#प्रणेता
पूर्ण सचेत तर गर्न केही नसकेको अनुभूतिले भित्रैदेखि थाकेको वकिल सारा गाउँलेसँग भन्छ, ‘आज मलाई सबैथोक स्पष्ट देखिन थालेको छ कि औपनिवेशिक जगतका ‘फ्राँडसम’ हरूले कति महत्वपूर्ण भूमिका खेले । हामीजस्ता ‘काला’ जातिलाई प्रशिक्षित गर्नका निम्ति, जो ‘ब्लु हिल्स’ मा रहने गोरा पादरीहरूको धुनमा नाच्न सकौँ । जब कि, एउटा ठूलो हिस्सा भोकले मरिरहेको छ अनि आफ्ना केटाकेटीका लागि उपयुक्त बास र ‘अच्छाखासा’ विद्यालयको तड्पाइमा छ । तै पनि हामी खुसी छौँ । यसकारण कि हाम्रो बारेमा भनिएको छ, देशमा स्थिरता आयो, हामी सभ्य भयौँ अनि एकदम प्रतिभाशाली छौँ ।’
वकिलले ‘स्थिरता’, ‘सभ्यता’ र ‘प्रतिभा’ जस्ता शब्दहरू उच्चारण गरेको बखत ऊभित्र एक प्रकारको हीनताबोधका साथै अपमानको भाव पनि प्रकट हुन्छ ।
माउ माउ विद्रोह (मुक्तिका निम्ति सङ्घर्ष) मा उत्रिएर आफ्नो एउटा गोडा गुमाएको योद्धा अब्दुल्लाह सधैँ चिन्तित मुद्रामा देखिन्छ । ‘तिगोनी’ तथा अन्य क्षेत्र सम्झदाको बखत उनको दिमागमा आइहाल्ने प्रश्न हो, ‘के यो न्यायपूर्ण छ कि जनताको सामूहिक बलिदानले हासिल गरेको कुनै चिज यति सजिलै मुठ्ठीभर मानिसहरूको हातमा जाओस्, यसकारण कि उनीहरूसँग पैसा छ अनि बैङ्कबाट कर्जास्वरूप लिएको ठूलो नगद रकम छ ?’ तर, उनको प्रश्नको जवाफ मिल्दैन ।
वकिलको कुरा एक तमासले सुनिरहेकी वान्जाको सरोकार गोराहरूको देशमा समेत कुनै गोरी ‘यौन व्यवसायी’ हुने कुरासँग थियो । पहिले ‘बारमेड’ वान्जा ‘स्वतन्त्र केन्या’ पश्चात् ‘यौन व्यवसायी’ बन्ने अवस्थामा पुग्छिन् । पाठकले अनुमान गर्न सक्छन् कि वान्जाले यो सोचिन् होला, ’महिलाको जिन्दगी नरक बनाउने र बर्बाद गर्ने ‘सत्ता’ त जहीँतहीँ छ । सुकिलामुकिला गोराहरूको माटोमा पनि छ ।’
तमाम बाधाहरूलाई छिचोल्दै सदरमुकाम र सांसदसम्म पुगेका इलमोरोगका जनताले झेलेको विपद्लाई सुल्झाउने छाँट देखाउँदैन, उनीहरूको गाउँको पुत्र वा सांसद न्देरी । बरु अनेक नाममा कर चुक्ता गरिरहेका उनीहरूलाई सांसदले त्यो इलाकाको आपत् टार्न, महाअनिकाल बाट पार पाउन र इलमोरोगको सान फिर्ता ल्याउन अझै पनि त्यहाँका हरेक व्यक्ति चाहे साना हुन् या ठूला, शिक्षक हुन् या विद्यार्थी सबैले त्याग गर्नुपर्ने प्रस्ताव राख्छ र भन्छ, अहिलेलाई इलमोरोगवासी त्यहीँ फर्किजाऊन्, त्यहाँ एउटा बैठक डाकून् अनि केही पैसा उठाऊन् । यसका लागि उनीहरू आफ्ना गाई–बाख्रासमेत बेच्नु परे पनि पछि नहटून् ।’
वान्जाजस्ता ‘प्रतिभा बेच्ने’ हरू भन्दै सांसद बोल्छ, ’केही नाच्ने गाउनेहरूले पनि पैसा जम्मा गरुन्, जो परम्परागत लोक संस्कृतिमा पारङ्गत छन् ।’ सांसदको अन्तिम वाक्य हुन्छ, ’हाम्रो संस्कृति, अफ्रिकी संस्कृति अनि यहाँको आध्यात्मिक मूल्य नै यो देशको वास्तविक आधार हो । हामी ‘गातुन्डु’ मा एउटा विशाल प्रतिनिधिमण्डल पठाउने तयारी गर्छौँ ।’
आफ्नै जनप्रतिनिधिको यसखाले सतही र निख्लो सुझावले कैयौँ दिनदेखि पेट रित्तो भएका जनता आफ्नो अभियान पूरै असफल भएको अनुभूत गर्छन् । करेगाजस्ता पात्रका गहभरि आँसु टिलपिलाउन थाल्छन् । उनीहरूलाई यस्तो लाग्छ, आफ्नो सांसदले छोडिगयो र सहरका मान्छेले एक्लो बनाइदिए । किनकि, सांसद कक्षमा हुनेहरू हेर्दाहेर्दै तितरबितर भइसक्छन् ।
इलमोरोगदेखि आएका प्रतिनिधिमण्डल चुपचाप मैदानी घाँसमाथि हतास, निराश र उदास बनेर बसिरहन्छन् । मानौँ कि, सारा दुनियाँ अप्ठ्यारोमा अल्झिएका गाउँलेहरूको विरुद्धमा छ । तीव्ररूपमा इलमोरोग क्षेत्रको विकास गर्न विशाल वित्तीय परियोजना (केसिओ इन्भेस्टमेन्ट एण्ड होल्डिङ्स लिमिटेड) सुरु गर्ने योजना बुनेको सांसदले त्यो क्षेत्र अब उस्तै रहन नदिने प्रण गर्छ । उनले पठाएको प्रतिनिधिमण्डल पुगेपछि इलमोरोग पक्कै पहिलेजस्तै अब रहेन ।
इलमोरोग यसरी फेरियो कि गाउँलेले चिताएका पनि थिएनन् । सम्पूर्ण गाउँलेहरू वर्षा होला, अन्न उब्जेला, यो धर्ती बस्न लायकको बनाउने ‘नायक’ को याद गर्न पाइएला, मैदानी इलाकातर्फ थालिएको आफ्नो ‘दुर्गति’, ‘बिजोग’ गायब बनाउने यात्राबारे गीत गाइएला भन्ने कल्पनामा थिए । उनीहरूलाई आफ्नो देश सुख्खापन र खडेरीले छिट्टै नै दूर देशको धुमिल सपनाको रूप लेला भन्ने लागेकै थिएन ।
वृद्ध न्याकिन्या भन्छिन्, ’हामी भन्छौं नि, हजार वर्षको भोक एक दिनको खान्कीले मेटाउँछ । भगवानले दया गरुन् र सुख्खा खडेरीका भयानक स्मृतिहरू अनि अनेकौँ कुविचार यही खडेरीसँगै अन्त्य होऊन् ।’
तर, उनको कामना उल्टो पर्छ । उनकै बास भएको जग्गामा सस्तो मुआब्जा फ्याँकेर डोजर लगाइन्छ । सहन नसकेर प्राण त्याग गर्छिन्, उनले । सानो छाप्रे पसल अशोभनीय देखियो भनिन्छ र डोजर लगाइन्छ । अब्दुल्लाह त्यसपछि बाटोमा आउँछ । शरीर बेच्नुपर्ने बाध्यताबाट मुक्तिको सपना देखिरहेकी वान्जालाई झन् त्यही खाडलमा धकेल्छ, नयाँ इलमोरोगले । त्यो नयाँ इलमोरोगमा बेरोजगार छ । छोरी मान्छेहरू शरीर बेच्नैपर्ने अवस्थामा पुर्याइन्छन् । संस्कृति र परम्परा अब एउटै सांस्कृतिक सङ्ग्रहालयमा लगेर थुपारिएको छ । जहाँ टिकट काटेपछि मात्रै हेर्न पाइन्छ । त्यसरी टिकट काटेको पैसा पनि बाहिरी मान्छेको हातमा नै पुग्छ ।
जनता मारेर लिइएको जग्गा अब फेरि उनीहरूले पाउनका लागि खरिद गर्नुपर्ने हुन्छ । किन भन्ने प्रश्नमा जवाफ मिल्छ, “यो नयाँ केन्या हो । अब कुनै चिज पनि सित्तैमा मिल्दैन । पैसाविना तिमी जमिन किन्न सक्दैनौं अनि विनाजमिन र सम्पत्ति तिमी कुनै कारोबार सुरु गर्न या जमिन किन्न बैङ्कबाट कर्जा लिन सक्दैनौ ।”
‘नयाँ केन्या’ मा मूलवासीहरूको जमिन हडपेर अङ्ग्रेजहरू ठूलठूला फार्महरू सञ्चालन गरिरहेका छन् र उनीहरू नै मूलवासीलाई ऋण दिइरहेका छन् । ताकि, मूलवासीहरूले उनीहरूकै ठूला फार्महरू खरिद गर्न सकून् ।
उपन्यासको अन्तिम खण्ड ‘एक पटक फेरी सङ्घर्ष जारी छ’ मा ‘करेगा’ बोल्छ, ’साम्राज्यवादी, पुँजीवादी, जमिन्दारी व्यवस्था । जसले उकासिएको भुँडी भएका यस्ता पिउसा र उडुसको फौज तयार गरेको छ, जसको जीवनको एउटै लक्ष्य परजीविता र मानिसको मासु लुछ्नुु मात्रै रहेको छ । यो व्यवस्था र यसका मुनाफाखोर देव र तिनका वफादार दूतहरूले उनकी आमालाई चिहानसम्मै पिछा गरिरहे छन् । यी मुठ्ठीभर मानिस, जसले पूरै धर्तीको दोहन गरिरहेका र भरपुुर शोषणका निम्ति विदेशीसामु आफूलाई आत्मसमर्पण गरेका यी मुठ्ठीभरका मानिसहरूले नै मानिसको रगत चुसिरहेका छन् र यस्तो समयमा पनि राष्ट्रवाद तथा नश्लीय एकताको पाखण्डपूर्ण प्रवचन दिइरहेका छन् ।
करेगा बोलिरहन्छ, “यो व्यवस्था र यसका देवदूतहरूको खिलाफमा सचेत ढङ्गबाट लडाइँ थाल्नुपर्छ र यो लडाइँलाई देशका सारा मेहनतकशहरूले नै अगाडि बढाउनुपर्छ । यो सङ्घर्षको नेतृत्व मजदुर तथा किसानले गर्नेछन् र यस व्यवस्थामा उथलपुथल आउनेछ, जो रगतको प्यास भएका नरभक्षीको हिफाजतका लागि बनेको छ र जसलाई नरभक्षीहरूले संरक्षण दिइरहेका छन् । केवल त्यसबेला मात्रै सही अर्थमा मानव समुदायको राज्यको स्थापना हुनेछ, जसमा रचनात्मक श्रममा लागेकाहरूले स्वतन्त्रताको स्वाद चाख्न पाउनेछन् ।”
उपन्यासका पात्रहरूमध्ये ‘किमेरिया’, ‘चुइ’ र ‘न्देरी’ वा ‘रेरा’ सत्तासँग जोडिएका मान्छेहरू हुन् । जसले स्वतन्त्रताको लडाँइमा कहिल्यै भाग लिएनन् । तर, उनीहरू नै नयाँ केन्याको सारा लाभ उठाइरहेका छन् । केन्या ‘स्वतन्त्र’ भएपश्चात् राष्ट्रिय स्तरमा उदाएका यी पुँजीपतिहरूद्वारा हुँदै आएको शोषणको झलक उपन्यासमा देखिन्छ । यिनै शोषकहरूको हत्या गरिन्छ र आगो लगाएर उनीहरूलाई जलाइन्छ ।
सञ्चारमाध्यमहरूले उद्योगपति र शिक्षाविद्को रूपमा रहेका यिनीहरूको मृत्युबाट इलमोरोगलाई अपुरणीय क्षति पुगेको समाचार फुक्छन् । सञ्चारमाध्यमहरूको दाबी हुन्छ, ‘यी तीनजनाले १९ औं शताब्दीका ‘काफर’ र ‘रेबम्यान’ का दिन सम्झाउने एउटा सानो गाउँ इलमोरोगलाई बदल्दिएर यस्तो आधुनिक, औद्योगिक सहरको रूप दिएका छन् आदि आदि ।’
हत्या गरेको आशङ्कामा वान्जा, मुनिरा, करेगा र अब्दुल्लाह पक्राउ पर्छन् । मुनिराले बयान लेखेर दिइरहेको छ । तर, हत्या गरेको या नगरेको बारेमा होइन । उनले इलमोरोग कस्तो थियो र कस्तो बनाइयो भन्ने लेख्दै छ, बयान लेख्न दिइएको कागजमा । जेल परेकाहरूलाई रिहाइ गराइछाड्ने गाउँलेहरूको सङ्कल्प हुन्छ । शोषण र लुटलाई आँखा उघारेर हेर्न सिकाउने ती चार पात्र थुनामा रहेको सह्य छैन, इलमोरोगलाई । प्रहरी चौकीबाहिर मजदुरहरूको आन्दोलन चर्किरहेको हुन्छ । नारामा ’तिमीहरू– यहाँबाट जाऊ … विदेशी कम्पनी र तिनका दलाल व्यवस्थापक (म्यानेजर) हरूद्वारा चलिरहेको विदेशी शासन – मुर्दावाद हाम्रो रगत चुस्नेहरू – यो देश छोड ¤’ आदि घन्किइरहेको छ ।
पश्चिम जर्मनी, फ्रान्स, ब्रिटेन, जापान र अमेरिकाजस्ता साम्राज्यवादीहरू एक युनिट पुँजी लगानीको बदलामा केन्याबाट दस युनिट सम्पदा आफ्नो देशमा लैजान्छन् । तिनीहरूबाट उपलब्ध गराइने सहायता, अनुदान, ऋण तथा पुँजी लगानीले एउटा यस्तो रासायनिक प्रतिक्रियाको रूपमा काम गर्छ कि त्यसले केन्याको सम्पत्तिहरण प्रक्रियालाई नै तीव्र बनाउँछ । र, यसबाट उछिट्टिएको सानो अंश केन्याका मुठ्ठीभर भाग्यशालीहरूको हातमा पर्न जान्छ ।
लेखक थ्योंगोको अनुभवमा साम्राज्यवादले कहिल्यै पनि र कुनै पनि देश वा जनताको विकास गर्न सक्दैन । उनले भनेका छन्, “मैले यस पुस्तकमा यही देखाउन खोजेको थिएँ कि साम्राज्यवादले कहिल्यै पनि हामी केन्यालीहरूको वा हाम्रो देशको विकास गर्न सक्दैन ।”
केन्यामा सन् १८९५ देखि त्यहाँका मजदुर तथा किसानहरूले आफ्नो प्रदर्शनमार्फत संघर्ष गरिरहेका छन् । किताब पढिरहँदा अर्थात् केन्याली जनताको सङ्घर्षको इतिहास पढिरहँदा यदि यसबाट सहर र पात्रका नाउँहरू हटाइदिने हो भने यस्तो लाग्छ कि तेस्रो विश्वका कुनै पनि देशकोे वास्तविक कथा हो यो । जहाँ उपनिवेशवादीहरूले राजनीतिक सत्ता हस्तान्तरण त गरे, तर जनता आफ्नो वास्तविक मुक्तिका निम्ति अझँै तृषित छन् ।
कसरी कानुन, शिक्षा, चर्च र समग्र व्यवस्था जनविरोधी सत्ताधारी वर्गको सेवामा जुटेका छन् र शोषण उत्पीडनका विरुद्ध सङ्घर्ष गरिरहेका जनताप्रति कसरी दमन गर्दै आएका छन् भन्ने कुरा यो उपन्याससँगै अगाडि बढ्दा थाहा लाग्छ ।
उपन्यासको पृष्ठभूमिमा माउ माउ आन्दोलन छ । जो मूलतः किसान आन्दोलन थियो । जसले अङ्ग्रेजहरूलाई केन्या छाड्न विवश तुल्यायो । यो आन्दोलनका प्रमुख किसान नेता देदान किमाथीको सन्दर्भ उपन्यासमा केही ठाउँमा पाइन्छ । किमाथीले अङ्ग्रेजहरूबाट मृत्युको सजाय पाए ।
ब्रिटिश उपनिवेशवादीहरूले यो आन्दोलनलाई आफ्नो हतियारको बलमा दमन मात्रै गरेनन् कि आन्दोलनका विरुद्ध उनीहरूले कसरी भाषालाई समेत हतियारको रूपमा प्रयोग गरे भन्ने कुरा न्गुगीका पुस्तकहरूमा पढ्न पाइन्छ ।
अनुवादकले लेखकका अन्य पुस्तकहरू पनि अध्ययन गरेअनुसार अङ्ग्रेजले यो आन्दोलनलाई ‘माउ माउ’ नाम दिए । यसकारण कि यो शब्दको कुनै अर्थ नै छैन । नामकरणसँगै उनीहरू यस आन्दोलनलाई पनि अर्थहीन बनाउन र बताउन चाहन्थे । आन्दोलनसँग जोडिएका योद्धाहरूले आफ्नो आन्दोलनलाई ‘भूमि मुक्ति सेना’ भन्दथे । तर, यदि यो नामलाई प्रचारित गरिन्थ्यो भने यसमार्फत आन्दोलनको अर्थवत्ता प्रकट हुन्थ्यो । आन्दोलनमा न्गुगीका एक भाइको ज्यान गयो भने उनकै आमा ३ महिनासम्म जेलमा रहनुप¥यो ।
लेखक न्गुगीका अन्य पुस्तकहरूसँग समेत साक्षात्कार गरेका अनुवादक वर्मा भन्दछन्, “उनका पुस्तकहरूमा कसरी ब्रिटिश साम्राज्यवादविरोधी माउ माउ आन्दोलनको नायक सत्ता हस्तान्तरणपश्चात् निकम्मा हुँदै गयो र तथाकथित स्वतन्त्रता प्राप्तिपछि कसरी आन्दोलनका विरुद्ध सुराकी गर्नेहरू नै नयाँ सरकारको कृपापात्र बने भन्ने बताउन खोजिएको छ ।”
आन्दोलनविरोधी बनेर अङ्ग्रेजलाई नै मद्दत गर्नेहरू पनि केन्या स्वतन्त्र भएपछि सरकारका वफादार कृपापात्रको रूपमा छानिए । न्गुगी आफ्नो लेखाइमा हैरानीपूर्ण भावमा व्यक्त गर्दै भन्दछन्, “गोरा शासकको बदलामा काला अफिसरको नियुक्तिका अलावा नयाँ केन्यामा कुनै खास फरक छैन ।”
न्गुगीको ठहर छ कि साम्राज्यवाद हतियारमार्फत हमला गर्नुपूर्व सांस्कृतिक आक्रमण गर्र्छ । यो क्रम उपनिवेशी देशका जनताको संस्कृतिका विरुद्ध लामो समयसम्मै जारी रहन्छ । नवऔपनिवेशिक स्थितिमा यस्तो सांस्कृतिक हतियारले अझै तीव्रताका साथ काम गर्दछ । ताकि, यसैमार्फत एउटा दलाल पुँजीपतिको भूमिका निर्वाह गर्ने नयाँ शासक वर्गले आफ्ना भूतपूर्व औपनिवेशिक शासकहरूको हितको रक्षा गर्ने मानसिकताको निर्माण गर्न सकोस् ।
अनुवादकले न्गुगी र अमिल्कर कबराल (पश्चिम अफ्रिकी देश गिनी बिसाउका मुक्ति आन्दोलनका नेता) को बिचमा भाषा र संस्कृतिको सवालमा धेरै वैचारिक समानता थियो भन्ने जानकारी पनि दिएका छन् । कबरालका अनुसार साम्राज्यवादी प्रभुत्वले दास बनाइएको देशका जनताको ऐतिहासिक विकासलाई नकार्न साधारणतया सांस्कृतिक उत्पीडनको सहारा लिइन्छ । यस प्रक्रियामा साम्राज्यवादी प्रभुत्वले शासितहरूको संस्कृतिकै मूल तत्व प्रत्यक्ष वा परोक्ष रूपबाट सम्पूर्णतया नष्ट गर्ने प्रयास गर्दछ ।
यसकारण राष्ट्रिय मुक्ति सङ्घर्ष सुरु हुनुपूर्व संस्कृतिको क्षेत्रमा अभिव्यक्तिका विविधरूपहरू देखा पर्न थाल्छन् अनि उत्पीडक देशको संस्कृतिलाई नकार्दै आफ्नै सांस्कृतिक पहिचान स्थापित गर्ने सफल वा असफल प्रयास तीव्र हुन्छ ।
खासमा संस्कृतिमा नै प्रतिरोधको बिज लुकेको हुन्छ, जो पछि गएर मुक्ति आन्दोलनको निर्माण र विकासमा सहयोगी सिद्ध हुन्छ । कबराल भन्छन्, “जब साम्राज्यवादी शासनका लागि सांस्कृतिक उत्पीडन गर्नु जरुरी हुन्छ तब राष्ट्रिय मुक्तिका निम्ति पनि यो जरुरी छ कि मुक्ति चाहनेहरूले आन्दोलनलाई एउटा सांस्कृतिक कर्म मानून् । त्यसैले यसो भन्न सकिन्छ कि राष्ट्रिय मुक्ति आन्दोलन सङ्घर्ष गरिरहेको जनताको संस्कृतिकै सङ्गठित राजनीतिक अभिव्यक्ति हो ।”
न्गुगीले सन् १९९९ मा क्याम्ब्रिज विश्वविद्यालयको एउटा भाषणमा भनेका थिए, “अङ्ग्रेजहरूले भारतलाई प्रयोगशाला बनाए । उक्त प्रयोगशालाबाट निक्लिएको परिणामलाई उनीहरूले अन्य उपनिवेशमा निर्यात गरे । म्याकालेद्वारा सुरु गरिएको शिक्षा पद्धतिको उद्देश्य व्यक्तिको एउटा यस्तो समूह निर्माण गर्नु थियो, जो रूप रङमा भारतीय होेस् तर आफ्ना रुचि, विचार, नैतिक मूल्य र मेधाका हिसाबले अङ्ग्रेज होस् ।”
यसको ठीक ८७ वर्षपछि केन्याका तत्कालीन ब्रिटिस गर्भनर सर फिलिप मिशेलले म्याकालेको यही नीतिको अनुशरण ग¥यो ।
म्याकाले र मिशेलबिचको समानता दर्शाउँदै न्गुगी भन्छन्, “दुइटै मामिला अर्थात् १९ औँ, शताब्दीताकाको म्याकालेको भारत र २० औँ शताब्दीको मिशेलको केन्याको सन्दर्भ औपनिवेशिक थियो र लक्ष्य स्पष्ट थियो । जुन प्रकारले सैनिक क्षेत्रमा औपनिवेशिक शक्तिले एक टुकडी सेनाको निर्माण गरेको थियो, त्यसलाई उनीहरूले बाँकी जनताबाट अलगथलग गरिदिएका थिए । किनकि, तिनले त्यही शक्तिलाई साथ दिइरहेका थिए, जसले उनीहरूलाई नै दास बनाइरहेको थियो ।”
त्यसै प्रकारले शासितहरूको बिचबाट एक बौद्धिक सेनाको पनि निर्माण गरियो, जो आम मानिसहरूबाट अलगथलग बनोस् र शासककै मद्दत गरोस् ।
न्गुगी वा थ्योंगोको यो उपन्यास पढ्दा यो लाग्दैन कि तपाई केन्याको बारेमा पढ्दै हुनुहुन्छ ।
साम्राज्यवादको स्थापना केवल केन्यामा मात्र होइन, भारत तथा नेपालजस्ता कुनै पनि देश, जहाँको शासक वर्ग आज अन्तर्राष्ट्रिय मुद्राकोष, विश्व व्यापार सङ्गठन तथा यिनैद्वारा पालित पोषित बहुराष्ट्रिय कम्पनीहरूको हातमा देशलाई धितो राख्नुमा किञ्चित पनि सङ्कोच मान्दैनन् । जहाँँ खास किसिमको फासीवादले शिर उठाइरहेको छ । जहाँ यस्तो संस्कृतिलाई प्रश्रय दिइँदै गइएको छ, जसले हाम्रो प्रतिरोध क्षमतालाई पूर्णरूपमा नष्ट गर्दै छ ।
अनुवाद : वाणी
समाप्तयो आलेख अनलाइन मजदुरमा पनि प्रकाशित छ।