क्षेत्र अनेक महाशक्तिहरूको सामरिक र भूराजनीतिक मुद्दा बन्न पुगेको हो ।
औपनिवेशिक सम्बन्धको एउटा उदाहरण हेरौँ । यो उदाहरण आजभोलि भाइरल भइरहेको छ । फ्रान्सको ४० प्रतिशत बिजुली आणविक भट्टीमार्फत नाइजरको युरेनियमबाट उत्पादन हुन्छ । जब कि नाइजरका ८९ प्रतिशत जनता बिनाबिजुली बाँच्छन् । सन् २०१४ मा फ्रान्सका तीन चिममध्ये एउटा चिम नाइजरको युरेनियमले बलेका थिए । नाइजर विश्वको छैटौँ ठूलो युरेनियम उत्पादक हो । नाइजरका दुई खानी नगर आर्लित र आकोकानबाट युरेनियम निकालिन्छ । यी नगर राजधानी निआमेबाट ९ सय किलोमिटर उत्तरपूर्वमा पर्छन् । त्यो भनेको सहारा मरुभूमिको दक्षिणी किनार र आइर पहाडको पश्चिमी भागमा हो ।
फ्रान्स र नाइजरको असन्तुलित सम्बन्ध नवउपनिवेशवादी स्थितिको द्योतक हो । यसमा फ्रान्सको विकासै विकास हुन्छ र नाइजरको अविकास र अति शोषण हुन्छ । साहेल क्षेत्रका देशहरूको पछिल्लो घटनाक्रम र भूराजनीतिक घटनावलीको प्रमुख कारक नै यही सम्बन्ध हो । यस भेगमा अहिले सत्ताविद्रोहको दर बढेको छ । सन् २०२० यता ६ वटा देशमा बलजफ्ती सरकार परिवर्तन भयो । तिनको ठाउँमा उपनिवेशवादविरोधी र अफ्रिकी एकता पक्षधर विचार वा नेतृत्वमार्फत सैनिक सत्ता वा सङ्क्रमणकालीन प्रशासन स्थापित भए । यो नयाँ नेतृत्वलाई आतङ्कवादविरोधी सङ्घर्षको अनुभव थियो । नाइजर र यसका छिमेकी देशहरूमा आतङ्कवाद आपसी लेनदेनको एउटा महत्वपूर्ण कडी हो ।
पछिल्लो विश्व आतङ्कवाद सूचकाङ्कको प्रतिवेदन अर्थव्यवस्था तथा शान्ति संस्थानले जारी ग¥यो । त्यसमा यस्तो लेखिएको छ ः
‘साहेल विश्वमै आतङ्कवादले अत्यन्त असर गरेको क्षेत्र हो । सन् २०२२ मा नाइजेरिया र नाइजरको स्थितिमा सुधार आएपछि समग्रमा स्थिति खस्केको छ । बुर्किना फासो र मालीमा आतङ्कवादी घटनाले भएको मृत्युको सङ्ख्या क्रमशः ५० र ५६ प्रतिशत छ । यसको अर्थ बुर्किना फासोमा ११३५ र मालीमा ९४४ जनाको मृत्यु भयो । साथै साहेल क्षेत्रका दसमध्ये चार देश विश्व आतङ्कवाद सूचकाङ्कमा विश्वकै सबैभन्दा खराब दस देशमा पर्छन् । सन् २०२२ मा छिमेकी साहेल देशमा पनि आतङ्कवादी गतिविधि बढेको छ । पहिलोचोटि बेनिन र टोगोमा यसका कारण १० भन्दा बढी मृत्यु भएको छ । (पे.१३)’
यीमध्ये विशेषगरी मुसलमान कट्टरपन्थी जिहादीहरूको गतिविधि महत्वपूर्ण छ । त्यसैले यहाँको आतङ्कवाद सत्ता र भूराजनीतिसँग जोडिएको छ । विनासको मात्रा बढ्दै छ र यसको कारण ऐतिहासिक छ ।
बुर्किना फासोका राष्ट्रपति इब्राहिम त्राओरे
लिबियाली मूल : गद्दाफीपछिको युग
सन् २०११ मा कर्नेल मुअम्मर गद्दाफीले वीरगति पाए । उनको अवसानपछि दुई ठूला घटना घटे । साहेल क्षेत्रमा तिनले विशेष ऐतिहासिक पदचिह्न छोडे । एक, लिबिया र युरोपेली सङ्घबिचको बसाइँसराइ सम्झौता अन्त्य भयो । दुई, लिबियाविरुद्ध भएको सत्ताविद्रोहमा सहभागी समूहहरू आआफ्ना देशमा परिचालित भए । मालीको उत्तरमा पर्ने तिम्बुक्तुनजिकै तुरेग र अजावाद क्षेत्र त्यो समूहको अखडा बन्यो । यसले गर्दा साहेल क्षेत्रभरि जिहादी आतङ्कवादी र तिनीहरूसँग जोडिएका अन्य आतङ्कवादी समूहको जालो फैलियो ।
नेटो देशको हस्तक्षेपछि लिबियामा आधिकारिक सत्ताको प्रभाव पातलिँदै गयो र विशृङ्खलित शासनसत्ताको अवस्था आयो । लिबिया दास बजारमा परिणत भयो । खुलेआम हतियार, लागुऔषध र सामरिक स्रोतसाधनको तस्करी हुन थाल्यो । तस्करीको जालोमा नाइजर एउटा महत्वपूर्ण नाका बन्न पुग्यो । किनभने नाइजर भूमध्यसागर जाने मार्गमा पर्छ । यहाँबाट थल मार्ग हुँदै इटाली र लाम्पदेसु टापु पुग्न सकिन्छ । साथै थल मार्ग हुँदै यहीबाट अफ्रिकाका अन्य क्षेत्रमा पनि फैलिन सकिन्छ ।
गद्दाफीको अवसानपछि लिबियामा सुरक्षा र स्थिरताको सङ्कट आयो । यसले सीमा नियन्त्रण छिन्नभिन्न भयो । जसले गर्दा लिबिया र युरोपेली सङ्घबिच भएको सम्झौता तोडियो । इटालीको बाटो हुँदै गरिने बसाइँसराइसम्बन्धी सो सम्झौता २०१० अक्टोबर ५ मा सम्पन्न भएको थियो । बसाइँसराइको छाल रोक्न ५ अर्ब युरो खर्च भएको बताइन्छ । यसबाट नतिजा पनि देखिएको छ । सन् २०११ मा अचानक सम्बन्ध तोडियो र अफ्रिकाका धेरै भागमा जिहादी आतङ्कवादीहरूको गतिविधि फैलियो । साथै बेलायत, जर्मनी र फ्रान्सलगायत युरोपेली पुँजीपतिहरूले खुट्टा जमाएका प्रमुख देशहरूमा यसले आफ्नो पहुँच विस्तार ग¥यो । गएको दशकमा युरोपमा जिहादीहरूको प्रसारको असर उल्लेखनीय देखिन्छ ।
आज युरोपेलीहरू लिबियाबाट हुने अवैध बसाइँसराइ रोक्ने सबैभन्दा उपयुक्त तरिका के होला भनी विवाद गर्दै छन् । यो बसाइँसराइमा इटाली सबैभन्दा प्रमुख नाका बनेको छ । कुनै बेला अटोमन साम्राज्यले लिबियालाई भूमध्यसागरबाट अफ्रिका पस्ने नाका बनाएको थियो । त्यसको घाउ अझै लिबियालाई चह¥याउने गरेको छ ।
अवैध व्यापार र आतङ्कवादको जालोले साहेलका विभिन्न देशको सीमा छिचोलेको छ । थल मार्ग हुँदै फैलेको यो जालोमा नाइजर माली, बुर्किना फासो र नाइजेरिया पुग्ने अनिवार्य नाका हो । यही बाटो हुँदै अफ्रिकाको दक्षिणी भेग उत्तरसँग जोडिएको छ । सन् २०११ मा अलकायदा सम्मिलित गतिविधिले विध्वंश मच्चाएपछि यो क्षेत्रमा जिहादी आतङ्कवादीहरूको नयाँ हाँगाबिँगा देखियो । लिबियामा अलकायदाको औपचारिक गतिविधि सन् २००७ मा सुरु भएको थियो । अलकायदाका एकजना नेता आयमान अल–जवाहिरीले यो कुरा उतिबेलै घोषणा गरेका थिए । लिबियाका विद्रोही कमान्डर अब्देल–हकिम अल–हसिदी (अब्देलहकिम बेलहज) ले आफ्ना लडाकुहरू अलकायदासँग सम्बद्ध रहेको स्वीकारेका थिए । यी इराक युद्ध लडेर आएका यिनै जिहादीहरू गद्दाफीको सरकारविरुद्ध अग्रमोर्चामा थिए । यिनीहरूले सन् १९८० को दशकमा अफगानिस्तान युद्ध लडेका थिए र सन् १९९० को दशकमा अल्जेरियाली गृहयुद्धमा भाग लिएका थिए । त्यसबेला यीमध्ये धेरैजना सहारा मरुभूमि र साहेल खण्डमा फैलेका थिए ।
आतङ्कवादी समूहहरूले गर्दा साहेल क्षेत्रमा फैलेको सशस्त्र द्वन्द्वले यो क्षेत्रलाई हतियार, लागुऔषध, दास र कच्चा पदार्थको तस्करी र पैठारीको ठूलो बजार बनाइदियो । यसले गर्दा यो क्षेत्रको ऊर्जा र खनिज सम्पदा वरिपरि अवैध अर्थतन्त्रको उदय भयो । यसकै कारण मानिसहरू सामूहिक विस्थापनमा परे र यसै क्रममा लगातार बर्बादी र भद्रगोलको स्थिति सिर्जना भयो ।
अलकायदा र दायस (इस्लामी राज्य) का शाखाहरू आज पनि साहेल क्षेत्रमा फैलेको तथ्य अनुसन्धान र प्रमाणहरूबाट साबित हुन्छ । अलकायदाको शाखालाई जामायत नुसरत अल–इस्लामी वल–मुसलमानी (जेएनआइएम) र इस्लामी राज्यको शाखालाई बृहत्तर सहारा (आइएसजीएस) भनिन्छ । यिनले त्यहाँ मानवताविरुद्ध युद्ध अपराधहरू गरेका छन् । त्यसैगरी, अन्सार अल–दीन (माली) र बोको हराम (नाइजेरिया) पनि माथिकै सङ्गठनसँग प्रत्यक्ष वा परोक्ष जोडिएका छन् । मौकाका फाइदा उठाउँदै उनीहरूले आफ्ना चलखेल बढाएका छन् र साहेल क्षेत्रलाई अफ्रिकी जिहादीहरूको केन्द्र बनाएका छन् । यिनकै गतिविधिले यस क्षेत्रमा राजनीतिक अस्थिरता र सुरक्षा सङ्कट बढ्दै छ । माथि उल्लेख विश्व आतङ्कवाद सूचकाङ्कको सन् २०२३ को प्रतिवेदनले यो तथ्य देखाइसकेको छ ।
सुरक्षाका दृष्टिले बुर्किना फासो र मालीको स्थिति सङ्गीन छ । दिनदिनैजसो त्यहाँका सडकमा सर्वसाधारणहरू सामूहिक हत्या र चरम अपराधका सिकार हुँदै आएका छन् । मध्य साहेलका जिहादी समूहहरूको गतिविधिले त्यहाँ झन् व्यवस्थित रूप लिँदै छ । यही स्थिति टोगो, बेनिन, घाना र आत्री कोस्टमा फैलिने क्रममा छ । साहेलमा आतङ्कवादका किटाणु बढ्दै छन् र त्यहाँका देशका सेनाहरू ती किटाणुसँग भिड्दै छन् । यही लडाइँको सिलसिलामा शत्रुलाई हराउन र सखाप पार्न खोज्ने सैनिक कमान्डरहरू जिम्मेवार बन्दै गएको देखिन्छ ।
राष्ट्रपति इब्राहिम त्राओरे बुर्किनाबे सेनाका कप्तान हुन् । अहिले उनी बुर्किना फासोका शासक बनेका छन् । वरपरका विदेशी शक्तिविरुद्ध सत्ताविद्रोह गरेसँगै उनले नाइजरप्रति समर्थन जनाएका छन् । उनले पाउल–हेनरी सान्दाउगो दामिबालाई सत्ताच्युत गरेर २०२२ अक्टोबर ६ मा सत्तामा आएका हुन् । गत जुलाईको अन्त्यमा रूस–अफ्रिका शिखर सम्मेलनमा मन्तव्य राख्दै उनले रूसलाई आफ्नो ‘परिवार’ भने र अन्य अफ्रिकी राष्ट्रपतिहरूलाई ‘साम्राज्यवादको पिठ्ठु’ बनिरहेको आरोप लगाए ।
सन् २०२१ मा दुईपटक सैनिक विद्रोह गरेर मालीमा कर्णेल आसिमी गोइटा सत्तामा आएका छन् । क्षेत्रीय द्वन्द्वसँगै जिहादी गतिविधिले त्यहाँ आपराधिक हिंसा भड्किरहेको थियो । सन् २०१० देखि नै जिहादीहरूका सहयोगी तुरेग विद्रोहीहरूले त्यहाँ हिंसा मच्चाउँदै आएका थिए । अहिले त्यो रोकिएको छ तर समस्या समाधान भइसकेको छैन । जटिल स्थितिको समाधानमा गोइटा नेतृत्वको सङ्क्रमणकालीन सरकार लागिपरेको छ । तर, उनलाई ‘अफ्रिकामा पुटिनको बलियो मान्छे’ भनी दुष्प्रचार गरिँदै छ किनभने उनी संरा अमेरिका र फ्रान्सको औपनिवेशिक सोचका विरोधी हुन् । यही तवरले नाइजरलाई हेर्दा जनरल तियानीले महिनौँदेखि जिहादी आतङ्कवादविरुद्धको लडाइँमा बाजोम सरकारको रक्षा नीतिको आलोचना गर्दै आएका थिए । बाजोम सरकारले नाइजरमा रहेको फ्रान्सेली सेनाको सङ्ख्या बढाइरह्यो तर यसले कुनै उल्लेख्य परिणाम आएन । त्यो सेना नाइजरको युरेनियम र सुनको दोहन गरिरहेका युरोपेली कम्पनीहरूको सुरक्षामा केन्द्रित भयो ।
फ्रान्सेली सेनाको ‘सेर्भाल अपरेसन २०१३’ असफल भयो । आतङ्कवाद अन्त्य गर्ने उद्देश्य विफल भएपछि माली सरकारले विदेशी सेना हटाउने निर्णय ग¥यो । त्यसैले त्यो सेना मालीबाट नाइजरमा पस्यो । उसको आतङ्कवादविरोधी ‘बुर्खाने’ कारबाहीले पनि केही लछारेन । त्यसपछि भोक, हिंसा र नवऔपनिवेशिक परनिर्भरतामा डुबेको नाइजरमा जनरल तियानीले अन्य उच्च अफिसरहरूको मद्दतले सैनिक विद्रोह गरे ।
तियानीले भने, “हामीले प्रायः आतङ्कवादीहरूको अड्डा पत्ता लगाउँथ्यौँ । तर, तिनलाई मार्न कुद्ने बेला पूर्वराष्ट्रपति बाजोमले पहिले फ्रान्सेली सेनाको अनुमति लिनू भन्थे । मोर्चामा हाम्रा सिपाहीँहरू मरिरहेका थिए र फ्रान्सले हातमा दही जमाएर बस्यो ।”
तथ्यहरूको साधारण जाँचबुझ, पश्चिम अफ्रिकाका वर्तमान दृश्यका ऐतिहासिक जराको समझका साथ तियानीको भनाइलाई राखेर हेर्दा पश्चिम साहेलस्थित बुर्किना फासो, माली, गिनी र अहिले नाइजरका सैनिक कमान्डरहरूले गरेको सत्ताविद्रोह जिहादी आतङ्ककारीहरूको बढ्दो चलखेलकै प्रतिक्रिया हो । फ्रान्सेली सेना र युरोपले केही गर्न नसकेपछि र आफ्ना जनता इतिहासदेखि नै दरिद्रताले सताइएका देखेपछि यी विद्रोह भएका हुन् । अझ यी विद्रोह गद्दाफीको अवसानपछिको घटनाक्रमका उपज हुन् ।
अर्कोतिर साहेलका नयाँ अधिकारीहरूका विचार २० औँ शताब्दीको मध्यतिर देखिएको अफ्रिकी एकताको भावनासँग एकाकार देखिन्छन् । विभिन्न अन्तर्राष्ट्रिय गठबन्धनसँग व्यावहारिक मिलापमा रहेका अन्य अफ्रिकी सरकारहरूभन्दा बुर्किना फासोको झुकाव अफ्रिकी एकतातिर बढी छ । पुरानो अफ्रिकी एकताको भावना भए पनि साहेलको नयाँ नेतृत्व अफ्रिकाको समकालीन आर्थिक र राजनीतिक विवादमा संरा अमेरिका, चीन र रूसको बढ्दो भूमिकाबारे जानकार छ । (यो लेख अनलाइन मजदुरमा पनि प्रकाशित छ।)
(स्रोत : एमआर अनलाइन)
अनुवादः सम्यक